२ शमूएल 22:1-13
२ शमूएल 22:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन दिन परमप्रभुले दाऊदलाई तिनका सबै शत्रुहरू र शाऊलको हातबाट छुटाउनुभयो, त्यस दिन तिनले गाएको भजनका शब्दहरू यी नै हुन्: परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़, मेरो शरणस्थान र मेरा उद्धारकर्ता हुनुहुन्छ। तपाईं मलाई हिंसात्मक मान्छेबाट बचाउनुहुन्छ। म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु। “मृत्युका छालहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो। पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो। मेरो आपत्मा मैले परमप्रभुलाई पुकारा गरें, मैले मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, र मेरो पुकारा उहाँका कानमा पुग्यो। पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो, आकाशका जगहरू हल्लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो। उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो। स्वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्यारो बादल उहाँका गोड़ामुनि थियो। उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो र बतासका पखेटामा सवार भई माथि उड्नुभयो। अन्धकारलाई उहाँले आफ्नो ओढ्ने तुल्याउनुभयो, पानीले काला भइसकेका बाक्ला बादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो। उहाँका उपस्थितिको उज्ज्वलताबाट बिजुली निस्किगए। असिना र आगोको भुङ्ग्रो।
२ शमूएल 22:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो। तिनले भने: याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारकर्ता हुनुहुन्छ; मेरा परमेश्वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। मेरो ढाल र मेरो उद्धारको सिङ हुनुहुन्छ। उहाँ मेरो गढ, मेरो शरणस्थान र मेरो उद्धारकर्ता हुनुहुन्छ। तपाईंले मलाई हिँस्रक मानिसहरूबाट बचाउनुहुन्छ। म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ; र म मेरा शत्रुहरूबाट बचाइन्छु। मृत्युका छालहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत पारे। चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्यो। मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ; मैले मेरा परमेश्वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो; मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो। पृथ्वी काम्यो, र हल्लियो; आकाशका जगहरू हल्लिए; तिनीहरू कामे किनकि परमेश्वर रिसाउनुभएको थियो। उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के। उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो। करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो। उहाँले अन्धकारलाई आफ्नो ओढ्ने मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने मण्डप तुल्याउनुभयो। उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो, अनि चट्याङबाट आगोका झिल्काहरू निस्के।
२ शमूएल 22:1-13 पवित्र बाइबल (NERV)
परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ। परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ। उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु, परमेश्वर मेरो सुरक्षा कवच हुनहुन्छ। उहाँको परमशक्तिले मलाई बचाउँछ। परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ, मेरो सुरक्षाको स्थान र मेरो उच्च टाकुरा हुनुहुन्छ, निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ। तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें। मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो। चिहानको साङ्गलोले म बेह्रिए मृत्युको पासो मेरो अघिल्तिर पर्यो हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिएँ, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो। पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो। परमेश्वरको नाकबाट धूवाँ निस्क्यो मुखबाट बलिरहेको ज्वाला निस्क्यो उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो। परमप्रभु आकाश च्यातेर तल आउनुभयो! उहाँ बाक्लो कालो बादलमा उभिनुभयो! उहाँ उड्ने दूतहरूमाथि हावामा उडिरहनु भएको थियो। परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो। उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बल्यो।
२ शमूएल 22:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब परमप्रभुले दाऊदलाई शाऊल र अरू तिनका शत्रुहरूदेखि बचाउनुभयो, तब तिनले परमप्रभुलाई गाएको भजन यस्तो थियो: परमप्रभु मेरा रक्षक हुनुहुन्छ; उहाँ मेरा बलियो गढी हुनुहुन्छ। मेरा परमेश्वर मेरो सुरक्षा हुनुहुन्छ, उहाँसँग हुँदा म सुरक्षित छु। ढालले झैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मलाई आक्रमणबाट सकुशल राख्नुहुन्छ। उहाँले मेरो उद्धार गर्नुहुन्छ; उहाँले मेरो रक्षा गर्नुहुन्छ र मलाई हिंसाबाट बचाउनुहुन्छ। म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। परमप्रभुको प्रशंसा होस्! मृत्युका छालहरू मेरा चारैपट्टि छन्; विनाशका तरङ्गहरू ममाथि बहिआएका छन्। मृत्युको खतराले मलाई घेरेको थियो, चिहानले मलाई पासो थापेको थियो। मेरो विपत्तिमा मैले परमप्रभुलाई पुकारें; मैले सहायताको लागि मेरा परमेश्वरलाई पुकारें। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो; मद्दतको लागि उहाँले मेरो पुकारा सुन्नुभयो। पृथ्वी हल्लियो र काम्यो; आकाशका जगहरू कामे र थरथराए किनभने परमेश्वर रिसाउनुभएको थियो! उहाँको नाकबाट धुँवा निस्क्यो र मुखबाट भस्म पार्ने आगोको ज्वाला र बलिरहेको आगोका भुङ्ग्राहरू निस्के। उहाँका पाउमा कालो बादलसाथ आकाश फटाएर उहाँ उत्रिनुभयो। स्वर्गको रथमा उहाँ चाँडो-चाँडो उड्नुभयो; उहाँले बतासको पखेटामा यात्रा गर्नुभयो। उहाँले आफैंलाई अन्धकारले ढाक्नुभयो; पानीले पूर्ण बाक्लो बादलले उहाँलाई घेर्यो। उहाँको सामुन्ने बिजुली चम्क्यो, त्यसबाट बलिरहेका भुङ्ग्राहरू दन्केर निस्के।