दानिएल 5:1-9
दानिएल 5:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बेलसजर राजाले आफ्ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए। दाखमद्य पिउँदैगर्दा बेलसजर राजाले आफू, आफ्ना भारदारहरू, आफ्ना श्रीमतीहरू र रखौटीहरूले दाखमद्य पिउनलाई उनका पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँड़ाकुँड़ाहरू त्यहाँ ल्याउने हुकुम गरे। यसकारण उनीहरूले सुनका भाँड़ाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका थिए, र राजा र उनका भारदारहरू, उनका श्रीमतीहरू र रखौटीहरूले तीबाट पिए। जसै उनीहरूले दाखमद्य पिए, उनीहरूले सुन र चाँदीका, काँसो, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे। अचानक राजदरबारमा भएको पानसको नजिक एक मानव हातका औँलाहरू देखा परे र लिपिएको भित्तामा लेख्न लागे। त्यो लेख्दैगरेको हात राजाले हेरे। उनको अनुहार पहेँलो भयो, र उनी यति डराए कि उनका घुँड़ाहरू कामेर ठोकिन थाले र गोड़ाहरू लल्याकलुलुक भए। राजाले मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाउन लगाए र बेबिलोनका यी ज्ञानी पुरुषहरूलाई भने, “जसले यो लेख पढ्छ र यसको अर्थ मलाई बताइदिन्छ, त्यसलाई बैजनी पोशाक पहिराइनेछ र त्यसको गलामा सुनको सिक्री लगाइनेछ र त्यसलाई राज्यको तेस्रो उच्च शासक बनाइनेछ।” तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्। यसकारण राजा बेलसजर अझ भयभीत भए र उनको अनुहार अझ पहेँलो हुँदैगयो। उनका भारदारहरू अलमल्ल परे।
दानिएल 5:1-9 पवित्र बाइबल (NERV)
राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले। दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन। जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए। तिनीहरूले दाखरस पिए त्यस पछि उनीहरूले पूजा गर्ने सुन, चाँदी काँसा, फलाम, काठ र ढुङ्गाको देवताहरूको प्रशंशा गर्न थाले। त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे। यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले। अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।” त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढ्न सकेनन्। यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए।
दानिएल 5:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक रात बेलसजर राजाले एक हजार उच्च कुलका शासकहरूलाई एउटा ठूलो भोजमा निम्त्याए र तिनीहरूले एकसाथ बसी मद्यपान गरे। त्यसरी पिइरहेका बेला बेलसजरले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका कचौराहरू र बटुकाहरू ल्याउने आज्ञा गरे। आफू र शासकहरू अनि आफ्ना स्वास्नीहरू र रखौटीहरूले मद्य पिउनको निम्ति उनले ती कचौराहरू र बटुकाहरू ल्याउने आज्ञा गरेका थिए। सुनका कचौराहरू र बटुकाहरू ल्याइए र तीबाट सबैले दाखमद्य पिउँदै सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गरे। अचानक एउटा मानिसको हात देखा पर्यो र महलको भित्तामा केही लेख्न थाल्यो। बलिरहेको पानसको उज्यालो ज्योति भित्ताको त्यस भागमा चम्किरहेको थियो। हातका औँलाले लेखेको राजाले देखे। उनको अनुहार पहेंलो भयो। तिनी औधी डराए र तिनका गोडाहरू थरथर काम्न थाले। जादूगर, मन्त्र-तन्त्र गर्ने र ज्योतिषीहरूलाई बोलाऊ भन्दै तिनी चिच्च्याए। ती मानिसहरू महलमा आएपछि उनले भने, “जसले यो लेखोट पढेर त्यसको अर्थ मलाई बताउन सक्छ, त्यसलाई बैजनी राज-पोशाक पहिराइनेछ, त्यसका गलामा सम्मानको सुनको सिक्री लगाइनेछ र यस राज्यमा त्यो दर्जा र शक्तिमा तेस्रो गनिनेछ।” तब राजदरबारका सल्लाहकारहरू अघि आए; तर कसैले पनि त्यो लेखोट पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्। डर र त्रासले बेलसजर राजा झन् पहेँलो भए र उनका भारदारहरूचाहिँ के गर्नुपर्ने हो भनी अकमक्क परे।