YouVersion लोगो
खोज आइकन

२ शमूएल 3:1-39

२ शमूएल 3:1-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

शाऊल र दाऊदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्‍म चलिरह्यो। दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, अनि शाऊलको घरानाचाहिँ अझ कमजोर हुँदैगयो। अनि हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे: तिनका जेठा छोरा अमनोन थिए, जसकी आमा यिजरेली अहीनोम थिइन्‌; तिनका माहिला छोरा किलाब थिए, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्‌; तिनका साहिँला छोरा अब्‍शालोम थिए, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्‌; काहिँलाचाहिँ अदोनियाह थिए, जसकी आमा हग्‍गीत थिइन्‌; ठाहिँला शपत्‍याह थिए, जसकी आमा अबीतल थिइन्‌; अनि कान्‍छाचाहिँ यित्राम थिए, जसकी आमा दाऊदकी पत्‍नी एग्‍ला थिइन्‌। यिनीहरू सबै हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू थिए। जब शाऊल र दाऊदका घरानाको बीचमा युद्ध हुँदैगयो, तब अबनेरले बिस्‍तार-बिस्‍तार शाऊलको घरानामा आफूलाई प्रबल तुल्‍याउँदैथिए। अब अय्‍याकी छोरी रिश्‍पा नाउँ भएकी शाऊलकी उपपत्‍नी थिइन्‌। ईश्‍बोशेतले अबनेरलाई सोधे, “तिमी मेरा बुबाकी उपपत्‍नीसँग किन सुत्‍यौ?” यस कुराले अबनेरले साह्रै रिसाएर भने, “के म यहूदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्‍म त म तिम्रा पिता शाऊलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ, र मैले तपाईंलाई दाऊदको हातमा दिएर विश्‍वासघात गरेको छैनँ। तापनि यस स्‍त्रीको विषयमा भक्तिहीनताको आरोप लाउनुहुन्‍छ! अब यदि दाऊदको निम्‍ति परमप्रभुले शपथ खाएर ‘गर्छु’ भन्‍नुभएको कुरालाई पूरा गर्न म सकेसम्‍म गर्दिनँ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌। म शाऊलको घरानालाई खसाल्‍न र दाऊदलाई दानदेखि बेर्शेबासम्‍मै इस्राएल र यहूदामाथि सिंहासनमा बसाल्‍ने काम गर्नेछु।” तिनी अबनेरसँग साह्रै डराएका हुनाले ईश्‍बोशेतले अरू केही पनि भन्‍न सकेनन्‌। त्‍यसपछि अबनेरले हेब्रोनमा दाऊदकहाँ यसो भनेर दूतहरू पठाए, “यो देश कसको हो? हामी मिलाप गरौं, र म सारा इस्राएललाई तपाईंतर्फ ल्‍याउनलाई सकेसम्‍म कोशिश गर्नेछु।” तब दाऊदले यस्‍तो जवाफ पठाए, “बेस्, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा, कि शाऊलकी छोरी मीकललाई मकहाँ ल्‍याएपछि मात्र तिमी मेरो सामु आऊ।” दाऊदले शाऊलका छोरा ईश्‍बोशेतकहाँ पनि यसो भनेर दूतहरू पठाए, “मैले एक सय पलिश्‍तीका खलड़ीको दाम तिरेर मगनी गरेको मेरी पत्‍नी मीकल मलाई सुम्‍पिदेऊ।” यसकारण ईश्‍बोशेतले मानिसहरू पठाएर मीकललाई आफ्‍ना पति लेशका छोरा पल्‍तिएलकहाँबाट झिकाए। अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्‍जेल पल्‍तिएल रुँदै-रुँदै बहूरीमसम्‍म मीकलको पछिपछि आए। अब इस्राएलका धर्म-गुरुहरूकहाँ आएर अबनेरले भने, “निकै अघिदेखि नै तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा तुल्‍याउन खोज्‍नुभएको हो। अब त्‍यो काम पूरा गर्ने समय यही हो, किनभने दाऊदको विषयमा परमप्रभुको वचन यो छ, ‘मेरो दास दाऊदको हातबाट नै मेरो