YouVersion लोगो
खोज आइकन

२ शमूएल 20:1-26

२ शमूएल 20:1-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

शेबा नाउँ भएको एउटा दुष्‍ट मानिस त्‍यहाँ पनि थियो, जो बेन्‍यामीनी बिक्रीको छोरो थियो। त्‍यसले तुरही फुक्‍यो, र कराएर भन्‍यो, दाऊदमा हाम्रो के भाग छ? यिशैको छोरामा हाम्रो केही अधिकार छैन। हे इस्राएल, तिमीहरू आ-आफ्‍ना पालमा जाओ! यसैले बिक्रीको छोरो शेबाको पछि लाग्‍नलाई इस्राएलका मानिसहरूले दाऊदलाई छोड़े, तर यहूदाका मानिसहरूचाहिँ दाऊदको साथमा लागिरहे, र यर्दनदेखि यरूशलेमसम्‍म तिनको पछि लागे। जब दाऊद यरूशलेममा आफ्‍नो महलमा आए, तब तिनले आफ्‍नो महलको हेरचाह गर्नलाई राखेका ती दश उपपत्‍नीहरूलाई लिएर नजरबन्‍दी गरे। तिनले तिनीहरूका भोजनको प्रबन्‍ध गरिदिए, तर तिनीहरूसित सहवास गरेनन्‌। यसरी तिनीहरूका मृत्‍युको दिनसम्‍मै तिनीहरू नजरबन्‍द नै रहे, र तिनीहरू विधवासरह बसे। तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई भेला गर, र तीन दिनभित्रै यहाँ मकहाँ तिमीसहित हाजिर गर।” तर जब अमासा यहूदाका मानिसहरूलाई भेला गर्नलाई गए, तब राजाले तोकेको समयभन्‍दा ज्‍यादै समय तिनलाई लाग्‍यो। दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरो शेबाले त हामीलाई अब्‍शालोमले भन्‍दा पनि ज्‍यादा दु:ख दिनेछ। तिम्रा मालिकका मानिसहरूलाई लगेर त्‍यसलाई पछिपछि खेद, नत्रता त्‍यसले कुनै पर्खाल भएको सहरलाई पायो भनेता त्‍यो हाम्रो हातबाट उम्‍केला।” यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्‌न यरूशलेमबाट हिँड़े। जब तिनीहरू गिबोनको ठूलो चट्टान नजिक आइपुगे तब अमासा तिनीहरूलाई भेट्‌न आए। त्‍यस बेला योआबले चाहिँ जङ्गी-पोशाक लगाएका थिए, र त्‍यसमाथि एउटा पटुका थियो, अनि त्‍यसमा म्‍यानसमेतको एउटा छुरी भिरिराखेका थिए। जब तिनी अगि बढ़े तब त्‍यो त्‍यसको म्‍यानबाट खस्‍यो। योआबले अमासालाई भने, “हे मेरा भाइ अमासा, तिमीलाई कुशलै होला।” अनि तिनले अमासालाई चुम्‍बन गर्नलाई तिनको दाहिने हातले अमासाको दाह्री समाते। अमासाले योआबको हातमा भएको छुरीको ख्‍यालै गरेनन्‌। अनि योआबले तिनको भुँड़ीमा त्‍यो रोपिदिए, र तिनको आन्‍द्रा-भुँड़ी भूइँमा झर्‍यो। तिनले दोस्रो पल्‍ट हिर्काउनैपरेन, किनभने अमासा मरिहाले। तब योआब र तिनका भाइ अबीशै बिक्रीको छोरो शेबालाई खेद्‌दैगए। योआबका मानिसहरूमध्‍येको एक जनाले अमासाका लाशको छेउमा उभेर कराई भन्‍यो, “योआब र दाऊदतर्फ हुनेहरू सबैले योआबलाई पछ्याऊन्‌।” अमासाको लाश रगतमा लटपटिएर मूलबाटोको बीचमा पड़िरहेको थियो, अनि त्‍यस मानिसले सबै फौज त्‍यहाँ अड़िएका देख्‍यो। जब