YouVersion लोगो
खोज आइकन

प्रेरित 13:1-52

प्रेरित 13:1-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एन्‍टिओखियाको मण्‍डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात्‌ बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्‍तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए। तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्‍माले भन्‍नुभयो, “मेरो निम्‍ति बारनाबास र शाऊललाई त्‍यस कामको लागि अलग्‍ग गर, जुन कामको निम्‍ति मैले तिनीहरूलाई बोलाएको छु।” तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्‍ना हात राखेर उनीहरूलाई बिदा दिए। तब पवित्र आत्‍माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्‍यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए। सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्‍वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्‍ना तिनीहरूसँग थिए। जब तिनीहरू समस्‍त टापूको यात्रा गर्दै पाफोससम्‍म आइपुगे, तब त्‍यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्‍ने एक जना जादूगरलाई भेट्टाए। त्‍यो जादूगर एउटा प्रान्‍तका शासक सर्गियस पौलससँग बस्‍तथियो। सर्गियस पौलस बुद्धिमान्‌ मानिस थिए। तिनले शाऊल र बारनाबासलाई बोलाएर परमेश्‍वरको वचन सुन्‍ने इच्‍छा गरे। तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्‍यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्‍यो। तर शाऊलले, जसलाई पावल पनि भनिन्‍छ, पवित्र आत्‍माले भरिएर त्‍यसमाथि एकटक लाएर हेरे, “तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्‍पूर्ण छल र दुष्‍टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्‌ग्‍याउन छोड्‌दैनस्‌? अब हेर्‌, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्‍म घामको प्रकाश नदेख्‍ने भई अन्‍धो हुनेछस्‌।” अनि उत्तिखेरै कुइरो र अन्‍धकारले त्‍यसलाई छोप्‍यो, र कसैले त्‍यसको हात पक्रेर डोर्‍याइदेला कि भनेर त्‍यो यताउता जान लाग्‍यो। तब प्रान्‍तका ती शासकले यो भएको देखेर विश्‍वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्‍क परेका थिए। पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्‍नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के। तर तिनीहरू पर्गाबाट निस्‍केर पिसिदियाको एन्‍टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे। अब व्‍यवस्‍था र अगमवक्ताका पुस्‍तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्‍ति अर्तीको वचन केही छ भने भन्‍नुहोस्‌।” तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्‍वरको डर मान्‍ने हो, सुन्‍नुहोस्, इस्राएल जातिका परमेश्‍वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान्‌ तुल्‍याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्‍यस देशबाट निकाली ल्‍याउनुभयो। उजाड-स्‍थानमा प्राय: चालीस वर्षसम्‍म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो। तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्‍म तिनीहरूलाई दिनुभयो। “यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्‍म उहाँले न्‍यायकर्ताहरू दिनुभयो। त्‍यसपछि तिनीहरूले राजा मागे, र परमेश्‍वरले बेन्‍यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्‍म तिनीहरूमाथि राज्‍य गर्न दिनुभयो। उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’ “यही मानिसको भावी सन्‍तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्‍वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्‍याउनुभयो। उहाँ आउनभन्‍दा अघि यूहन्‍नाले इस्राएलका सबै मानिसलाई पश्‍चात्तापका बप्‍तिस्‍माको प्रचार गरेका थिए। यूहन्‍नाले आफ्‍नो कार्य समाप्‍त गर्न लाग्‍दा भनेका थिए, ‘तिमीहरू के ठान्‍छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्‍म पनि फुकाल्‍ने लायकको म छैनँ।’ “ए, अब्राहामका वंशको सन्‍तान, र तिमीहरूमध्‍ये परमेश्‍वरको डर मान्‍ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्‍देश पठाइएको छ। किनभने यरूशलेमका बासिन्‍दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्‍डको आज्ञा दिई ती वचन पूरा गरे। ज्‍यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्‍ती गरे, र उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरेपछि तिनीहरूले उहाँलाई काठबाट झारेर चिहानमा राखे। तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। आफूसँग गालीलबाट यरूशलेममा आउनेहरूकहाँ उहाँ धेरै दिनसम्‍म देखा परिरहनुभयो, र उनीहरू अहिले जनतामा उहाँका साक्षी छँदैछन्‌। “परमेश्‍वरले पिता-पुर्खालाई गर्नुभएको त्‍यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्‍याउँछौं। अर्थात्, कसरी परमेश्‍वरले येशूलाई जीवित पारी उठाएर त्‍यो कुरो हामी, तिनीहरूका सन्‍तानका निम्‍ति पूरा गरिदिनुभयो, जस्‍तो दोस्रो भजनमा पनि लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्‍माएको छु।’ उहाँले ख्रीष्‍टलाई कहिले नसड्‌ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्‍नुभएको छ, ‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’ किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ, ‘तपाईंले आफ्‍ना पवित्र जनको शरीर सड्‌न दिनुहुनेछैन।’ “किनकि उनको आफ्‍नै पुस्‍तामा परमेश्‍वरको उद्देश्‍यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो। तर जसलाई परमेश्‍वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन। “यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्‍छ भन्‍ने घोषणा तपाईंहरूलाई गरिएको छ। तपाईं विश्‍वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्‍यवस्‍थाद्वारा तपाईंहरूका निम्‍ति सम्‍भव थिएन। यसकारण होशियार रहनुहोस्, नत्रता अगमवक्ताहरूका पुस्‍तकमा भनिएका यी कुरा तपाईंहरूमाथि आइपर्नेछन्‌: ‘हे निन्‍दा गर्ने हो, हेर र आश्‍चर्य मान, अनि नष्‍ट भइजाओ, किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु, यस्‍तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि तिमीहरूले कहिल्‍यै विश्‍वास गर्नेछैनौ’।” पावल र बारनाबास सभाघरबाट निस्‍केर जान लाग्‍दा आउँदो शबाथमा पनि यी कुरा सुनाइदिनुहोस् भनी मानिसहरूले तिनीहरूलाई बिन्‍ती गरे। सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्‍दै उनीहरूलाई परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे। अर्को शबाथमा झण्‍डै सम्‍पूर्ण सहर परमेश्‍वरको वचन सुन्‍नलाई उल्‍टेर आयो। भीड़लाई देख्‍दा, यहूदीहरू डाहले भरिए र पावलले भनेका कुराको खण्‍डन गरे, र तिनको निन्‍दा गरे। तर पावल र बारनाबासले साहस गरेर भने, “परमेश्‍वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्‍यक थियो। तपाईंहरूले यसलाई इन्‍कार गरी आफैलाई अनन्‍त जीवनको अयोग्‍य ठहराउनुभएकोले हामी अब अन्‍यजातिहरूकहाँ जानेछौं। किनकि प्रभुले हामीलाई यस्‍तो आज्ञा दिनुभएको छ, ‘पृथ्‍वीको पल्‍लो छेउसम्‍म मुक्ति पुर्‍याउन मैले तिमीलाई अन्‍यजातिहरूका निम्‍ति ज्‍योति हुन नियुक्त गरेको छु’।” जब अन्‍यजातिहरूले यी कुरा सुने, तिनीहरू खुशी भए, र परमेश्‍वरको वचनको प्रशंसा गरे, र अनन्‍त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्‍वास गरे। प्रभुको वचन सबै इलाकाभरि फैलियो। तर पावल र बारनाबासका विरुद्ध यहूदीहरूले भक्त र प्रतिष्‍ठित स्‍त्रीहरू र सहरका मुख्‍य-मुख्‍य मानिसहरूलाई उक्‍साए, र उनीहरूलाई आफ्‍नो साँधसिमाना बाहिर कटाइदिए। तर उनीहरूचाहिँ आफ्‍ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा टकटक्‍याएर, आइकोनियनमा आए। चेलाहरू आनन्‍द र पवित्र आत्‍माले परिपूर्ण भए।

