दानिएल 5:18-21
दानिएल 5:18-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे महाराजा, सर्वोच्च परमेश्वरले हजूरका पिता नबूकदनेसरलाई स्वाधीन राज्य र महानता र महिमा र गौरव दिनुभयो। उहाँले उनलाई उच्च स्थान दिनुभएकोले र प्रत्येक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उनको डर र भय मान्थे। राजाले जसको प्राण लिन चाहन्थे, लिन्थे, जसलाई बाँकी राख्न चाहन्थे, राख्थे, जसलाई पदोन्नति गर्न चाहन्थे, पदोन्नति गर्थे, र जसलाई होच्याउन चाहन्थे, होच्याउँथे। तर जब उनको हृदय घमण्डले हठी र कठोर भयो, उनलाई राजगद्दीबाट हटाइयो र उनको महिमा उनीबाट खोसियो। उनलाई मानिसहरूबाट हटाइएर एउटा पशुको मन दिइयो। उनी वनका गधाहरूसँग बस्थे र गाईबस्तुले जस्तै घाँस खान्थे, र उनको शरीर आकाशको शीतले भिज्थ्यो, जबसम्म उनले मानिलिएनन् कि मानिसका राज्यहरूमाथि सर्वोच्च परमेश्वरकै अधिकार छ र उहाँले इच्छा गर्नुभएकालाई त्यो दिनुहुन्छ।
दानिएल 5:18-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे महाराजा, सर्वोच्च परमेश्वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो। परमेश्वरले तिनलाई दिनुभएको उच्च दर्जाको कारण सबै मानिसहरू, हरेक भाषा बोल्ने सबै जातिका मानिसहरू तिनीसित थरथर काम्थे र भयभीत हुन्थे। राजाले जसलाई मार्न चाहन्थे, उसलाई मार्थे; तिनले जीवित छोड्न चाहेकाहरूलाई जीवित छोडिदिन्थे; तिनले पदोन्नति गरिदिन चाहेकाहरूलाई पदोन्नति गरिदिन्थे; अनि तिनले पदच्युत गर्न चाहेकाहरूलाई पदच्युत गरिदिन्थे। तर जब तिनको हृदय अभिमानी र घमण्डले कठोर भयो, तब तिनी आफ्ना राजकीय सिंहासनबाट पदच्युत गरिए, र तिनको गौरव हटाइयो। तिनी मानिसहरूबाट धपाइए, र तिनलाई एउटा जनावरको मन दिइयो; तिनी जङ्गली गधाहरूसित बस्थे, र तिनले गाईबस्तुले झैँ घाँस खान्थे; अनि सर्वोच्च परमेश्वर पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफ्नो इच्छा लागेअनुसार कसैलाई पनि ती राज्यमाथि अधिकारमा राख्न सक्नुहुन्छ भनेर तिनले स्वीकार नगरेसम्म तिनको शरीर आकाशको शीतले भिज्यो।
दानिएल 5:18-21 पवित्र बाइबल (NERV)
“सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो। अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे। “तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो। तब नबूकदनेस्सर समाजबाट निकालिए। उनको मन पशुको जस्तै बनाईयो तिनको बसाई जङ्गली गधाहरूसित हुन थाल्यो। अनि गाईले जस्तै घाँस खान थाले। उनको शरीर आकाशको शीतले भिज्यो। उनीमाथि यस्तो हुँदै गयो, फेरि उनलाई ज्ञान भयो कि मानिसको राज्य माथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ अनि साम्राज्यहरूमाथि शासन गर्नको निम्ति उहाँले जसलाई चाहानुहुन्छ त्यसैलाई पठाउँनुहुन्छ।
दानिएल 5:18-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“सर्वोच्च परमेश्वरले हजुरका बुबा नबूकदनेसरलाई एउटा महान् राजा बनाउनुभयो र उनलाई मान-मर्यादा र गौरव दिनुभयो। उनी यति महान् थिए कि जाति-जाति र कुल-कुलका अनि विभिन्न भाषा बोल्ने मानिसहरू उनको डर मान्दथे र थरथरी हुन्थे। उनले जसलाई मार्न चाहन्थे, त्यसलाई मार्थे र जसलाई जिउँदो राख्न चाहन्थे, त्यसलाई जिउँदै राख्थे। कसैलाई मान गर्नु वा नगर्नु, उहाँको हातमा थियो। तर उनी घमण्डी, अट्टेरी र निर्दयी भएका हुनाले राज-गद्दीबाट हटाइए र सम्मानको स्थान उनको हातबाट उम्क्यो। उनी मानव-समाजबाट धपाइए र उनको मन पशुको जस्तो भयो। उनको बास जङ्गली गधासित भयो र उनी गोरुले झैँ घाँस खाने भए। उनी खुल्ला मैदानमा सुत्थे र आकाशका शीतले उनको शरीर भिज्दथ्यो। अन्त्यमा सर्वोच्च परमेश्वरले सबै मानिसका राज्यहरू आफ्ना अधिकारमा राख्नुहुन्छ र ती राज्य उहाँले जसलाई चुन्नुहुन्छ, त्यसलाई दिनुहुन्छ भनी उनले स्वीकार गरे।