YouVersion लोगो
खोज आइकन

प्रेरित 20:13-38

प्रेरित 20:13-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हामी अघिबाटै जहाजसम्‍म गयौं र जहाजमा चढ़ी हामी अस्‍सोस गयौं। हामी पावललाई त्‍यहाँ जहाजमा चढ़ाउन चाहन्‍थ्‍यौं। पावलले यस्‍तै बन्‍दोबस्‍त गरेर तिनी अस्‍सोससम्‍म पैदलै गएका थिए। अनि जब तिनले हामीलाई अस्‍सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं। त्‍यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्‍ट खियसको छेउमा आइपुग्‍यौं, र पर्सिपल्‍ट सामोसमा आइपुग्‍यौं। त्‍यसको अर्को दिन मिलेटसमा आयौं, एशियामा समय बिताउने विचार नभएको हुनाले तिनले एफिसस नपसी जाने निश्‍चय गरे। किनभने सम्‍भव भए पेन्‍तिकोसको दिन यरूशलेममै पुग्‍ने तिनले आतुरी गरिरहेका थिए। तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्‍डलीका एल्‍डरहरूलाई बोलाइपठाए। जब उनीहरू तिनीकहाँ आए तिनले उनीहरूलाई भने, “एशियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले समस्‍त समय तपाईंहरूका बीचमा कुन किसिमले बिताएँ सो तपाईंहरू जान्‍नुहुन्‍छ। पूर्ण नम्रतामा आँसु बगाउँदै, यहूदी षड्‌यन्‍त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें। तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्‍ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्‍ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ। यहूदीहरूलाई र ग्रीकहरूलाई पश्‍चात्ताप गरेर परमेश्‍वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास राख्‍नू भन्‍ने कुराको गवाही मैले दिएको छु। “अब हेर्नुहोस्, म पवित्र आत्‍मामा बाध्‍य भएर यरूशलेमतिर जाँदैछु, त्‍यहाँ मलाई के-कसो परिआउने हो सो म केही जान्‍दिनँ। यति मात्र जान्‍दछु, कि हरेक सहरमा कैद र कष्‍ट ममाथि परिआउँछ भन्‍ने पवित्र आत्‍माले मलाई गवाही दिनुहुन्‍छ। तर म आफ्‍नो जीवनलाई कुनै मोलको र आफ्‍नो निम्‍ति प्रिय ठान्‍दिनँ। यति मात्र चाहन्‍छु, कि परमेश्‍वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ। “अब हेर्नुहोस्, म जान्‍दछु कि तपाईंहरूमध्‍ये सबै, जस-जसलाई मैले राज्‍यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्‍यै देख्‍नुहुनेछैन। यसैकारण आजको दिन म तपाईंहरूलाई गवाही दिँदछु, कि म कसैको रगतको दोषी हुनेछैनँ। किनभने परमेश्‍वरको समस्‍त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ। तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌। किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्‍दा ब्‍वाँसाहरू तपाईंहरूका माझमा पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्‍नेछैनन्‌। तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्‍ने मानिसहरू उठ्‌नेछन्, जसले चेलाहरूलाई आफ्‍ना पछि लैजानेछन्‌। यसकारण यो सम्‍झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्‍म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें। “अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँका अनुग्रहको वचनमा सुम्‍पिदिन्‍छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्‍छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्‍छ। मैले कुनै मानिसको सुन, चाँदी, कि वस्‍त्रको लोभ गरिनँ। तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि मेरा यिनै हातले मेरो आफ्‍नै र मेरा साथमा भएकाहरूको आवश्‍यकतालाई पूरा गरेका छन्‌। मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।” यति भनेर तिनले घुँड़ा टेके र उनीहरू सबैका साथमा प्रार्थना गरे। उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्‍बन गरे। उनीहरूले फेरि कहिल्‍यै तिनको मुख देख्‍नेछैनन्‌ भनी पावलले भनेका कुरामा तिनीहरूले ज्‍यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्‍याए।

शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्

प्रेरित 20:13-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जहाजमा चढेर हामी अस्सोसमा पहिल्यै पुग्यौँ, जहाँ हामी पावललाई जहाजमा चढाउन चाहन्थ्यौँ। तिनले त्यहाँसम्म पैदल यात्रा गरी आउने बन्दोबस्त पहिल्यै मिलाएका थिए। जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौँ र मितिलेनेमा गयौँ। भोलिपल्ट जहाजको यात्रा गर्दै हामी खियसमा पुग्यौँ र अर्को दिन हामीले सामोसलाई पार गर्‍यौँ। अनि भोलिपल्ट मिलेटसमा पुग्यौँ। एशिया प्रान्तमा समय बिताउनु नपरोस् भनेर पावलले एफिससबाट तर्किएर जाने निर्णय गरे। पावल हतारमा थिए; किनकि सम्भव भएसम्म पेन्टिकोस्ट पर्वको दिनमा उनी यरूशलेममा पुग्न चाहन्थे। मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए। तिनीहरू आइपुगेपछि उनले तिनीहरूलाई भने: “तपाईंहरूसित एशियामा बसेको पहिलो दिनदेखि समस्त समय म कसरी तपाईंहरूसँग रहेँ, त्यो कुरा तपाईंहरूलाई थाहै छ। यहूदीहरूले मेरो विरुद्ध षड्यन्त्रहरू रचेर ठूलो सङ्कटमा पारे तापनि मैले पूर्ण विनम्रतासाथ आँसु बगाउँदै प्रभुको सेवा गरिरहेँ। तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ। तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ। यहूदीहरू र ग्रीकहरू पश्‍चात्तापमा परमेश्‍वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्‍वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ। “अब मचाहिँ पवित्र आत्माको प्रेरणामा यरूशलेममा जाँदैछु; म जान्दिनँ ममाथि त्यहाँ के घट्ने हो। तर मलाई यति थाहा छ, हरेक सहरमा मैले दुःख-कष्‍ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सतर्क गराउनुहुन्छ। तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्‍वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ। “म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्‍वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन। त्यसैकारण तपाईंहरूसमक्ष म आज गवाही दिन्छु; तपाईंहरू सबैको रगतदेखि म निर्दोष छु। किनकि परमेश्‍वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ। आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्‍नुभएको छ; परमेश्‍वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्‍नुभएको छ। मलाई यो थाहा छ, मैले छोडेर गएपछि तपाईंहरूका बीचमा जङ्गली ब्वाँसाहरू पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्। तपाईंहरू मध्येबाट नै सत्यलाई बङ्ग्याउने मानिसहरू उठ्नेछन् र चेलाहरूलाई फकाई तिनीहरूका पछि-पछि लगाउनेछन्। त्यसकारण सावधान हुनुहोस्! सम्झनुहोस्; कसरी तीन वर्षसम्म रातदिन आफ्ना आँसु बगाउँदै तपाईंहरूलाई चेतावनी दिन म कहिल्यै थाकिनँ। “अब म तपाईंहरूलाई परमेश्‍वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, तब यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ। मैले कसैको सुन, चाँदी वा लुगाफाटाहरूमा लोभ गरिनँ। तपाईंहरू आफैँ जान्‍नुहुन्छ, कि मेरा र मसँग हुनेहरूका आवश्यकताहरू मैले आफ्ना यिनै हातहरूद्वारा पूरा गरेको छु। मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; अनि कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ। प्रभु येशू आफैँले भन्‍नुभएका वचनहरूको सम्झना गरौँ: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ ” यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैसँग प्रार्थना गरे। उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए। तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्‍ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याउन गए।

शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्

प्रेरित 20:13-38 पवित्र बाइबल (NERV)

