YouVersion लोगो
खोज आइकन

प्रेरित 28:1-16

प्रेरित 28:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हामी सकुशल किनार लागेपछि त्‍यस टापूको नाउँ माल्‍टा रहेछ भन्‍ने हामीलाई थाहा लाग्‍यो। त्‍यहाँका बासिन्‍दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्‍वागत गरे। पावलले एक बिटा दाउरा जम्‍मा गरेका थिए र सो ल्‍याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्‍केर आयो, र तिनको हातमा बेह्रियो। त्‍यहाँका बासिन्‍दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्‍न लागे, “यो मानिस पक्‍का पनि ज्‍यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्‍क्‍यो तर इन्‍साफबाट यो उम्‍कन सकेन।” तर पावलले चाहिँ त्‍यस सर्पलाई आगोमा झट्‌कारिदिए, र तिनको केही बिगार हुन पाएन। तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्‍कासि ढलेर मर्नेछन्‌ भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्‍म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्‍नो विचार बद्‌लेर भन्‍न लागे, “यिनी त देवता पो रहेछन्‌।” त्‍यस टापूका पब्‍लियस नाउँ भएका मुखियाको जग्‍गाजमिन त्‍यस ठाउँको छेउछाउमा थियो। उनले हामीलाई स्‍वागत गरे, र तीन दिनसम्‍म उनको घरमा हाम्रो अतिथिसेवा गरे। पब्‍लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्‍नो हात तिनीमाथि राखी तिनलाई निको पारे। यो घटना भएपछि, त्‍यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए। तिनीहरूले धेरै प्रकारले हाम्रो आदर गरे। जब हामी जहाजमा चढ़्यौं, तिनीहरूले हामीलाई चाहिए जति सामानहरू जहाजमा हालिदिए। तीन महिनापछि, हामी अलेक्‍जेन्ड्रियाको जहाजमा चढ़्यौं। यो जहाज हिउँदमा यसै टापूमा थियो। जहाजको अगिल्‍लो भागमा जुम्‍ल्‍याहा देवको प्रतिमा कपेको थियो सुराकुसाईमा पुगेर हामी त्‍यहाँ तीन दिन बस्‍यौं। त्‍यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्‍यौं। एक दिनपछि दक्षिणी बतास चल्‍यो, र भोलिपल्‍ट हामी पटिओलीमा आइपुग्‍यौं। त्‍यहाँ हामीले भाइहरूलाई भेट्यौं, र उनीहरूले हामीलाई सात दिनसम्‍म उनीहरूका साथमा रहनलाई बिन्‍ती गरे। यसरी हामी रोममा आइपुग्‍यौं। त्‍यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्‌न अप्‍पियसको बजार र तीन-पाटी भन्‍ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्‍वरमा धन्‍यवाद चढ़ाए, र साहस पाए। जब हामी रोममा पस्‍यौं, तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्‍ने अनुमति मिल्‍यो।

शेयर गर्नुहोस्
प्रेरित 28 पढ्नुहोस्

प्रेरित 28:1-16 नेपाली समकालीन संस्करण (NCV)

