YouVersion लोगो
खोज आइकन

दानिएल 11:1-35

दानिएल 11:1-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“मादी दाराको प्रथम वर्षमा उनलाई मदत गर्न र रक्षा गर्न म खड़ा भएँ। “अब म तिमीलाई सत्‍य कुरा बताउँछु: फारसका अरू तीन राजाहरू देखा पर्नेछन्‌ र त्‍यसपछि ती सबैभन्‍दा धनी अर्का चौथा पनि निस्‍कनेछन्‌। जब उनले आफ्‍नो सम्‍पत्तिद्वारा शक्ति प्राप्‍त गर्नेछन्, उनले सबैलाई ग्रीस राज्‍यको विरुद्ध उक्‍साउनेछन्‌। त्‍यसपछि एक जना शक्तिशाली राजा खड़ा हुनेछन्, जसले आफ्‍नो ठूलो शक्तिसाथ शासन गर्नेछन्‌ र जे मन लाग्‍यो त्‍यही गर्नेछन्‌। उनी खड़ा भएपछि, उनको साम्राज्‍य टुक्रिनेछ र स्‍वर्गका चार बतासतिर बाँड़िनेछ। त्‍यो उनका सन्‍तानहरूले पाउनेछैनन्, न त उनले चलाएको अधिकार त्‍यसको हुनेछ, किनभने उनको साम्राज्‍य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ। “दक्षिणका राजा बलिया हुनेछन्, तर उनका सेनापतिहरूमध्‍ये एक जना उनीभन्‍दा अझ बलिया हुनेछन्‌ र ठूलो शक्तिसाथ तिनले आफ्‍नै राज्‍यको शासन गर्नेछन्‌। केही वर्षपछि उनीहरू मित्र बन्‍नेछन्‌। एउटा सन्‍धि गर्नका लागि दक्षिणका राजाकी छोरी उत्तरका राजाकहाँ जानेछिन्, तर तिनले आफ्‍नो शक्ति कायम गर्नेछैनन्, र उनी र उनको शक्ति दिगो रहनेछैनन्‌। ती दिनमा तिनका राजकीय रक्षकहरू र तिनका पिता र तिनका समर्थकका साथ तिनी सुम्‍पिइनेछिन्‌। “तिनको स्‍थान लिनका निम्‍ति एक जना तिनको वंशबाट उठ्‌नेछन्‌। उनले उत्तरका राजाको सैन्‍य शक्तिमाथि आक्रमण गर्नेछन्‌ र उनको किल्‍लाभित्र प्रवेश गर्नेछन्‌। उनले तिनीहरूका विरुद्ध लड़ाइँ गर्नेछन्‌ र विजयी हुनेछन्‌। उनले तिनीहरूका देवताहरू, तिनीहरूका फलामे मूर्तिहरू र चाँदी र सुनका बहुमूल्‍य भाँड़ाकुँड़ाहरू पनि जफत गर्नेछन्‌ र मिश्रदेशतिर लैजानेछन्‌। केही वर्षका लागि उनले उत्तरका राजालाई छोड्‌नेछन्‌। तब उत्तरका राजाले दक्षिणका राजाको राज्‍यमाथि हमला गर्नेछन्‌ तर उनी आफ्‍नै देशमा फर्कनेछन्‌। उनका छोराहरूले लड़ाइँको लागि तयार गर्नेछन्‌ र विशाल सेना जम्‍मा गर्नेछन्, जसले रोक्‍न नसक्‍ने बाढ़ले झैँ जित्‍दै किल्‍लासम्‍मै लड़ाइँ पुर्‍याउनेछ। “तब दक्षिणका राजा क्रोधित भएर उत्तरका राजाको विरुद्धमा लड़ाइँ गर्न निस्‍कनेछन्, जसले ठूलो सेना उठाउनेछन्‌ तर त्‍यो सेना हार्नेछ। जब त्‍यो सेना लगिन्‍छ, दक्षिणका राजाले घमण्‍डले फुलेर हजारौँलाई मार्नेछन्, तैपनि उनी विजयी रहनेछैनन्‌। किनभने उत्तरका राजाले पहिलोभन्‍दा ठूलो सेना तयार गर्नेछन्‌ र केही वर्षपछि उसले सामानले सुसज्‍जित एउटा ठूलो भयङ्कर सेनासित अगि बढ्‌नेछन्‌। “ती दिनहरूमा धेरै जना दक्षिणका राजाको विरुद्धमा उठ्‌नेछन्‌। यो