प्रेरित 25:13-27
प्रेरित 25:13-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
केही दिन बितेपछि फेस्तसलाई अभिवादन गर्न राजा अग्रिपास र बरनिकी कैसरियामा आइपुगे। तिनीहरू त्यहाँ निकै दिन बसेपछि फेस्तसले पावलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे, “फेलिक्सले राखेर गएको एक जना बन्दी यहाँ छ, जसको बारेमा, म यरूशलेममा छँदा, मुख्य पूजाहारीहरू र यहूदीहरूका धर्म-गुरुहरूले त्यसको विरुद्धमा अभियोग लाएर त्यसलाई दण्ड दिनुपर्छ भनी अनुरोध गरेका थिए। “अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन कुनै मानिसलाई त्यसै दण्डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ। जब तिनीहरू जम्मा भएर यहाँ आए, मैले ढिलो नगरिकन भोलिपल्टै न्याय-आसनमा बसेर तिनलाई हाजिर गराउने हुकुम गरें। जब अभियोक्ताहरू खड़ा भए मैले ठानेझैँ तिनको मुद्दामा कुनै खराब कुराहरूको अभियोग तिनीहरूले ल्याउन सकेनन्। तर तिनीहरूको मतभेदचाहिँ तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पावलले चाहिँ अझै जीवित छ भनी दाबी गर्दथियो। यसैले यस कुराको जाँच पड़ताल गर्ने विषयमा म अलमल्ल परेको हुँदा यसको बारे छलफल गर्न यरूशलेममा जान त्यसको इच्छा छ कि भनेर त्यसलाई मैले सोधें। तर पावलले सम्राट्को फैसला नभएसम्म हिरासतमै राख्नू भनी अपिल गरेको हुनाले त्यसलाई कैसरकहाँ नपठाउञ्जेल पहरामा राख्ने हुकुम दिएँ।” तब अग्रिपासले फेस्तसलाई भने, “यस मानिसको कुरा म आफैले पनि सुन्न पाए हुन्थ्यो।” अनि उनले भने, “भोलि तपाईंले सुन्नुहोला।” भोलिपल्ट अग्रिपास र बरनिकी बड़ो रवाफसँग सेनापतिहरू र सहरका प्रमुख मानिसहरूका साथ सभाभवनमा पसे। अनि फेस्तसको हुकुम पाएर पावल हाजिर गराइए। फेस्तसले भने, “राजा अग्रिपास र हामीसँग यहाँ भएका सबै उपस्थित सज्जन हो, तपाईंहरूले यस मानिसलाई देख्नुहुन्छ, जसको विषयमा सारा यहूदीहरूले ‘यो मानिस अब उप्रान्त जिउने योग्यको छैन’ भनी यरूशलेममा र यहाँ पनि मसँग बिन्ती गरेका थिए। तर ज्यानसजाय पाउनुपर्ने यसले केही गरेको मैले नभेट्टाएकोले र यो आफैले पनि सम्राट्कहाँ अपिल गरेको हुनाले मैले यसलाई पठाउने निश्चय गरें। यसको विषयमा मैले मेरा सम्राट्लाई लेख्ने विशेष कुरा केही छैन। यसकारण मैले यसलाई तपाईंहरूका सामुन्ने, र खास गरेर, हे राजा अग्रिपास, तपाईंको सामुन्ने ल्याएको छु, र हामीले यसको जाँच गरेपछि शायद मैले केही लेख्ने कुरा पाउनेछु। किनभने कैदीको विरुद्धमा कुनै अभियोग नबताईकन त्यसलाई पठाउन मलाई मनासिब लाग्दैन।”
प्रेरित 25:13-27 नेपाली समकालीन संस्करण (NCV)
त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए। तिनीहरू त्यहाँ धेरै दिन बस्ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाइएको एकजना मानिस यहाँ छ। म यरूशलेममा गएका बेलामा मुख्य पूजाहारीहरू र यहूदीहरूका प्रधानहरूले यस विरुद्धमा थुप्रै आरोपहरू लगाई उसलाई दण्ड दिइयोस् भनी माग गरे। “त्यस बेला मैले तिनीहरूलाई भनें, कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई त्यो मानिस सुम्पने प्रथा रोमी व्यवस्थामा छैन। जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ। जब उसका आरोपीहरू उभिएर बोल्न थाले, मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्। त्यसको