प्रेरित 4:1-37
प्रेरित 4:1-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पत्रुस र यूहन्ना मानिसहरूसँग बोल्दै नै थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए। उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्थान हुन्छ भन्ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए। तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्टसम्म थुनामा राखे, किनभने त्यस बेला साँझ परिसकेको थियो। तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संख्या प्राय: पाँच हजार भयो। भोलिपल्ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा भेला भएका थिए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका परिवारका जम्मै त्यहाँ थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?” तब पवित्र आत्माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो, आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने, तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्नुभएको र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्ने निको भएर उभिएको छ। ‘यो त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’ अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।” जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए। तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्न सकेनन्। यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे, “यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्ची नै यिनीहरूबाट एउटा अचम्मको काम भएको छ भन्ने यरूशलेमका बासिन्दा जम्मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्कार गर्न सक्दैनौं। तर यो कुरो जनतामा नफैलिओस् भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।” अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए। तर पत्रुस र यूहन्नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्वरको कुरा सुन्नुभन्दा तपाईंहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्। किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्दैसक्दैनौं।” तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। किनकि जुन मानिस आश्चर्य कामद्वारा निको पारिएको थियो, त्यसको उमेर चालीस वर्षभन्दा बढ़ी थियो। छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरूकहाँ आए, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने, “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो, जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्नुभयो, ‘अन्यजातिहरू किन झोकिए, र मानिसहरूले व्यर्थका कुराहरू किन कल्पना गरे? परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’ किनभने साँच्चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। त्यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस्, र निको पार्नलाई तपाईंले आफ्नो बाहुली फैलाउनुहुँदा, आफ्ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कामहरू होऊन्।” तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले। विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए। ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्थानको गवाही दिन्थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो। तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्यो, किनकि जति जना जग्गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे, र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे। अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो), उनले आफ्नो जमिन बेचे र त्यो रकम ल्याएर प्रेरितहरूका चरणमा राखिदिए।
प्रेरित 4:1-37 नेपाली समकालीन संस्करण (NCV)