दर्शन पूरा गर्न तिम्रो आफ्‍नै जातिका मानिसहरूमध्‍येबाटै हिंसात्‍मक मानिसहरू निस्‍कनेछन्‌ तर सफल हुनेछैनन्‌। त्‍यसपछि उत्तरका राजा आएर घेरा मचान बनाई पर्खालले घेरिएको सहरलाई कब्‍जा गर्नेछन्‌। दक्षिणको सेना त्‍यसको सामना गर्न शक्तिहीन हुनेछ, तिनीहरूका उत्‍कृष्‍ट टोलीहरू पनि खड़ा हुन सक्‍नेछैनन्‌। आक्रमणकारीले इच्‍छा लागेअनुसार गर्नेछन्, कोही पनि उनको विरुद्ध खड़ा हुन सक्‍नेछैन। उनले आफैलाई त्‍यो सुन्‍दर देशमा बसाल्‍नेछन्‌ र उनीसित त्‍यसलाई नाश गर्ने शक्ति हुनेछ। उनले आफ्‍नो सम्‍पूर्ण राज्‍यको शक्तिसाथ आउने निर्णय गर्नेछन्‌ र दक्षिणका राजासँग सन्‍धि गर्नेछन्‌। अनि त्‍यो राज्‍य पराजित गर्नलाई उनले आफ्‍नी छोरी तिनलाई विवाह गर्न दिनेछन्, तर उनको योजना सफल हुनेछैन न त उनलाई मदत नै हुनेछ। तब उनले आफ्‍नो ध्‍यान समुद्री किनारका देशहरूतिर लगाउनेछन्‌ र तीमध्‍ये धेरैलाई लिनेछन्, तर एक जना सेनापतिले उनको उच्‍चोपनको अन्‍त गर्नेछन्‌ र उनको उच्‍चोपन उनीमाथि नै फर्काउनेछन्‌। यसपछि उनी आफ्‍नै देशका किल्‍लाहरूतर्फ फर्कनेछन्, तर फेरि कहिल्‍यै नदेखिने गरी उनी ठेस खानेछन्‌ र पतित हुनेछन्‌। राजकीय वैभवलाई कायम राख्‍न उनका उत्तराधिकारीले एक जना कर उठाउने व्‍यक्तिलाई पठाउनेछन्‌। तर केही वर्षमा नै कुनै रीसभाव वा लड़ाइँमा नपरीकनै यिनी नाश गरिनेछन्‌। “राजकीय सम्‍मान नपाएको एक तिरस्‍कृत व्‍यक्तिद्वारा उनको स्‍थान लिइनेछ। जब मानिसहरूले सुरक्षाको महसूस गरिरहेका हुनेछन्, त्‍यसले त्‍यस राज्‍यमाथि आक्रमण गर्नेछ र त्‍यसले षड्‌यन्‍त्रद्वारा त्‍यस राज्‍यलाई लिनेछ। त्‍यसपछि त्‍यसको सामु एक जना शक्तिशाली सेना खतम पारिनेछ, र साथै करारका राजकुमार पनि नाश गरिनेछन्‌। त्‍यससँग सन्‍धि गरिसकेपछि त्‍यसले छलपूर्ण तरीकाले काम गर्नेछ र थोरै मानिसहरूसहित त्‍यसले अधिकार जमाउनेछ। सबैभन्‍दा धनी प्रान्‍तहरूले सुरक्षाको महसूस गरिराखेको बेला त्‍यसले तिनीहरूमाथि आक्रमण गर्नेछ, र त्‍यसका पिता-पुर्खाहरूले नगरेका काम त्‍यसले गर्नेछ। त्‍यसले लुटेका सामान र सम्‍पत्तिहरू आफ्‍नो पछि लाग्‍नेहरूका बीचमा बाँड्‌नेछ। त्‍यसले किल्‍लाहरूका हारको निम्‍ति षड्‌यन्‍त्र गर्नेछ— तर थोरै समयको लागि मात्र। “ठूलो सेनाका साथ दक्षिणका राजाको विरुद्ध त्‍यसले आफ्‍नो बल र साहसलाई उत्तेजित पार्नेछ। दक्षिणका राजाले एक विशाल र अत्‍यन्‍तै शक्तिशाली सेना उठाएर लड़ाइँ गर्नेछन्, तर उनको विरुद्धमा रचिएका षड्‌यन्‍त्रको कारण उनी खड़ा हुन सक्‍नेछैनन्‌। उनकै खाना खानेहरूले उनलाई नष्‍ट पार्न प्रयत्‍न गर्नेछन्‌। उनको सेना परास्‍त गरिनेछ र धेरै जना लड़ाइँमा मर्नेछन्‌। ती दुई राजाहरू दुष्‍ट