प्रजा इस्राएललाई पलिश्‍तीहरूबाट र तिनीहरूका सबै शत्रुहरूबाट बचाउनेछु’।” अबनेरले बेन्‍यामीनीहरूसँग पनि कुरा गरे र त्‍यसपछि इस्राएलीहरू र बेन्‍यामीनीहरू सहमत भएको कुरा सुनाउनलाई अबनेर हेब्रोनमा दाऊदकहाँ गए। जब अबनेर दाऊदको सामुन्‍ने हाजिर भए, तब उनीसँग बीस जना मानिसहरू थिए, र दाऊदले उनीहरू सबैका निम्‍ति भोज दिए। तब अबनेरले दाऊदलाई भने, “अब म गएर हजूरको सामुन्‍ने सारा इस्राएलीहरूलाई ल्‍याउनेछु, र तिनीहरूले हजूरसँग एउटा करार बाँधून्‌। त्‍यसपछि हजूर आफूले इच्‍छा गर्नुभएजति माथि तपाईंले राज्‍य गर्नुहोस्‌।” तब दाऊदले अबनेरलाई बिदा दिए, र उनी शान्‍तिसँग गए। दाऊदका मानिसहरू र योआबचाहिँ आफूसँग धेरै लूटका माल लिएर लूटपीटबाट फर्के। तर त्‍यस बेला अबनेरचाहिँ शान्‍तिसाथ बिदा भइसकेकाले उनी दाऊदसँग हेब्रोनमा थिएनन्‌। यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्‍तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने। राजाकहाँ गएर योआबले भने, “हजूरले यो के गर्नुभयो? अबनेर यहाँ हजूरकहाँ आएका थिए। हजूरले कसरी उनलाई त्‍यसै जान दिनुभयो? उनी त त्‍यसै उम्‍केर गइहाले। हजूरले नेरका छोरा अबनेरलाई चिन्‍नु नै भएको छ। उनी हजूरलाई छल गर्न, हजूरको चाल बुझ्‍न र हजूर के गर्दैहुनुहुन्‍छ सो जान्‍नलाई आएका थिए।” जब योआब दाऊदको सामुन्‍नेबाट निस्‍के, तब तिनले अबनेरको पछि समाचारवाहकहरूलाई पठाए, र तिनीहरूले अबनेरलाई सीराको इनारदेखि फर्काएर ल्‍याए। तर दाऊदलाई यो सब थाहा थिएन। अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्‍तमा केही कुरा गर्ने निहुँमा मूल ढोकाको एकातिर गए, र तिनले आफ्‍ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँड़ीमा घोचेर मारे। तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्‍याको विषयमा म र मेरो राज्‍य परमप्रभुको दृष्‍टिमा सधैँको लागि निर्दोष छौं। योआब र तिनका पिताका सबै घरानाको शिरमा त्‍यो दोष परोस्‌। अनि योआबको घरानामा घाउ-खटिरा हुने वा छालामा सरुवा रोग लाग्‍ने व्‍यथाले नछोड़ोस्, लहुरोको सहारामा हिँड्‌ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्‌ने सन्‍तानको अभाव नहोस्‌।” यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे। तब दाऊदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई आ-आफ्‍नो लुगा च्‍यात्‍न, भाङ्‌ग्रा ओड्‌ने र अबनेरको अरथीको अगिअगि विलाप गर्दै हिँड्‌न भनी हुकुम गरे, र राजा आफैचाहिँ अरथीको पछिपछि हिँड़े। तिनीहरूले अबनेरलाई हेब्रोनमा गाड़े, र अबनेरको चिहानमा राजा साह्रै रोए। अनि सबै मानिसहरू पनि तिनीसँग रोए। राजाले अबनेरको निम्‍ति यो विलापको गीत गाए: “के अबनेर अपराधी भएझैँ मर्नुपर्‍यो? तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोड़ामा साङ्‌ला लागेका थिएनन्, तिमी त दुष्‍टहरूका हातमा परेझैँ ढल्‍यौ।” अनि मानिसहरू तिनको निम्‍ति फेरि रोए। तब तिनीहरूले दाऊदलाई अझै दिन बाँकी रहँदा केही खाऊन्‌ भनेर मनाउनलाई आए, तर दाऊदले शपथ खाएर यसो भने, “सूर्यास्‍तअघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌।” मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्‍न