YouVersion लोगो
खोज आइकन

दानिएल 3:19-28

दानिएल 3:19-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब शद्रक, मेशक र अबेद्‌नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्‌लियो। उनले त्‍यस आगोको भट्टीलाई साधारणभन्‍दा सात गुणा चर्काउने हुकुम गरे, र उनका सेनाको सबभन्‍दा बलिया सिपाहीहरूमध्‍ये कोहीलाई शद्रक, मेशक र अबेद्‌नगोलाई बाँधेर दन्‍किएको आगोको भट्टीमा फ्‍याँकिदिन भनी आज्ञा गरे। तब यी मानिसहरू दौरा, सुरुवाल, टोपी र अन्‍य लुगाहरूसित बाँधिएर दन्‍किरहेको आगोको भट्टीमा फ्‍याँकिए। राजाको हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्‍वालाले शद्रक, मेशक र अबेद्‌नगोलाई लैजाने सिपाहीहरूलाई भस्‍म पार्‍यो, अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको भट्टीमा परे। त्‍यसपछि राजा नबूकदनेसरले आश्‍चर्यचकित हुँदै उफ्रेर आफ्‍ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले बाँधेर आगोमा फालेका तीन जना मानिसहरू होइनन्‌ र?” उनीहरूले जवाफ दिए, “निश्‍चय नै हो, महाराजा।” उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्‍दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्‍छन्, र त्‍यो चौथोचाहिँ देवताहरूको पुत्रजस्‍तै देखिन्‍छ।” तब नबूकदनेसरले दन्‍किएको आगोको भट्टीको ढोका नजिक गएर चिच्‍च्‍याए, “हे शद्रक, मेशक र अबेद्‌नगो, सर्वोच्‍च परमेश्‍वरका सेवक हो, बाहिर निस्‍केर आओ।” तब शद्रक, मेशक र अबेद्‌नगो आगोबाट बाहिर निस्‍केर आए, अनि प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू तिनीहरूका वरिपरि भीड़ लागे। उनीहरूले देखे कि आगोले तिनीहरूका शरीरमा हानि पुर्‍याएको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो, तिनीहरूका लुगालाई आगोले छोएको थिएन र तिनीहरूमा आगोको कुनै गन्‍धैसमेत थिएन। त्‍यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्‍ना दूतलाई पठाउनुभएर आफ्‍ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्‍वास गरे, र राजाको हुकुमलाई अस्‍वीकार गरी आफ्‍ना परमेश्‍वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्‍डवत्‌ गर्नुभन्‍दा बरु आफ्‍ना जीवन दिन तयार भए।

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:19-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए। अनि आफ्नो सेनाका सबैभन्दा बलिया केही सिपाहीहरूलाई शद्रक, मेशक र अबेद्नगोलाई हातखुट्टा बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिदिने आदेश दिए। तब ती जवान मानिसहरूलाई तिनीहरूका लवेदा, सुरुवाल, टोपी, फेटा र अरू लुगाहरूसहित बाँधेर त्यस दन्किरहेको आगोको भट्टीभित्र फालिए। राजाको आदेश यति कठोर थियो र आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई उठाएर भट्टीमा लैजाने ती सिपाहीहरूलाई भस्म पार्‍यो। अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए। त्यसपछि राजा नबूकदनेसर आश्‍चर्यचकित हुँदै हतार-हतार आफ्ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले तीन जना मानिसहरूलाई बाँधेर आगोभित्र फ्याँकिदिएका होइनौँ र?” तिनीहरूले जवाफ दिए, “हजुर, हे महाराजा, अवश्य हो।” राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्‍का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्‍वरको पुत्रजस्तै देखिन्छ।” त्यसपछि नबूकदनेसरले दन्किरहेको आगोको भट्टीको मुख नजिक गएर ठूलो सोरले बोलाए, “हे शद्रक, मेशक र अबेद्नगो, सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हो, बाहिर निस्क! यहाँ बाहिर आओ!” तब शद्रक, मेशक र अबेद्नगो आगोबाट बाहिर निस्केर आए; अनि प्रान्तका बडाहाकिमहरू, इलाकाका अधिकारीहरू, राज्यपालहरू र राजकीय सल्‍लाहकारहरू तिनीहरूका चारैतिर भेला भए। तिनीहरूले देखे, कि आगोले तिनीहरूका शरीरलाई हानि गरेको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो; तिनीहरूका कपडाहरू आगोले डढेको थिएन, न त तिनीहरूमा आगोको कुनै गन्ध नै थियो। तब नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्ना स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई छुटाउनुभयो! तिनीहरूले उहाँमाथि भरोसा राखे, र तिनीहरूका परमेश्‍वरबाहेक अरू देवताको सेवा गर्नु र त्यसलाई दण्डवत् गर्नुभन्दा राजाको आदेशलाई अस्वीकार गरेर आफ्नो प्राण दिन राजी भए।

