प्रेरित 2:1-47
प्रेरित 2:1-47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो। आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे। स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए। तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो। तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र? त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं? हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस र एशियाका बासिन्दाहरू छौं। अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं, क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं।” तिनीहरू सबै आश्चर्यचकित भए र अन्योलमा परेर एउटाले अर्कालाई यसो भन्न लागे, “यसको अर्थ के हो?” तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्।” तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्नुहोस्। किनभने तपाईंहरूले ठान्नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ। तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो, ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्मा खन्याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन्। माथि आकाशमा म अचम्मका काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु, अर्थात् रगत, आगो, र धूवाँको मुस्लो। परमप्रभुको महान् र गौरवमय दिन आउन अगाडि सूर्य अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’ “इस्राएलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशू यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका सामुन्ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। परमेश्वरले ठहराउनुभएको निश्चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो, किनकि दाऊदले उहाँको विषयमा भन्दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ। यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ। किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्नो उपस्थितिद्वारा आनन्दले गद्गद् पार्नुहुनेछ।’ “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो, र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्नुहुन्छ। किनकि दाऊद त स्वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’ “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।” यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?” पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।” अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।” तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए। तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए। तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे, र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।
प्रेरित 2:1-47 नेपाली समकालीन संस्करण (NCV)
जब पेन्तिकोसको दिन आइपुग्यो, तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए। अचानक ठूलो बतास चलेको हुरीको जस्तै एउटा ठूलो आवाज त्यहाँ स्वर्गबाट आयो र तिनीहरू बसिरहेको पूरै घरलाई त्यसले भरिदियो। तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैं देखे, अनि ती तिनीहरू हरेकमाथि आएर बसे। तिनीहरू सबै पवित्र आत्माले भरिए, र पवित्र आत्माले सामर्थ बनाउनुभएअनुसार तिनीहरू अन्य भाषाहरूमा बोल्न थाले। त्यस समयमा स्वर्गको मुनि भएका हरेक जातिबाट परमेश्वरको भय मान्ने यहूदीहरू यरूशलेममा बसोबास गर्दथे। जब तिनीहरूले यो आवाज सुने, अति आश्चर्य चकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो; किनकि हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने। अनि तिनीहरू एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने सबै मानिसहरू के गालीलीहरू होइनन् र? त कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामीहरू सुन्दैछौं? हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका, अनि फ्रिगिया र पामफिलिया, इजिप्ट देश र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौं र रोमबाट आएका परदेशीहरू (यहूदी र यहूदी धर्म मान्नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं; अनि सबैले हाम्रो आ-आफ्नै भाषामा परमेश्वरको आश्चर्यपूर्ण कामहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं!” अचम्म र अन्योलमा परे, र तिनीहरू एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?” तर कतिले चाहिँ तिनीहरूका हाँसो गरेर भने, “धेरै मद्यपान गरेर तिनीहरू मात्तिएका छन्।” तब पत्रुस एघारै जनासँग उभिए, र उच्च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्नुहुने तपाईं सबै मानिसहरूहो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस् र म जे भन्छु त्यो ध्यानपूर्वक सुनिदिनुहोस्। तपाईंहरूले ठानेझैं यी मानिसहरू मातेका छैनन्; किनकि अहिले बिहानको नौ मात्र बजेको