भए। त्‍यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्‍यामा राजाको केही हात थिएन भनी थाहा पाए। राजाले आफ्‍ना मानिसहरूलाई भने, “इस्राएलमा आजको दिन एक जना योद्धा, एक जना महान्‌ पुरुष मरे भनी तिमीहरू जान्‍दैनौ? म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्‍ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्‍ति अति नै बलिया भए। परमप्रभुले दुष्‍ट काम गर्नेलाई त्‍यसका योग्‍यको प्रतिफल देऊन्।”

शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्

२ शमूएल 3:1-39 पवित्र बाइबल (NERV)

शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन-दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए। दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे। अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए। माहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधुवी अबीगेल थिइन्। साँहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशूरका राजा तिल्मैकी छोरी माकाह थिइन्। काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्। अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्। कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन। जब शाऊलका परिवार समूह र दाऊदका परिवार समूहका बीच युद्ध भयो अबनेर साह्रै बलिया भए। शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?” ईश्बोशेतका शब्दहरूले गर्दा अबनेर साह्रै रिसाए। अबनेरले भने, “म शाऊल र तिनका परिवारप्रति इमानदारी छु। मैले तिमीलाई दाऊदको हातमा दिइनँ। मैले दाऊदलाई तिमीलाई हराउन दिइनँ। म यहूदाको पक्षमा काम गर्ने देशद्रोही होइनँ। अहिले तपाईंले यस स्त्रीको विषयमा मलाई दोष दिएर रीस उठाउनु हुन्छ। अब म प्रतिज्ञा गर्छु म त्यो साँच्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ। तिनले दानदेखि बेर्शेबा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्छु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।” ईश्बोशेतले केही भन्नुको सट्टा डरायो। अबनेरले दाऊदकहाँ दूत पठाए। अबनेरले खबर दियो, “यो भूमिमा कसले शासन गर्नु पर्छ हामी बिचमा त्यहाँ एउटा सन्धि होस् अनि म तिमीलाई इस्राएलका शासक बन्नमा सहायता गर्छु।” दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्छु। तर म तिमीलाई एउटा शर्त राख्छुः जब सम्म तिमी शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनौ म तिमीसित भेट गर्ने छौन।” दाऊदले शाऊलका छोरा ईश्बोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिश्तीहरू मारें।” तब ईश्बोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अह्राए। मीकलका लोग्ने पलतीएल रूँदै उसको पछि बहूरीम सम्म गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए। अबनेरले इस्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ। अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्राएलका मानिसहरूलाई पलिश्ती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।’” अबनेर बिन्यामीनहरूसित पनि यस विषयमा बोले तब उसले हेब्रोनमा इस्राएलका मानिसहरूले के गर्न चाहन्थे अनि बिन्यामीन कुल समूहले पनि के गर्न चाहन्थे भन्नलाई दाऊद भएकहाँ गए। त्यसपछि अबनेर हेब्रोनमा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए। अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्राएलीहरू तपाईं भएकाहँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्झौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्राएलमाथि शासन गर्नुहोस्।” दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तिसँग गए। योआब र दाऊदका अधिकारी युद्धबाट फर्किएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तिसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनमा दाऊदसँग थिएनन्। योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर (नेरका छोरा) राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तिसित छोडि दिए।” योआब राजाकहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेट्न आयो तर तपाईंले त्यसलाई किन केही गर्नु भएन? तपाईंले अबनेरलाई (नेरका छोरा) चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।” योआबले दाऊदलाई छोडेर गयो। उसले सीराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्। जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाइ असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे। पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ। योआब र उसका परिवारका सदस्यहरू यसको दोषी छन्। उसका सम्पूर्ण परिवारलाई यसको दोष दिन सकिन्छ। मलाई आशा छ अब योआबका परिवारले साह्रै कठिनाइका दिन देख्नु पर्नेछ। मलाई पूरा विश्वास छ त्यसका परिवारका सम्पूर्ण सदस्यमा कोरको बिमार सल्कने छ। बैशाखी लगाएर हिंडने छन्, युद्धमा मारिने छन् अनि भोक भोकै रहनु पर्नेछ।” अबनेरले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाइ अबिशैले अबनेरलाई मार्यो। दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।” अबनेरलाई हेब्रोनमा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिहानमा रोए। राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाएः “के अबनेर मूर्ख अपराधी झै मरे? अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन। होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।” तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रून थाले। दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।” सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए। यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा। राजा दाऊदले उसका अधिकारीहरूलाई भने, “तिमीहरूलाई त्यो थाहा छैन आज इस्राएलका एक महत्वपूर्ण अगुवाको मृत्युभयो। आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।”

शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्

२ शमूएल 3:1-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

शाऊलका परिवारलाई समर्थन गर्ने फौज र दाऊदलाई समर्थन गर्ने फौजबीच लडाइँ धरै दिनसम्‍म चलिरह्यो। जति दाऊद शक्तिशाली हुँदैगए, त्‍यति नै तिनका विरोधी दुर्बल हुँदैगए। हेब्रोनमा दाऊदका यी छोराहरू पालैसँग जन्‍मे; जेठो अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्। माहिलो किलाब, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्, साहिँलो अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिँलो अदोनियाह, जसकी आमा हग्‍गीत थिइन्, ठाहिँलो शपत्‍याह, जसकी आमा अबीतल थिइन् र कान्‍छो यित्राम, जसकी आमा एग्‍ला थिइन्। यी सबै छोराहरू हेब्रोनमा जन्‍मेका थिए। जसै दाऊदका पक्षका र शाऊलका पक्षका सेनाहरूबीच लडाइँ चलिरह्यो, शाऊलका समर्थकहरूमध्‍ये अबनेर झन्-झन् बलियो हुँदैगए। एक दिन शाऊलको छोरो ईश्‍बोशेतले अबनेरलाई शाऊलकी एउटी रखौटी रिश्‍पा अय्‍याकी छोरीसित सुतेको दोष लगाए। यसमा अबनेर साह्रै रिसाए र भने, “के म शाऊलसित विश्‍वासघात गर्छु भनी तिमी ठान्‍दछौ? के मैले यहूदाको सेवा गर्दै छु भनेर तिमी साँच्‍चै सोच्‍छौ? सुरुदेखि म तिम्रा पिता शाऊल, तिनका दाजुभाइ र मित्रहरूका भक्त रहेको छु र आजसम्‍म तिमीलाई दाऊदका हातबाट बचाएर राखेको छु; तर आज मलाई एउटी आइमाईसित सुतेको दोष लाउँछौ! परमप्रभुले यसरी प्रतिज्ञा गर्नुभएको थियो, म शाऊल र तिनका वंशको हातबाट राज्‍य खोस्‍नेछु र दाऊदलाई यहूदा र इस्राएल दुवैका राजा बनाउनेछु र उनले देशको एक कुनादेखि अर्को कुनासम्‍म राज्‍य गर्नेछन्। अब यो कुरो पूरा गरिन्‍छ भने परमप्रभुले मलाई नाश पारून्!” ईश्‍बोशेत अबनेरसित यति साह्रो डराएका थिए कि तिनले एक शब्‍द पनि बोल्‍न सकेनन्। दाऊद हेब्रोनमा भएको बेला अबनेरले यसो भनेर दूतहरू पठाए, “यस देशमा कसले राज्‍य गर्ने हो? मसित मिलाप गर्नुहोस् र सारा इस्राएललाई तपाईंको अधिकारमा ल्‍याउन मद्दत गर्नेछु।” दाऊदले जवाफ दिए, “ठीक छ, म तिमीसित एक शर्तमा सम्‍झौता गर्नेछु। जब तिमी मलाई भेट्‍न आउँछौ, तिमीले शाऊलकी छोरी मीकललाई लिएर आउनुपर्नेछ।” दाऊदले ईश्‍बोशेतलाई पनि यस्‍तो खबर दिनलाई दूतहरू पठाए, “मलाई मेरी स्‍वास्‍नी मीकल फर्काइदेऊ। मैले एक सय पलिश्‍तीहरूका खलडी दामको रूपमा तिरेर उसलाई विवाह गरेको हुँ।” यसकारण ईश्‍बोशेतले मीकललाई तिनको लोग्‍ने लेशको छोरो पल्‍तिएलको घरबाट झिकाए। पल्‍तिएल लेशका छोरा थिए। पल्‍तिएल रुँदै मीकललाई पछ्याएर बहूरीम सहरसम्‍म गए। अबनेरले तिनलाई “अब घर फर्क”, मात्र भने र तिनी घर फर्के। अबनेर इस्राएलका अगुवाहरूकहाँ गए र तिनीहरूलाई भने, “धेरै दिनदेखि तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा बनाउन चाहनुभएको हो। अब मौका यही हो। स्‍मरण गर्नुहोस् कि परमप्रभुले यसरी भन्‍नुभएको छ, ‘मेरा प्रजा इस्राएललाई पलिश्‍तीहरू र अन्‍य शत्रुहरूबाट बचाउन म मेरो सेवक दाऊदलाई चलाउनेछु।” अबनेरले बेन्‍यामीन कुलका मानिसहरूसित पनि कुरा गरे। त्‍यसपछि हेब्रोनमा दाऊदकहाँ गएर बेन्‍यामीन र इस्राएलका मानिसहरू जे गर्न राजी भएका थिए, सो सुनाए। जब अबनेर बीस जना मानिसहरूसाथ लिएर दाऊदकहाँ हेब्रोनमा पुगे, दाऊदले तिनीहरूलाई भोज खुवाए। अबनेरले दाऊदलाई भने, “म अब गएर सारा इस्राएललाई हजुरको पक्षमा ल्‍याउनेछु। तिनीहरूले