सुरक्षित साथ किनारमा पुगेपछि हामीले थाहा पायौं, त्यो टापूको नाउँ माल्टा रहेछ। टापूका बासिन्दाहरूले हामीप्रति अद्भुत दया देखाए। पानी परिरहेको र जाडो भएकोले तिनीहरूले आगो बालेर हाम्रो स्वागत गरे। जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा राखे, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो। जब टापूका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्‍न थाले, “पक्‍कै पनि यो मानिस हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट यो बाँचे तापनि न्यायकी देवीबाट अब बाँच्नेछैन।” तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई केही बिगार भएको अनुभव गरेनन्। मानिसहरूले तिनको शरीर सुनिएर वा अकस्मात् भुइँमा लडेर मर्लान् भनी ठानेका थिए; तर धेरै बेरसम्म पर्खिंदा पनि उनलाई त्यस्तो कुनै बिगार नभएको देखेपछि, तिनीहरूका सोचाई फेरियो र उनलाई देवता भन्‍न थाले। त्यस ठाउँ नजिकै पोब्लियसको जग्गाजमिन थियो, जो त्यस टापूका मुखिया थिए। तिनले आफ्नो घरमा हामीलाई निम्तो गरे र तीन दिनसम्म मित्रभावसहित पाहुनासत्कार गरे। तिनका बुबा आउँमासी र ज्वरोले गर्दा बिछ्यौनामा परेका थिए। तिनलाई हेर्न पावल भित्र कोठामा गए, र त्यहाँ प्रार्थना गरेपछि तिनले आफ्नो हात बिरामीमाथि राखेर तिनलाई निको पारे। यो घटना भएपछि त्यस टापूका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए। तिनीहरूले धेरै तरिकाबाट हाम्रो सम्मान गरे; र जब हामी यात्राका निम्ति तयार भयौं, तिनीहरूले हामीलाई यात्रामा चाहिने जति सामानहरू पनि दिए। तीन महिनापछि यसै टापूमा हिउँद काट्न आएको एउटा जहाजमा हामी चढ्यौं। त्यो जहाज अलेक्जेन्ड्रियाको थियो, जसको अघिल्‍लो भागमा कास्टर र पोल्‍लुक्स जुम्ल्याहा देवहरूको मूर्ति खोपिएको थियो। सुराकुसाईमा पुगेपछि त्यहाँ हामी तीन दिन बस्यौं। त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौं। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौं। त्यहाँ हामीले केही विश्‍वासीहरूलाई भेट्यौं, तिनीहरूले हामीलाई एक हप्‍ता बस्‍ने निम्तो दिए; र यसरी हामी रोम आइपुग्यौं। त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए, त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्‍वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए। जब हामी रोम शहर प्रवेश गर्‍यौं, तब एउटा सिपाहीको रेखदेखमा पावललाई अलग्गै बस्‍ने अनुमति मिल्यो।

शेयर गर्नुहोस्
प्रेरित 28 पढ्नुहोस्

प्रेरित 28:1-16 पवित्र बाइबल (NERV)

जब हामी सुरक्षितसँग जमीनमा ओर्लियौं जान्न पायौं कि यो टापूलाई माल्टा भनिदो रहेछ। पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीरूसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे। पावलले दाउराको झिंजाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु सर्प बाहिर आयो अनि पावलको हातमा डस्यो। त्यहाँ बस्नेहरूले पावलको हातमा सर्प झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। ऊ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।” तर पावलले हात झड्काले अनि सर्पलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन। मानिसहरूले सोंचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी पर्खिरहे तर त्यस्तो कुनै नराम्रो घट्ना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बद्ली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!” त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं। पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे। यस्तो घट्ना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए। त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिँड्न तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए। हामी अलेक्जेन्ड्रियाबाट जहाजमा चढ्यौं। जहाज ठण्डा महीनाको बेला माल्टामा रहेको थियो। जहाजको अगिल्तिर जमल्याहा देवताहरूको चिन्ह थियो। हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं। हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं। हामीले त्यहाँ केही दाज्यू-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आईपुग्यौ। त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए। त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।