छ! तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरो नै हो: “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, सबै मानिसहरूमाथि म मेरो आत्मा खन्याइदिनेछु। अनि तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्, तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्। ती दिनहरूमा मेरा सेवक-सेविकाहरूमाथि पनि म मेरो आत्मा खन्याइदिनेछु, अनि तिनीहरूले अगमवाणी बोल्नेछन्। अनि माथि आकाशमा म आश्चर्यपूर्ण कामहरू देखाउनेछु, र तल पृथ्वीमा अद्भुत चिन्हहरू देखाउनेछु रगत, आगो र धूवाँका मुस्लाहरू। प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछन्। अनि प्रभुको नाउँ पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’ “हे इस्राएलका मानिसहो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई तपाईंहरूका सामु परमेश्वरले शक्तिशाली कामहरू, आश्चर्यपूर्ण कामहरू र अद्भुत चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो। तपाईंहरू सबैले जानेकै कुरा हो, तपाईंहरूका बीचमा यी कामहरू परमेश्वरले उहाँद्वारा गराउनुभएको हो। आफ्नो निश्चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्वरले तपाईंहरूमा सुम्पनुभएको थियो। यिनै येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै, परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। दाविदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैं देखें। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म कहिल्यै डगमगाउने छैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ; किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, तपाईंले आफ्नो पवित्र जनको शरीर कुहिन दिनुहुनेछैन। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभयो; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’ “सङ्गी भाइहरूहो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दाविद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। तर उनी एउटा अगमवक्ता थिए। उनकै सन्तानमध्ये एकजनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको उनलाई थाहा थियो। पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्ट पुनर्जीवित हुनुहुनेछ भन्ने विषयमा बोले। उहाँ न पातालमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहिन दिनुभयो। परमेश्वरले यिनै येशूलाई जीवित पार्नुभयो र हामी सबै यस तथ्यका साक्षी छौं। परमेश्वरको दाहिने हातपट्टि उहाँले उच्च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्त गर्नुभयो र त्यसैलाई यहाँ खन्याइदिनुभयो जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। किनकि दाविद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिन।” ’ “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून् कि, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यिनै येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो।” जब त्यहाँ जम्मा भएका मानिसहरूले यो कुरा सुने, तिनीहरूका हृदय छियाछिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरूहो, अब हामीले के गर्नुपर्छ?” अनि पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाको निम्ति पश्चात्ताप गर्नुहोस् र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ। किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो, ती सबैका निम्ति जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।” अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करीब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए। तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे। प्रेरितहरूद्वारा धेरै आश्चर्यपूर्ण कामहरू र चिन्हहरू गरिएको देखेर सबै भयभीत भए। सबै विश्वासीहरू एकैसाथ बस्थे र सबै थोक तिनीहरूमा साझा थिए। आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे। तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे र घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे, र परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।
प्रेरित 2:1-47 पवित्र बाइबल (NERV)
जब पेन्तिकोसको दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए। अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो। तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो। तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो। त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए। तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे। यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्। तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया, फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम क्रेती र अरबीयाबाटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।” मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?” तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते। त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसँग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यू-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु। यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ। आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका छन्: ‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु। तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्। त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, मेरो आत्मा खन्याउनेछु, अनि तिनीहरूले अगमवाणी गर्नेछन्। म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ। घाम अन्धकारमय भई बद्लिने छ, अनि जुन रगत सरह रक्तिम हुनेछ। तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ। अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’ “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ। येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घट्ना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो। येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो। दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैँ मैले प्रभुलाई मेरो सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ। यसैले मेरो हृदय आनन्दित छ, र मेरो मुख आनन्दसित बोल्दछ। हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ, किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन। तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ, तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’ “मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसँग छ। दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’ यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ। दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस, जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’ “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।” जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?” पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ। यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैंमा बोलाउनु हुन्छ।” पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए। ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए। प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे। सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे। विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे। तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे।
प्रेरित 2:1-47 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पेन्तिकोस भनिने यहूदी चाड हुँदा प्रभु येशूमा विश्वास गर्ने सबै मानिसहरू एकै ठाउँमा भेला भएका थिए। त्यस बेला एक्कासि आकाशबाट ठूलो हावा चल्यो र त्यो हावाको आवाजले तिनीहरू बसेको घर भरियो अनि आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे। ती आगोका जिब्राहरू भाग-भाग भएर त्यहाँ भएका सबै मानिसमाथि बसे। तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले पवित्र आत्माबाटै बोल्ने शक्ति पाएर अन्य भाषाहरूमा बोल्न थाले। त्यस समयमा यरूशलेममा संसारका विभिन्न ठाउँबाट यहूदीहरू आएका थिए। तिनीहरू परमेश्वरको डर मान्ने मानिसहरू थिए। यस्तो हल्ला सुनेर मानिसहरू चारैतिरबाट उठेर आए र त्यहाँ ठूलो भीड लाग्यो। ती विभिन्न ठाउँबाट आएका यहूदीहरूले चाहिँ आ-आफ्ना भाषा बोलिरहेको सुने। तिनीहरू ज्यादै छक्क परेर भन्न लागे, “के यी बोल्ने मानिसहरू सबै गालीलीहरू होइनन् र? तब यो कस्तो अचम्म! यिनीहरूले बोलेको भाषा त हामी विभिन्न देशबाट आएका मानिसहरूले आ-आफ्नै देशको भाषामा बोलिरहेको सुन्दै छौं! हामीहरूचाहिँ पार्थीहरू, मादीहरू, एलामीहरू, मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस, एशिया, फ्रिगिया, पामफिलिया, मिश्रदेश, कुरेनीको छेउछाउका लिबियाका क्षेत्रहरू, रोम सहर, क्रेट टापू र अरब देशबाट आएका मानिसहरू हौं। हामी चाहे यहूदी हौं, चाहे यहूदी धर्म लिएका अर्को जातका मानिस हौं, यिनीहरूले परमेश्वरले गर्नुहुने महान् कामहरूको बारेमा बोलेको चाहिँ आ-आफ्नै भाषामा सुन्दै छौं।” यसरी अचम्म र अलमल्ल परेर तिनीहरू एकले अर्कोसँग “यो के हो?” भनेर सोधपुछ गर्न लागे। तर कति जनाले चाहिँ तिनीहरूको हाँसो उडाउँदै भने, “यिनीहरू त धेरै जाँड खाएर मातेका पो छन् क्यारे!” तब पत्रुस र अरू एघार प्रेरितहरू सँगै उभिए र पत्रुसले सबैले सुन्ने गरी भन्न लागे, “हे यहूदी साथी र यरूशलेममा बस्ने दाजुभाइहरू हो, यहाँ के भएको हो, त्यो म तपाईंहरूलाई बुझाउनेछु। अब मैले भन्न लागेका कुराहरू ध्यान दिएर सुन्नुहोस्। तपाईंहरूले सोचेजस्तो यिनीहरू मातेका होइनन्। अहिले त नौ मात्रै बज्दैछ। तर यही कुरा हुनेछ भनेर