YouVersion लोगो
खोज आइकन

२ शमूएल 23:8-39

२ शमूएल 23:8-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्‌। पहिलो तहकमोनीबाटका योशब-बश्‍शेबेत थिए— तीन जना वीरमध्‍येका मुख्‍य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे। ती तीन जना वीरमध्‍ये दोस्रोचाहिँ अहोही दोदैका छोरा एलाजार थिए। तिनी दाऊदसित पास-दम्‍मीममा थिए, जहाँ पलिश्‍तीहरू युद्धको निम्‍ति जम्‍मा भएका थिए। जब इस्राएलीहरू पछि हटे तब तिनी एकलै रणभूमिमा खड़ा भएर नथाकुञ्‍जेल तिनले पलिश्‍तीहरूलाई तरवारले प्रहार गरी नै रहे, यहाँसम्‍म कि तिनको हातमा तरवार टाँसिएको थियो। यसरी परमप्रभुले त्‍यस दिन ठूलो विजय दिनुभयो। त्‍यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्‌न मात्र एलाजारकहाँ फर्केर आए। तिनीपछि हरारी आगीका छोरा शम्‍मा थिए। पलिश्‍तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्‍तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए, तब शम्‍मा त्‍यस खेतमा अड़िएर बसे, र त्‍यस खेतको रक्षा गरे, अनि ती पलिश्‍तीहरूलाई परास्‍त गरे। यसरी परमप्रभुले फेरि ठूलो विजय दिनुभयो। कटनीको सुरुतिर तीस जना मुख्‍य मानिसहरूमध्‍येका ती तीन जना वीरहरू अदुल्‍लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्‍तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए। त्‍यस बेला दाऊद गढ़ीमा थिए, अनि पलिश्‍तीको फौज बेथलेहेममा थियो। एक दिन दाऊदलाई साह्रो तिर्खा लाग्‍यो, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकानेरको पानी खान पाए त हुनेथियो।” यसैले ती तीन जना वीरहरू पलिश्‍तीहरूका पङ्‌क्तिका बीचबाट छिरिगएर बेथलेहेमको मूल ढोकामा भएको इनारको पानी ल्‍याएर दाऊदलाई दिए। तर दाऊदले त्‍यो पानी पिउनलाई इन्‍कार गरे। तिनले त्‍यो पानी परमप्रभुको सामुन्‍ने खन्‍याइदिए, र भने, “हे परमप्रभु, मैले यो पानी पिउनु नपरोस्‌। के म यी मानिसहरूको रगत पिऊँ, जसले यसको निम्‍ति आफ्‍नो प्राण खतरामा हाले?” यसैले तिनले त्‍यो पानी पिएनन्‌। ती तीन जनाका वीरताको काम यस्‍तै थियो। सरूयाहका छोरा योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। तिनले तीन सय जनाका विरुद्धमा आफ्‍नो भाला चलाएर उनीहरूलाई मारे। यसैले ती तीन जनाजस्‍तै तिनी प्रसिद्ध भए। के तिनलाई ती तीन जनालाई भन्‍दा ठूलो आदरले हेरिँदैनथ्‍यो र? तिनी तिनीहरूका कप्‍तान भए, तर ती तीन जनामध्‍ये तिनी गनिएनन्‌। यहोयादाका छोरा कब्‍सेलका बनायाह पनि एक वीर थिए। तिनले धेरै वीरताका काम गरेका थिए। तिनले मोआबका दुई उत्तम पुरुषहरूलाई मारेका थिए, अनि तिनले हिउँ परेको बेलामा खाड़लमा झरेर एउटा सिंहलाई मारेका थिए। तिनले नै एक जना ठूलो आकारको एक जना मिश्रीलाई मारे, जसको हातमा एउटा भाला थियो। बनायाह एउटा लाठो लिएर त्‍यसकहाँ गए, र त्‍यस मिश्रीको हातबाट भाला खोसेर त्‍यसकै भालाले त्‍यसलाई मारे। यहोयादाका छोरा बनायाहका वीरताका काम यस्‍तै थिए। ती तीन जना वीरहरूजस्‍तै तिनी प्रसिद्ध थिए। तिनी ती तीस जनाभन्‍दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्‌। दाऊदले तिनलाई आफ्‍नो अङ्गरक्षकको जिम्‍मा दिए। योआबका भाइ असाहेल, ती तीस जनामध्‍येका यी नै हुन्‌: बेथलेहेमका दोदैका छोरा एल्‍हानान, हरोदी शम्‍मा, हरोदी एलीका, पल्‍ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर, हूशाती मबुन्‍ने, अहोही सल्‍मोन, नतोपाती महरै, नतोपाती बानाहका छोरा हेलेद, र बेन्‍यामीनको गिबाका रीबैका छोरा ईथै, पिरातोनी बनायाह, गाशका खोल्‍साहरूका हिद्दै, अर्बाती अब्‍बी-अल्‍बोन, बरहूमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा, याशेनका छोराहरू, हरारी शम्‍माका छोरा जोनाथन, हरारी शरारका छोरा अहीआम, माकाती आहसबैका छोरा एलीपेलेत, गीलोनी अहीतोपेलका छोरा एलीआम, कर्मेलका हेस्रो, अर्बी पारै, सोबाका नातानका छोरा यिगाल, हग्रीका छोरा, अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए, यित्री ईरा, यित्री गारेब, र हित्ती उरियाह। सबै जम्‍मा सैँतीस जना थिए।