पत्रुस र यूहन्ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पूजाहारीहरू, मन्दिरका रक्षकहरूका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए। तिनीहरू निकै अन्योलमा परेका थिए, किनकि प्रेरितहरू त्यहाँ मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनर्जीवित पारिन्छन् भन्ने घोषणा गरिरहेका थिए। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले। तर उनीहरूको वचन सुन्नेहरूमध्ये धेरैजसोले त्यसमा विश्वास गरे, र विश्वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो। भोलिपल्ट शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए। प्रधान पूजाहारी हन्नास त्यहाँ थिए, त्यसै गरी कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिमा वा कसको नाउँमा तिमीहरूले यसो गरेका हौ?” त्यसपछि पवित्र आत्माले भरिएका पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “जनताका शासकहरू र प्रधानहरू हो! एउटा हिँड्न नसक्ने मानिसप्रति हामीले देखाएको एउटा दयालु कामको वर्णन मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने, तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरो थाहा होस्: नासरतका येशू ख्रीष्टको नाउँद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो, तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नाउँद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ। येशू ख्रीष्ट, “ ‘त्यही ढुङ्गो हुनुहुन्छ जसलाई तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो, तर उहाँ अहिले जगको मुख्य ढुङ्गो हुनुभएको छ।’ अरू कसैमा मुक्ति पाइँदैन, किनकि स्वर्गमुनि अर्को कुनै नाउँ मानिसहरूलाई दिइएको छैन जसबाट हामीले उद्धार प्राप्त गर्न सक्छौं।” जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखे र तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तिनीहरू आश्चर्य चकित भए। अनि ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले बुझे। तर पूर्ण निको भएको व्यक्ति आफ्ना नजिक उभिरहेको देखिसकेपछि तिनीहरूले भन्न सक्ने कुरा त्यहाँ केही थिएन। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा सल्लाह गर्न थाले। “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गर्ने हो?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अद्भुत चिन्हहरूको बारेमा यरूशलेममा बस्ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि त्यसलाई इन्कार गर्न सक्दैनौं। तर यो कुरा अरू बढी मानिसहरूमा प्रचारित हुनबाट रोक्नका निम्ति यो नाउँमा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।” त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र डाके, र येशूको नाउँमा कुनै पनि अवस्थामा प्रचार नगर्ने र नसिकाउने आदेश दिए। तर पत्रुस र यूहन्नाले जवाफ दिए, “आफै न्याय गर्नुहोस्, परमेश्वरको साटो तपाईंहरूको आदेशको पालना गर्नु परमेश्वरका दृष्टिमा कुनचाहिँ सही हुनेछ? किनकि जे कुरा हामीले देख्यौं र सुन्यौं त्यो वचन नबोली हामी बस्न सक्दैनौं।” यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी दण्ड सजाय दिने यसको निर्णय तिनीहरूले गर्न सकेनन् किनकि त्यहाँ जे घटना भएको थियो त्यसका निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। किनकि आश्चर्य तवरले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी नै थियो। उनीहरूलाई छोडिएपछि, पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ फर्केर गए र मुख्य पूजाहारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। तिनीहरूले ती कुरा सुनिसकेपछि, सबैले एकैसाथ उच्च सोरमा परमेश्वरमा प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्टि गर्नुभयो। तपाईंको सेवक हाम्रा पुर्खा दाविदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन् र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू उभिएका छन् र शासकहरू एकजुट भएर भेला भएका छन्।’ तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो शहरमा भेटघाट गरेका थिए। तिनीहरूले त्यही गरे जुन तपाईंको शक्ति र इच्छाले यसै गर्ने भनेर पहिले नै निर्णय गरिसकेको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्नसक्ने बनाउनुहोस्। तपाईंको पवित्र सेवक येशूको नाउँद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन र अद्भुत चिन्हहरू देखाउन र आश्चर्यपूर्ण कामहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।” तिनीहरूका प्रार्थनापछि, तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले। हृदय र मनमा सबै विश्वासीहरू एउटै भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो, तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे। ठूलो शक्तिका साथ प्रेरितहरूले प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे र तिनीहरू सबैमाथि परमेश्वरको प्रशस्त अनुग्रह थियो। तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे र बिक्रीबाट आएको पैसा ल्याउँथे। अनि त्यो धनलाई प्रेरितहरूको पाउमा राखिदिन्थे र जस-जसलाई खाँचो हुन्थ्यो तिनीहरूमा त्यो बाँडिन्थ्यो। साइप्रस देशका लेवी कुलका योसेफ जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्ने गर्थे, उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे, र त्यसबाट प्राप्त रकम ल्याएर प्रेरितहरूको पाउमा राखिदिए।