योएल अगमवक्ताले धर्मशास्त्रमा यसरी लेखेका थिए– हे यहूदी साथीहरू, ध्यान दिएर सुन्नुहोस्। परमेश्वर भन्नुहुन्छ, ‘आखिरी दिनहरूमा म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याउनेछु अनि तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी बोल्नेछन्, युवाहरूले दर्शन देख्नेछन् र बुढापाकाहरूले चाहिँ सपना देख्नेछन्। अँ, ती दिनमा म मेरा सेवा गर्ने पुरुष र स्त्रीहरूमाथि आफ्नो आत्मा खन्याउनेछु अनि तिनीहरूले अगमवाणी बोल्नेछन्। माथि आकाश मण्डलमा म अचम्मका चिन्हहरू देखाउनेछु र तल पृथ्वीमा अचम्मका कामहरू गर्नेछु। रगत, आगो र धुवाँका बादल देखापर्नेछन्। प्रभुको त्यो महान् उज्यालो दिन आउनुभन्दा अगाडि सूर्य अँध्यारो भइजानेछ र चन्द्र रगतजस्तो रातो हुनेछ। तर त्यस बेला प्रभुको नाउँ लिनेहरू जतिले चाहिँ उद्धार पाउनेछन्’। “इस्राएली दाजुभाइहरू हो, मेरा कुरा सुन्नुहोस्। परमेश्वरले येशूद्वारा तपाईंहरूको बीचमा शक्तिशाली कामहरू गर्दै अचम्म-अचम्मका चिन्हहरू देखाउनुभएको त तपाईंहरूलाई थाहै छ। ती चिन्हहरूबाट परमेश्वरले नासरतका येशूलाई आफूले नै पठाएको हुँ भन्ने प्रमाण दिनुभयो। परमेश्वरले आफ्नो योजना र ज्ञानअनुसार येशूलाई तपाईंहरूको हातमा सुम्पिदिनुभयो र तपाईंहरूले उहाँलाई दुष्ट मानिसहरूको हातमा सुम्पेर क्रूसमा मार्नसमेत लगाउनुभयो। तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। परमेश्वरले उहाँलाई मृत्युको शक्तिबाट छुटाउनुभएको छ किनभने उहाँ मृत्युको अधीनमा भइरहनु असम्भव थियो। दाऊद राजाले पनि उहाँको बारेमा यसरी भनेका थिए– मैले प्रभुलाई सधैँ मेरो सामुन्ने देखिरहेको छु। उहाँ मलाई सुरक्षा दिँदै मेरो साथमा रहनुहुन्छ र म डराउनुपर्दैनँ। त्यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु किनभने तपाईंले मलाई पातालमा छोड्नुहुन्न, तपाईंले आफ्नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्न। तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु। “हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्न सक्छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्यो चिहान अझै पनि हामीसँगै छ। तर दाऊद अगमवक्ता थिए र उनकै सन्तानमा एक जना उनको सिंहासनमा बस्नेछन् भन्ने कुरा उनलाई थाहा थियो। परमेश्वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो। परमेश्वरले गर्नुहुने काम दाऊदले अघि नै देखिसकेका थिए। यसकारण मुक्ति दिनुहुने राजा ख्रीष्ट मरेकोबाट बिउँतनुहुन्छ भन्ने कुरासँग यो मिल्न आउँछ। ‘उहाँ पातालमा छोडिनुभएन अनि उहाँको शरीर पनि कुहेन’। “अब उही येशू ख्रीष्टलाई परमेश्वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं। परमेश्वर पिताले येशूलाई उच्च पारेर आफ्नो दाहिने हातपट्टि बसाल्नुभयो र आफ्नो प्रतिज्ञाअनुसार उहाँलाई पवित्र आत्मा दिनुभयो। त्यही पवित्र आत्मा प्रभु येशूले अहिले हामीमाथि खन्याउनुभएको हो, जुन कुराचाहिँ तपाईंहरूले अहिले सुन्दै र देख्दै हुनुहुन्छ। स्वर्गमा गएर दाऊद आफैं त परमेश्वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने– परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततिर बस, ‘जबसम्म म तिम्रा सबै शत्रुहरूलाई तिम्रा खुट्टामुनि पार्नेछैनँ’। “त्यसैले अब इस्राएलका सबै मानिसले यो कुरा जान्नुपर्छ– तपाईंहरूले क्रूसमा मारेका येशूलाई नै परमेश्वरले प्रभु र मुक्ति दिनुहुने ख्रीष्ट दुवै बनाउनुभएको छ।” पत्रुसले भनेका कुरा सुनेर मानिसहरूको मन हलचल भयो। तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए दाजुभाइ हो, त्यसो भए अब हामी के गरौं?” तब पत्रुसले भने, “तपाईंहरू सबैले आ-आफ्ना पापलाई मानिलिएर छोड्नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनुहोस् र तपाईंहरूले परमेश्वरको वरदान पवित्र आत्मालाई पाउनुहुनेछ। यो प्रतिज्ञाचाहिँ तपाईं र तपाईंहरूका छोरा-छोरीको लागि र टाढा-टाढामा रहेका सबैको लागि हो, जस-जसलाई उहाँले बोलाउनुहुन्छ।” पत्रुसले उनीहरूलाई धेरै कुराहरू भनेर साक्षी दिए अनि तिनीहरूलाई राम्ररी सम्झाउँदै भने, “आजका दुष्ट पुस्तामाथि आइपर्ने दण्डदेखि आफैंलाई बचाउनुहोस्।” धेरैले पत्रुसले दिएको सन्देशमा विश्वास गरे र बप्तिस्मा लिए। त्यस दिन बप्तिस्मा लिने मानिसहरू झण्डै तीन हजार जति थिए। तिनीहरू प्रेरितहरूसँग सिक्ने, संगति गर्ने, भोजमा भाग लिने र प्रार्थनामा लगातार लागिरहने गर्दथे। प्रेरितहरूले अचम्मका कामहरू गर्दै धेरै चिन्हहरू देखाउँदथे। त्यसो हुँदा मानिसहरूले परमेश्वरको डर मान्न लागे। प्रभुमा विश्वास गर्नेहरू सधैँ भेला हुन्थे। तिनीहरूका सबै कुरा साझा हुन्थे। तिनीहरूले आफ्ना जग्गाजमिन र चीजबीज बेचेर एक-अर्काको खाँचोअनुसार बाँड्ने गर्दथे। दिनहुँ तिनीहरू मन्दिरमा जम्मा हुन्थे र घर-घरमा मिलेर खुसी र नम्र भएर भोजन खान्थे र सधैँ परमेश्वरको प्रशंसा गर्थे। अरू मानिसहरूले पनि तिनीहरूलाई मन पराउँथे। उद्धार पाएकाहरूको सङ्ख्या तिनीहरूको झुण्डमा प्रभुले दिनदिनै बढाइदिनुभयो।