हृदय लिएर एउटै टेबिलमा बसेर एक-अर्कासँग झूट बोल्‍नेछन्, तर कुनै लाभ मिल्‍नेछैन, किनभने अन्‍तको दिनचाहिँ तोकिएको समयमा नै आउनेछ। ठूलो सम्‍पत्तिको साथ उत्तरको राजा आफ्‍नै देशमा फर्कनेछ, तर त्‍यसको हृदय पवित्र करारको विरुद्ध हुनेछ। त्‍यसले यसको विरुद्ध काम गर्नेछ, अनि आफ्‍नै देशमा फर्कनेछ। “तोकिएको समयमा त्‍यसले फेरि दक्षिणमा हमला गर्नेछ, तर यस पल्‍टको परिणाम पहिलाको भन्‍दा फरक हुनेछ। पश्‍चिमी किनारका देशहरूबाट त्‍यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्‍यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्‍यसले आफ्‍नो रीस पोख्‍नेछ। त्‍यो फर्कनेछ र त्‍यसले पवित्र करार त्‍याग्‍नेहरूलाई कृपा देखाउनेछ। “त्‍यसको सशस्‍त्र सेना मन्‍दिरको किल्‍लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्‍नेछ। त्‍यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्‍थापना गर्नेछन्‌। करार भङ्ग गर्नेहरूलाई त्‍यसले झूठो प्रशंसा गरेर भ्रष्‍ट पार्नेछ, तर आफ्‍ना परमेश्‍वरलाई चिन्‍नेहरूले दृढ़तासाथ त्‍यसको विरोध गर्नेछन्‌। “जो बुद्धिमान्‌ छन्, तिनीहरूले धेरै मानिहरूलाई शिक्षा दिनेछन्, यद्यपि केही समयको लागि तिनीहरू तरवारको शिकार बन्‍नेछन्‌ वा आगोले जलाइनेछन्‌ वा कैदमा पर्नेछन्‌ वा लुटिनेछन्‌। जब तिनीहरू यसमा लड्‌नेछन्, तिनीहरूले थोरै सहायता पाउनेछन्, र जो ईमानदार छैनन्, उनीहरू सामेल हुनेछन्‌। बुद्धिमान्‌हरूमध्‍ये केहीले ठेस खानेछन्, यसरी तिनीहरू अन्‍तको दिनसम्‍मको लागि खारिऊन्, शुद्ध पारिऊन्‌ र दागरहित बनाइऊन्, किनभने त्‍यो दिन तोकिएको समयमा आउनेछ।

शेयर गर्नुहोस्
दानिएल 11 पढ्नुहोस्

दानिएल 11:1-35 पवित्र बाइबल (NERV)

“मादिका राजा दाराको शासनकालको पहिलो बर्षमा उसलाई बल अनि सहायता दिन म उभिएँ। “अब म तिमीलाई साँच्चो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अघिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति प्रयोग गर्नेछन्। यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ। शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नातीहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन। “दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ। “फेरि केही बर्षपछि एउटा संन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुन्छ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्। “तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउँनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ। उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही बर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन। फेरि