प्रेरित 4:1-37 पवित्र बाइबल (NERV)
जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए। पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए। यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे। तर धेरै मानिसहरू ज-जसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए। अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?” तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो? तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। ऊ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा। येशू हुनुहुन्छ ‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ, तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’ येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।” यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए। तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्। यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे। तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ। तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।” यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।” यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए। पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्? यी सबै आशाहिन छन्। ‘पृथ्वीका राजाहरू र शासकहरू, परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’ यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।” विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने। विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए। प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसँग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। ज-जसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए। तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए। विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। बर्णाबास नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए। यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।
प्रेरित 4:1-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पत्रुस र यूहन्ना मानिसहरूसँग यसरी कुरा गर्दागर्दै पूजाहारी र सदुकीहरू अनि मन्दिरका सिपाहीहरूका कप्तान आए। ती दुई प्रेरितहरूले ‘येशू मरेकोबाट बिउँतनुभएको छ, त्यसैले अरू मरेका मानिसहरू पनि बिउँतनेछन्’ भनी प्रमाण दिए। यसकारण सदुकीहरू रिसाए। तिनीहरूले पत्रुस र यूहन्नालाई पक्रे। त्यतिखेर मुद्दा चलाउन ढिलो भएकोले तिनीहरूले उनीहरूलाई रातभरिका लागि थुने। तर ती दुई प्रेरितको सन्देश सुन्नेहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने पुरुषहरूको सङ्ख्या बढेर पाँच हजार जति पुग्यो। भोलिपल्ट मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र अरू अगुवाहरू यरूशलेममा भेला भए। यस सभामा हन्नास भन्ने प्रधान पूजाहारी र उनका नाता पर्ने कैयाफा, यूहन्ना, अलेक्जेन्डर र हन्नासका घरानाका अरू मानिसहरू पनि थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सभाको सामुन्ने ल्याए र सोधे, “तिमीहरूले कुन शक्तिले या कसको नाउँमा यस लङ्गडालाई निको पारेका हौ?” पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई भने, “जनताका माननीय शासक र अगुवाहरू हो, यस लङ्गडा मानिसलाई दया गरेर निको पारेको हुनाले हामीलाई आज यस सभाको अगाडि उभिनुपरेको हो भने अनि हामीले यस मानिसलाई कसरी निको पारेका छौं भन्ने कुरा तपाईंहरूले हामीबाट जान्न चाहनुहुन्छ भने तपाईंहरू र इस्राएलका सबै मानिसहरूलाई थाहा होस् कि– तपाईंहरूको अगाडि उभिएको यो मानिस नासरतको येशूको नाउँमा निको भएको हो। तपाईंहरूले चाहिँ येशूलाई क्रूसमा झुण्ड्याएर मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो। धर्मशास्त्रको