२ शमूएल 22:1-51
२ शमूएल 22:1-51 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन दिन परमप्रभुले दाऊदलाई तिनका सबै शत्रुहरू र शाऊलको हातबाट छुटाउनुभयो, त्यस दिन तिनले गाएको भजनका शब्दहरू यी नै हुन्: परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़, मेरो शरणस्थान र मेरा उद्धारकर्ता हुनुहुन्छ। तपाईं मलाई हिंसात्मक मान्छेबाट बचाउनुहुन्छ। म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु। “मृत्युका छालहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो। पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो। मेरो आपत्मा मैले परमप्रभुलाई पुकारा गरें, मैले मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, र मेरो पुकारा उहाँका कानमा पुग्यो। पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो, आकाशका जगहरू हल्लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो। उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो। स्वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्यारो बादल उहाँका गोड़ामुनि थियो। उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो र बतासका पखेटामा सवार भई माथि उड्नुभयो। अन्धकारलाई उहाँले आफ्नो ओढ्ने तुल्याउनुभयो, पानीले काला भइसकेका बाक्ला बादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो। उहाँका उपस्थितिको उज्ज्वलताबाट बिजुली निस्किगए। असिना र आगोको भुङ्ग्रो। परमप्रभु स्वर्गबाट गर्जनुभयो, र सर्वोच्चको सोर गुञ्जायमान भयो। उहाँले आफ्ना काँड़हरू हान्नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो। अनि चट्याङद्वारा तिनीहरू अस्तव्यस्त भए। परमप्रभुको हप्कीमा उहाँको नाकबाट निस्केको श्वासको विस्फोटले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए। “उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो। उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्दा अत्यन्तै शक्तिशाली थिए। मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो। उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो। “मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो। किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ। उहाँका सारा नियमहरू मेरै सामुन्ने छन्, र उहाँका कानूनहरू मैले त्यागेको छैनँ। उहाँको दृष्टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्ग राखें। परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरो शुद्धताको अनुरूप मलाई प्रतिफल दिनुभएको छ। वफादारप्रति तपाईं वफादार हुनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्छ। शुद्धसँग तपाईं आफै शुद्ध देखा पर्नुहुन्छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्छ। दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्छ, तर अहङ्कारीहरूलाई झुकाउनका निम्ति तपाईंको नजर तिनीहरूमाथि पर्छ। हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्छ, परमप्रभुले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु, र मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु। “परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ। किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र? उनै परमेश्वर, जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ, र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ। उहाँले मेरा खुट्टाहरू मृगका खुट्टाजस्तै तुल्याउनुहुन्छ, र उच्च स्थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्छ। उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन्। तपाईंले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ, स्वयम् तपाईं मलाई महान् बनाउन झुक्नुहुन्छ। मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोड़ा चिप्लनेछैनन्। “मेरा शत्रुहरूलाई खेदेर मैले नाश गरें, तिनीहरू संहार नहोउञ्जेल म फर्किनँ। मैले तिनीहरूलाई खतम पारें, तिनीहरू फेरि उठ्न सकेनन्, तिनीहरू मेरा पाउमुनि लोटे। तपाईंले मलाई लड़ाइँको निम्ति शक्तिशाली तुल्याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो। तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न विवश पार्नुभयो, र मेरा वैरीहरूलाई मैले संहार