प्रेरित 27:20-25
प्रेरित 27:20-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरै दिनसम्म घाम, तारा केही देख्न पाइएन। तूफान लगातार चलिरहेकोले अन्त्यमा बाँच्ने आशासमेत हामीले त्यागिदियौं। धेरै दिनसम्म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्तो सङ्कष्ट र हानि तपाईंहरूले खप्नुपर्ने थिएन। अब म भन्दछु, साहस गर्नुहोस्। तपाईंहरूमध्ये कसैको ज्यान जानेछैन, तर जहाजचाहिँ नष्ट हुनेछ। किनभने जुन परमेश्वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए। उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्ने जति सबैका प्राण परमेश्वरले तिम्रो हातमा दिनुभएको छ।’ यसकारण मित्र हो, साहस गर्नुहोस्। म परमेश्वरमा विश्वास गर्छु, मलाई जस्तो बताइएको छ, ठीक त्यस्तै हुनेछ।
प्रेरित 27:20-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन्, र आँधीबेहरी लगातार चलिरह्यो, तब हामीले बाँचौँला भन्ने सबै आशा नै त्यागिदियौँ। मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरू हो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्लाहलाई तपाईंहरूले मान्नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो। तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्। किनकि तपाईंहरूमध्ये कसैलाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्ट हुनेछ। किनकि म जुन परमेश्वरको हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राति मेरा छेउमा आएर उभिए, अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’ त्यसैले मित्रहरू हो, धैर्य धारण गरेर बस्नुहोस्, किनकि परमेश्वरले मलाई जे भन्नुभएको छ, त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्वास छ।
प्रेरित 27:20-25 पवित्र बाइबल (NERV)
धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्याग्यौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं। धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोड्नु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन। तर अब म भनिरहेछु साहसी हौ। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ। हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु। उहाँले भन्नुभयो, ‘पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसँग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’ मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ।
प्रेरित 27:20-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धेरै दिनसम्म हामीले न घाम देख्यौं नता तारा नै देख्यौं। आँधी जोडले चलिरहेको थियो र आखिरमा बाँचौंला भन्ने हाम्रो आशा पनि हरायो। मानिसहरूले खाना नखाएको धेरै दिन भइसकेको थियो। पावलले सबैका अघि उभिएर भने, “दाजुभाइहरू हो, तपाईंहरूले मेरा कुरा सुनिदिनुपर्थ्यो र क्रेटबाट हिँड्नुहुँदैनथ्यो। त्यस बेला मैले भनेको कुरा सुनिदिएको भए नता यस्तो दु:ख पाइन्थ्यो नता कुनै चीजबीचको नाश नै हुनेथियो। तर अब म बिन्ती गर्छु– हरेस नखानुहोस्, कसैले पनि आफ्नो ज्यान गुमाउनुपर्नेछैन, खालि जहाज मात्रै नाश हुनेछ। म परमेश्वरको मानिस हुँ र उहाँकै सेवा गर्दै छु। उहाँकै एउटा दूतले आज राती मेरो छेउमा आएर भने, ‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’। यसकारण मेरा दाजुभाइहरू हो, हताश नहुनुहोस् किनभने परमेश्वरले भन्नुभएको त्यो कुरा अवश्य पूरा हुनेछ भन्ने विश्वास मैले राखेको छु।