शेयर गर्नुहोस्
२ शमूएल 23 पढ्नुहोस्

२ शमूएल 23:8-39 पवित्र बाइबल (NERV)

तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन: दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे। दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे। एलाजारले आफू नथाकुन्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एक्लैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिं एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो। अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए। तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्राएलीहरूलाई ठूलो विजय गराउनुभयो। एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाँहि तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए। अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाँहि बेतलेहेममा थिए। दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु!” तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए। दाऊदले भने, “परमप्रभु, म यो पानी खान सक्दिन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले। सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे। ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन। यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला-ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउँ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो। बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे। यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए। बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए। योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः बेतलेहेमका दोदोका छोरा एल्हानान्, हेरोदाका शम्मा, हेरोदका एलीका, बेतपेलेतका हेलेस, तकोइका इक्केशका छोरा ईरा, अनातीतका छोरा अबीएजेर, हुशातका मबून्ने, अदोही सल्मोन, नतोपाका महरै, नतोपाका बानाका छोरा हेलेब, गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इत्तै, पिरातोनका बनायाह, गाशका खोल्वाहरूका हिददै, बेत-अराबाका अबी-अल्बोन, बहूरीमका अजमावेत, शाल्बोनका एल्याहबा, गिजोनी योशेनहरारी, शम्माका छोराहरू जोनाथन, हरारी शम्मका छोरा; हरारी शरारका छोरा अहीआम; मकातीका आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम, कर्मेलका हेस्रो, अर्बी पारै, सोबाका नातानका छोरा यिगाल, गादी बानी, अम्मानी सेलेक, बेरोतका नहरै (नहरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए); येतरी ईरा; येतरी गारेब; अनि हित्ती उरियाह।

शेयर गर्नुहोस्
२ शमूएल 23 पढ्नुहोस्

२ शमूएल 23:8-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाऊदका नामी योद्धाहरूका नाम यी हुन्– पहिलो तहकमोनीबाट योशब-बश्‍शेबेत, ‘तीन प्रख्‍यात’ मध्‍येका मुख्‍य। तिनले आफ्‍नो भाला लिएर आठ सय मानिसहरूसित युद्ध गरे र एउटै युद्धमा सबैलाई मारे। ‘तीन प्रख्‍यात’ मध्‍येमा दोस्राचाहिँ अहोहीका गोत्रका दोदैका छोरा एलाजार थिए। एक दिन दाऊद र एलाजारले युद्ध गर्न भेला भएका पलिश्‍तीहरूलाई चुनौती दिए। इस्राएलीहरू पछि हटे; तर एलाजारले आफ्‍नो ठाउँ छोडेनन् र आफ्‍नो हात चल्‍न नछोडुञ्‍जेल पलिश्‍तीहरूसँग युद्ध गरिरहे। पछि उनले मुट्ठी खोलेर आफ्‍नो तरवार छोड्‍नसम्‍म सकेनन्। यसरी परमप्रभुले त्‍यस दिन ठूलो विजय दिनुभयो। त्‍यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्‍न मात्र एलाजारकहाँ फर्केर आए। ‘तीन प्रख्‍यात’ मध्‍ये तेस्राचाहिँ हरारी आगीका छोरा शम्‍मा थिए। एक दिन पलिश्‍तीहरू लहीमा भेला भएका थिए, त्‍यहाँ एउटा केराउको खेत थियो। इस्राएलीहरू पलिश्‍तीहरूको सामुबाट भागे। तर शम्‍मा खेतको बीचमा अडिरहे र त्‍यसको रक्षाको लागि लडाइँ गरेर पलिश्‍तीहरूलाई मारे। त्‍यस दिन परमप्रभुले ठूलो विजय दिनुभयो। कटनीको समय सुरु हुने बेलामा ‘तीस जना मुख्‍य’ मध्‍ये तीन जना अदुल्‍लामको गुफामा गए। दाऊद त्‍यहाँ थिए र एक दल पलिश्‍तीहरू रपाईंको बेसीमा छाउनी हालेर बसेका थिए। त्‍यस बेला दाऊद एउटा सुरक्षित गढीमा थिए र एक हुल पलिश्‍तीहरूले बेथलेहेम कब्‍जा गरेका थिए। दाऊदलाई आफ्‍नो घरको धेरै याद आयो र तिनले भने, “कसैले बेथलेहेमको ढोकाछेउको कुवाबाट मलाई पिउने पानी ल्‍याइदिए त कस्‍तो हुनेथियो!” ती तीन नामी योद्धाहरू आफ्‍ना पाखुराका बलले पलिश्‍तीहरूका छाउनीका बीचबाट गए र त्‍यो कुवाबाट पानी उठाएर दाऊदकहाँ लिएर आए। तर दाऊदले पानी पिएनन् बरू पानी परमप्रभुलाई भेटीस्‍वरूप चढाइदिए र भने, “परमप्रभु! म यो पानी कहिल्‍यै पिउन सक्‍दिनँ। यो पिउनुचाहिँ आफ्‍नो ज्‍यान खतरामा हालेर पानी लिई आउने पुरुषहरूको रगत पिउनु बराबर हुनेछ!” यसकारण तिनले त्‍यो पानी पिउन इन्‍कार गरे। यी तीन नामी योद्धाहरूले गरेका साहसका काम यिनै हुन्। योआबको भाइ अबीशै ‘तीस जना मुख्‍य’ का अगुवा थिए। (ती दुई भाइकी आमा सरूयाह थिइन्।) अबीशैले आफ्‍नो भाला लिएर तीन सय जनासँग युद्ध गरे र तिनीहरूलाई मारे र ‘तीस जना मुख्‍य’ मध्‍ये प्रसिद्ध भए। ‘तीस जना मुख्‍य’ मध्‍ये तिनी नै सबैभन्दा प्रसिद्ध भए र तिनीहरूका अगुवा बनिए। तर तिनी ‘तीन प्रख्‍यात’ मध्‍येका थिएनन्। कब्‍सेलका यहोयादाका छोरा बनायाह अर्का प्रसिद्ध योद्धा थिए। तिनले धेरै साहसिक कामहरू गरे, जसमध्‍ये दुई ठूला-ठूला मोआबी योद्धाहरूलाई मार्ने काम पनि गरे। एक दिन हिँउ परेको बेलामा तिनले एउटा खाडलभित्र पसी सिंह पनि मारेका थिए। एक जना ठूलो शरीर भएको हातमा भाला लिएको मिश्रीलाई पनि तिनले मारेका थिए। बनायाहले हातमा लाठो लिएर त्‍यो मिश्रीमाथि आक्रमण गरे र त्‍यसका हातबाट भाला खोसी त्‍यसलाई त्‍यसैले मारिदिए। बनायाहका वीरताका काम यस्‍तै थिए। तिनी पनि ‘तीस जना मुख्‍य’ मध्‍ये एक थिए र ती ‘तीस जना मुख्‍य’ मध्‍ये सबैभन्दा नामी थिए। तर तिनी ‘तीन प्रख्‍यात’ मध्‍येका थिएनन्। दाऊदले तिनलाई आफ्‍ना अङ्ग-रक्षकहरूका सेनापति बनाए। ‘तीस जना मुख्‍य’ मध्‍ये पर्ने अरू पुरुषहरू यिनीहरू हुन्: योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्‍हानान, हारोदीका शम्‍मा र एलीका, पल्‍ती-हेलेस, तकोका इक्‍केशको छोरा ईरा, अनातोतका अबीएजेर, हूशातीका मबुन्‍ने, अहोहीका सल्‍मोन, नतोपातीको महरै, नतोपातीका बानाहका छोरा हेलेद, बेन्‍यामीनको गिबाबासी रीबैका छोरा ईथै, पिरातोनीको बनायाह, गाशछेउका बेसीका हिद्दै, अर्बातीको अब्‍बी-अल्‍बोन, बरहूमीका अज्‍मावेत, शाल्‍बोनीको एल्‍याहबा, याशेनका छोराहरू, जोनाथन, हरारीका शम्‍मा, हरारीका शरारका छोरा अहीआम, माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनका अहीतोपेलका छोरा एलीआम, कर्मेलका हेस्रो, अर्बीका पारै, सोबाका नातानका छोरा यिगाल, गादका बानी, अम्‍मोनीका सेलेक, योआबका हतियार बोक्‍ने बेरोतीबासी नहरै, यित्रीका ईरा र गारेब र हित्ती उरियाह! सबै गरी जम्‍मा सैँतीस जना नाम चलेका योद्धाहरू थिए।

शेयर गर्नुहोस्
२ शमूएल 23 पढ्नुहोस्