प्रेरित 10:44-48
प्रेरित 10:44-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पत्रुसले यी कुरा बोल्दाबोल्दै वचन सुन्ने सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। अन्यजातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू आश्चर्यचकित भए। किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, “हामीझैँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाही गर्न सक्छ?” अनि तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यहीँ रहनुहोस् भनी अनुरोध गरे।
प्रेरित 10:44-48 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्नेहरूमाथि पवित्र आत्मा आउनुभयो। गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू अचम्मित भए। किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने, “हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?” त्यसकारण तिनले येशू ख्रीष्टको नाममा तिनीहरूलाई बप्तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।
प्रेरित 10:44-48 पवित्र बाइबल (NERV)
पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।
प्रेरित 10:44-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पत्रुस बोलि नै रहेका थिए, तब सुन्नेहरू सबैमाथि पवित्र आत्मा आउनुभयो। परमेश्वरले आफ्नो पवित्र आत्माका वरदान अरू जातिका मानिसमाथि पनि खन्याउनुभएको देखेर पत्रुससँग आएका प्रभुमा विश्वास गर्ने यहूदीहरू छक्कै परे किनभने ती सुन्नेहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरिरहेका तिनीहरूले सुने। पत्रुसले भने, “हामीले जस्तै यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्! अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिन कसले रोक्न सक्छ?” यसकारण उनीहरूलाई ‘प्रभु येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिने’ आज्ञा दिए। त्यसपछि तिनीहरूले पत्रुसलाई केही दिनसम्म आफूहरूसँगै बस्न बिन्ती गरे।