प्रेरित 13:1-4
प्रेरित 13:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए। तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए। तब पवित्र आत्माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए।
प्रेरित 13:1-4 नेपाली समकालीन संस्करण (NCV)
एन्टिओखियाको मण्डलीमा कति अगमवक्ताहरू र शिक्षकहरू पनि थिए: तिनीहरू बारनाबास, निगेर भनिने शिमियोन, साइरिनीका लुकियस र मनेन (जो शासक हेरोदसँग हुर्केका थिए) अनि शाऊल थिए। तिनीहरू प्रभुको आराधना गरिरहेको बेला र उपवास बसिरहेको बेला पवित्र आत्माले “बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर” भन्नुभयो। त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए। बारनाबास र शाऊल, पवित्र आत्माद्वारा पठाइएअनुसार, सिलुकिया गए, र त्यहाँबाट साइप्रसको निम्ति जहाज चढे।
प्रेरित 13:1-4 पवित्र बाइबल (NERV)
एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए। ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।” तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए। बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे।
प्रेरित 13:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एन्टिओखिया सहरको मण्डलीमा अगमवक्ताहरू र शिक्षा दिने मानिसहरू निकै थिए। तिनीहरू बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, राजा हेरोदसँगै हुर्केका मनेन अनि शाऊल थिए। तिनीहरू उपवास बसेर प्रार्थना र प्रभुको आराधना गरिरहेका बेलामा पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “सुन, बारनाबास र शाऊललाई मैले जुन कामको लागि चुनेको छु, त्यही कामको लागि छुट्ट्याओ।” तिनीहरूले फेरि उपवास बसे र प्रार्थना गर्दै ती दुई जनामाथि आफ्ना हात राखे र तिनीहरूलाई प्रभुको काममा पठाए। पवित्र आत्माले पठाउनुभएका बारनाबास र शाऊल एन्टिओखिया सहरबाट हिँडे। तिनीहरू सिलुकिया सहरमा गए। त्यहाँबाट तिनीहरू समुद्रको यात्रा गरेर साइप्रस टापुमा गए।