प्रेरित 16:25-34
प्रेरित 16:25-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले। झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।” तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे। तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।” तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए। तब रातको त्यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। त्यसपछि तिनीहरूलाई घरमा ल्याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्वरमा विश्वास गरे भन्ने कुरामा उनका सारा परिवारसँग उनी आनन्दित भए।
प्रेरित 16:25-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए। अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए। झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए। तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!” तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे। त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, “आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।” त्यसपछि पावल र सिलासले तिनलाई र तिनका घरमा भएका सबै जनालाई प्रभुको वचन सुनाए। रातको त्यस पहरमा ती झ्यालखानाका प्रमुखले तिनीहरूलाई बाहिर लगेर तिनका घाउहरू धोइदिए। अनि तिनी र तिनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्वरमा विश्वास गरेका थिए।
प्रेरित 16:25-34 पवित्र बाइबल (NERV)
मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने। अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए। जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैंलाई मार्न तयार भएको थियो। तर पावल चिच्यायो, “आफैंलाई घात नगर। हामी सबै जना यहीं छौं।” जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि ऊ डरले काम्दै भित्र दौड्यो ऊ पावल र सिलासको सामु लड्यो। त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?” तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।” यसर्थ पावल र सिलासले प्रभुको सन्देश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने। निक्कै रात छिप्पिसकेको थियो, त्यसकारण जेल अधिकारीले पावल र सिलासलाई ल्याएर तिनीहरूका घाउहरू धोइदिए। तुरन्तै जेल अधिकारी र उसका जम्मै कुटुम्बलाई बप्तिस्मा दिइयो। तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। ऊ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।
प्रेरित 16:25-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अरू कैदीहरूले चाहिँ सुनिरहेका थिए। त्यति नै खेर एक्कासि डरलाग्दो भूइँचालो गयो। झ्यालखानको जग नै हल्लियो, सबै ढोकाहरू खुले र कैदीहरूलाई बाँधेका साङ्लाहरू फुक्लिए। झ्यालखानका हाकिम बिउँझिए त्यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्ने सम्झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे। यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।” यो सुनेर हाकिम बत्ती मागेर दगुर्दै भित्र आए र डरले काम्दै पावल र सिलासको पाउमा परे। त्यसपछि तिनले उनीहरूलाई बाहिर लगेर भने, “हजुरहरू हो, मुक्ति पाउन मैले के गर्नुपर्छ?” उनीहरूले भने, “प्रभु येशूमाथि विश्वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरानाले मुक्ति पाउनेछन्।” पावल र सिलासले तिनलाई र तिनका घरानालाई सुसमाचार सुनाए। त्यसपछि हाकिमले पावल र सिलासलाई लगेर राती नै उनीहरूका घाउ धोइदिए। तिनी र तिनका घरानाले बप्तिस्मा पाए। त्यसपछि हाकिमले पावल र सिलासलाई आफ्नो घरमा लगेर खाना खुवाए। उनले परमेश्वरमाथि विश्वास गरेको हुनाले घरानाका सबै खुसी भए।