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:1-52 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एन्टिओखियाको मण्डलीमा कति अगमवक्ताहरू र शिक्षकहरू थिए: बारनाबास, निगेर भनिने शिमियोन, साइरिनीका लुकियस र मनेन (जो शासक हेरोदसँग हुर्केका थिए) र शाऊल। तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले “बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर” भन्‍नुभयो। त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए। बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे। जब तिनीहरू सलामिस पुगे, तब तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्‍वरको वचनको घोषणा गरे। तिनीहरूका सहायताको रूपमा यूहन्‍ना तिनीहरूसँगै थिए। तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे। त्यो एउटा प्रान्तको “सर्गियस पौलुस” नामको शासकको परिचारक थियो। ती राज्यपाल एक समझदार मानिस थिए। तिनले बारनाबास र शाऊललाई बोलाए; किनकि तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे। तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्‍यो। अनि ती राज्यपाललाई तिनको विश्‍वासबाट फर्काउने प्रयत्न गर्‍यो। त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने, “ए शैतानको बच्‍चा, हरेक सही कुराको शत्रु, सबै किसिमका छल र कपटले भरिपूर्ण, प्रभुका असल र ठिक बाटाहरू भ्रष्‍ट पार्न के तँ कहिल्यै छोड्दैनस्? अब प्रभुको शक्ति तेरो विरुद्धमा छ। तँ आँखा नेदेख्ने हुनेछस् र आउँदो केही समयका निम्ति सूर्यको प्रकाश देख्न सक्नेछैनस्।” तुरुन्तै कुइरो र अन्धकारले उसलाई ढाक्यो। अनि कसैले आफ्नो हात समाई डोर्‍याइदेला कि भनी त्यो यताउति गर्न थाल्यो। त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्‍वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए। पावल र तिनका सङ्गीहरू पाफोसबाट जहाज चढी पामफिलियाको पर्गा सहरमा पुगे। यूहन्‍नाचाहिँ त्यहीँबाट यरूशलेम फर्किए। पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथमा तिनीहरू सभाघरभित्र पसे र त्यहाँ बसे। त्यहाँ व्यवस्था र अगमवक्ताका पुस्तकहरू पढिसकेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनेर खबर पठाए, “दाजुभाइ-दिदीबहिनीहरू हो, मानिसहरूलाई प्रोत्साहित गर्ने अर्तीका वचन तपाईंहरूसँग छ भने कृपा गरी भन्‍नुहोस्।” त्यो सुनेपछि पावल उभिएर सभालाई शान्त हुन हातले इशारा गर्दै भने: “हे इस्राएलीहरू र परमेश्‍वरको डर मान्‍ने गैरयहूदीहरू हो, मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्! इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई चुन्‍नुभयो। इजिप्टमा बस्दा उहाँले तिनीहरूलाई उच्‍च बनाउनुभयो। महान् शक्तिका साथ तिनीहरूलाई उहाँले त्यस देशबाट बाहिर ल्याउनुभयो। प्राय: चालीस वर्षसम्म उजाडस्थानमा तिनीहरूका व्यवहारलाई उहाँले सहनुभयो। कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्‍वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो। अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे। तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्‍वरले भन्‍नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’ “यिनै मानिसका सन्तानबाट परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम इस्राएलको एक उद्धारकर्ता येशूलाई ल्याउनुभयो। येशूको आगमनभन्दा अगाडि यूहन्‍नाले सबै इस्राएलीहरूमा पश्‍चात्ताप र बप्‍तिस्माको प्रचार गरे। जब यूहन्‍ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्‍नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’ “हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्‍वरको भय मान्‍ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ। यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथमा पढिन्थ्यो। यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे। जब तिनीहरूले उहाँका बारेमा लेखिएका सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई क्रूसबाट तल झारेर चिहानमा राखे। तर परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभयो। त्यसपछिका धेरै दिनसम्म गालीलदेखि यरूशलेमसम्म उहाँसँगै यात्रा गर्नेहरूका सामु उहाँ प्रकट हुनुभएको थियो। अहिले तिनीहरू नै हाम्रा मानिसहरूका माझमा उहाँका साक्षी भएका छन्। “हाम्रा पुर्खाहरूसँग परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ, तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्‍वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: “ ‘तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।’ कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’ किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’ “किनकि उनको आफ्नै पुस्तामा दावीदले परमेश्‍वरको उद्देश्यअनुसार काम गरेपछि उनको मृत्यु भयो; उनी आफ्ना पुर्खाहरूसँग गाडिए र उनको शरीर सड्यो। तर जसलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन। “त्यसैकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरू यो कुरा बुझ्नुहोस् भन्‍ने म चाहन्छु, येशूद्वारा पापहरूको क्षमा तपाईंहरूलाई घोषणा गरिएको छ। उहाँमा विश्‍वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन। यसकारण होसियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका यी वचन तपाईंहरूमा लागू नहोस्: “ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्‍चर्य मान र नष्‍ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्‍वास गर्नेछैनौ।’ ” पावल र बारनाबासले सभाघर छोडेपछि मानिसहरूले तिनीहरूलाई अर्को शब्बाथ, अरू कुरा गर्नका निम्ति बोलाए। सभा समाप्‍त गरेपछि धेरै यहूदी तथा यहूदी धर्म मान्‍ने भक्तहरूले पावल र बारनाबासलाई पछ्याए, जसले परमेश्‍वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे। प्रभुको वचन सुन्‍न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो। जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे। त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्‍वरको वचन भन्‍नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ। किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्‍याउन सक।’ ” यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्‍वास गरे। प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो। तर यहूदीहरूले प्रभुको भय मान्‍ने माथिल्‍ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए। तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए। अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए।

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:1-52 पवित्र बाइबल (NERV)

एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए। ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।” तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए। बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे। तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसँगै थिए। तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए। बारयेशू सधैँ नै सर्गियस पौलस प्रशासकसित बस्दथे। सर्गियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे। तर जादूगर इलुमास, बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे। तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे। अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस्। तँमा शैतानी छक्कापन्जा मात्र छ। के तैले सधैँ प्रभुको सत्यहरूलाई झूटहरूमा परिणत गर्न छोडदैनस्! अब प्रभुले तँलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस्। केही समय तँ केही देख्न सक्ने छैनस् यहाँ सम्म कि घामको किरण पनि देख्दैनस्।” तुरन्तै इलुमासमाथि धुम्म अनि अन्धार झर्यो। ऊ वरिपरि घुम्यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो। जब प्रशासक सर्गियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए। पावल र उनीसँग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यूहन्ना मर्कूसले तिनीहरूलाई छाडे, उनी यरूशलेम फर्के। तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे। मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूरले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियोः “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!” पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यू-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँच्चो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ! इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो। अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस वर्ष सम्म सहनु भयो। परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो। यी सम्पूर्ण घट्नाहरू लगभग् 450 वर्षको अवधि सम्म थियो। “त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो। तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस वर्षसम्म राजा भएर राज गरे। शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।’ “परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ। येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’ “मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ। यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो। तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे। “यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले। तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो! यस घट्ना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसँग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्। “हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ। हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ़छौं: ‘तिमीहरू मेरा पुत्र हौ। आज म तिमिहरूका पुर्खा भएँ।’ परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो, ‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’ तर अर्को ठाउँमा भजनसंग्रहले भन्छ, ‘तिम्रो एकजनाको पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’ “दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसँग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो। तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन। दाज्यू-भाइहरू तिमीहरूले यो बुझ्नु पर्छः उहाँको मार्फत तिमीहरूको पापहरूका निम्ति क्षमा