दानिएल 6:19-24
दानिएल 6:19-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए। जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?” दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्! मेरा परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्याएका छैनन्, किनभने उहाँको दृष्टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्ती गरेको छैनँ।” राजा अत्यन्तै खुशी भएर दानिएललाई खोरबाट निकाल्ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्ना परमेश्वरमाथि भरोसा गरेका थिए। दानिएललाई झूटो आरोप लगाउने मानिसहरू राजाको हुकुममा भित्र ल्याइए र श्रीमती र नानीहरूसमेत उनीहरू सिंहको खोरमा फ्याँकिए। अनि उनीहरू खोरको भूइँमा नपुग्दै सिंहहरूले उनीहरूमाथि झम्टेर उनीहरूका हड्डीहरूसमेत कर्याककुरुक पारेर खाए।
दानिएल 6:19-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए। जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?” दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्! मेरा परमेश्वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्याएका छैनन्; किनकि म उहाँको दृष्टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।” राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्वरमाथि भरोसा राखेका थिए। राजाको हुकुममा दानिएललाई झूटो आरोप लगाउने मानिसहरूलाई भित्र ल्याइए; अनि तिनीहरूका पत्नीहरू र छोराछोरीहरूसमेत तिनीहरू सिंहको खोरभित्र फ्याँकिए। तिनीहरू खोरको भुइँमा पुग्नुभन्दा अगि नै ती सिंहहरूले तिनीहरूलाई झम्टे, र तिनीहरूका सबै हड्डीहरू चकनाचुर पारिदिए।
दानिएल 6:19-24 पवित्र बाइबल (NERV)
बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए। राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?” दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्! मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।” त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे। त्यसपछि राजाले तिनीहरूलाई हुकुम दिनु भयो जसले दानियललाई दोष दिएका थिए अनि सिंहको खोरमा हाल्न लगाए। तिनीहरूका पत्नी र छोरा-छोरीहरू समेत सिंहको खोरमा हालिए। तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डी समेत कर्याक कुरूक पारेर खाइहाले।
दानिएल 6:19-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बिहान मिरमिरे उज्यालो भएपछि राजा उठे र हतार-हतार सिंहको खोरमा गए। त्यहाँ पुगेर राजाले चिन्तित भई भने, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले भक्तिसाथ पुजेका परमेश्वरले तिमीलाई सिंहहरूका मुखबाट बचाउनुभयो?” दानिएलले जवाफ दिए, “महाराज दीर्घायु रहून्! सिंहहरूले मेरो केही हानि नगरून् भनेर परमेश्वरले आफ्ना स्वर्गदूत पठाई तिनीहरूका मुख थुनिदिनुभयो। म निर्दोष छु भनी उहाँले जान्नुहुन्थ्यो र नै उहाँले त्यसो गर्नुभयो किनभने मैले महाराजको केही हानि गरेको छैनँ।” राजा अत्यन्तै खुसी भए र दानिएललाई सिंहका खोरबाट तानेर बाहिर निकाल्ने आज्ञा दिए। यसकारण तिनीहरूले उनलाई तानेर खोरबाट निकाले र उनलाई कुनै किसिमको चोट नलागेको भेट्टाए किनभने उनले परमेश्वरमाथि भरोसा राखेका थिए। त्यसपछि दानिएललाई दोष लगाउने सबै मानिसहरूलाई पक्रन राजाले आज्ञा दिए र ती मानिसहरूलाई तिनीहरूका जहान र बाल-बच्चासहित सिंहका खोरमा फालिदिए। तिनीहरू खोरको भूइँसम्म पुग्नु अघि नै सिंहहरूले झम्टेर तिनीहरूका हड्डीहरू कर्याककुरुक पारिदिए।