पारें। मदतको निम्ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। तिनीहरूले परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। भूइँको धूलोजस्तै मैले तिनीहरूलाई धूलोपीठो पारेँ, गल्लीको हिलोझैँ मैले तिनीहरूलाई कुल्चें। “मेरा मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुट्ट्याउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता हुनलाई जोगाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्। विदेशीहरू दण्डवत् गर्दै मकहाँ आउँछन्, मेरो आदेश सुन्ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्। विदेशीहरू डरले शिथिल हुन्छन्, तिनीहरू आ-आफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्। “परमप्रभु जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति-प्रशंसा होस्! परमेश्वर मेरा चट्टान, मेरा उद्धारक उच्च होऊन्। उहाँ परमेश्वर हुनुहुन्छ, जसले मेरो बदला लिनुहुन्छ, उहाँले नै मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ, उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो। यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु। उहाँले आफ्ना राजाहरूलाई महान् विजय दिनुहुन्छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्नो अचूक करुणा देखाउनुहुन्छ।”
२ शमूएल 22:1-51 पवित्र बाइबल (NERV)
परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ। परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ। उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु, परमेश्वर मेरो सुरक्षा कवच हुनहुन्छ। उहाँको परमशक्तिले मलाई बचाउँछ। परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ, मेरो सुरक्षाको स्थान र मेरो उच्च टाकुरा हुनुहुन्छ, निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ। तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें। मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो। चिहानको साङ्गलोले म बेह्रिए मृत्युको पासो मेरो अघिल्तिर पर्यो हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिएँ, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो। पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो। परमेश्वरको नाकबाट धूवाँ निस्क्यो मुखबाट बलिरहेको ज्वाला निस्क्यो उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो। परमप्रभु आकाश च्यातेर तल आउनुभयो! उहाँ बाक्लो कालो बादलमा उभिनुभयो! उहाँ उड्ने दूतहरूमाथि हावामा उडिरहनु भएको थियो। परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो। उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बल्यो। परमप्रभु स्वर्गबाट गर्जनु भयो! र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो। परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो। परमप्रभुको चट्याङद्वारा मानिसहरू साह्रै डराए। परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा, शक्तिशाली हावा तपाईंको मुखबाट बह्यो र पानी जति सबै पन्छियो, यसैले हामीले समुद्रको फेदलाई देख्न र धर्तीको आधारलाई देख्न सक्ने भयौं। परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो। मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे मेरो लागि शत्रुहरू बलिया थिए। यसैले परमेश्वरले मलाई बचाउँनुभयो। म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे। तर परमप्रभुचाहिं मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो! परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो। परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ। के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने, परमेश्वरको विरूद्ध मैले पाप गरिनँ। म सधैँ परमप्रभुको निर्णयलाई ध्यान दिन्छु म उहाँको नियमलाई पालन गर्छु उहाँको अघि म पवित्र र निर्दोष रहन्छु। यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किनभने मैले ठिकबाहेक केही गरिन! मेरा राम्रा कार्यहरू उहाँले देख्नुहुन्छ, यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ। यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ। कोही व्यक्ति तिम्रो निम्ति विश्वासी छ भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छौ। परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निम्ति