प्रदान गरिएको छ। अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन। अगमवक्ताहरूले केही घट्ना घट्नेछ भनेर भने, होशियार! सावधन! यस्तो घट्ना आफूमा घट्न नदेऊ। अगमवक्ताले भनेः ‘जसले शंका गर्छौ, सुन्! तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर; किनभने तिमीहरूको अवधिमा, म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ। यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!’” पावल र बर्णाबासले सभाघर छोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे। सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधना गर्दै थिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए। अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए। जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसँग तर्क-वितर्क गरे। तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैंले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ फर्कनेछौं। यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः ‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।’” जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए। अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो। तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले। यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे। तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।

प्रेरित 13:1-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एन्‍टिओखिया सहरको मण्‍डलीमा अगमवक्ताहरू र शिक्षा दिने मानिसहरू निकै थिए। तिनीहरू बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, राजा हेरोदसँगै हुर्केका मनेन अनि शाऊल थिए। तिनीहरू उपवास बसेर प्रार्थना र प्रभुको आराधना गरिरहेका बेलामा पवित्र आत्‍माले तिनीहरूलाई भन्‍नुभयो, “सुन, बारनाबास र शाऊललाई मैले जुन कामको लागि चुनेको छु, त्‍यही कामको लागि छुट्ट्याओ।” तिनीहरूले फेरि उपवास बसे र प्रार्थना गर्दै ती दुई जनामाथि आफ्‍ना हात राखे र तिनीहरूलाई प्रभुको काममा पठाए। पवित्र आत्‍माले पठाउनुभएका बारनाबास र शाऊल एन्‍टिओखिया सहरबाट हिँडे। तिनीहरू सिलुकिया सहरमा गए। त्‍यहाँबाट तिनीहरू समुद्रको यात्रा गरेर साइप्रस टापुमा गए। सलामिस सहरमा पुगेर यहूदीहरूका सभाघरहरूभित्र पसी तिनीहरूले परमेश्‍वरको वचन सुनाउन लागे। त्‍यो काममा सघाउन तिनीहरूले मर्कूस भनिने यूहन्‍नालाई पनि साथमा लगेका थिए। पूरै साइप्रस टापुको यात्रा गरेपछि तिनीहरू पाफोस भन्‍ने सहरमा आइपुगे। त्‍यहाँ तिनीहरूले एउटा बार-येशू भन्‍ने यहूदी जादूगरलाई भेटे। उसले आफैंलाई म अगमवक्ता हुँ भन्‍थ्‍यो। त्‍यो जादूगर साइप्रस टापूको बडा-हाकिम सर्गियस पौलुसको घरमा गइरहन्‍थ्‍यो। सर्गियस पौलुसचाहिँ एउटा बुद्धिमान् व्‍यक्ति थिए। तिनलाई परमेश्‍वरको वचन सुन्‍ने इच्‍छा भएको हुनाले बारनाबास र शाऊललाई बोलाउन पठाए। तर एलुमास जादूगरले (ग्रीक भाषामा यसको अर्थ यस्‍तै हुन्‍छ) बारनाबास र शाऊललाई बाधा दिएर बडा-हाकिमलाई विश्‍वासबाट फर्काउन खोज्‍यो। शाऊलले (जसलाई पावल पनि भनिन्‍छ) पवित्र आत्‍माले भरपूर भएर एलुमासलाई एकटक लाएर हेर्दै भने, “तँ सबै असल कुराको शत्रु अनि दुष्‍ट चाल र धुर्त्‍याइँले भरिएको शैतानको बच्‍चा होस्। के तँ प्रभुको सोझो बाटोलाई बङ्ग्‍याउन कहिल्‍यै छोड्दैनस्? अब हेर्‌, प्रभुको सजाय तँमाथि परेको छ। तँ अन्‍धो भएर केही समयसम्‍म घामको उज्‍यालो पनि देख्‍नेछैनस्!” त्‍यति नै खेर त्‍यसको आँखामा कालो बादलजस्‍तो लाग्‍यो अनि त्‍यो अन्‍धो भइहाल्‍यो र हातले यताउता सहारा खोज्‍न लाग्‍यो। प्रभुको