हजुरलाई आफ्‍ना राजा मानिलिनेछन् र हजुरले चाहेको कुरा पूरा हुनेछ र पूरै देशमा राज्‍य गर्नुहुनेछ।” दाऊदले अबनेरलाई शान्‍ति-सुरक्षाको वचन दिएर बिदा गरे। त्‍यसपछि योआब र दाऊदका अन्‍य अधिकारीहरूले छापा मारेर धेरै लुटका सामान लिई फर्के। त्‍यस बेला अबनेर दाऊदसित हेब्रोनमा थिएनन् किनकि तिनलाई शान्‍ति-सुरक्षाको वचन दिई दाऊदले बिदा गरिसकेका थिए। जब योआब र तिनका मानिसहरू आइपुगे, तब अबनेर दाऊद राजाकहाँ आएको र शान्‍ति-सुरक्षाको वचन पाई फर्किएको कुरा तिनीहरूले सुने। यसर्थ राजाकहाँ गई योआबले भने, “हजुरले के गर्नुभएको? अबनेर हजुरकहाँ आएका रहेछन्, हजुरले किन त्‍यसरी छोडिदिनुभयो? तिनी त यहाँ हजुरलाई छल्‍न र हजुरले के-कसो गर्नुहुन्‍छ र कहाँ जानुहुन्‍छ, सो बुझ्‍न आएका थिए। हजुरलाई यो कुरा याद हुनुपर्ने हो!” दाऊदसित बिदा भएपछि योआबले अबनेरलाई बोलाउन दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्‍याए। तर दाऊदलाई यसबारे केही थाहा भएन। जब अबनेर हेब्रोनमा आइपुगे, तिनीसित एकान्‍तमा केही कुरा गर्ने बहाना गरी योआबले तिनलाई ढोकाको एक छेउमा लगे र त्‍यहाँ तिनको भुँडीमा तरवार रोपिदिए किनभने अघि तिनले योआबको भाइ असाहेललाई मारेका थिए र त्‍यसरी बदलामा अबनेर मारिए। दाऊदले त्‍यो खबर पाए र भने, “परमप्रभु जान्‍नुहुन्‍छ कि म र मेरा प्रजा अबनेरको हत्‍यामा निर्दोष छौं। त्‍यसको दण्‍ड योआब र त्‍यसका परिवारमाथि परोस्! तिनको सन्‍तानको हरेक पुस्‍तामा कुष्ठरोग वा घाउ-खटिराले ग्रस्‍त वा स्‍त्रीको काम मात्र गर्न लायक, दुर्बल वा लडाइँमा मारिने वा खानाको अभाव भएको केही न केही व्‍यक्ति भइरहोस्!” यसरी योआब र तिनका भाइ अबीशैले अबनेरको हत्‍या गरे किनकि तिनीहरूको भाइ असाहेललाई गिबोनको लडाइँमा अबनेरले मारेका थिए। तब दाऊदले योआब र तिनका मानिसहरूलाई अबनेरको निम्‍ति शोक गरेर आफ्‍ना लुगा च्‍यातेर भाङ्‌ग्रा पहिरिने आज्ञा दिए। मलामीमा दाऊद राजा आफैं लाशको पछिपछि हिँडे। हेब्रोनमा अबनेरलाई गाडे र चिहानमा दाऊद राजा उच्‍च सोरले रोए र तिनीसँग सबै मानिसहरू पनि रोए। र अबनेरको निम्‍ति राजाले यो विलापको गीत गाए: “किन अबनेर एक मूर्खझैँ मारिनुपर्‍यो? तिनका हात बाँधिएका थिएनन्, तिनका पाउ पनि बाँधिएका थिएनन्; तिनी अपराधीका हातबाट मारिए!” फेरि मानिसहरू पनि अबनेरको निम्‍ति रोए। दिनभरि मानिसहरूले दाऊदलाई केही भोजन गराउने चेष्‍टा गरे; तर तिनले यस्‍तो गम्‍भीर शपथ खाए, “सूर्य अस्‍ताउनुभन्दा अघि मैले केही कुरा खाएँ भने परमेश्‍वरले मेरो प्राण लेऊन्!” मानिसहरूले कुरा बुझे र सन्‍तोष माने। वास्‍तवमा राजाले गरेका हरेक कुरामा तिनीहरू खुसी हुन्‍थे। अबनेरको हत्‍यामा राजाको कुनै हात थिएन भनी दाऊदका प्रजा र इस्राएलका मानिसहरू सबैले बुझे। राजाले आफ्‍ना भारदारहरूलाई भने, “आज इस्राएलका एक महान् अगुवा मरे भनी के तिमीहरू थाहा पाउँदैनौ? म परमेश्‍वरले चुन्‍नुभएको राजा हुँ तापनि आज कमजोर अनुभव गर्दछु। सरूयाहका यी छोराहरू मेरो निम्‍ति अति नै भएका छन्। परमप्रभुले यी अपराधीहरूलाई उचित दण्‍ड देऊन्!”

शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्