प्रेरित 8:1-8
प्रेरित 8:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनको हत्यामा शाऊल पनि सहमत थिए। त्यसै दिन यरूशलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्ट भए। भक्तजनहरूले स्तिफनसलाई लगेर गाड़े, र तिनको निम्ति ठूलो विलाप गरे। तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्स्याउँदै लगी झ्यालखानमा हालिदिन्थे। तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए। किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए। यसरी त्यस सहरमा ज्यादै आनन्द भयो।
प्रेरित 8:1-8 नेपाली समकालीन संस्करण (NCV)
त्यस हत्यामा शाऊलको पनि सहमति थियो। त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो; यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाको इलाकामा तितरबितर भए। परमेश्वरका जनहरूले स्तिफनसलाई चिहानमा गाडे र उनको मृत्युमा गहिरो शोक मनाए। तर शाऊलले भने मण्डलीलाई नष्ट गरिरहेका थिए; तिनले पुरुषहरू र महिलाहरूलाई घर-घरबाट बाहिर घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्दथे। ती तितरबितर भएर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए। फिलिप सामरियाको एउटा शहरमा पुगे, र त्यहाँ ख्रीष्टको प्रचार गर्न थाले। जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, र उनले गरेका अद्भुतका चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के, र धेरै पक्षघातका रोगीहरू र हिँड्न नसक्नेहरू निको पारिए। त्यसरी त्यस शहरमा ठूलो आनन्द छायो।
प्रेरित 8:1-8 पवित्र बाइबल (NERV)
शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे। त्यही दिनदेखि यहूदीहरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए। उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदिया र सामरिया भरि फैलिएका थिए। विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए। फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे। मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने। धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए। त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए।
प्रेरित 8:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यही दिनदेखि यरूशलेमको मण्डलीलाई ठूलो दु:ख र सतावट हुन लाग्यो। प्रेरितहरूबाहेक प्रभु येशूका अरू चेलाहरू सबै भागेर यहूदिया र सामरिया क्षेत्रहरूमा गएर यताउता छरिए। प्रभुका केही भक्तजनहरूले स्तिफनसलाई मारेकोमा धेरै विलाप गर्दै उनको लाश लगेर चिहानमा राखे। शाऊलले चाहिँ मण्डलीलाई नाश गर्ने कोसिस गर्दै थिए। तिनले घरघरै पसेर प्रभुमा विश्वास गर्ने पुरुष र स्त्री सबैलाई घिसार्दै लगेर झ्यालखानमा हालिदिन्थे। छरिएका प्रभुका विश्वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे। फिलिपचाहिँ सामरिया सहरमा गए र त्यहाँ मुक्ति दिनुहुने राजा येशूको बारेमा प्रचार गरे। फिलिपको कुरा सुनेर उनले गरेका अचम्मका कामहरू देखेपछि मानिसको भीडहरूले उनलाई ध्यान दिएर सुने। धेरै मानिसहरूबाट भूत चिच्च्याउँदै निस्केर गए अनि कुँजा र लुला-लङ्गडा मानिसहरू निको भए। यसरी सामरिया सहरमा ठूलो हर्ष फैलियो।