प्रेरित 8:1-40
प्रेरित 8:1-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनको हत्यामा शाऊल पनि सहमत थिए। त्यसै दिन यरूशलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्ट भए। भक्तजनहरूले स्तिफनसलाई लगेर गाड़े, र तिनको निम्ति ठूलो विलाप गरे। तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्स्याउँदै लगी झ्यालखानमा हालिदिन्थे। तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए। किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए। यसरी त्यस सहरमा ज्यादै आनन्द भयो। सिमोन नाउँ भएको एक जना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्दथियो। त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, “यो मानिस परमेश्वरको त्यो शक्ति हो, जसलाई महाशक्ति भनिन्छ।” तिनीहरूले त्यसलाई मान्थे, किनभने धेरै समयदेखि त्यसले आफ्नो जादूगरीले मानिसहरूलाई आश्चर्यचकित पारिराखेको थियो। तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए। सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो, र त्यो फिलिपसँग लागिरह्यो, र चिन्हहरू र ठूला-ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए। उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाऊन् भनेर तिनीहरूका निम्ति प्रार्थना गरे। किनकि त्यतिञ्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो। तब उनीहरूले आफ्ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्मा पाए। अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो, “मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्।” तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस्। यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठीक रहेनछ। यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला। किनकि म देख्तछु, तँ तिक्तताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस्।” तब सिमोनले भन्यो, “तपाईंहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्।” अनि तिनीहरूले गवाही दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीहरूका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के। त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्यहाँ मरुभूमिको बाटो छ।” अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए। उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी यशैया अगमवक्ताको पुस्तक पढ़िरहेका थिए। तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?” तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्ने अनुरोध गरे। अब तिनले पढ़िरहेका धर्मशास्त्रको खण्ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन। उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन। उसको पुस्ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्वीबाट हरण भयो।” तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?” [ फिलिपले भने, “यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए “येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।”] तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए। तर जब उनीहरू पानीबाट बाहिर उक्लिआए, तब प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्नो बाटो लागे। तर फिलिप अश्दोदमा देखा परे, र कैसरिया नपुगुञ्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।
प्रेरित 8:1-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि त्यस हत्यामा शाऊलको पनि सहमति थियो। त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो। यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाका इलाकातिर तितरबितर भए। परमेश्वरका जनहरूले स्तिफनसलाई चिहानमा लगेर गाडे, र उनको मृत्युमा गहिरो शोक मनाए। तर शाऊलले भने मण्डलीलाई नष्ट गरिरहेका थिए। तिनले घर-घरमा पसेर पुरुषहरू र महिलाहरूलाई घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्दथे। तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए। फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्टको प्रचार गर्न थाले। जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए। यसरी त्यस सहरमा ठूलो आनन्द छायो। त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो। साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्चर्य प्रकट गर्दै, “यो मानिस परमेश्वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे। तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो। तर परमेश्वरको राज्यको सुसमाचार र येशू ख्रीष्टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्तिस्मा लिए। सिमोन आफैँले पनि विश्वास गर्यो; र बप्तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्क पर्यो। जब सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्नालाई सामरियामा पठाए। जब तिनीहरू त्यहाँ आइपुगे, तब ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे। किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाममा तिनीहरूले बप्तिस्मा मात्रै लिएका थिए। त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्नाले आफ्नो हात राखिदिए, र