त्‍यसले देख्‍यो कि अमासा भएको ठाउँमा आउने जति त्‍यहाँ अड़िन्‍थे, तब त्‍यसले अमासाको लाशलाई बाटोदेखि परतिर खेतमा घिस्‍स्‍याउँदै लगेर त्‍यहाँ फ्‍याँकिदियो, र त्‍यसलाई एउटा लुगाले ढाकिदियो। लाशलाई मूलबाटोदेखि घिस्‍स्‍याएर लगेपछि सबै मानिसहरू बिक्रीको छोरो शेबालाई खेद्‌न योआबको पछि लागे। हाबिल-बेथ-माकामा आई नपुगुञ्‍जेल शेबा इस्राएलका सबै कुलहरूबाट र बरीहरूको सारा देशबाट भएर गयो। ती बरीहरू भेला भए, र त्‍यसको पछिपछि लागे। योआबको फौज आएर शेबालाई हाबिल-बेथ-माकामा घेर्‍यो, अनि एउटा घेरा-मचान बनायो, जो बाहिरी पर्खालको अगाड़ि थियो, र पर्खाल ढाल्‍नलाई तिनीहरूले त्‍यसमाथि प्रहार गर्न लागे। तब एउटी बुद्धिमती स्‍त्री बाहिरको पर्खालमा खड़ा भइन्, र सहरबाट कराएर भनिन्, “सुन्‍नुहोस्‌! सुन्‍नुहोस्‌! योआबलाई आउनू भनिदिनुहोस्, र म उहाँसित कुरा गर्नेछु।” तब योआब अगि आए, र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्‍छ?” तिनले जवाफ दिए, “अँ, म नै हुँ।” तिनले भनिन्, “म तपाईंकी दासीले के कुरा भनिरहेछु सो राम्ररी सुन्‍नुहोस्‌।” तिनले भने, “म सुन्‍दैछु।” तिनले भनिन्, “उहिले त यस्‍तो भनाइ थियो, ‘जवाफ पाउन हाबिल जानु’। अनि त्‍यसरी नै कुराको फैसला हुन्‍थ्‍यो। हाम्रो सहर इस्राएलका सहरहरूमध्‍ये एक शान्‍तिप्रिय र राजभक्त सहर गनिन्‍छ। त्‍यो त इस्राएलमा एउटी आमाजस्‍तै छ, अनि तपाईंचाहिँ त्‍यसलाई नाश गर्न खोज्‍नुहुन्‍छ। तपाईं किन परमप्रभुको सम्‍पत्ति नष्‍ट गर्न चाहनुहुन्‍छ?” योआबले जवाफ दिए, “नष्‍ट गर्नुचाहिँ मबाट परै रहोस्‌। त्‍यो हाम्रो विचार होइन। तर एफ्राइमको पहाड़ी देशको एक जना मानिस, बिक्रीको छोरो शेबा दाऊद राजाको विरुद्धमा विद्रोह गर्नलाई खड़ा भएको छ। त्‍यही एक जना मानिसलाई हामीकहाँ सुम्‍पिदेऊ, र हामी सहरबाट हटिजानेछौं।” ती स्‍त्रीले योआबलाई भनिन्, “त्‍यसको शिर पर्खालबाट तपाईंकहाँ फ्‍याँकिनेछ।” तब ती स्‍त्री गइन्, र भेला भएका सबै मानिसलाई त्‍यसको बुद्धिपूर्ण सल्‍लाह सुनाइन्‌। तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटेर योआबकहाँ फ्‍याँकिदिए। तब योआबले तुरही बजाए, र सबै सेना सहर छोड़ेर आ-आफ्‍नो घरतिर लागे, अनि योआबचाहिँ राजाकहाँ यरूशलेममा फर्केर गए। योआब सम्‍पूर्ण इस्राएली फौजका सेनापति थिए, अनि यहोयादाका छोरा बनायाहचाहिँ करेती र पेलेथीहरूमाथि अधिकृत थिए। बेगार काममा लाउनेहरूको जिम्‍मा अदोनीरामको हातमा थियो। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। शेभाचाहिँ सचिव थिए, अनि सादोक र अबियाथार पूजाहारीहरू थिए। याईरी ईराचाहिँ दाऊदका पुरोहित थिए।