त्यो राजाले दक्षिणी राजामाथि आक्रमण गर्नेछ। तर पराजित भएर आफ्नो देश फर्कनेछ। “फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ। त्यस पछि दक्षिणको राजा क्रोधित भएर उत्तरको राजासँग युद्ध गर्न निस्कने छ। उनले एउटा ठूलो सैन्यदल जुटाउनेछ तर उनको सेनाको हार हुनेछ। त्यो ठूलो सैन्यदलले हार्नेछ, अनि ती सेनालाई अन्तै लगिनेछ। ऊ अत्यन्तै अभिमानी हुनेछ अनि हजारौं-हजार सेनाहरूलाई मार्नेछ, तर पनि यसबाट उसलाई सफलता हासिल हुनेछैन। त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा संख्यामा सैनिक भेला पार्नेछ। अनि केही बर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ। “त्यो समयमा, धेरै मानिसहरूले दक्षिणका राजाको विरोध गर्नेछन्। केही तिम्रा आफ्नै मानिसहरू युद्ध गर्ने मन पराउँथे दक्षिणको राजाको विरूद्धमा बागी हुनेछ। तिनीहरूले विजय प्राप्त गर्ने छैनन, तर तिनीहरूले दर्शनलाई सत्य गराउँछन्, जब तिनीहरूले यसो गर्छन्। तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुन्ने अडिन सक्ने छैनन्। “शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्। फेरि उनले दक्षिणका सबै राज्यहरू आफ्नो अधीनमा ल्याउने निश्चन गर्नेछन् र उचित शर्तहरू राख्नेछन्, अनि त्यस राज्यलाई नाश गर्नका निम्ति एउटी स्त्रीलाई विवाह गर्नेछन्। तर न ता त्यो स्त्री उसँग बस्छे न त उसको अभिप्राय सिद्ध हुन्छ। “यसपछि उत्तरका राजाले भूमध्य सागरको किनार हुँदै देशहरू र टापूहरूका धेरैलाई कैदी बनाउनेछन्। तर एउटा सेनापतिले तिनलाई थर्काएर तिनको धाकलाई अन्त गरिदिनेछन् अनि उसले उत्तरका राजालाई लज्जित पार्नेछ। “यसरी उत्तरको राजा स्वंय आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्। “उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडैनै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ। “यसपछि एकजना एकदमै निष्ठुर अनि घिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ। उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्। त्यसपछि धेरै देशहरूले त्यो क्रुर राजासँग सन्धि गर्नेछन् तर उसले उनीहरूसँग झूटो र चलाक पूर्ण व्यवहार गर्नेछ। ऊ अत्यन्तै शक्तिशाली बिनिनेछ। तर धेरै मानिसहरूले मात्र उसलाई समर्थन गर्नेछन्। “जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ। “त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ। तिनै राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउँनेछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्। ती दुवै राजाहरूले दुष्ट योजनाहरू बनाउँने छन् र एउटै टेबलमा बसे पनि