कलस्सी 2:8-12
कलस्सी 2:8-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्। किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ, र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। ख्रीष्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।
कलस्सी 2:8-12 नेपाली समकालीन संस्करण (NCV)
होसियार होओ कि, कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्। किनकि ईश्वरत्वको सारा परिपूर्णता ख्रीष्टको शरीरमा वास गर्दछ। अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्टको आत्मिकी खतनाद्वारा हटाइएको छ। किनकि जब तिमीहरूको बप्तिस्मा भयो तिमीहरू ख्रीष्टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ, किनकि तिमीहरूले ख्रीष्टलाई मृत्युबाट बौरी उठाउने परमेश्वरको शक्तिशाली सामर्थ्यमा विश्वास गर्यौ।
कलस्सी 2:8-12 पवित्र बाइबल (NERV)
सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदेओस्। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्। परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ। अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ। ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ। यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले विश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो।
कलस्सी 2:8-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू चनाखो भएर बस, नत्र मानिसहरूको ज्ञान-बुद्धिको खोक्रो छलको तिमीहरू शिकार बन्नेछौ। यस्ता कुराहरू ख्रीष्टबाट होइनन् तर मानिसहरूकै परम्परा र संसारका शिक्षाबाट आएका हुन् किनभने ख्रीष्टको शरीरमा नै परमेश्वरको सारा स्वर्गीय स्वरूप बसेको छ। ख्रीष्ट सबै राज्य र आत्माका शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ। तिमीहरू ख्रीष्टमा हुनु नै साँचो खतना पाउनु हो। मानिसद्वारा शरीरमा लगाइने खतना होइन तर ख्रीष्टकै खतना लाएका छौ। यो खतनाचाहिँ तिमीहरूले यस शारीरिक स्वभावको शक्तिबाट छुटकारा पाउनु हो किनभने बप्तिस्मा लिंदा तिमीहरू ख्रीष्टसँगै गाडियौ अनि तिमीहरूले मरेकाबाट ख्रीष्टलाई बिउँताउनुहुने परमेश्वरको शक्तिमा विश्वास गरेका हुनाले तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ।