२ शमूएल 6:5-11
२ शमूएल 6:5-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्यालीको सुरमा रमाहट गर्दैथिए। जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्जाहले आफ्नो हात बढ़ाएर परमेश्वरको सन्दूकलाई थामे। तर परमप्रभु उज्जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्तो लापरवाहीको निम्ति उहाँले तिनलाई त्यहाँ मार्नुभयो। यसरी तिनी परमेश्वरका सन्दूकको छेउमा मरे। परमप्रभु यसरी उज्जाहमाथि क्रोधित हुनुभएकोमा दाऊद रिसाए, र तिनले त्यस ठाउँको नाउँ फारेस-उज्जाह राखे। त्यसको नाउँ आजसम्म त्यही छ। त्यस दिन दाऊद परमप्रभुसँग डराए, र भने, “अब परमप्रभुको सन्दूक म आफूसँग कसरी राख्न सकुँला?” परमप्रभुको सन्दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्दूक पुर्याए। यसरी परमप्रभुको सन्दूक ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो, अनि परमप्रभुले ओबेद-एदोम र तिनका सबै घरानालाई आशिष् दिनुभयो।
२ शमूएल 6:5-11 पवित्र बाइबल (NERV)
दाऊद अनि इस्राएलीहरू नाच्दै र सँगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा सँगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंख, काठका बाजाहरू अनि झ्यालीहरू थिए। जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडी तान्नेहरू ठेस् खाए। गाडीमा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लड्नदेखि रक्षा गरे। तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो। दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभुद्वारा उज्जा मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ। त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?” दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे। उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।
२ शमूएल 6:5-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊद र सबै इस्राएलीहरू परमप्रभुको सम्मानमा बडो जोश र जोडसित नाच्दै र गाउँदै थिए। तिनीहरूले सारङ्गी, वीणा, ढोल, खैँजडी र झ्याम्टा बजाइरहेका थिए। तिनीहरू नाकोनको खलामा आइपुग्दा गोरुहरूले ठेस खाए र उज्जाहले हात बढाएर करारको सन्दुकलाई थामे। तर उत्तिखेरै परमप्रभु उज्जाहसित क्रोधित हुनुभयो र तिनको भक्तिहीन कार्यको कारण तिनलाई मार्नुभयो। उज्जाह त्यहाँ करारको सन्दुकको छेउमा मरे। यसैले त्यस दिनदेखि त्यस ठाउँको नाम फारेस-उज्जाह भयो। परमेश्वरले आफ्नो क्रोधमा उज्जाहलाई मार्नुभएकोले दाऊद डराए। त्यसपछि दाऊद परमप्रभुसित डराए र भने, “अब कसरी म करारको सन्दुक लिएर जान सक्छु?” यसैले तिनले सन्दुक आफूसित यरूशलेम नलैजाने निर्णय गरे र त्यसको बदलीमा अर्कै बाटो लिई त्यो गात नगरको बासिन्दा ओबेद-एदोमको घरमा पुर्याए। त्यस घरमा सन्दुक तीन महिनासम्म रह्यो र परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशिष् दिनुभयो।