YouVersion लोगो
खोज आइकन

प्रेरित 28:23-31

प्रेरित 28:23-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उनीहरूले तिनको निम्‍ति एउटा दिन तोकिदिए, र धेरै संख्‍यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्‍मै व्‍याख्‍यान दिए, र मोशाको व्‍यवस्‍था र अगमवक्ताहरूका पुस्‍तकबाट परमेश्‍वरका राज्‍यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्‍वास दिलाउने चेष्‍टा गरे। तिनले भनेका कुरा कतिले विश्‍वास गरे, कतिले गरेनन्‌। उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्‍दा पावलले यो अन्‍तिम वक्तव्‍य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्‍माले भन्‍नुभएको वचन ठीकै थियो, ‘यी मानिसहरूकहाँ गएर भन्, “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।” किनभने यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्‍ना आँखा बन्‍द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्‍नेथिए, कानले सुन्‍नेथिए, हृदयले बुझ्‍नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ “यसकारण तिमीहरूलाई थाहा होस्, कि परमेश्‍वरको यो मुक्ति अन्‍यजातिहरूका निम्‍ति पठाइएको छ, र तिनीहरूले सुन्‍नेछन्‌।” [ अनि तिनले यी वचन भनेपछि, यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै बिदा भए।] पावल पूरा दुई वर्षसम्‍म आफ्‍नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्‍वागत गरे। तिनले खुल्‍लमखुल्‍ला र विनारोकटोक परमेश्‍वरका राज्‍यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिन्‍थे।

शेयर गर्नुहोस्
प्रेरित 28 पढ्नुहोस्

प्रेरित 28:23-31 नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूले पावलसँग भेट्ने दिन तोके, अनि त्यस दिन पहिलेकोभन्दा पनि ठूलो संख्यामा मानिसहरू पावल बसेको ठाउँमा आए। तिनीहरूलाई बिहानदेखि साँझसम्म उनले परमेश्‍वरको राज्यको वर्णन गरे; र मोशाको व्यवस्था र अगमवक्‍ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्‍वास दिलाउने प्रयत्‍न गरे। उनले भनिएका ती कुराहरूमा कतिले विश्‍वास गरे, र कतिले विश्‍वास गरेनन्। तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्‍तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्‍नुभएको थियो, जब उहाँले यशैया अगमवक्‍ताद्वारा बोल्नुभएको थियो: “ ‘यी मानिसहरूकहाँ जाऊ र भन, “तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू सदा देख्नेछौ, तर कहिल्यै चिन्‍नेछैनौ।” किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्र ता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ “त्यसकारण तपाईंहरू यो कुरो जान्‍नुहोस् भन्‍ने म चाहन्छु र परमेश्‍वरको मुक्‍ति गैरयहूदीहरूका निम्ति पठाइएको छ, अनि तिनीहरूले यो स्वीकार्नेछन्।” पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए। दुई वर्षसम्म आफूले भाडामा लिएको घरमा पावल त्यहीं बसे, र तिनलाई भेट्न आउने जति सबैजनालाई तिनले स्वागत गरे। उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्‍वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिए।

शेयर गर्नुहोस्
प्रेरित 28 पढ्नुहोस्

प्रेरित 28:23-31 पवित्र बाइबल (NERV)

पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसँग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे। कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्। तिनीहरूमा तर्क भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरूको विषय सत्य छ भने। उनले भने, ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः तिमीहरू सुन्न त सुन्छौ, तर तिमीहरू बुझ्दैनौ। तिमीहरू हेर्छौ अनि देख्छौ, तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ! हो, यी मानिसहरूका मन अहिले बन्द छन्। यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन्, अनि यी मानिहरूका आँखाछन् तर सत्य हेर्न मान्दैनन्। यस्तो भएकोछ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन्, आफ्ना कानहरूले सुन्ने छैनन्, आफ्ना मनले बुझ्ने छैनन्, यस्तो भएको छ यसैले तिनीहरू मपट्टि फर्किने छैनन्।’ “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छन!” पावल पूरा दुइ वर्ष आफ्नो भाड़ाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसँग भेट्न आए। पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशू ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्नलाई रोक्न सकेनन्।

शेयर गर्नुहोस्
प्रेरित 28 पढ्नुहोस्

प्रेरित 28:23-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि उनीहरूले पावलका कुरा सुन्‍नलाई दिन तोके। तोकेको दिनमा पहिलो पटकभन्दा धेरै यहूदीहरू भेला भएर पावलको डेरामा आए। त्‍यस दिन पावलले बिहानदेखि बेलुकासम्‍म परमेश्‍वरको राज्‍यको बारेमा शिक्षा दिए। धर्मशास्‍त्रमा मोशा र अगमवक्ताहरूले लेखेका कुरा लिएर उनले येशूको बारेमा बुझाउँदै तिनीहरूलाई विश्‍वासमा ल्‍याउने कोसिस गरे। कति जनाले चाहिँ उनका कुरा बुझेर विश्‍वास गरे तर कतिले चाहिँ विश्‍वास गरेनन्। आफू-आफूमै कुरा नमिलेर तिनीहरू त्‍यतिकै त्‍यहाँबाट हिँड्‍न लागे। तब पावलले तिनीहरूलाई यसो भने, “पवित्र आत्‍माले तपाईंहरूका पुर्खाहरूलाई भन्‍नुभएको कुरो साँचो छ किनभने यशैया अगमवक्ताद्वारा उहाँले यसरी बोल्‍नुभयो– यी मानिसहरूकहाँ गएर भन, ‘सुन्‍न त तिमीहरू सुन्‍छौ, तर बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर देख्‍दैनौ!’ किनभने यी मानिसहरूको मन कठोर छ, यिनीहरूका कान बाक्‍ला भएका छन् अनि यिनीहरूले आफ्‍ना आँखा बन्‍द गरेका छन्! नत्रता यिनीहरूले देख्‍नेथिए, सुन्‍ने थिए र मनले बुझ्‍नेथिए। अनि तिनीहरूले आफ्‍नो मन मतिर फर्काउनेथिए र म तिनीहरूलाई निको पार्नेथिएँ।” अन्‍तमा पावलले भने, “यसकारण अब म तपाईंहरूलाई भन्‍न चाहन्‍छु, परमेश्‍वरको मुक्तिको सुसमाचार उहाँले अन्य-जातिहरूकहाँ पठाउनुभएको छ र तिनीहरूले सुन्‍नेछन्।” [पावलले यो कुरा भनिसकेपछि तिनीहरू एक-अर्कामा तर्कवितर्क गर्दै र बाझ्‍दै हिँडे।] आफैंले भाडामा लिएको त्‍यही डेरामा पावल दुई वर्षसम्‍म बसे। पावलले आफूलाई भेट्‍न आउने सबैको स्‍वागत गर्थे। उनले साहसी भएर परमेश्‍वरको राज्‍यको प्रचार गर्दै प्रभु येशू ख्रीष्‍टको बारेमा सिकाउँथे र कसैले पनि उनलाई रोक्‍दैनथे।

शेयर गर्नुहोस्
प्रेरित 28 पढ्नुहोस्