शेयर गर्नुहोस्
२ शमूएल 20 पढ्नुहोस्

२ शमूएल 20:1-26 पवित्र बाइबल (NERV)

त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने, “हामीसित दाऊदको भाग छैन। यिशैको छोरामा हाम्रो कुनै अंश छैन। इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।” यसैले सबै इस्राएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे। दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालेहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिन्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्‌न। तिनीहरूले विधवाको जस्तै जीवन बिताए। राजाले आमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिन भित्र मलाई भेट्नु भन्नु। अनि त्यहाँ तिमी पनि हुने छौ।” आमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए। दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई पछ्याऊ। शहरको पर्खालमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्यो भने हामीले त्यसलाई भेट्न सक्दैनौ।” यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेवाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे। जब गिबोनका ठूला चट्टानमा योआब र तिनका सिपाहीहरू आए, अमासा तिनीहरूलाई भेट्न आए। योआबले आफ्नो पोषाक लगाएका थिए। योआबले पेटी कसेका थिए अनि म्यानमा तरवार भिरेका थिए। जस्तो योआब अमासालाई भेट्न गए त्यस्तै योआबको म्यानबाट तरवार खस्यो। योआबले तरवार टिपेर हातमा लिए। योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?” तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे। अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो। तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्। योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई पछ्याऊ।” अमासाको शरीर बाटोको बीचमा रगतमा मुछिएर लडिरहेको थियो। त्यस जवान सिपाहीलाई लाग्यो कि अमासाको लाश हेर्न सबै त्यहाँ रोकिए। यसैले उसले लाशलाई बाटोबाट खेततिर पल्टाइदियो। तब उसले यस लाशलाई लुगाले ढाकि दियो। बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे। बिक्रीको छोरा शेबा सबै इस्राएल कुल समूहबाट हुँदै आबेल-बेत-माका तिर लागे। सबै मानिसहरू जम्मा भए अनि शेबाको अनुशरण गरे। योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालको छेउमा माटो थुपारे, जसद्वारा पर्खाललाई नाग्न सकियोस्। योआबका मानिसहरूले पर्खालका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खाललाई लडाउँन सकियोस्। तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।” त्यस महिलासँग कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?” योआबले जवाफ दिए, “ज्यू, म नै हुँ।” तब त्यस महिलाले भनिन, “मेरो कुरा सुन्नुहोस्।” योआबले भने, “म सुन्दैछु।” तब त्यस महिलाले भनिन्, “पहिले-पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’ म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?” योआबले जवाफ दिए, “होइन, मैले केही नष्ट गर्न चाहिरहेको छैन। मैले तिम्रो शहरलाई पनि नष्ट गर्दिन। तर एप्रैमको एकजना मानिस तिम्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाऊदको विरूद्धमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेऊ, म शहर छोडिहाल्छु।” त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालबाट तपाईंलाई दिइने छ।” तब त्यस महिलाले बुद्धिमानी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालबाट शेबाको टाउको योआबको निम्ति हुत्याइदिए। त्यसपछि योआबले तुरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यरूशलेममा राजाकहाँ गए। योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए। अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाईके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए। शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए। अनि याइरी ईरा चाँहि दाऊदका मुख्य सल्लाहाकार थिए।