शेयर गर्नुहोस्
प्रेरित 28 पढ्नुहोस्

प्रेरित 28:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसरी बाँचेर किनारमा आएपछि त्‍यस टापुको नाउँ माल्‍टा रहेछ भन्‍ने कुरा हामीले थाहा पायौं। त्‍यहाँका मानिसहरू धेरै मिलनसार रहेछन्। त्‍यस बेला पानी पर्न लागेको र निकै जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामीलाई ताप्‍न बोलाए। पावलले एक बिटा दाउरा उठाएर आगोमा हाल्‍दा एउटा सर्प आगोको तातोले गर्दा उनको हातमा बेह्रिएर बस्‍यो। पावलको हातमा यसरी सर्प झुण्‍डिएको देखेर त्‍यहाँका मानिसहरूले एक-अर्कासँग यस्‍तो कुरा गर्न लागे, “पक्‍का पनि यो मानिस ज्‍यानमारा हुनुपर्छ। समुद्रबाट उम्‍केर पनि दैवले यसलाई बाँच्‍न दिएन।” तर पावलले आफ्‍नो हात झड्काउँदा सर्प स्‍वात्तै आगोमा पर्‍यो। त्‍यसले पावललाई केही हानि पुर्‍याएन। त्‍यहाँका मानिसहरूले ‘पावल अलि बेरमा विषले सुनिएर मर्नेछन्’ भनी हेरिरहे। तर धेरै बेरपछि पनि उनलाई केही पनि भएन। यो देखेर तिनीहरूको विचार फेरियो र छक्‍क पर्दै तिनीहरूले भने, “यिनी त देवता पो रहेछन्।” त्‍यस ठाउँबाट त्‍यस टापुका मुखिया पब्‍लियसको घर-जग्‍गा नजिकै थियो। पब्‍लियसले हामीलाई आफ्‍नो घरमा लगेर स्‍वागत गरे। हामी तीन दिनसम्‍म उनको घरमा पाहुना भएर बस्‍यौं। त्‍यस बेला पब्‍लियसका बुबालाई ज्‍वरो आएको र आउँ परेको थियो। त्‍यसो हुँदा पावल पब्‍लियसको बुबाको कोठामा गए अनि प्रार्थना गरेर आफ्‍ना हात बिरामीमाथि राखेपछि उनी निको भए। यसरी निको भएको थाहा पाएर त्‍यस टापुमा भएका सबै बिरामीहरू आए र पावलले तिनीहरूलाई निको पारे। तिनीहरूले हामीहरूलाई आदर गरेर धेरै उपहारहरू दिए र हिँड्‍ने बेलामा बाटोमा चाहिने चीजहरू पनि हालिदिए। हामी तीन महिनापछि जुम्‍ल्‍याहा देवता भन्‍ने पानीजहाजमा चढी माल्‍टा टापुलाई छोडेर गयौं। त्‍यो जहाजचाहिँ अलेक्‍जेन्ड्रिया सहरबाट आएर जाडो मौसमभरि माल्‍टा टापुमै पर्खिरहेको रहेछ। हामी सुराकुसाई भन्‍ने सहर पुगेर त्‍यहाँ तीन दिनसम्‍म बस्‍यौं। त्‍यहाँबाट हिँडेपछि हामी रेगियन भन्‍ने सहरमा पुग्‍यौं। भोलिपल्‍ट दक्षिणतिरबाट हावा चल्‍यो र पर्सिपल्‍ट हामी पटिओली भन्‍ने सहरमा आइपुग्‍यौं। त्‍यहाँ हामीहरूले प्रभु येशूमाथि विश्‍वास गर्ने केही दाजुभाइहरूलाई भेट्यौं। उनीहरूले हामीलाई एक हप्‍तासम्‍म बसिदिनुहोस् भनेर बिन्‍ती गरे। हामी तिनीहरूसँग एक हप्‍तासम्‍म बसेपछि रोम सहरतिर जाने बाटो लाग्‍यौं। प्रभु येशूमाथि विश्‍वास गर्ने रोममा भएका दाजुभाइहरूले हामी आउँदै छौं भन्‍ने कुरा सुनेर कति जना तीन-पाटी भन्‍ने बजारसम्‍म, अनि कति जनाचाहिँ अप्‍पियस भन्‍ने बजारसम्‍म हामीलाई भेट्‍न आए। तिनीहरूलाई देख्‍नेबित्तिकै पावलले हौसला पाउँदै परमेश्‍वरलाई धन्‍यवाद दिए। रोममा आइपुगेपछि पावललाई सिपाहीको पहरामा आफ्‍नै डेरा लिएर बस्‍न दिइयो।

शेयर गर्नुहोस्
प्रेरित 28 पढ्नुहोस्