प्रेरित 19:17-20
प्रेरित 19:17-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो। विश्वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्ना-आफ्ना दुष्ट कामहरूको स्वीकार गरे र ती प्रकट गरे। तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो। यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो।
प्रेरित 19:17-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब एफिससमा बस्ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए। अनि प्रभु येशूको नामको ठूलो आदर गरियो। विश्वास गर्ने धेरै जनाले खुल्लमखुल्ला तिनीहरूले गरेका दुष्ट कामहरू स्वीकार गरे। जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे। अनि ती सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्का थियो। यसरी प्रभुको वचन शक्तिशाली हुँदै फैलँदैगयो।
प्रेरित 19:17-20 पवित्र बाइबल (NERV)
एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले। धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे। तिनीहरूमध्ये कति जनाले टुनामुना प्रयोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो। यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।
प्रेरित 19:17-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो कुरा एफिससमा हुने यहूदी र अरू जातिका मानिसहरूले सुने र सबै डराए। उनीहरूले प्रभु येशूको नाउँलाई ठूलो आदर गरे। धेरै जना विश्वास गर्नेहरू आएर आफ्नो काम खुल्लमखुल्ला मानिलिए। धेरैले जादूगरी र धामी-झाँक्रीको बारेमा लेखेका आफ्ना पुस्तकहरू ल्याएर सबैको सामु जलाइदिए। जलाएको पुस्तकको मोल अड्कल गर्दा झण्डै पचास हजार चाँदीको सिक्काको हिसाब हुन आयो। यसरी परमेश्वरको शिक्षा शक्तिशाली रूपले फैलँदै र बढ्दैगयो।