शेयर गर्नुहोस्
२ शमूएल 20 पढ्नुहोस्

२ शमूएल 20:1-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

गिलगालमा शेबा नाम गरेको एक जना बेकामको मानिस थियो। त्‍यो बेन्‍यामीन कुलका बिक्रीको छोरो थियो। त्‍यसले तुरही फुकेर जोडले भन्‍यो, “दाऊदले के दिन सक्‍छ र? हामी उनको पछि नलागौं। हे इस्राएलका मानिसहरू हो, हामी आ-आफ्‍ना घर फर्कौं!” यसैले इस्राएलीहरूले दाऊदलाई छोडी शेबाको पछि लागे; तर यहूदाका मानिसहरू दाऊदप्रति वफादार रहे र उनीसित यर्दनदेखि यरूशलेमसम्‍म गए। जब दाऊद यरूशलेममा आफ्‍ना राजमहलमा आइपुगे, तब महलको हेरचाहा गर्न छोडिराखेका दश जना रखौटीहरूलाई उनले निकालेर अलग्‍गै राखे। तिनीहरूमाथि पहरादार राखिदिए। उनले तिनीहरूको खानपान आदि चाहिँदो कुराको प्रबन्‍ध गरिदिए; तर तिनीहरूसित सम्‍भोग गरेनन्। तिनीहरूको बाँकी जीवनमा तिनीहरू नजरबन्‍दी रहे र विधवाहरूझैँ जीवन बिताए। राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई लिएर पर्सिसम्‍ममा यहाँ आइपुग।” अमासा यहूदीहरूलाई बोलाउन गए; तर राजाले भनेका समयमा फर्केर आएनन्। यसकारण राजाले अबीशैलाई भने, “शेबाले हामीलाई अब्‍शालोमले भन्दा ज्‍यादा दु:ख दिनेछ। मेरा मानिसहरू लगेर त्‍यसको पछि लाग नत्र त्‍यसले कुनै पर्खाल हालेको सहर लियो भने त्‍यो हाम्रो हातबाट उम्‍कनेछ।” यसकारण योआबका सैनिकहरू, राजाका अङ्गरक्षक र अरू सिपाहीहरू यरूशलेमबाट शेबालाई खेद्‌न अबीशैसित निस्‍के। गिबोनको ठूलो चट्टाननेर आइपुग्‍दा तिनीहरूलाई अमासाले भेटे। योआबले लडाइँ गर्ने पोशाक लाएका थिए र कम्‍मरमा म्‍यानभित्र एउटा तरवार अनि पटुका कसेका थिए। योआब अघि बढेर आउँदा म्‍यानबाट उनको तरवार झर्‍यो। योआबले अमासालाई भने, “मेरो मित्र! तिम्रो के हाल छ त?” त्‍यसो भनी अमासालाई म्‍वाइँ खान भनी योआबले आफ्‍नो दाहिने हातले उनको दाह्री समाते। अर्को हातमा योआबले आफ्‍नो तरवार समातेका थिए; तर अमासाले त्‍यसको ख्‍यालै गरेनन्। योआबले उनको पेटमा तरवार रोपिदिए र उनको आन्‍द्रा-भुँडी बाहिर निस्‍केर भूइँमा झर्‍यो। अमासा तुरुन्‍तै मरिहाले र योआबले दोस्रोपल्‍ट तरवार चलाउनै परेन। त्‍यसपछि योआब र उनका भाइ अबीशै शेबाको पछि लागे। योआबको एक जना मानिसले अमासाको लाशछेउ उभिएर जोडले भन्‍यो, “जो-जो योआब र दाऊदपट्टि छन्, तिनीहरू योआबको पछि आऊन्!” रगतमा लतपत भएका अमासाको शरीर बाटोका बीचमा लडिरहेको थियो। सबै जना लाशको छेउ अडिँदै थिए र त्‍यस मानिसले लाश