शिक्षामा भएको शक्ति देखेर बडा-हाकिम छक्‍क परे अनि उनले प्रभुमाथि विश्‍वास गरे। पावल र तिनका साथीहरू पाफोस सहरबाट पानीजहाजमा चढेर पामफिलिया क्षेत्रको पर्गा सहरमा पुगे। त्‍यहाँबाट मर्कूस भनिने यूहन्‍नाले पावल र बारनाबासलाई छोडेर यरूशलेमतिर फर्के। पावल र बारनाबासचाहिँ पर्गादेखि पिसिदिया क्षेत्रको एन्‍टिओखिया सहरमा गए अनि पवित्र विश्रामको दिनमा ती दुई जना सभाघरमा गएर बसे। मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले लेखेको पुस्‍तकबाट पढेपछि सभाघरका नेताहरूले पावल र बारनाबासलाई बोलाएर भने, “भाइहरू! यदि तपाईंहरूसित मानिसहरूलाई साहस दिने केही कुरो छ भने भन्‍नुहोस्।” यो सुनेर पावल उठे अनि हातले इशारा गरेर बोल्‍न लागे, “इस्राएली दाजुभाइ र परमेश्‍वरलाई मान्‍नुहुने सज्‍जनहरू हो, दया गरी मेरो कुरा सुन्‍नुहोस्। इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई छान्‍नुभयो र तिनीहरू मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् जाति बनाउनुभयो। आफ्‍नो शक्ति देखाएर परमेश्‍वरले तिनीहरूलाई मिश्रदेशबाट निकाल्‍नुभयो। तिनीहरू उजाड-स्थानमा रहँदा परमेश्‍वरले चालीस वर्षसम्‍म तिनीहरूको हेरचाहा गर्नुभयो। उहाँले कनान देशका सात जातिलाई नाश गर्नुभयो र त्‍यो देश हाम्रा पुर्खाहरूलाई दिनुभयो। त्‍यति बेलासम्‍म चार सय पचास वर्ष जति बितिसकेको थियो। “त्‍यसपछि परमेश्‍वरले तिनीहरूको बीचमा न्‍याय गर्न न्‍यायाधीशहरू खटाउनुभयो। ती न्‍यायाधीशहरूले एकपछि अर्को गर्दै अगमवक्ता शमूएलका पालासम्‍म काम गरे। त्‍यसपछि हाम्रा पुर्खाहरूले राजाको माग गरे अनि परमेश्‍वरले उनीहरूलाई बेन्‍यामिन कुलका कीशका छोरा शाऊललाई राजा बनाउनुभयो। शाऊलले चालीस वर्षसम्‍म राज्‍य गरे। परमेश्‍वरले उनलाई हटाएर दाऊदलाई राजा बनाउनुभयो। दाऊदको बारेमा चाहिँ परमेश्‍वरले यसरी भन्‍नुभएको छ, ‘यिशैको छोरा दाऊदलाई भेट्टाउँदा मैले मन पराएको मानिस पाएको छु। उसले मेरो लागि गर्नुपर्ने सबै काम पूरा गर्नेछ’। “आफूले गर्नुभएको प्रतिज्ञा पूरा गरेर परमेश्‍वरले इस्राएलीहरूको निम्‍ति दाऊद राजाको कुलमा नै एउटा मुक्तिदाता पठाउनुभयो, जो येशू हुनुहुन्‍छ। येशूले आफ्‍नो सेवा सुरु गर्नुभन्दा अघि बप्‍तिस्‍मा दिने यूहन्‍ना आए। उनले चाहिँ आ-आफ्‍ना पापलाई मानिलिएर छोडी पानीको बप्‍तिस्‍मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे। आफ्‍नो काम सिध्‍याउन लाग्‍दा यूहन्‍नाले भने, ‘तिमीहरू मलाई मुक्तिदाता हो कि भनेर चिन्‍न चाहन्‍छौ, त्‍यो त म होइनँ। तर उहाँ मपछि आउँदै हुनुहुन्‍छ र मचाहिँ उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन’। “दाजुभाइहरू हो, चाहे हामी अब्राहामका सन्‍तानहरू हौं, चाहे हामी परमेश्‍वरको डर राख्‍ने अन्य-जातिकाहरू नै किन नहोऔँ, यो मुक्तिको सन्‍देश परमेश्‍वरले हामी सबैका लागि पठाउनुभएको छ। तर यरूशलेममा बस्‍ने दाजुभाइ र उनीहरूका नेताहरूले येशूलाई मुक्तिदाता हुनुहुन्‍छ भनेर चिन्‍न सकेनन्। अगमवक्ताहरूले धर्मशास्‍त्रमा लेखेको कुरा विश्रामपिच्‍छे पढे पनि उनीहरूले बुझेनन्। येशूलाई मृत्‍युदण्‍ड दिएर उनीहरूले धर्मशास्‍त्रमा उहाँको बारेमा लेखिएका कुरालाई पूरा गरे। मृत्‍युदण्‍ड दिने कुनै दोष नपाउँदा पनि तिनीहरूले येशूलाई मार्नुपर्छ भनी बडा-हाकिम पिलातससँग बिन्‍ती चढाए। यसरी धर्मशास्‍त्रमा उहाँको बारेमा लेखिएका सबै कुरा पूरा गरेपछि तिनीहरूले उहाँलाई क्रूसबाट उतारे अनि चिहानमा राखे। तर परमेश्‍वरले येशूलाई मरेकोबाट बिउँताउनुभयो। गालील क्षेत्रबाट उहाँसँगै यरूशलेममा आएकाहरूले धेरै दिनसम्‍म उहाँको दर्शन पाए र तिनीहरूचाहिँ अहिले इस्राएलका मानिसहरूको लागि उहाँलाई देख्‍ने