दानिएल 6:1-4
दानिएल 6:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सम्पूर्ण राज्यको शासन गर्नलाई एक सय बीस जना प्रान्तका बड़ाहाकिमहरू नियुक्त गर्न दारालाई मन लाग्यो। तीमाथि तीन जना अध्यक्ष नियुक्त गरिए, जसमध्ये दानिएल एक थिए। राजाको काममा हानि नहोस् भनेर ती प्रान्तका बड़ाहाकिमहरू उनीहरूप्रति उत्तरदायी गराइए। अब दानिएलले असाधारण गुणहरूद्वारा आफैलाई ती अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरूका बीचमा यस्तो फरक देखाए कि राजाले तिनलाई सम्पूर्ण राज्यको शासक नियुक्त गर्ने योजना गरे। तब अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्ति सरकारी कामकारबाहीहरूमा तिनको दोष खोज्न लागे, तर त्यसो गर्न उनीहरू असमर्थ भए। उनीहरूले तिनमा कुनै पनि भ्रष्टाचार भेट्टाउन सकेनन्, किनभने तिनी विश्वासयोग्य थिए, र तिनी न त भ्रष्ट न लापरवाही नै थिए।
दानिएल 6:1-4 पवित्र बाइबल (NERV)
सम्पूर्ण उसका राज्यहरूमा शासन गर्न दारालाई 120 जना प्रान्तिय बडा हाकिमहरू नियुक्त गर्न असल लाग्यो। उनले तीन जना मंत्रिहरू, सल्लाहकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहकारहरू मध्ये एक जना दानियल पनि थिए। चाँडै दानियलले आफूलाई राम्रो चरित्र अनि धेरै योग्यता भएको देखाए। यसकारण, राजाले उनलाई सारा राज्यमा शासक बनाए। तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईर्ष्यँ गर्न र उनीहरूले दानियलसँग निहुँ खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए।
दानिएल 6:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दारा राजाले आफ्नो सारा साम्राज्यमा कार्यभार सम्हाल्न एक सय बीस जना प्रान्तीय बडा-हाकिमहरू नियुक्त गर्ने निर्णय गरे। तीबाहेक बडा-हाकिमहरूका काम र राजाका हितका कुराका हेरचाह गर्न उनले दानिएल र अरू दुई जना पुरुषहरूलाई मन्त्री चुने। अरू दुई मन्त्री र बडा-हाकिमहरूभन्दा दानिएलमा अझ राम्ररी काम गर्ने योग्यता देखिएकोले राजाले उनलाई सारा राज्यको शासक नियुक्त गर्ने विचार गरे। त्यसो हुँदा अरू दुई मन्त्री र बडा-हाकिमहरूले दानिएलको शासन व्यवस्थामा त्रुटि भेट्टाउने कोसिस गरे तर सकेनन्, कारण दानिएल विश्वासयोग्य मानिस थिए र उनले कुनै पनि काममा लापरवाही वा बेइमान गरेका थिएनन्।