एउटाले अर्कोलाई ढाँट्ने छन् र त्यो योजना सफल हुनेछैन। किनकि उनीहरूको अन्त हुने समय परमेश्वरले निर्धारित गरिसक्नु भएकोछ। “ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ। “फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन। पश्चिमबाट जहाजहरू तिनको विरूद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुशरण गर्न रोके। तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्। “तिनले वाचा इन्कार गर्न तयार भएकाहरूलाई झूटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्, तर आफ्ना परमेश्वरमा विश्वासी मानिसहरू दृढ भएर बस्नेछन। “ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्नु सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए। जब तिनीहरू लडनेछन्, तिनीहरूले अलिकति सहायता पाउँनेछन् अनि झूटा मानिसहरू तिनीहरूसँग सामेल हुनेछन्। के ही ज्ञानी शिक्षकहरू मारिने छन्। यस्तो गरिनेछ, जसले गर्दा तिनीहरूलाई अन्तिम दिनहरूमा बलियो शुद्ध अनि निर्दोष बनाइनु सकियोस्। किनभने तोकिएको समयमा आउनेछ।

शेयर गर्नुहोस्
दानिएल 11 पढ्नुहोस्

दानिएल 11:1-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मैले चाहिँ मादी राजा दाराले राज्‍य गरेको पहिलो वर्षमा उनलाई रक्षा र सहायता गरें। म तिमीलाई जे भन्‍न लागिरहेको छु, त्‍यो सत्‍य हो।” स्‍वर्गदूतले भने, “अरू तीन जना राजाले फारसमाथि राज्‍य गर्नेछन्। त्‍यसपछि एउटा चौथो राजा हुनेछन्, जो अरूहरू सबैभन्दा ज्‍यादा धनी हुनेछन्। यसरी धेरै धन पाएर उनी शक्तिशाली भई उनले ग्रीस राज्‍यलाई चुनौती दिन सबैलाई उक्‍साउनेछन्। “त्‍यसपछि एउटा पराक्रमी राजा देखापर्नेछन्। उनले एउटा ठूलो साम्राज्‍यमाथि राज्‍य गर्नेछन् र आफूलाई जे मन लाग्‍यो, त्‍यही गर्नेछन्। तर उनी शक्तिशाली हुनासाथ उनको राज्‍य टुक्रा-टुक्रा भएर चार भागमा बाँडिनेछ। उनका सन्‍तानले होइन तर अरूले उनको सट्टामा राज गर्नेछन् तर तिनीहरूको शक्ति उनको जस्‍तो हुनेछैन। “मिश्रका राजा शक्तिशाली हुनेछन्। तर उसको कुनै एक जना सेनापति अझ शक्तिशाली हुनेछन्‌ र उनले अझ ठूलो राज्‍यमाथि शासन गर्नेछन्। केही वर्षपछि मिश्रका राजाले अरामका राजासित मित्रता गर्नेछन् र आफ्‍नी छोरीलाई उनीसित बिहे गरिदिनेछन्। तर त्‍यो मित्रता धेरै दिनसम्‍म रहनेछैन र राजकुमारी, तिनका लोग्‍ने, बच्‍चा र तिनका साथमा आएका चाकरहरू सबैजना मारिनेछन्। त्‍यसको तुरुन्‍तै पछि राजकुमारीको एक जना नातेदार राजा हुनेछन्। उनले अरामका राजाका सेनालाई हमला गर्नेछन् र तिनीहरूका किल्‍लामा पसी तिनीहरूमाथि विजयी हुनेछन्। उनका देवताहरूका मूर्तिहरू र ती देवताहरूलाई चढाएका सुन र चाँदीका