प्रेरित 5:12-16
प्रेरित 5:12-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब प्रेरितहरूका हातबाट धेरै चिन्हहरू र आश्चर्यकर्महरू जनताका बीचमा हुन लागे, र तिनीहरू सबै सोलोमनको दलानमा एकसाथ जम्मा भएका थिए। तर अरूहरूमध्ये कसैको पनि तिनीहरूसँग मिल्न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे। प्रभुमा विश्वास गर्ने पुरुष र स्त्रीहरू दुवैको भीड झन् बढ़ी थपिन लागे, यहाँसम्म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्ये कोही-कोहीमाथि परोस् भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्थे। यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे।
प्रेरित 5:12-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रेरितहरूले मानिसहरूको बीचमा धेरै अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउँथे। प्रभु येशूमा विश्वास गर्नेहरू सबै मन्दिरको सोलोमन भन्ने दलानमा एउटै मनको भएर जम्मा हुन्थे। अरू मानिसहरूले चाहिँ तिनीहरूसँग मिल्ने आँटै गरेनन्। तर पनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे। धेरै मानिसहरू, स्त्री-पुरुष दुवै प्रभुलाई विश्वास गर्दै तिनीहरूको समूहमा थपिन लागे। मानिसहरूले बिरामीहरू ल्याएर गल्लीमा ओछ्यान राखेर सुताइदिन्थे। उनीहरूले पत्रुसको छायाँसम्म पर्ला भन्ने आशा राख्थे। यरूशलेम वरिपरि भएका सहरहरूबाट पनि धेरै मानिसहरू आए। तिनीहरूले बिरामी र भूत लागेकाहरूलाई ल्याए अनि तिनीहरू सबै निको भए।
प्रेरित 5:12-16 नेपाली समकालीन संस्करण (NCV)
मानिसहरूका सामु प्रेरितहरूले धेरै अनेकौं चिन्हहरू र आश्चर्यपूर्ण कामहरू गरे; र सबै विश्वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुनेगर्थे। तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेन। तर पनि, परमेश्वरमा विश्वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्यो। यहाँसम्म कि, पत्रुस हिँड्ने बाटोहरूमा मानिसहरूले बिरामीहरू ल्याएर खाटमा र सुकुलमा सुताउन थाले, ताकि त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए पनि कुनै बिरामीको जिउमा परोस्। अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका शहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको तुल्याइए।
प्रेरित 5:12-16 पवित्र बाइबल (NERV)
प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्देश्य थियो। कसैले पनि प्रेरितहरूसँग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे। अनि धेरै मानिसहरू, पुरुषहरू र स्त्रीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए। यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ। मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।