कलस्सी 3:1-5
कलस्सी 3:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैले तिमीहरू ख्रीष्टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन। किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकेको छ। जब ख्रीष्ट, जो तिमीहरूको जीवन हुनुहुन्छ, देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ। यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
कलस्सी 3:1-5 पवित्र बाइबल (NERV)
जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ। स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ। ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ। यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो।
कलस्सी 3:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू पनि ख्रीष्टसँगै बिउँतिएकोले स्वर्गकै कुरा खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि बस्नुहुन्छ। पृथ्वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्नो मन लगाओ किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्वरमा ख्रीष्टसँगै लुकेर रहेको छ। तिमीहरूको सच्चा जीवन त ख्रीष्ट नै हुनुहुन्छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्मान्को सहभागी हुनेछौ। संसारमा तिमीहरू आफ्ना शरीरका इच्छालाई मार, जस्तै: व्यभिचारको इच्छा, अशुद्ध कुरा, छाडा इच्छा, नराम्रा विचार, लोभ आदि हुन्।
कलस्सी 3:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन। किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट, जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।