चीज-बीजहरू उनले मिश्र देशमा फर्काई लैजानेछन्। धेरै वर्षको मेल-मिलापपछि अरामका राजाले मिश्रमाथि हमला गर्नेछन् तर उनलाई पछि हट्‍न कर लाग्‍नेछ। “अरामका राजाका छोराहरू लडाइँ गर्न तयार हुनेछन् र तिनीहरूले धेरै सेनाहरू भेला गर्नेछन्। तिनीहरूले पानीको भलझैँ उर्लिआएर शत्रुका किल्‍लामाथि आक्रमण गर्नेछन्। मिश्रका राजा रिसाएर अरामका राजाको विरुद्धमा हमला गर्न जानेछन् र उनको ठूलो सेनालाई कब्‍जा गर्नेछन्। आफूले गरेको विजय र मारेका शत्रुका सिपाहीहरूको ठूलो सङ्ख्‍याले गर्दा उनी अहङ्कारी बन्‍नेछन्; तर उनी धेरै दिनसम्‍म विजयी रहनेछैनन्। “अरामका राजा फर्केर गई अघिको भन्दा अझ ठूलो सेना भेला गर्नेछन्। ठीक समयमा उनी ठूलो र पूरा हात-हतियार भएको सेना साथमा लिई फर्किआउनेछन्। त्‍यस बेला धेरै जातिहरू मिश्रका राजाको विरुद्धमा उठ्‍नेछन्। अनि ए दानिएल, तिम्रा जातिबाट केही हिँसा गर्ने मानिसहरूले आफूले देखेका दर्शनको कारण विद्रोह गर्नेछन् तर तिनीहरू हार्नेछन्। तब अरामका राजाले एउटा किल्‍ला र पर्खाल भएको सहरलाई घेरामा हाल्‍नेछन् र त्‍यसलाई अधीनमा लिनेछन्। मिश्रका सिपाहीहरूले लडाइँ गर्न छोड्‍नेछन्। तीमध्‍ये सबैभन्दा असल लडाकु योद्धाहरू पनि दुर्बल हुनेछन्। अरामबाट हमला गर्न आएका राजाले जे आफूलाई मन लाग्‍यो, त्‍यही तिनीहरूसित गर्नेछन्। कसैले उनलाई बाधा दिनेछैन। उनले प्रतिज्ञाको देशमा खडा भई त्‍यसलाई आफ्‍नो पूरा अधिकारमा लिनेछन्। “अरामका राजाले आफ्‍ना सबै सेना लिएर हमला गर्ने जुक्‍ति गर्नेछन्। तब उनले आफ्‍नो शत्रुको राज्‍य नाश गर्न तिनीहरूसित मित्रता गाँस्‍नेछन् र आफ्‍नी छोरी बिहे गर्न दिनेछन् तर उनको जुक्‍ति काम लाग्‍नेछैन। त्‍यसपछि उनले समुद्रको किनारका जातिहरूमाथि हमला गर्नेछन् र धेरैलाई आफ्‍नो अधीनमा पार्नेछन्। तर एक जना विदेशी अगुवाले उनलाई जितेर उनको घमण्‍ड चकनाचुर पारिदिनेछ। साँच्‍चै त्‍यसले अरामका राजाको अहङ्कार उनीमाथि नै खन्‍याइदिनेछ। राजा आफ्‍नै देशका किल्‍लाहरूमा फर्किजानेछन् तर उनको हार हुनेछ। त्‍यहीँ उनको अन्‍त्‍य हुनेछ। “उनीपछि अर्का एक जना राजा हुनेछन्, जसले कर उठाएर मानिसहरूमाथि थिचोमिचो गरी आफ्‍नो राज्‍यको सम्‍पत्ति बढाउने काम गर्न एक अफिसरलाई पठाउनेछन्। तर केही समयपछि लडाइँको मैदानमा देखिने प्रकारले नभए पनि उनी मारिने नै छन्।” स्‍वर्गदूतले अरू अर्थ बताउँदैगए, “अरामको अर्को राजा दुष्‍ट मानिस हुनेछ। त्‍यसको राजा हुने हक नभए पनि त्‍यो अचानक आउनेछ र चलाकी गरेर राज्‍य-शक्ति आफ्‍नो हातमा लिनेछ। त्‍यसलाई विरोध गर्ने परमेश्‍वरका मूल-पूजाहारीसमेतलाई त्‍यसले नाश पारेर तिनीहरूका नाउँ मेटिदिनेछ। त्‍यसले अरू जातिहरूलाई धोका दिन