दानिएल 10:1-6
दानिएल 10:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई (जसलाई बेलतसजर भनिन्थ्यो) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो र यो एक ठूलो लड़ाइँको बारेमा थियो। त्यस सन्देशको अर्थ तिनलाई दर्शनमा प्राप्त भएको थियो। त्यस बेला म, दानिएल, तीन हप्तासम्म शोक गर्दैरहें। मैले कुनै मीठो खाना खाइनँ, न मासु न दाखमद्य मेरो मुखमा पर्यो, र तीन हप्ता नबितेसम्म मैले कुनै पनि किसिमको तेल घसिनँ। पहिलो महिनाको चौबीसौँ दिनमा ठूलो नदी टाइग्रिसको किनारमा जसै म उभिरहेको थिएँ, मैले माथि हेरें र मेरो अगि कम्मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें। तिनको शरीर पीतमणिजस्तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्कन्थ्यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्काइएको काँसोजस्तै र तिनको स्वर ठूलो भीड़को स्वरझैँ थिए।
दानिएल 10:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए। त्यस बेला म, दानिएलले तीन हप्तासम्म शोक गरिरहेँ। मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ। पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ; मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए। तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो।
दानिएल 10:1-6 पवित्र बाइबल (NERV)
कोरेसको शासनकालको तेस्रो बर्षमा कोरेस फारसको राजा थिए भन्ने खबर दानियलले पाए। खबर साँच्चो थियो अनि यो एउटा ठूलो युद्धको विषयमा थियो। दानियलले त्यो बुझिहाले। यो कुरा एउटा दर्शनमा उसलाई बताइएको थियो। त्यस समय, म दानियल तीन हप्ता सम्म दु:खी भएँ। मैले राम्रो खाने कुरा खाइनँ, मैले कुनै प्रकारको दाखरस र मासु खाइनँ। कुनै प्रकारको तेल टाउकोमा लगाइनँ, राम्रो लुगा लगाइन तीन हप्ता सम्म मैले केही पनि गरिनँ। पहिलो बर्षको चौबीसौं दिनमा मैले आफूलाई ठूलो नदी अर्थात टाइग्रिस नदीको किनारमा पाएँ। मैले माथि हेरें, र सुतीको लुगा लगाएको मानिसलाई देखें। उसले ओपीरको सुनको पटुका कम्बरमा बाँधेका थिए। उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चम्कन्थ्यो, उनको आँखा राँको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोलि भीडको आवाज जस्तै थियो।
दानिएल 10:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फारस देशका राजा कोरेसले राज्य गरेको तेस्रो वर्षमा दानिएलकहाँ (जसलाई बेलतसजर पनि भन्थे) एउटा सन्देश आयो। त्यो दर्शनको सन्देश साँचो थियो र ठूलो युद्धको बारेमा थियो। त्यस सन्देशको अर्थ उनले दर्शनमा पाए। त्यस बेला म दानिएलले तीन हप्तासम्म शोक गरिरहेको थिएँ। मैले तीन हप्ता नबितेसम्म कुनै स्वादिष्ट भोजन खाइनँ, मासु खाइनँ, दाखमद्य पिइनँ, केश कोरिनँ। त्यस वर्षको पहिलो महिनाको चौबीसौँ दिनमा म ठूलो टाइग्रिस नदीको किनारमा खडा थिएँ। मैले मास्तिर हेरें र एक जना मिहिन सुती लुगा लाएका र कमरमा निखुर सुनको पेटी बाँधेका मानिसलाई देखें। उनको शरीर मणिझैँ चम्कन्थ्यो, अनुहार बिजुली चम्केझैँ उज्यालो थियो र आँखा राँकोझैँ बल्दथे। उनका हात-पाउ टल्काइएका काँसाझैँ टल्कन्थे र सोरचाहिँ एउटा ठूलो भीडको आवाजझैँ सुनिन्थ्यो।