२ तिमोथी 4:1-22
२ तिमोथी 4:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको सामने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रीष्ट येशूको सामने, अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु, वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक। किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्। तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर। किनभने, म त बलिको रूपमा अर्पण हुन लागेको छु, र मेरो बिदाइको बेला आएको छ। मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्वासलाई बचाइराखेको छु। अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुनेछ। मकहाँ चाँड़ै आउनलाई भरमग्दूर कोसिस गर। किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा। लूका मात्र मसँग छन्। मर्कूसलाई खोजेर तिमी साथै ल्याऊ, किनकि तिनी मेरा सेवा गर्नमा खूबै उपयोगी छन्। तर तुखिकसलाई मैले एफिससमा पठाएको छु। त्रोआसमा कार्पसकहाँ मैले छोड़ेका खास्टो र पुस्तकहरू, विशेष गरी चर्मपत्रहरू तिमी आउँदा तिम्रो साथ लिएर आऊ। तमौटे अलेक्जेन्डरले मलाई ज्यादै खराबी गर्यो। प्रभुले त्यसलाई त्यसका कामअनुसार बदला दिनुहुनेछ। त्यसदेखि तिमी पनि होशियार बस, किनकि त्यसले हाम्रो प्रचारको घोर विरोध गर्यो। मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्! तर सबै अन्यजातिहरूले सुन्न सकून् भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ। प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको निम्ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्। आमेन। प्रिस्किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ। इरास्तस कोरिन्थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामा छोडें। हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि। प्रभु तिम्रो आत्मासँग रहून्। तिमीसित अनुग्रह रहोस्।

२ तिमोथी 4:1-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु: वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ। किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्न चाहेका कुराहरू भन्नेछन्। तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्। तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर। किनकि म अर्घबलिझैँ चढाइन लागेको छु, र मेरो बिदाको बेला आइसकेको छ। मैले उत्तम लडाइँ लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु, र मैले विश्वासलाई जोगाइराखेको छु। अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ। मकहाँ चाँडै आउने भरमग्दूर प्रयत्न गर; किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्। अहिले लूका मात्र मसँग छन्। मर्कूसलाई भेट र तिमीसँगै लिएर आऊ; किनकि तिनी मेरो सेवाको निम्ति मलाई उपयोगी छन्। मैले तुखिकसलाई एफिससमा पठाएँ। तिमी आउँदा त्रोआसमा मैले कार्पससित छाडेका खास्टो र पुस्तकहरू खासगरी चर्मपत्रहरू लिएर आऊ। तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै हानि पुर्याएको छ। त्यसले गरेको कामको बदला परमेश्वरले नै लिनुहुनेछ। त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस। जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्। तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो। प्रभुले मलाई हरेक दुष्ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन। प्रिस्किला, अक्विला अनि ओनेसिफरसको परिवारलाई अभिवादन भनिदेऊ। इरास्तस कोरिन्थमा नै बसे; अनि मैले त्रोफिमसलाई मिलेटसमा बिरामी अवस्थामा नै छोडेँ। हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर। युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्। प्रभु तिम्रो आत्मासँग रहून्! तिमीहरूसँग अनुग्रह रहोस्!