तर जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ। परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ। तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खाल नाँघ्न सक्छु। परमेश्वरको बाटो ठीक छ परमप्रभुको वचनको कसी लगाइयो उहाँलाई पछ्याउँने मानिसहरूको रक्षा गर्नुहुन्छ परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन। परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिंड्छन। परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ। उहाँले उच्च स्थानहरूमा मलाई दृढ बनाउनु हुन्छ। परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु झुकाउँन सक्छु। परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ, मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ, मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौडनसकुँ म मेरा शत्रुहरूलाई नष्ट नगरीन्जेल सम्म फर्केर आउँदिन! मैले शत्रु नष्ट पारें। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे। परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो। तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ। मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएनन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएनन् मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँइमा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची पारें। तपाईंले मेरो बिरुद्ध उठेका मानिसहरूबाट मलाई बचाउँनु भयो। तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दैछन्। विदेशी मानिसहरूले मलाई मान्छन्! जब तिनीहरूले मेरो आदेश सुन्छन्, तिनीहरूले आज्ञा गरिरहाल्छन्। विदेशीहरू मसित डराउँछन्। विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्। परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ। परमेश्वर, तपाईंले मलाई मेरो शत्रुबाट बचाउनु भयो! तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो निर्दयीहरूबाट मलाई बँचाउनु भयो। परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु यही कारणले म तपाईंको स्तुति गीत गाउँछु। परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ। परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ। उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।
२ शमूएल 22:1-51 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब परमप्रभुले दाऊदलाई शाऊल र अरू तिनका शत्रुहरूदेखि बचाउनुभयो, तब तिनले परमप्रभुलाई गाएको भजन यस्तो थियो: परमप्रभु मेरा रक्षक हुनुहुन्छ; उहाँ मेरा बलियो गढी हुनुहुन्छ। मेरा परमेश्वर मेरो सुरक्षा हुनुहुन्छ, उहाँसँग हुँदा म सुरक्षित छु। ढालले झैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मलाई आक्रमणबाट सकुशल राख्नुहुन्छ। उहाँले मेरो उद्धार गर्नुहुन्छ; उहाँले मेरो रक्षा गर्नुहुन्छ र मलाई हिंसाबाट बचाउनुहुन्छ। म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। परमप्रभुको प्रशंसा होस्! मृत्युका छालहरू मेरा चारैपट्टि छन्; विनाशका तरङ्गहरू ममाथि बहिआएका छन्। मृत्युको खतराले मलाई घेरेको थियो, चिहानले मलाई पासो थापेको थियो। मेरो विपत्तिमा मैले परमप्रभुलाई पुकारें; मैले सहायताको लागि मेरा परमेश्वरलाई पुकारें। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो; मद्दतको लागि उहाँले मेरो पुकारा सुन्नुभयो। पृथ्वी हल्लियो र काम्यो; आकाशका जगहरू कामे र थरथराए किनभने परमेश्वर रिसाउनुभएको थियो! उहाँको नाकबाट धुँवा निस्क्यो र मुखबाट भस्म पार्ने आगोको ज्वाला र बलिरहेको आगोका भुङ्ग्राहरू निस्के। उहाँका पाउमा कालो बादलसाथ आकाश फटाएर उहाँ उत्रिनुभयो। स्वर्गको रथमा उहाँ चाँडो-चाँडो उड्नुभयो; उहाँले बतासको पखेटामा यात्रा गर्नुभयो। उहाँले आफैंलाई अन्धकारले ढाक्नुभयो; पानीले पूर्ण बाक्लो बादलले उहाँलाई घेर्यो। उहाँको सामुन्ने बिजुली चम्क्यो, त्यसबाट बलिरहेका भुङ्ग्राहरू दन्केर निस्के। तब परमप्रभु आकाशबाट गर्जनुभयो र सर्वशक्तिमान् परमेश्वरको सोर सुनियो। उहाँले वाण छोडेर आफ्ना शत्रुहरूलाई छरपष्ट पार्नुभयो; बिजुली वाणले तिनीहरूलाई भगाउनुभयो। महासागरका तहहरू देखा परे, पृथ्वीका जगहरू उघारिए, जब परमप्रभुले