२ शमूएल 24:15-25
२ शमूएल 24:15-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण बिहानदेखि तोकेको समयसम्म इस्राएलभरि परमप्रभुले रूढ़ी पठाइदिनुभयो, र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे। जब स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई त्यसतिर आफ्नो हात पसारे, तब त्यस्तो सत्यानाश गर्नदेखि परमप्रभुको मन बदल्यो, र मानिसहरूलाई नाश गर्ने ती स्वर्गदूतलाई उहाँले भन्नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए। जब दाऊदले मानिसहरूलाई मार्दैगर्ने ती स्वर्गदूतलाई देखे, तब तिनले परमप्रभुलाई भने, “यो खराबी त मैले पो गरेको हुँ, पाप मेरै हो। तर यी बिचरा भेड़ाहरूले के गरेका थिए? तपाईंको हात म र मेरो घरानामाथि परोस्।” त्यही दिन गाद दाऊदकहाँ आएर तिनलाई भने, “गएर यबूसी अरौनाको खलामा प्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्।” गादद्वारा परमप्रभुले आज्ञा गर्नुभएझैँ दाऊदमाथि उक्लेर गए। जब अरौनाले राजा र तिनका मानिसहरूलाई आफू भएतिर आइरहेका देखे, तब तिनी गएर राजाको सामुन्ने घोप्टो परी दण्डवत् गरेर भने, “हजूर किन हजूरको दासलाई भेट गर्नलाई आउनुभयो?” दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रूढ़ी बन्द होस् भनी परमप्रभुको निम्ति एउटा वेदी बनाउनलाई तिम्रो खला किन्न भनी म आएको हुँ।” अरौनाले दाऊदलाई भने, “बिन्ती छ, हजूर, त्यो लानुहोस्, र जस्तो योग्य सम्झनुहुन्छ, त्यस्तो बलिदान चढ़ाउनुहोस्। होमबलिको निम्ति मकहाँ गोरुहरू र दाउराको निम्ति तिनका जुवा र दाइँ गर्ने काठहरू छन्।” अरौनाले यो सबै राजालाई तिनका कामको निम्ति दिएर भने, “परमप्रभु हजूरका परमेश्वरले हजूरलाई ग्रहण गरून्।” तर राजाले अरौनालाई भने, “होइन, म ती तिमीबाट किन्नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढ़ाउनेछैनँ।” यसकारण दाऊदले त्यो खला र गोरुहरू चाँदीका पचास सिक्कामा किने। त्यहाँ तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए, र होमबलि र मेलबलिहरू चढ़ाए। तब देशको निम्ति तिनले गरेको प्रार्थना परमप्रभुले स्वीकार गर्नुभयो, र इस्राएलमा चलेको रूढ़ी थामियो।
२ शमूएल 24:15-25 पवित्र बाइबल (NERV)
यसैले परमप्रभुले इस्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइन्जेल थामिएन। दानदेखि बेर्शेबासम्म 70,000 मानिसहरू मरे। स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखीत हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए। दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरें! मैले अपराध गरें। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेंडाले झैं पच्छ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।” त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।” दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए। अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे। अरौनाले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?” दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।” अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरूहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा लानुहोस्। राजा, मसँग भएका सबै लग्नुहोस्। परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहुन्।” तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।” यसैले दाऊदले खला र गोरूहरूको मूल्य चाँदीको 50 शेकेल बुझाए। त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।
२ शमूएल 24:15-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो। महामारी त्यो बिहानदेखि त्यसको तोकिएका समयभरि चल्यो। देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्म सत्तरी हजार इस्राएलीहरू रुढीले मरे। परमप्रभुका दूतले यरूशलेम नाश गर्न लाग्दा परमप्रभुले मानिसहरूलाई दण्ड दिने विषयमा आफ्नो विचार बदल्नुभयो। मानिसहरू नाश गर्दैगरेको दूतलाई परमप्रभुले भन्नुभयो, “बस्, भयो! बन्द गर्!” त्यस बेला दूत यबूसी अरौनाको अन्न चुट्ने खलाको छेउनेर पुगेका थिए। मानिसहरू नाश गर्दैगरेको दूतलाई दाऊदले देखे र परमप्रभुलाई भने, “दोषी म हुँ। दोष गर्ने मानिस म हुँ। यी बिचरा मानिसहरूले के दोष गरेका छन् र? तपाईंले म र मेरो परिवारलाई दण्ड दिनुपर्ने हो।” त्यही दिन गादले दाऊदकहाँ आएर भने, “हजुर, यबूसी अरौनाको खलानेर जानुहोस् र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्।” दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार त्यस ठाउँमा गए। अरौनाले तलतिर हेर्दा राजा र उनका भारदारहरू उकालो आफू भएको ठाउँतिर आउँदैगरेका देखे। उनले राजाको अघि भूइँमा घोप्टो परी दण्डवत् गरे र भने, “हजुर, तपाईं किन यहाँ आउनुभएको?” दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रुढी बन्द होस् भनी परमप्रभुको निम्ति एउटा वेदी बनाउन तिम्रो खला किन्न म आएको हुँ।” अरौनाले भने, “महाराज, लिनुहोस्! जे हजुरलाई इच्छा लाग्छ, त्यो परमप्रभुलाई चढाउनुहोस्। वेदीमा बलिदानस्वरूप होमबलि गर्नलाई यी गोरुहरू छन्, आगो बाल्नको निम्ति यी जुवा र खलाका काठपात छन्।” अरौनाले ती सबै थोक राजालाई टक्र्याएर भने, “परमप्रभु हजुरका परमेश्वरले हजुरले चढाएका बलि ग्रहण गरून्!” तर राजाले जवाफ दिए, “होइन, म यी सबैको दाम तिमीलाई दिनेछु। मैले सित्तैमा पाएका बलिका सामग्रीहरू परमप्रभु मेरा परमेश्वरलाई म चढाउनेछैनँ।” र राजाले ती खला र गोरुहरू चाँदीका पचास टुक्रा दिएर किने। त्यसपछि तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए र होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले राजाको प्रार्थना सुन्नुभयो र इस्राएलमा महामारी रोकियो।