तिनीहरूले पवित्र आत्मा प्राप्त गरे। प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो। अनि भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्त गरोस्!” यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्वरको वरदान तिमी किन्न सक्छौ भनी तिमीले सोचेका छौ! यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्वरको सामु तिम्रो हृदय ठिक छैन। यस दुष्ट्याइँका निम्ति पश्चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ। किनकि म देख्दैछु, तिमी तितोपनाले भरिपूर्ण छौ र पापको बन्दी भएका छौ।” यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!” जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, अनि त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दैगए। त्यसपछि प्रभुको एउटा दूतले फिलिपसँग यसो भने, “यरूशलेमबाट गाजातर्फ जाने दक्षिणतिर मरुभूमिको सडकमा तिमी जाऊ।” अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एक जना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए, र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। फिलिपलाई पवित्र आत्माले भन्नुभयो, “नजिकै जाऊ, र त्यो रथ सँगसँगै लाग।” अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?” “जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्न आग्रह गरे। ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन। उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।” नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए। तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्तिस्मा किन यहीँ गरिदिनुहुन्न?” फिलिपले भने, “यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।” अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्तिस्मा दिए। जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे। तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे।
प्रेरित 8:1-40 पवित्र बाइबल (NERV)
शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे। त्यही दिनदेखि यहूदीहरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए। उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदिया र सामरिया भरि फैलिएका थिए। विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए। फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे। मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने। धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए। त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए। तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे। निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ!” शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए। तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए। शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे। प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए। जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे। ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे। तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे। प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै। अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।” पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ। यस काममा हामीसँग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन। तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ। किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।” शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।” त्यसपछि, ती दुइ प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे। परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।” यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए। अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।” तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?” त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो। उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः “जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ, त्यसरी नै उनी रहे। त्यसरी नै उहाँ उभिई रहनु भयो। उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो। पृथ्वीमा उहाँको जीवन समाप्त भयो। अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।” त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने। उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?” त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए। जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए। तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।
