प्रेरित 25:1-12 - Compare All Versions
प्रेरित 25:1-12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
फेस्तस आफ्नो प्रान्तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए। मुख्य पूजाहारीहरू र यहूदीहरूका प्रमुख मानिसहरूले पावलको विरुद्धमा अभियोग लाए, र तिनलाई बाटैमा मार्ने षड्यन्त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस् भन्ने बिन्ती गरे। तर फेस्तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्छा भएको कुरा व्यक्त गरे। उनले भने, “यसकारण तिमीहरूमध्येका नेताहरू त्यहाँ मेरो साथ जाऊन्, र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।” तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्दा बढ़ी नबसी कैसरिया फर्के, र त्यसकै भोलिपल्ट न्याय-आसनमा बसेर उनले पावललाई ल्याउने हुकुम गरे। तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए, र पावलको विरुद्धमा अनेक गम्भीर अभियोग लगाए, जसको तिनीहरूले प्रमाण दिन सकेनन्। पावलले आफ्नो पक्षमा बोल्दै भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।” तर फेस्तसले यहूदीहरूलाई खुशी तुल्याउनका निम्ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्यहाँ मेरो सामुन्ने यी कुराका विषयमा इन्साफ गरिओस् भन्ने इच्छा गर्छौ?” तर पावलले भने, “म कैसरको न्याय-आसनको सामुन्ने खड़ा भइरहेछु, जहाँ मेरो इन्साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ। यदि म अपराधी हुँ, र मैले ज्यानसजाय पाउने योग्यको काम गरेको छु भने मर्नलाई म इन्कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्पन सक्दैन। म कैसरकहाँ अपिल गर्दछु।” तब फेस्तसले सल्लाहकारहरूसँग परामर्श गरेर भने, “तिमीले कैसरकहाँ अपिल गर्यौ, तिमी कैसरकहाँ नै जानेछौ।”
प्रेरित 25:1-12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए। त्यहाँ मुख्य पुजारी र यहूदी अगुवाहरू तिनका सामु आए र पावलका विरुद्ध आरोपहरू लगाए। तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे। किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए। फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु। तपाईंहरूका केही अगुवाहरूलाई मसँग पठाउनुहोस् र त्यसले केही गलत काम गरेको छ भने तिनीहरूले त्यस मानिसका विरुद्धमा त्यहीँ आरोपहरू लगाऊन्।” दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए। जब पावल त्यहाँ आए, यरूशलेमबाट आएका यहूदीहरू उनका चारैतिर उभिए। अनि उनका विरुद्ध धेरै गम्भीर आरोपहरू लगाए, तर तिनीहरूले ती प्रमाणित गर्न सकेनन्। त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।” यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने त्यहाँ जान चाहन्छौ?” पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीँ नै हुनुपर्दछ। तपाईंहरू आफैँलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ। यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ। तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।” आफ्नो सभासँग सल्लाह गरेपछि फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।”
प्रेरित 25:1-12 NERV (पवित्र बाइबल)
फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए। मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे। तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए। तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु। तिमीहरूका अगुवाहरू पनि मसँग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिनै गरेका भए तिनीहरूले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।” फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे। पावल न्यायालायमा आए। यरूशलेमबाट आएका यहूदीहरू उनको वरिपरि उभिए। यहूदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्। तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।” तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?” पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ। यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।” फेस्तसले आफ्ना महासभासँग परार्मश गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।”
प्रेरित 25:1-12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
फेस्तस आफ्नो मुलुकबाट आएको तीन दिनपछि नै कैसरियाबाट यरूशलेम गए। त्यहाँ हुँदाखेरि मुख्य पूजाहारी र यहूदी नेताहरूले उनलाई पावलको विरोधमा आफ्ना कुरा सुनाए र पावललाई यरूशलेम पठाइदिनुहोस् भनी बिन्ती चढाए किनभने तिनीहरूले पावललाई बाटोमा आउँदाआउँदै मार्ने योजना बनाउँदै थिए। तर फेस्तसले तिनीहरूलाई यस्तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्यहाँ जाँदै छु। तिमीहरूमध्येको कोही शासकहरू मसँगै जान चाहन्छन् भने पठाइदेओ। यदि पावलले केही बिराएको छ भने तिनीहरूले त्यहाँ नै उजुर गर्न सक्छन्।” आठ-दश दिनसम्म यरूशलेममा बसेपछि फेस्तस कैसरियामा फर्किए। भोलिपल्टै उनले न्याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्याउनू’ भनेर हुकुम दिए। पावल आइपुगेपछि यरूशलेमबाट आएका यहूदीहरूले उनलाई चारैतिरबाट घेरेर थरी-थरीका दोष लगाए। तर तिनीहरूले कुनै पनि दोषको प्रमाण दिन सकेनन्। पावलले तिनीहरूलाई जवाफ दिँदै भने, “मैले न यहूदी धर्मशास्त्रको विरोधमा न मन्दिरको विरोधमा नता रोमी महाराजाको विरोधमा नै कुनै नराम्रो काम गरेको छु।” यहूदीहरूलाई खुसी पार्ने इच्छाले फेस्तसले पावललाई भने, “म तिमीलाई यरूशलेम पठाइदिन्छु अनि यी कुराको बारेमा म तिम्रो न्याय त्यहीँ नै गर्नेछु, हुँदैन र?” तर पावलले भने, “म रोमी महाराजाको न्यायालयको अगाडि उभिरहेको छु। यहीँ नै मेरो न्याय हुनुपर्छ। मैले यहूदीहरूको विरोधमा कुनै खराबी गरेको छैन भन्ने कुरा हजुरलाई पनि थाहा छ। यदि मैले ऐन-कानुनलाई मिचेको छु र ज्यानसजाय पाउनुपर्ने कुनै अपराध गरेको छु भने म मर्नलाई पनि तयार छु। तर यहूदीहरूले लगाएका कुनै पनि दोष साँचो छैन भने मलाई तिनीहरूको हातमा कसैले पनि सुम्पन सक्दैन। म रोमी महाराजाको अगाडि नै बिन्ती चढाउने अधिकार माग्छु।” तब फेस्तसले उनका सल्लाहकारहरूसँग सल्लाह गरे अनि पावललाई भने, “तिमीले महाराजाको अगाडि नै बिन्ती चढाउने माग गर्यौ। त्यसो हुँदा म तिमीलाई महाराजाकहाँ नै पठाइदिनेछु।”