प्रेरित 3:2-8
प्रेरित 3:2-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मन्दिरभित्र पस्नेहरूसँग भीख माग्न जन्मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे। पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर त्यसले भीख माग्यो। यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्!” तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्!” तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। अनि जुरुक्कै उठेर त्यो खड़ा भयो र हिँड्न थाल्यो, र हिँड्दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो।
प्रेरित 3:2-8 नेपाली समकालीन संस्करण (NCV)
त्यसै समयमा जन्मैदेखिको एउटा हिँड्न नसक्ने मानिसलाई बोकेर मन्दिरको सुन्दर भन्ने ढोकातिर लगिँदैथियो। त्यस ढोकामा त्यसलाई सधैं त्यसरी नै लगेर राखिन्थ्यो, जहाँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो। जब त्यसले पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेको देख्यो, तब त्यस हिँड्न नसक्नेले तिनीहरूसँग पैसा माग्यो। अनि पत्रुस र यूहन्नाले त्यसलाई नियालेर हेरे, अनि पत्रुसले भने, “हामीतिर हेर!” त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले उनीहरूलाई ध्यान दिएर हेर्यो। अनि पत्रुसले भने: “मसँग सुन वा चाँदी छैन, तर मसँग जे छ, त्यो तिमीलाई दिन्छु नासरतका येशू ख्रीष्टको नाउँमा तिमी हिँड।” यति भनेर आफ्नो दाहिने हातले त्यस हिँड्न नसक्नेलाई समातेर उनले उठाउन थाले, अनि त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। अनि त्यो आफ्नो खुट्टाका बलले बुरुक्क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरको आँगनहरूमा गयो।
प्रेरित 3:2-8 पवित्र बाइबल (NERV)
जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। ऊ हिँड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसँग पैसा माग्ने गर्थ्यो। त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसँग पैसा माग्यो। पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!” त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। तर पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।” त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो। त्यो मानिस उफ्रियो र जुरूक्क उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो।
प्रेरित 3:2-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मन्दिरको चोकमा पस्ने सुन्दर भन्ने ढोकामा एउटा जन्मैदेखिको लङ्गडो बस्दथ्यो। मानिसहरूले उसलाई दिनदिनै बोकेर त्यहीँ ल्याउँथे। उसले मन्दिरमा आउने-जाने मानिसहरूसँग भिख माग्ने गर्थ्यो। पत्रुस र यूहन्नालाई मन्दिरमा जाँदैगरेको देखेर उसले उनीहरूसँग पनि भिख माग्यो। उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्!” यो सुनेर उसले केही पाउँछु कि भन्ने आशा लिएर हेर्यो। पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरतको येशू ख्रीष्टको नाउँमा उठेर हिँडिहाल्।” यसो भनेर उनले त्यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्यति नै खेर त्यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए र ऊ उभिएर हिँड्न लाग्यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्वरको स्तुति प्रशंसा गर्दै उनीहरूसँग मन्दिरभित्र पस्यो।