साक्षीहरू हुन्। अब हामी तपाईंहरूलाई यही सुसमाचार सुनाउँछौं– परमेश्‍वरले हाम्रा पुर्खालाई गर्नुभएको प्रतिज्ञा उहाँले उनीहरूको सन्‍तानको लागि नै पूरा गर्नुभएको छ। येशूलाई मरेकोबाट बिउँताउनुहुँदा उहाँले त्‍यो प्रतिज्ञा हाम्रै लागि नै पूरा गर्नभएको हो। अब परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुहुनेछ भन्‍ने कुराको बारेमा भजनसंग्रहको दोस्रो भजनमा यसरी लेखिएको छ– ‘तिमी मेरा छोरा हौ, आज मैले तिमीलाई जन्‍माएको छु’। उहाँलाई फेरि कहिल्‍यै मर्नुनपर्ने गरी बिउँताउनुहुनेछ भन्‍ने कुराको बारेमा भने परमेश्‍वरले यसो भन्‍नुभएको रहेछ– ‘दाऊदलाई प्रतिज्ञा गरेको पवित्र र निश्‍चित आशिष्‌चाहिँ म तिमीहरूको बीचमा पठाउनेछु’। फेरि, भजनसंग्रहको अर्को भजनमा दाऊद राजाले यसरी लेखेका छन्– हे परमेश्‍वर, तपाईंले आफ्‍नो पवित्र जनलाई कुहिएर नाश हुन दिनुहुन्‍न। “यो कुराचाहिँ दाऊदले आफ्‍नो बारेमा भनेका होइनन् किनभने परमेश्‍वरको इच्‍छामा काम गरिसकेर उनी त मरे अनि आफ्‍ना पुर्खासँगै गाडिएर कुहिए। तर परमेश्‍वरले मरेकोबाट बिउँताउनुभएको चाहिँ त्‍यसरी कुहिनुभएन। त्‍यसकारण प्रिय दाजुभाइहरू हो, उनै येशूबाट पाप मेटिनेछ भनी म तपाईंहरूलाई बताउन चाहन्‍छु। येशूमा विश्‍वास गर्नेहरू जति सबै पापबाट छुट्‍कारा पाएर परमेश्‍वरको अगाडि ठीक ठहरिन्‍छन्। यो काम त मोशाले दिएको व्यवस्थाले पूरा गर्न सकेन। त्‍यसकारण होशियार हुनुहोस् र अगमवक्ताहरूले भनेका यी कुराहरू तपाईंहरूमाथि आइनलागून्– ए गिल्‍ला गर्नेहरू हो, अचम्‍म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्‍तो एउटा काम गर्नेछु, त्‍यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्‍वास गर्नेछैनौ।” पावल र बारनाबास सभाघरबाट निस्‍कँदा मानिसहरूले ‘अर्को विश्रामको दिन फेरि आएर यी कुराहरूको बारेमा हामीलाई अझै सुनाइदिनुहोस्’ भनी बिन्‍ती गरे। सभा सकिएपछि यहूदीहरू र यहूदी धर्म मान्‍ने अरू जातिका मानिसहरू धेरै पावल र बारनाबासको पछि लागे। पावल र बारनाबासले तिनीहरूसँग कुरा गरेर सधैँ परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी जोड दिए। अर्को विश्रामको दिन सुसमाचार सुन्‍न सहरका प्राय: सबै मानिसहरू उल्‍टेर आए। यहूदीहरूले मानिसहरूको त्‍यत्रो हुल देखेर पावल र बारनाबासमाथि डाह गर्न थाले। तिनीहरूले विरोध गर्दै पावललाई गाली गरे। तर पावल र बारनाबासले अझ साहससँग भने, “तपाईंहरूकहाँ पहिले परमेश्‍वरको सुसमाचार सुनाउनुपर्थ्‍यो, तर तपाईंहरूचाहिँ सुन्‍न मान्‍नुहुन्‍न। तपाईंहरू आफैंलाई अजम्‍मरी जीवनको अयोग्‍य तुल्‍याउनुहुन्‍छ। यसकारण हामी अरू जातिका मानिसहरूकहाँ जान्‍छौं। प्रभुले हामीलाई यसै गर्नू भनेर आज्ञा दिनुभएको छ– पृथ्‍वीको पल्‍लो छेउसम्‍मका मानिसहरूले मुक्ति पाऊन् भनेर मैले तिमीहरूलाई अरू जातिका मानिसहरूको बीचमा उज्‍यालो छर्नलाई खटाएर पठाएको छु।” यो कुरा सुनेर अन्य-जातिहरू रमाउँदै परमेश्‍वरले दिनुभएको सुसमाचारको प्रशंसा गर्न लागे। अनन्त जीवनको लागि अघिबाटै परमेश्‍वरबाट चुनिएका जतिले येशू ख्रीष्‍टमाथि विश्‍वास गरे। परमेश्‍वरको वचन त्‍यस क्षेत्रमा सबैतिर फैलियो। तर यहूदीहरूले परमेश्‍वरको भक्ति गर्ने उच्‍च श्रेणीका स्‍त्रीहरू र सहरका नेताहरूलाई समेत पावल र बारनाबासको विरोधमा उपद्रव गर्न उठाए र ती दुई जनालाई त्‍यस क्षेत्रको सिमानाबाट बाहिर धपाइदिए। तब पावल र बारनाबासले ती मानिसहरूलाई परमेश्‍वरले नै न्‍याय गर्नुहुनेछ भन्‍ने चेतावनी दिँदै आफ्‍ना खुट्टाको धुलो टक्टकाए र आइकोनियन सहरतिर गए। तिनीहरूले छोडेर गएका प्रभुका चेलाहरूचाहिँ पवित्र आत्‍माले आनन्‍दले भरिए।

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्