तिनीहरूसित सन्‍धि गर्नेछ। एउटा सानो राज्‍यमाथि मात्र राज्‍य गरे पनि त्‍यो अझ शक्तिशाली बन्‍दै जानेछ। एउटा धनी प्रान्‍तमाथि त्‍यसले चालै नदिई हमला गर्नेछ र त्‍यसका पिता-पुर्खाले नगरेका काम त्‍यसले गर्नेछ। त्‍यसपछि आफूले लडाइँमा कब्‍जा गरेका धन-सम्‍पत्ति त्‍यसले आफूपछि लाग्‍नेहरूलाई बाँडिदिनेछ। त्‍यसले किल्‍लाहरूमाथि हमला गर्ने उपाय रच्‍नेछ तर त्‍यसको समयको अन्‍त्‍य चाँडै हुनेछ। “मिश्रका राजामाथि हमला गर्ने साहस गरी त्‍यसले एउटा ठूलो सेना खडा गर्नेछ। त्‍यसको सामना गर्न मिश्रका राजा ठूलो र शक्तिशाली सेना लिएर तयार हुनेछन्‌। तर मिश्रका राजालाई धोका दिइनेछ र तिनले हार्नेछन्‌। तिनका नजिकका सल्‍लाहकारहरूले त्‍यसको सर्वनाश गर्नेछन्। तिनका धेरै सिपाहीहरू मारिनेछन् र तिनको सेना सखाप पारिनेछ। तब ती दुई राजाहरू भोजन गर्न एउटै टेबिलमा बस्‍नेछन् तर तिनीहरूका विचार दुष्‍ट हुनेछन् र आपसमा एउटाले अर्कालाई ढाँट्‍नेछन्। आफूले चाहेका कुरा तिनीहरूले पाउनेछैनन् किनभने तोकिएको समय अझै आएकै छैन। आफूले लुटेका सम्‍पूर्ण सामान लिई परमेश्‍वरको प्रजाको धर्म नाश पार्ने सङ्‌कल्‍प गरी अरामका राजा घर फर्कनेछन्। उनको मनचाहिँ परमेश्‍वर र उहाँका प्रजाको पवित्र वाचाको विरुद्धमा हुनेछ। जे मन लाग्‍यो, त्‍यो तिनले गर्नेछन् र त्‍यसपछि आफ्‍नै देशमा फर्कनेछन्। “पछिबाट उनले फेरि मिश्रमाथि हमला गर्नेछन्; तर त्‍यस बेला परिणाम अर्कै हुनेछ। पश्‍चिमतिरको समुद्र किनारका मानिसहरूले जहाजमा आई तिनीसित लड्‍नेछन् र उनी डराउनेछन्। “तब उनी रिसले फर्कनेछन् र परमेश्‍वरको प्रजाको धर्मलाई नाश पार्ने कोसिस गर्नेछन्। उनले धर्म त्‍याग्‍नेहरूको सल्‍लाहअनुसार काम गर्नेछन्। उनका कति सिपाहीहरूले मन्‍दिर बिटुलो पार्नेछन्। तिनीहरूले दिनहुँ चढाइने बलिदानहरू बन्‍द गर्नेछन् र भयानक नाशकर्ताको मूर्ति राख्‍नेछन्। राजाले छल गरेर अघिबाटै धर्म त्‍याग्‍नेहरूको सहारा लिनेछन्‌ तर परमेश्‍वरलाई मान्‍नेहरूले त्‍यसको सामना गरी लडाइँ गर्नेछन्। परमेश्‍वरको प्रजाका बुद्धिमान् अगुवाहरूले तिनीहरूलाई बाटो देखाउनेछन्। तर केही समयको निम्‍ति तिनीहरूमध्‍ये कोही-कोही लडाइँमा मारिनेछन् अथवा आगोले भस्‍म पारिनेछन् अनि कोही-कोहीचाहिँ लुटपिट र कैदमापर्नेछन्। त्‍यसरी काटमार चलिरहेको बेला परमेश्‍वरको प्रजाले केही सहायता पाउनेछन्। तिनीहरूलाई सहायता गर्न आउनेहरू धेरै जनाचाहिँ आफ्‍नै स्‍वार्थ मात्र खोज्‍ने हुन्‍छन्। ती बुद्धिमान् अगुवाहरू कति जना भने मारिनेछन् तर यी सबैका कारणले मानिसहरू पवित्र हुनेछन्। परमेश्‍वरले तोक्‍नुभएको अन्‍त्‍य नआएसम्‍म यी सबै कुरा भइरहनेछन्।

शेयर गर्नुहोस्
दानिएल 11 पढ्नुहोस्