२ तिमोथी 4:1-22 पवित्र बाइबल (NERV)
परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर। समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्। मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्। तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर। मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिइँदैछ। मैले यो जीवनलाई छाड्ने समय आएको छ। मैले लड़ाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु। अब एउटा मुकुटले मलाई पर्खिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्। जति चाँडो सम्भव हुन्छ, मकहाँ आउने कोशिश गर। डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए। अहिले लूका मात्र मसित छ। मर्कूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिएर आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ। टाइकिकसलाई मैले एफिसस पठाँए। म त्रोआसमा हुँदा त्यहाँ कार्पसकहाँ मैले कोट छोडें। तिमी आउँदा त्यो पनि ल्याइदिनु। ती अत्यन्त आवश्यकीय हुन्। धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ। तिमी पनि सतर्क बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस्। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ। पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्। तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ। यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउँनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहि-रहोस्। आमिन। प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ। इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखें। ऊ अलिक बिसन्चो थियो। शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु। युबलसले तिमीलाई अभिवादन पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना अभिवादन पठाउँदैछन्। परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्।
२ तिमोथी 4:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मरेका र जिउँदा सबै मानिसका न्याय गर्ने ख्रीष्ट येशू र परमेश्वरका सामुन्ने म तिमीलाई जोड दिएर भन्छु। ख्रीष्ट आएर राज्य गर्नुहुने भएकोले म तिमीलाई परमेश्वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्तिसँग रहेर सम्झाऊ, हौसला देओ। मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्नै इच्छाहरूका पछि लाग्नेछन्। तिनीहरूले आफूलाई मज्जा लाग्ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्। तिनीहरूले त सत्य कुराहरूलाई सुन्नै सक्दैनन् तर दन्त्यकथाहरू सुन्नचाहिँ मन पराउँछन्। तर तिमीचाहिँ सबै कुरामा शान्त चित्तको होऊ। दु:ख सहने गर। सुसमाचार सुनाउने काम गर। आफूले पाएअनुसारको सेवा पूरा गर। म त बलि हुन लागिसकेको छु। मेरो त बिदा हुने बेला भइसक्यो। म दौडमा राम्रो गरेर दगुरेको छु। मेरो दगुर्ने काम सिद्ध्याएको छु र विश्वास जोगाइराखेको छु। अब त परमेश्वरको अघि ठीक ठहरिएको मुकुट मात्र पाउन बाँकी छ। ठीकसँग न्याय गर्नुहुने प्रभुले नै मलाई त्यस दिन त्यो मुकुट लगाइदिनुहुनेछ। मलाई मात्र होइन, उहाँ आउनुहुने बाटो हेर्ने जति सबैलाई नै यो लगाइदिनुहुनेछ। सकेसम्म मलाई चाँडै भेट। डेमासले यस युगलाई प्रेम गरेर मलाई छोडिदिए र थेसलोनिके गए। क्रेसेन्सचाहिँ गलातियामा र तीतसचाहिँ दलमातियामा गएका छन्। मसँग त अहिले लूका मात्र छन्। मर्कूसलाई चाहिँ तिमीले सँगै लिएर आउनू। उनले मेरो काममा धेरै सघाउन सक्नेछन्। तुखिकसलाई मैले एफिससमा पठाएको छु। त्रोआसमा कार्पसकहाँ छोडेको मेरो लुगा तिमी आउँदा लिएर आऊ। त्यहाँ भएका किताबहरू र छालामा लेखिएका पुस्तकचाहिँ नबिर्सी ल्याइदेओ। अलेक्जेन्डर मलाई धेरै नराम्रो गरे। तिनले गरेको कामको फल प्रभुले नै उनलाई दिनुहुनेछ। उनी हाम्रा कुराको ज्यादै विरोधी भएका छन्। त्यसो हुँदा तिमी पनि होशियार भएर बस। पहिलो पटक मेरो मुद्दा चल्दा कसैले पनि मेरो पक्षमा बोलेनन्। सबैले मलाई त्यागिदिए। यसको दोष उनीहरूलाई नलागोस्। तैपनि प्रभुले नै मेरो साथमा रहेर मलाई शक्ति दिनुभयो। त्यसैले मैले अरू जातिका मानिसहरूलाई परमेश्वरको सुसमाचार राम्ररी सुनाउन सकें। यसरी उहाँले मलाई सिंहको मुखबाट बचाउनुभयो। हो, प्रभुले नै मलाई सबै किसिमका खराबीहरूबाट बचाउनुभयो। उहाँले मलाई जोगाएर आफ्नो स्वर्गको राज्यमा लैजानुहुनेछ। उहाँको सदासर्वदा प्रशंसा होइरहोस्। हो, आमेन। प्रिस्किला, अकिलास र ओनेसिफरसका घर परिवारलाई मेरो अभिवादन छ। इरास्तस कोरिन्थमा नै बसेका छन्। त्रोफिमस बिरामी भएका हुनाले उनलाई मैले मिलेटसमा नै छोडें। हिउँद लाग्न नपाई चाँडै आऊ। युबुलस, पुडेस, लिनस, क्लौडिया र यहाँ भएका सबै भाइहरूले तिमीलाई अभिवादन पठाएका छन्। प्रभु तिम्रो आत्मासँगै रहून्। तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्।