आफ्ना वैरीहरूलाई हकार्नुभयो र क्रोधले तिनीहरूमाथि गर्जनुभयो। परमप्रभु स्वर्गबाट उत्रिनुभयो र मेरो हात समात्नुभयो; उहाँले मलाई गहिरो समुद्रबाट तानेर निकाल्नुभयो। मेरा शक्तिशाली शत्रुहरू र मलाई घृणा गर्ने सबैहरूदेखि उहाँले मलाई बचाउनुभयो। तिनीहरू मेरो निम्ति औधी बलिया थिए। म कष्टमा छँदा तिनीहरूले ममाथि हमला गरे, तर परमप्रभुले मेरो रक्षा गर्नुभयो। उहाँले मलाई खतराबाट मद्दत गरेर निकाल्नुभयो; उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रसन्न हुनुहुन्छ। परमप्रभुले मलाई इनाम दिनुहुन्छ किनभने जे कुरा ठीक छ, त्यो म गर्दछु। यसैले उहाँले मलाई आशीर्वाद दिनुहुन्छ किनभने म निर्दोष छु। परमप्रभुका नियमहरू मैले पालन गरेको छु; मेरा परमेश्वरदेखि म तर्केर गएको छैनँ। मैले उहाँका सबै नियमहरू पालन गरेको छु, मैले उहाँका आज्ञाहरू भङ्ग गरेको छैनँ। म निर्दोष छु भनी उहाँले जान्नुहुन्छ। र मैले आफैंलाई खराबी गर्नदेखि जोगाइराखेको छु। जे कुरो ठीक छ, त्यो म गर्दछु र म निर्दोष छु भनी उहाँले जान्नुहुन्छ। हे परमप्रभु, जो तपाईंप्रति विश्वासयोग्य छन्, तपाईं तिनीहरूप्रति विश्वासयोग्य हुनुहुन्छ र जो सिद्ध छन्, तपाईं तिनीहरूप्रति सम्पूर्णरूपले भलो हुनुहुन्छ। तपाईं पवित्रहरूसित पवित्र हुनुहुन्छ, तर तपाईं दुष्टहरूप्रति वैरभाव राख्नुहुन्छ। तपाईंले नम्रहरूलाई बचाउनुहुन्छ; तर तपाईंले अहङ्कारीहरूलाई होच्याउनुहुन्छ। परमप्रभु, तपाईं मेरो ज्योति हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई हटाउनुहुन्छ। तपाईंले मलाई आफ्ना शत्रुहरूमाथि हमला गर्ने बल र तिनका सुरक्षा गढी विजय गर्ने शक्ति दिनुहुन्छ। परमेश्वर! उहाँका कामहरू कति सिद्ध, उहाँका वचनहरू कति भरपर्दा छन्। किनकि उहाँको रक्षा खोज्नेहरूका निम्ति उहाँ ढालझैँ हुनुहुन्छ। परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ; परमेश्वर मात्र हाम्रा रक्षक हुनुहुन्छ। परमेश्वर नै मेरा बलियो शरणस्थान हुन्; उहाँले मेरो मार्ग सुरक्षित राख्नुहुन्छ। उहाँले मेरा पाउहरू मृगका झैँ तेजिला बनाउनुहुन्छ। उहाँले मलाई पहाडहरूमा सकुशल राख्नुहुन्छ। उहाँले मलाई युद्धको तालिम दिनुहुन्छ र म सबैभन्दा बलियो धनु चलाउन सक्छु। हे परमप्रभु, तपाईंले मलाई रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ; तपाईंको सहायताले मलाई महान् तुल्याएको छ। तपाईंले मलाई कैदमा पर्नबाट जोगाउनुभएको छ र म कहिल्यै पछारिएको छैनँ। म आफ्ना शत्रुहरूलाई हेरेर तिनीहरूको हार गराउँदछु, म तिनीहरूलाई नाश नपारुञ्जेल थामिन्नँ। मैले तिनीहरूलाई हिर्काउँछु, र तिनीहरू उठ्न सक्दैनन्; हार मानेर तिनीहरू मेरो सामुन्ने भूइँमा लड्छन्। तपाईंले मलाई युद्ध गर्ने बल दिनुहुन्छ, तपाईंले मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ। तपाईंले मेरा शत्रुहरूलाई मद्वारा भगाउनुहुन्छ; मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। तिनीहरू सहायता खोज्दछन्; तर कोही पनि तिनीहरूलाई बचाउन आउँदैन; तिनीहरूले परमप्रभुलाई पुकार्दछन्; तर उहाँले जवाफ दिनुहुन्न। म तिनीहरूलाई चकनाचुर पार्दछु र तिनीहरू धूलोजस्तो भइहाल्छन्। म तिनीहरूलाई बाटोको हिलोलाई झैँ खुट्टाले कुल्चन्छु। तपाईंले मलाई मेरा विद्रोही प्रजादेखि बचाउनुभयो र जाति-जातिमाथि मेरो शासन दरिलो गरी राख्नुभयो; मैले नचिनेका जातिहरू मेरा प्रजा भएका छन्। विदेशीहरूले मेरो अघि दण्डवत् गर्दछन्, मेरो सोर सुनेर तिनीहरूले झट्टै मेरो आज्ञापालन गर्छन्। तिनीहरूले आफ्ना साहस हराउँछन् र आफ्ना किल्लाहरूबाट थरथर काम्दै निस्कन्छन्। परमप्रभु जीवित हुनुहुन्छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने शक्तिशाली परमेश्वरको महान्ताबारे झ्याली पिटेर भन! उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ, उहाँले जाति-जातिलाई मेरो अधीन गराउनुहुन्छ। उहाँले मलाई शत्रुहरूबाट रक्षा गर्नुहुन्छ। हे परमप्रभु, तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजयी बनाउनुहुन्छ र हिंसाले भरिएका मानिसहरूदेखि बचाउनुहुन्छ। यसैले म जातिहरूका बीच तपाईंको प्रशंसा गर्छु, म तपाईंको प्रशंसाको गीत गाउँछु। परमेश्वरले त्यसका राजालाई महान् विजयहरू दिनुहुन्छ, आफूले चुनेका व्यक्तिलाई उहाँले निरन्तर प्रेम गर्नुहुन्छ, दाऊद र त्यसका सन्तानहरूप्रति उहाँले निरन्तर प्रेम देखाउनुहुन्छ।