हामी अस्सोस तिर समुद्रयात्रामा पावल भन्दा अघि गयौं। हामीले प्रथम पावललाई नै भेट्यौ। उनले हामीसँग अस्सोसमा भेट्ने र जहाजमा सामेल हुने योजना गरे। पावलको जमीनबाटै अस्सोस जाने इच्छाले गर्दा यस्तो कार्यक्रम बनाए। पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसँग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ। हामी जाहजबाटै गयौं अनि अर्को दिन चिओस टापू पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं। पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोष पर्वमा यरूशलेममा हुन चाहन्थे। मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे। जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसँग जति समय बिताँए, म कस्तो प्रकारले बसें। तर यहूदीहरूले मेरो विरुद्ध धेरै षडयन्त्रहरू गरे जसले गर्दा मैले प्रभुकै सेवा गरें। मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाएँ। मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिवर्त गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें। “तर अब पवित्र आत्माको आदेश पालन गर्नै पर्छ। म यरूशलेम जानै पर्छ र म जान्दिन त्यहाँ मेरो के गति हुन्छ। म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई पर्खिरहेको छ। म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु। “अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसँग सधैँ थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने। यसर्थ आज म भन्न लागिरहेछु कि म निःसन्देह छु यदि तिमीहरू मध्ये कसैले मुक्ति पाएनौ भने परमेश्वरले मलाई दोष लगाउनु हुनेछैन! म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो। तिमीहरू आफैं र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ। म जान्दछु कि म गई सके पछि कतिपय पुरुषहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू क्रुर ब्वाँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंश पार्ने कोशिश गर्नेछन्। तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बङ्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्। यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नुः म तिमीहरूसँग तीन वर्ष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहें। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि। “अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ। मैले कहिल्यै पनि आफ्नो लागि कसैको पैसा र लुगाहरू चाहिनँ। तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसँग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें। मैले तिमीहरूलाई सधैँ म जस्तै खट भनेर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनें। मैले प्रभु येशूको वचन याद गर्न सिकाँए। येशूले भन्नुभयो, ‘लिनु भन्दा पनि दिनुमा नै धेरै आनन्द छ।’” जब पावलले ती कुराहरू भनिसके, उनी घुँडा टेकेर बसे र प्रत्येकले मिलेर प्रार्थना गरे। तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्। तिनीहरूले पावललाई अङ्गालो हाले र चुम्बन गरे। तिनीहरू उनलाई विदा दिन जहाज सम्म गए।

शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्

प्रेरित 20:13-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्रोआसबाट पावलबाहेक हामी सबै पानीजहाज चढेर अस्‍सोस सहरमा गयौं। पावललाई चाहिँ अस्‍सोससम्‍म हिँडेर जाने इच्‍छा भएकोले उनले आफूलाई अस्‍सोसमा मात्रै पानीजहाजमा चढ्‍ने बन्‍दोबस्‍त गरेका थिए। हामी अस्‍सोसमा पुगेपछि उनी पनि आएर जहाजमा चढे र हामी सबै मिलेर मितिलेने सहरमा गयौं। भोलिपल्‍ट हामीहरू समुद्रको बाटो भएर खियस टापुको छेउमा र पर्सिपल्‍ट सामोस टापुमा पुग्‍यौं। त्‍यहाँबाट अर्को दिनचाहिँ मिलेटस सहरमा आइपुग्‍यौं। एशियामा अलमल हुन्‍छ भनेर पावल एफिसस सहरमा नपस्‍ने निधो गरे किनभने उनलाई यरूशलेममा पुग्‍न हतार भएको थियो। उनले पेन्‍तिकोसको चाडमा सकेसम्‍म पुग्‍ने इच्‍छा राखेका थिए। मिलेटस सहरबाट पावलले एफिसस सहरमा भएका मण्डलीका धर्म-गुरुहरूलाई बोलाइपठाए। तिनीहरू आइपुगेपछि उनले भने, “एशियामा आएको दिनदेखि नै तपाईंहरूसँगै बस्‍दा मैले ती दिनहरू कसरी बिताएँ त्‍यो तपाईंहरूलाई थाहै छ। यहूदीहरूका जालझेलले गर्दा घरीघरी ठूलो सङ्‌कटमा परें तैपनि मैले नम्र भएर आँसु बहाउँदै प्रभुकै सेवा गरें। तपाईंहरू सबैको अगाडि र घर-घरमा पसेर शिक्षा दिँदा मैले तपाईंहरूको भलाइ हुने कुनै कुरा मनमा बाँकी राखिनँ। ‘मैले यहूदी र अरू जातिका मानिसहरू सबैलाई आ-आफ्‍ना पाप छोडेर परमेश्‍वरकहाँ फर्किनू’ अनि येशूमा विश्‍वास गर्नू भनी प्रचार गरें। “अहिले म पवित्र आत्‍माले भन्‍नुभएको मानेर यरूशलेम जाँदै छु। त्‍यहाँ मलाई के-के हुने हो, म जान्‍दिनँ। तर यति त जान्‍दछु, सतावट र झ्‍यालखानको दु:ख भोग्‍नुपर्नेछ भनेर पवित्र आत्‍माले मलाई थाहा दिनुभएको छ। तैपनि मेरो जीवन आफ्‍नै लागि त कुनै मूल्‍यको छैन। म खालि यति मात्र चाहन्‍छु कि परमेश्‍वरले मानिस जातिलाई अनुग्रह गर्नुभएको छ भन्‍ने सुसमाचार फैलाउने कामलाई म पूरा गर्न सकूँ, जुन कामचाहिँ प्रभु येशूले नै मलाई अह्राउनुभएको हो। अब हेर्नुहोस्, तपाईंहरू जसको बीचमा मैले परमेश्‍वरको राज्‍य प्रचार गर्दैआएको छु, तपाईंहरूसँग फेरि मेरो कहिल्‍यै पनि भेट हुँदैन भन्‍ने कुरा मलाई थाहा छ। यसैकारण आज म तपाईंहरूलाई साक्षी दिँदै भन्‍छु, यदि तपाईंहरूमध्‍ये कोही नाश हुनुभयो भने मलाई त्‍यसको दोष लाग्‍नेछैन किनभने परमेश्‍वरले हाम्रो उद्धारको निम्‍ति गर्नुभएको र गर्नुहुने कामको बारेमा कुनै कुरा पनि बाँकी नराखी मैले तपाईंहरूलाई सबै बताइसकेको छु। अब तपाईंहरू आफैंले आफ्‍नो हेरचाहा गर्नुहोस् अनि पवित्र आत्‍माले तपाईंहरूलाई जिम्‍मा लगाउनुभएका बगालहरूको पनि हेर-विचार गर्नुहोस्। परमेश्‍वरको मण्‍डलीको राम्रो गोठाला हुनुहोस् किनभने प्रभु येशूले ती मानिसहरूलाई आफ्‍नै रगत बगाएर किन्‍नुभएको हो। म जान्‍दछु, म गएपछि जङ्गली ब्‍वाँसाजस्‍ता मानिसहरू तपाईंहरूका बीचमा पस्‍नेछन् र मण्‍डलीलाई दु:ख दिन छोड्‍नेछैनन्। तपाईंहरूकै बीचबाट पनि झूटो शिक्षा दिने मानिसहरू निस्‍कनेछन्। तिनीहरूले प्रभुका चेलाहरूलाई आफ्‍नै कुबाटोमा लैजान खोज्‍नेछन्। त्‍यसो हुँदा चनाखो भएर बस्‍नुहोस् अनि मैले तीन वर्षसम्‍म दिन-रात आँसु बगाउँदै प्रभुको एक-एक चेलालाई सिकाएको कुरा नबिर्सनुहोस्। “अब म तपाईंहरूलाई परमेश्‍वरको हातमा जिम्‍मा लाउँदै छु र उहाँकै अनुग्रहले भरिएको सन्‍देशको भरमा छोडिदिन्‍छु, जसद्वारा परमेश्‍वरले तपाईंहरूलाई विश्‍वासमा बलियो बनाइरहनुहुन्‍छ र आफ्‍ना मानिसहरूलाई आशिष्‌को भागीदार बनाउनुहुन्‍छ। मैले कसैको सुन-चाँदी वा लुगाको लोभ गरिनँ। तपाईंहरू आफैंलाई थाहा छ, मेरा हातले काम गरेर मलाई र मेरा साथीहरूलाई चाहिने कुरा जुटाएँ। यसरी ‘लिनेहरूभन्दा दिनेहरू धन्‍य हुन्’ भनेर प्रभु येशू आफैंले भन्‍नुभएको कुरालाई सम्‍झेर कमजोर मानिसहरूको हेरचाहा गर्न सकेसम्‍म परिश्रमसँग काम गर्नुपर्छ भनी मैले सबै कुरामा देखाएको छु।” यति भनेर पावलले सबैसँग मिलेर घुँडा टेकी प्रार्थना गरे। तिनीहरूले ज्‍यादै शोक गरे। सबैले रुँदै पावललाई अँगालो हालेर चुम्‍बन गर्दै बिदा गरे। पावलले एक-अर्कासँग फेरि कहिल्‍यै भेट हुँदैन भनेकोमा तिनीहरूले ज्‍यादै दु:ख माने। त्‍यसपछि तिनीहरूले पावललाई पानीजहाजसम्‍म पुर्‍याए।

शेयर गर्नुहोस्
प्रेरित 20 पढ्नुहोस्