प्रेरित 8:1-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यही दिनदेखि यरूशलेमको मण्डलीलाई ठूलो दु:ख र सतावट हुन लाग्यो। प्रेरितहरूबाहेक प्रभु येशूका अरू चेलाहरू सबै भागेर यहूदिया र सामरिया क्षेत्रहरूमा गएर यताउता छरिए। प्रभुका केही भक्तजनहरूले स्तिफनसलाई मारेकोमा धेरै विलाप गर्दै उनको लाश लगेर चिहानमा राखे। शाऊलले चाहिँ मण्डलीलाई नाश गर्ने कोसिस गर्दै थिए। तिनले घरघरै पसेर प्रभुमा विश्वास गर्ने पुरुष र स्त्री सबैलाई घिसार्दै लगेर झ्यालखानमा हालिदिन्थे। छरिएका प्रभुका विश्वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे। फिलिपचाहिँ सामरिया सहरमा गए र त्यहाँ मुक्ति दिनुहुने राजा येशूको बारेमा प्रचार गरे। फिलिपको कुरा सुनेर उनले गरेका अचम्मका कामहरू देखेपछि मानिसको भीडहरूले उनलाई ध्यान दिएर सुने। धेरै मानिसहरूबाट भूत चिच्च्याउँदै निस्केर गए अनि कुँजा र लुला-लङ्गडा मानिसहरू निको भए। यसरी सामरिया सहरमा ठूलो हर्ष फैलियो। त्यो सहरमा सिमोन नाउँ गरेको एक जना मान्छे थियो। उसले केही समयदेखि नै सामरियाका मानिसहरूलाई आफ्नो जादूगरीले दङ्ग पारेको थियो। उसले आफैंलाई धेरै ठूलो हुँ भनी ठान्थ्यो। सहरका साना-ठूला सबै मानिसहरूले “त्यसलाई महाशक्ति भनिने दैवीशक्ति” मान्थे। धेरै समयदेखि नै मानिसहरूलाई आफ्नो जादूले दङ्ग पारेको हुनाले सबैले त्यसलाई मान्थे। तर जब फिलिपले परमेश्वरको राज्यको बारेमा प्रचार गर्दै येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्छ भन्ने सुसमाचार सुनाए, तब धेरै मानिसहरूले फिलिपको कुरामा विश्वास गरे। पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए। सिमोनले पनि विश्वास गर्यो र बप्तिस्मा पायो। त्यसपछि ऊ सधैँ फिलिपसँगसँगै हिँड्न लाग्यो। फिलिपले गरेका अचम्मका कामहरू र चिन्हहरू देखेर ऊ छक्कै पर्थ्यो। सामरिया सहरका मानिसहरूले परमेश्वरको शिक्षा पाए भनेको सुनेर यरूशलेममा हुने प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए। सामरिया सहरमा आइपुगेपछि पत्रुस र यूहन्नाले प्रभुमा विश्वास गरेका मानिसहरूले पवित्र आत्मा पाऊन् भनेर प्रार्थना गरे किनभने तिनीहरू कसैमाथि पनि पवित्र आत्मा आउनुभएको थिएन। तिनीहरूले खालि प्रभु येशूको नाउँमा बप्तिस्मा पाएका थिए। पत्रुस र यूहन्नाले आफ्ना हात प्रभुमा विश्वास गरेका ती मानिसहरूमाथि राखे र तिनीहरूले पवित्र आत्मा पाए। ती दुई प्रेरितहरूले हात राखिदिँदा पवित्र आत्मा पाइँदोरहेछ भन्ने सिमोनले देख्यो अनि तिनीहरूलाई पैसा दिँदै भन्यो, “मानिसमाथि हात राख्दा पवित्र आत्मा पाउने यो शक्ति मलाई पनि दिनुहोस्।” तर पत्रुसले भने, “तेरो पैसा तँसँगै नरकमा परिजाओस्। तैँले त परमेश्वरको वरदान पनि पैसाले किन्न सकिन्छ भनी सोचिस्। तैँले यो काम गर्न पाउँदैनस्। तेरो यसमा न भाग छ न अधिकार किनभने तेरो मन परमेश्वरको अघि ठीक रहेनछ। अब ‘मैले दुष्ट विचार गरेको छु’ भन्ने कुरा मानिलिएर यस्तो विचार गर्न छोडी परमेश्वरसँग प्रार्थना गर्। सायद उहाँले तेरो यस्तो विचारलाई क्षमा दिनुहुन्छ। तँ ईर्ष्याको तीतोपनले भरिएको र पापको बन्धनमा परेको रहेछस्।” यो सुनेर सिमोनले पत्रुस र यूहन्नालाई भन्यो, “तपाईंले भन्नुभएका यी सबै कुरा ममाथि आइनलागोस् भनेर दया गरी तपाईंहरूले नै मेरो लागि प्रभुसँग प्रार्थना गरिदिनुहोस्।” आफ्नो साक्षी र प्रभुको शिक्षा सुनाएपछि पत्रुस र यूहन्ना यरूशलेमतिर फर्के। फर्केर आउँदा तिनीहरूले सामरिया क्षेत्रका गाउँहरूमा पसेर सुसमाचार सुनाए। प्रभुका एउटा स्वर्गदूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर गएर यरूशलेमबाट गाजातर्फ जाने उजाड-स्थानमा पर्ने बाटोमा जाऊ।” फिलिप उठेर हिँडे। त्यति नै बेला इथियोपिया देशका एउटा नपुंसक त्यही बाटो भएर जाँदै थिए। उनी इथियोपिया देशकी महारानी कन्दाकीका ठूलो अख्तियार पाएको खजान्ची थिए। उनी यरूशलेममा गएर परमेश्वरलाई पुजेर घरतिर फर्किंदै थिए र आफ्नो रथमा बसेर यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेका थिए। पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्नुहुन्छ?” “कसैले नबुझाइदिई मैले कसरी बुझ्ने?” ती मानिसले जवाफ दिए। उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्न बिन्ती गरे। ती नपुंसकले पढिरहेको धर्मशास्त्रको भाग यो थियो– उहाँ काट्न लगिने भेडाजस्तो हुनुहुन्थ्यो, ऊन काटिंदा चुप रहने भेडाजस्तै उहाँले आफ्नो मुखबाट कुनै शब्द निकाल्नुभएन। उहाँ यति होच्याइनुभयो कि उहाँले ठीक न्यायसम्म पनि पाउनुभएन अनि उहाँ पृथ्वीबाट लगिनुभयो र उहाँको सन्तानको बयान अब कसले गर्ला? यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्नुभएको हो? आफ्नै या अरू कसैको बारेमा?” अनि फिलिपले उनलाई धर्मशास्त्रको त्यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्छ भन्ने सुसमाचार सुनाए। बाटोमा जाँदाजाँदै तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। यी नपुंसकले फिलिपलाई भने, “यहाँ पानी रहेछ! के मलाई बप्तिस्मा लिन अब कुनै कुराले रोक्ला?” [फिलिपले तिनलाई भने, “हृदयदेखि नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” “हो, येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनेर म विश्वास गर्छु,” ती मानिसले जवाफ दिए।] उनले रथ रोक्न लगाए र उनीहरू दुवै झरेर पानी भएको ठाउँमा गए र फिलिपले उनलाई बप्तिस्मा दिए। उनीहरू पानीबाट बाहिर निस्केपछि प्रभुको आत्माले फिलिपलाई समातेर लानुभयो र ती नपुंसकले फिलिपलाई फेरि देखेनन् अनि तिनी हर्षले गद्गद् भएर आफ्नो बाटो लागे। उता फिलिपले आफैंलाई अश्दोद सहरमा पाए। तिनी कैसरिया सहर नपुगुञ्जेलसम्म सहर-सहर हुँदै सुसमाचार प्रचार गर्दै गए।