बाटोबाट तानेर लगी मैदानमा फालीदियो र त्‍यसलाई एउटा लुगाले छोपिदियो। लाश बाटोबाट हटाएपछि सबै जना शेबालाई खेद्दै योआबको पछि लागे। इस्राएलका सारा कुलहरूका इलाका पार गरी शेबा हाबिल-बेथ-माका भन्‍ने सहरमा आइपुग्‍यो र बिक्रीका गोत्रका सबै मानिसहरू एकसाथ भई त्‍यसको पछि-पछि सहरमा पसे। शेबा त्‍यहाँ छ भनी योआबका मानिसहरूले सुने र तिनीहरू गएर सहरलाई घेरे। तिनीहरूले पर्खालबाहिर माटाका मचान बनाएर घेरे र पर्खाल ढाल्‍न भूइँ खन्‍न थाले। सहरमा एउटी बुद्धिमती स्‍त्री थिइन् र तिनी पर्खालमा उभिएर जोडसित भन्‍न लागिन्, “सुन्‍नुहोस्! सुन्‍नुहोस्! योआबलाई यहाँ अघि आउन भनिदिनुहोस्। म तिनीसित कुरा गर्न चाहन्‍छु।” योआब अघि आए। तिनले सोधिन्, “के तपाईं योआब हुनुहुन्‍छ?” “हो, म योआब हुँ,” उनले जवाफ दिए। “हजुर, मेरो कुरा सुन्‍नुहोस्,” तिनले भनिन्। “मैले सुन्‍दै छु,” उनले उत्तर दिए। त्‍यस स्‍त्रीले भनिन्, “उहिले नै यसरी भन्‍नेगर्थे, ‘हाबिल सहरमा गई जवाफ लिएर आइज’ र सबैले त्‍यसै गर्थे। हाम्रो सहर एउटा मुख्‍य सहर हो। इस्राएल देशमा यो एउटा शान्‍तिप्रिय र राजभक्त सहर हो। किन तपाईं यसलाई ध्‍वंस पार्न चाहनुहुन्‍छ? जुन सहर परमप्रभुको हो, के तपाईं त्‍यसलाई नाश गर्न चाहनुहुन्‍छ?” योआबले जवाफ दिए, “अँहँ, त्‍यसो होइन! म कहिल्‍यै तिम्रो सहर ध्‍वंस वा नष्‍ट गर्नेछैनँ! त्‍यो हाम्रो उद्देश्‍य होइन। शेबा नाम गरेको बिक्रीका छोराले दाऊद राजाको विरुद्धमा विद्रोह सुरु गरेको छ। त्‍यो एफ्राइमको पहाडी देशमा बस्‍ने मानिस हो। त्‍यस मानिसलाई हाम्रा हातमा देऊ र म सहर छोडी जानेछु।” “हामी त्‍यसको टाउको काटी पर्खाल कटाएर तपाईंलाई फ्‍याँकिदिनेछौं,” तिनले भनिन्। त्‍यसपछि तिनी सहरका मानिसहरूका बीचमा गइन् र आफ्‍नो विचार बताइन्। तिनीहरूले शेबाको टाउको ठुन्‍क्याए र पर्खाल माथिबाट योआबलाई फ्‍याँकिदिए। आफ्‍ना मानिसहरूलाई सहर छोड्‍ने सङ्केत दिँदै योआबले तुरही फुके। तिनीहरू सबै घर फर्के। योआब यरूशलेममा राजाकहाँ फर्किगए। योआब इस्राएली सेनाका सेनापति थिए। दाऊदका अङ्गरक्षकहरूका सेनापति यहोयादाका छोरा बनायाह थिए। बलपूर्वक ज्‍यालामा काम लाइएका मानिसहरूको जिम्‍मा अदोनीरामका हातमा दिइएको थियो। कागजपत्रका निम्‍ति अहीलूदका छोरा यहोशापात जिम्‍मेवार थिए। शेभा महलका सचिव थिए। सादोक र अबियाथार पूजाहारीहरू थिए। याईर सहरबाट आएका ईरा दाऊदका पूजाहारी थिए।

शेयर गर्नुहोस्
२ शमूएल 20 पढ्नुहोस्