साटो तिनीहरूका आफ्नै धर्मको बारेमा र येशू नाउँको एकजना मरेको व्यक्ति, जसलाई पावलले जिउँदै भएको दाबी गरेको बारेमा तिनीहरूका केही मतभेद थियो। यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेको हुनाले; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधें। तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्ने उजुर गरेकोले त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।” यो कुरा सुनेर अग्रिपाले फेस्तसलाई भने, “यो मानिसको बारेमा म आफै सुन्न चाहन्छु।” उनले जवाफ दिए, “हुन्छ, भोलि सुन्नुहुनेछ।” भोलिपल्ट अग्रिपा र बेर्निके ठूलो तडकभडकसाथ आए, तिनीहरू उच्च अधिकृतहरू र शहरका प्रमुख व्यक्तिहरू भेला भएका सभाकक्षमा पसे। फेस्तसको आदेशपछि पावल त्यहाँभित्र उपस्थित गराइए। त्यसपछि फेस्तसले भने: “राजा अग्रिपा र हाम्रा बीचमा उपस्थित हुनुभएका सबै भद्र जनहरूहो, तपाईंहरू यस मानिसलाई देखिरहनुभएको छ! यरूशलेममा साथै यहाँ कैसरियामा भएका सम्पूर्ण यहूदी समुदायकाले यो मानिस अब उप्रान्त बाँच्ने योग्य छैन भनी मेरो सामु जोडतोडका साथ उजुर गरेका छन्। यसले ज्यान मारिन लायकको सजाय पाउनेजस्तो केही गरेको म पाउँदिनँ, तर यसले सम्राट सामु उजुर गरेको हुनाले मैले उसलाई रोम पठाउने निर्णय गरें। तर उसको बारेमा सम्राटसमक्ष लेख्नुपर्ने कुनै ठोस कुरो मसँग छैन। त्यसैले यस मानिसलाई तपाईंहरू सबैको र विशेष गरी राजा अग्रिपा तपाईंसमक्ष मैले उपस्थित गराएको छु, ताकि हामीले यसको छानबिन गरेपछि परिणाम स्वरूप केही कुरा लेख्ने आशा राखेको छु। किनकि मेरो विचारमा कुनै पनि बन्दीलाई उसका विरुद्धमा लगाइएका आरोपहरू उल्लेख नगरी त्यसै रोम पठाउनु ठीक छैन।”
प्रेरित 25:13-27 पवित्र बाइबल (NERV)
केही दिनपछि राजा अग्रिपा र वर्णिस फेस्तसलाई भेट्न सिजरिया आए। तिनीहरू त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ। जब म यरूशलेम गएँ त्यहाँका मुख्य पूजाहारीहरू र बुढा यहूदी अगुवाहरूले उनको विरुद्ध मुद्दा हालेकाछन्। यी यहूदीहरू मबाट उसलाई मृत्युदण्ड दिलाउन चाहन्छ्न्। तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसँग मुखा-मुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।’ “यसर्थ ती यहूदीहरू मसँग आए। अनि मैले समय नष्ट गरिनँ। अर्को दिन म न्याय-आसनमा बसें अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ। यहूदीहरू उठे अनि आरोप लगाए। तर यहूदीहरूले कुनै नराम्रो अपराधको लागी दोषाएनन् जुन आशा गरेको थिएँ। जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ ऊ अझै पनि जिउँदो छन्। म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिनँ। तर मैले पावललाई भने, ‘के तिमी यरूशलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?’ तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सक्तिन उसलाई त्यहीं राख्नु।” अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।” फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।” अर्को दिन आग्रिपा र वर्णिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र वर्णिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे। फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसँग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहूदीहरू र यरूशलेममा भएका यहूदीहरूले यस मानिसको विरुद्ध गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन। जब मैले जाँचिरहेको थिएँ उसले केही यस्तो भूल गरेको मैले पाइन ताकि उसलाई मृत्यु दण्ड दिइयोस्। अनि आफैंले सिजरकहाँ अपील गरे। यसैकारण यिनलाई मैले रोम पठाउने निर्णय गरें। तर मैले उनको विषयमा सिजरलाई के लेख्ने कुनै निश्चित आधार पाइन। यसकारण उनलाई मैले तपाईंहरू सबैको समक्ष उभ्याएँ। म आशान्वित छु कि तपाईंहरूको प्रश्न पश्चात तपाईंहरूले सुझावहरू मलाई दिनुहुनेछ ताकि म सिजरलाई केही लेख्न सक्छु। उसको विरोधमा दोषहरू नऔंल्याई केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।”
प्रेरित 25:13-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही दिनपछि राजा अग्रिपास र उनकी बहिनी बरनिकी फेस्तसको स्वागत गर्न कैसरियामा आए। तिनीहरू केही दिन कैसरियामा बसेपछि फेस्तसले तिनीहरूलाई पावलको कुरा यसरी सुनाए, “यहाँ फेलिक्सले नै थुनेका एउटा मानिस छ। म यरूशलेम गएको बेलामा यहूदीहरूका मुख्य पूजाहारी र अरू अगुवाहरूले उसको विरोधमा दोष लगाएका थिए र उसलाई दण्ड दिनुपर्छ भने। तर मैले तिनीहरूलाई भनें, ‘मानिसलाई दोषी नठहराएसम्म रोमी सरकारको दण्ड दिने चलन छैन। दोष लगाइएको मानिसले दोष लगाउनेका अगाडि आफ्नो कुरा सुनाउने मौका पाउनुपर्छ’। तिनीहरू यहाँ आएपछि मैले ढीलो नगरी भोलिपल्टै पावललाई न्यायालयमा ल्याउने आज्ञा दिएँ। पावलका विरोधीहरूले उसले अपराध गरेको कुनै खास दोष लगाउँछन् होला भन्ने सम्झेको थिएँ, तर तिनीहरूले त्यस्तो कुनै दोष लगाउन सकेनन्। उनीहरूकै धर्म र मरिसकेको येशू भन्ने मानिसको बारेमा मात्रै तिनीहरूको पावलसँग झगडा थियो। पावलचाहिँ मरेको येशू बिउँतनुभएको छ भनेर जिद्दी गर्दोरहेछ। यी कुराको बारेमा मैले त केही सोधपूछ गर्न पनि सकिनँ। त्यसो हुँदा मैले उसलाई ‘यरूशलेम गएर तिम्रो न्याय त्यहीँ नै गरे हुन्छ कि’ भनेर सोधें। तर उसले रोमी सम्राटबाट न्याय पाऊँ भनी बिन्ती गर्यो र मैले सम्राटकहाँ नपठाएसम्म उसलाई राम्ररी पहरा दिएर यहीँ नै राख्ने आज्ञा दिएको छु।” यो बयान सुनेर अग्रिपासले फेस्तसलाई भने, “मलाई आफैं त्यसको कुरा सुन्न मन लाग्यो।” फेस्तसले भने, “भोलि नै हजुरले सुन्न पाउनुहुन्छ।” भोलिपल्ट अग्रिपास र बरनिकी ठूलो सम्मानमा आए। उनीहरू सेनापतिहरू र सहरका गण्य-मान्य व्यक्तिहरूसँग सभामा बसे। फेस्तसले आज्ञा दिएपछि पावललाई सभामा ल्याइयो। फेस्तसले भने, “राजा अग्रिपास र यहाँ उपस्थित हुने सबै भलाद्मीहरू, यहूदीहरू सबैले मकहाँ उजुर गरेको मानिस यही नै हो। यो मानिसलाई मार्नुपर्छ भनी सबै यहूदीहरूले यरूशलेममा र यहाँ कैसरियामा पनि भन्छन्। तर मैले यस मानिसमा ज्यान सजाय दिने लायकको कुनै दोष पनि भेट्न सकिनँ। तर ऊ आफैंले रोमी सम्राटकहाँ बिन्ती चढाउने माग गरेकोले मैले उसलाई रोमी सम्राटकहाँ पठाउने निर्णय गरें। तर मैले सम्राटलाई उसको बारेमा केही पनि लेख्न सकिनँ। यसैकारण मैले उसलाई तपाईंहरूको सामुन्ने र खास गरी तपाईं राजा अग्रिपासको सामुन्नेमा ल्याउन चाहेको हुँ। तपाईंहरूले यसको जाँचबुझ गरिदिनुभयो भने मैले लेख्ने कुरो पाउँछु कि भन्ने आशा राखेको छु किनभने खास दोष नदेखाई उसलाई पठाउन मलाई राम्रो लागेन।”