यो कुरा उहाँकै बारेमा लेखिएको हो– जुन ढुङ्गालाई डकर्मीहरूले बेकामको ठाने, त्यही ढुङ्गा जगको मुख्य ढुङ्गा बन्यो। “येशू ख्रीष्टबाहेक अरू कसैले पनि मानिसहरूलाई मुक्ति दिन सक्दैन। परमेश्वरले येशूको नाउँबाहेक संसारमा अरू कुनै नाउँ जनाउनुभएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्छौं।” पत्रुस र यूहन्ना धेरै नपढेका साधारण मानिस थिए। तैपनि उनीहरूले ठूलो साहससँग बोले। यो देखेर सभाका मानिसहरू सबै छक्क परे। पत्रुस र यूहन्ना पनि येशूसँगै रहन्थे भन्ने कुरा तिनीहरूले थाहा पाए। तर त्यो निको भएको लङ्गडोलाई पत्रुस र यूहन्नासँगै उभिरहेको देखेर तिनीहरूले उनीहरूलाई केही भन्न सकेनन्। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई सभाबाट बाहिर जाने आज्ञा गरे अनि तिनीहरूले चाहिँ मिलेर यसरी छलफल गर्न लागे, “अब यी मानिसहरूलाई हामीहरू के गरौं? यरूशलेमका सबै मानिसले तिनीहरूले गरेको यो अचम्मको काम थाहा पाएका छन्। अब यस कुरालाई हामीले होइन भन्न सक्दैनौं। तैपनि यो कुरा अरू मानिसहरूको बीचमा फैलिन दिनुहुँदैन। त्यसकारण उनीहरूलाई ‘येशूको बारेमा अबदेखि कुनै कुरा पनि कसैसँग नगर्नू’ भनेर कडा आज्ञा दिऔं।” त्यसपछि तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाएर ‘अबदेखि येशूको बारेमा कसैसँग कहिल्यै पनि कुरा नगर्नू अनि नसिकाउनू’ भनेर कडा आज्ञा दिए। तर पत्रुस र यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूले भनेको कुरा मान्नु कि परमेश्वरले नै भन्नुभएको कुरा मान्नु, परमेश्वरको अघि कुनचाहिँ ठीक छ? तपाईंहरू आफैं विचार गर्नुहोस्। हामी त आफैंले सुनेका र देखेका कुरा नभनी चुप लागेर बस्न सक्दैनौं।” यो सुनेर सभाका मानिसहरूले उनीहरूलाई फेरि धम्की दिएर छोडिदिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सजाय दिने उपाय पाएनन् किनभने उनीहरूले गरेका अचम्मको काम देखेका हुनाले सबै मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै थिए। यसरी अचम्म प्रकारले निको भएको मानिसचाहिँ चालीस वर्षभन्दा पनि बढी उमेरको थियो। त्यहाँबाट छुट्नासाथ पत्रुस र यूहन्ना आफ्ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्ना साथीहरूलाई सुनाए। यस्तो कुरा सुनेपछि तिनीहरू सबै मिलेर परमेश्वरसँग यसरी प्रार्थना गर्न लागे, “हे सर्वशक्तिमान् प्रभु परमेश्वर, आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो। तपाईंको पवित्र आत्माद्वारा तपाईंले हाम्रा पुर्खा दाऊदको मुखबाट यसरी बोल्नुभयो– अरू जातिहरू किन रिसाउँछन्? मानिसहरू व्यर्थैमा किन जाल रच्तछन्? परमेश्वर र उहाँले खटाउनुभएको मुक्ति दिनुहुने ख्रीष्टको विरोधमा पृथ्वीका राजा र शासकहरूसमेत भेला भएका छन्। यस्तै कुरा हिजो-आज भइरहेछन्। तपाईंको पवित्र सेवक येशूलाई खटाएर तपाईंले मुक्तिदाता बनाउनुभयो। उहाँको विरोधमा जाल रच्ने हेरोद र पन्तियस पिलातस अनि इस्राएलका र अरू जातिका मानिसहरूसमेत यही सहरमा भेला भएका थिए। तर तिनीहरूले तपाईंको शक्ति र इच्छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे। अब हे प्रभु, तिनीहरूले दिएको धम्कीतिर ध्यान दिनुहोस्। तपाईंको सन्देश साहससँग प्रचार गर्न आफ्ना सेवकहरूलाई शक्ति दिनुहोस्। आफ्ना सेवकहरूलाई तपाईंको पवित्र सेवक येशूको नाउँमा बिरामीहरू निको पार्ने अनि अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउने शक्ति दिनुहोस्।” यसरी प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो। तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन नडराइ सुनाउन थाले। प्रभुमा विश्वास गर्नेहरू सबै एउटै मन र एउटै तनका भएका थिए। तिनीहरूमा कसैले पनि कुनै चीज ‘यो मेरो हो’ भनेर भन्दैनथे। तर तिनीहरूसँग भएका सबै कुरा सबैले साझा सम्झन्थे। प्रभु येशू मरेकोबाट बिउँतनुभएको छ भनी प्रेरितहरूले ठूलो शक्ति पाएर गवाही दिन्थे र परमेश्वरले तिनीहरू सबैमाथि दया गरेर प्रशस्त आशिष् खन्याउनुहुन्थ्यो। तिनीहरूमा कसैलाई केही कुराको खाँचो थिएन। खेत वा घरबारी हुनेहरूले बेचेर त्यसबाट आएको पैसा प्रेरितहरूकहाँ ल्याउँथे अनि तिनीहरूले आवश्यकताअनुसार त्यो पैसा बाँड्थे। लेवी घरानाका योसेफ नाउँ भएका मानिस थिए। तिनी साइप्रस भन्ने टापुमा जन्मिएका थिए। प्रेरितहरूले तिनलाई बारनाबास भनेर बोलाउँथे, जसको अर्थ हो हौसला दिने मानिस। तिनले पनि खेत बेचेर पाएको पैसा प्रेरितहरूलाई दिए।