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:19-28 पवित्र बाइबल (NERV)

यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो। त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ। सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए। रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए। ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए। त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?” तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!” तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडेको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।” त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।” त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए। प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि जलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन। त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन् जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउनु भयो।

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:19-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब नबूकदनेसर शद्रक, मेशक र अबेद्‌नगोसित रिसले चुर भए र तिनको अनुहार रातो भयो। यसकारण तिनले आफ्‍ना मानिसहरूलाई भट्टीमा सधैँभन्दा सात गुणा ज्‍यादा आगो दन्‍काउन आज्ञा दिए। अनि राजाले आफ्‍नो सेनाका केही बलिया-बलिया मानिसहरूलाई ती तीन जनालाई बाँधेर आगोको भट्टीमा हालिदिने आज्ञा गरे। अनि तिनीहरूले ती तीन जनालाई उनीहरूका लुगासँगै अर्थात् दौरा, लबेदा, टोपी र अरू लुगाहरूसितै बाँधे र दन्‍किरहेको आगोको भट्टीमा फालिदिए। राजाले आगोको भट्टी खुबै रन्‍काउन आज्ञा गरेका हुनाले ती तीन भाइलाई भट्टीमा फाल्‍ने मानिसहरू आगोको रापले खाक भए। त्‍यसपछि शद्रक, मेशक र अबेद्‌नगो बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको ज्‍वालामा परे। नबूकदनेसरले अचम्‍म मान्‍दै अचानक उफ्रेर खडा भए। तिनले भारदारहरूलाई सोधे, “के हामीले तीन जनालाई बाँधेर आगोको भट्टीमा फालेका होइनौं?” तिनीहरूले जवाफ दिए, “हो महाराज! हामीले त्‍यसै गरेका थियौं।” राजाले सोधे, “त्‍यसो भए, मैले कसरी त्‍यस आगोमा चार जना हिँडिरहेका देख्‍दै छु? तिनीहरूका बन्‍धन फुकेका छन् र तिनीहरूलाई कुनै पनि चोट-पटक लागेको छैन र चौथो व्‍यक्तिचाहिँ ईश्‍वरको छोराजस्‍तो पो देखिन्‍छ त!” यसकारण नबूकदनेसर दन्‍किरहेको भट्टीको ढोकानिर गए र ठूलो सोरले भने, “ए शद्रक, मेशक र अबेद्‌नगो! सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हो! बाहिर निस्‍केर आओ।” तिनीहरू तुरुन्‍तै भट्टीबाट निस्‍केर आए। सबै रजौटा, बडा-हाकिम, सहायक हाकिम र राजाका अन्‍य भारदारहरू ती तीन जनालाई हेर्न जम्‍मा भए। तिनीहरूलाई आगोले केही खति गर्न सकेको थिएन। तिनीहरूको शिरको केश पनि खहरिएको थिएन। तिनीहरूका लुगा डढेको थिएन र तिनीहरूमा आगोको गन्‍धसम्‍म पनि थिएन। राजाले भने, “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको प्रशंसा गर! आफूमाथि विश्‍वास राख्‍ने र आफ्‍नो सेवा गर्ने यी तीन भाइलाई बचाउन उहाँले आफ्‍नो स्‍वर्गदूतलाई पठाउनुभयो। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र आफ्‍ना ज्‍यान खतरामा पारे; तर आफ्‍ना परमेश्‍वरबाहेक अरू कुनै देवतालाई घोप्‍टेर पुजेनन्।

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्