२ तिमोथी 2:15-19
२ तिमोथी 2:15-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर। भक्तिहीन बकबक त्याग, किनकि यसले मानिसहरूलाई झन् बढ़ी भक्तिहीनतातिर लानेछ। तिनीहरूको बातचीत सइनको घाउजस्तो गाडिँदैजानेछ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्। पुनरुत्थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्यबाट तर्किएका छन्। कति जनाको विश्वासलाई यिनीहरूले खलबल्याइरहेका छन्। तर परमेश्वरको दृढ़ जग खड़ै रहन्छ, र त्यसमा यो छाप लागेको छ, “प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्।”
२ तिमोथी 2:15-19 नेपाली समकालीन संस्करण (NCV)
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; एउटा शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठीक-ठीकसित प्रयोग गर्दछ। भक्तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्तिहीन हुँदै जानेछन्। तिनीहरूका शिक्षा कुहुँदै गएको घाउझैं फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्, जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्वासलाई उल्टाइदिन्छन्। तैपनि परमेश्वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाउँ स्वीकार गर्ने हरेक जन दुष्टताबाट अलग हुनैपर्छ।”
२ तिमोथी 2:15-19 पवित्र बाइबल (NERV)
परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन। जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ। तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्। तिनीहरूले साँच्चो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो। यही रीतले ती दुइले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्। तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।” अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोड्नु पर्छ।”
२ तिमोथी 2:15-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
लाज मान्नु नपर्ने र सत्यको सन्देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्तै परमेश्वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्न तयार भइरहन कोसिस गर। संसारका मूर्ख कुराहरूबाट पन्सिएर बस। यसले त मानिसहरूलाई परमेश्वरबाट झन्-झन् टाढा पुर्याउँदछ। त्यस्ता शिक्षा कुहेर बढ्दैजाने घाउजस्तै हुनेछ। हुमेनियस र फिलेतसको शिक्षा पनि त्यस्तै छ। तिनीहरूले सत्य छोडेका छन्। मरेकोबाट बिउँतने काम अघि नै भइसक्यो, अब हुँदैन भन्ने शिक्षा दिएर तिनीहरूले कतिको विश्वास नै बिगारिदिए। तर परमेश्वर आफैंले लगाएको उहाँको जग सधैँ बलियो भएर रहिरहन्छ। यसमा लेखिएकै छ: “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ,” अनि “परमेश्वरका नाउँ लिने सबै खराब कामहरूबाट अलग रहनुपर्दछ।”