YouVersion लोगो
खोज आइकन

२ शमूएल 15:1-37

२ शमूएल 15:1-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि अब्‍शालोमले आफ्‍नो निम्‍ति एउटा रथ, घोड़ाहरू र आफ्‍नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए। तिनी बिहान सबेरै उठेर सहरको मूल ढोकातिर जाने बाटोनेर उभिने गर्थे। अनि कुनै मानिस राजाकहाँ इन्‍साफ माग्‍न आउँदा अब्‍शालोमले त्‍यस मानिसलाई बोलाएर कुन सहरबाट आएको हो भनी सोध्‍थे। “हजूर, म इस्राएलको फलानो कुलको हुँ,” भनी जब तिनले जवाफ पाउँथे, तब अब्‍शालोमले त्‍यसलाई भन्‍थे, “तिम्रो मुद्दा त ठीकै रहेछ, तर तिम्रो मुद्दा सुन्‍ने राजाको कुनै प्रतिनिधि नै छैन।” अनि अब्‍शालोमले अझै यसो पनि भन्‍थे, “यदि म यस देशमा न्‍यायाधीश नियुक्त भएको भए यस्‍तो मुद्दा ल्‍याउने हरेक मानिसको ठीक इन्‍साफ गरिदिने मेरो कर्तव्‍य हुनेथियो।” जब कुनै मानिस तिनलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गर्नलाई आउँथ्‍यो, तब अब्‍शालोमले आफ्‍नो हात पसारेर त्‍यसलाई समाती अँगालो हालेर म्‍वाइँ खान्थे। राजाकहाँ इन्‍साफ माग्‍ने हरेकसँग यस्‍तै व्‍यवहार गरेर अब्‍शालोमले इस्राएलीहरूको प्‍यार आफूतिर खिँचे। चार वर्षपछि अब्‍शालोमले राजालाई भने, “परमप्रभुको निम्‍ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्‍छु। किनभने म अरामको गशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ: ‘यदि परमप्रभुले मलाई यरूशलेममा ल्‍याउनुभयो भने म हेब्रोनमा परमप्रभुको आराधना गर्नेछु’।” राजाले जवाफ दिए, “शान्‍तिसित जाऊ।” तब तिनी हेब्रोनमा गए। तब अब्‍शालोमले इस्राएलका सबै कुलहरूमा यसो भनेर गुप्‍त समाचारवाहकहरूलाई पठाए, “तुरहीको सोर सुन्‍ने बित्तिकै तिमीहरूले भन, ‘अब्‍शालोम हेब्रोनमा राजा हुनुभयो’!” दुई सय जना मानिसहरू यरूशलेमबाट अब्‍शालोमका साथ गएका थिए। तिनीहरूले निम्‍तो पाएका थिए, र यस कुराको केही थाहै नपाई तिनीहरू अजानमा गए। अब्‍शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्‌यन्‍त्र खूब प्रबल हुँदैगयो, र अब्‍शालोमतर्फ लागेका मानिसहरूको संख्‍या पनि बढ्‌दैगयो। एक जना सन्‍देशवाहक आएर दाऊदलाई भन्‍यो, “इस्राएलका मानिसहरूको मन त अब्‍शालोमतिर छ।” तब दाऊदले आफूसित यरूशलेममा भएका अधिकारीहरूलाई भने, “हामी झट्टै भाग्‍नुपर्छ, नत्रता हामी कोही पनि अब्‍शालोमको हातबाट उम्‍कन पाउनेछैनौं। हामी तुरुन्‍तै भाग्‍नुपर्छ, नत्रता त्‍यो हामीमाथि आइलाग्‍नेछ, र सहरमा भएको कसैलाई पनि दया नदेखाएर त्‍यसले हामीमाथि विपत्ति ल्‍याउनेछ।” राजाका अधिकारीहरूले भने, “हजूरले जसो उचित सम्‍झनुहुन्‍छ त्‍यसो गर्नलाई हामी तयार छौं।” तब राजा निस्‍केर गए, र महलको हेरचाह गर्ने दश जना उपपत्‍नीहरूबाहेक तिनको घरानाका सबै मानिसहरू पनि तिनकै पछिपछि लागे। तिनीहरू केही टाढ़ासम्‍म गएर अड़िए। गातबाट राजाका साथ आएका छ सय गित्ती, अनि सबै करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्‍ने हिँड़ेर गए। तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँदैछौ? फर्किगएर राजा अब्‍शालोमसँग बस, किनभने तिमी एक विदेशी हौ, र तिमी आफ्‍नो देशबाट निकालिएका पनि हौ। तिमी त हिजोअस्‍ति मात्र आएका हौ, अनि आज मेरो भ्रमणमा मसित तिमीलाई सहभागी हुन मैले कसरी कर लगाउनू? म कहाँ जानेछु म आफै जान्‍दिनँ। घर जाऊ, र तिम्रा निज देशवासीहरूलाई पनि साथै लैजाऊ। कृपा र विश्‍वास तिमीसित रहून्‌।” तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, “जीवित परमप्रभुको नाउँमा र मेरा राजाको नाउँमा शपथ खाएर म भन्‍दछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्‍छ, त्‍यहीँ यो तपाईंको दास पनि हुनेछ— म बाँचू वा मरूँ।” दाऊदले इत्तैलाई भने, “हुन्‍छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्‍नो जम्‍मै दल र तिनीसँग भएका सबै लावालश्‍करसाथ हिँड़े। यसरी तिनीहरू सबै जना निस्‍केर जाँदा सारा देशका मानिसहरू धूमधाम रुन लागे। राजा किद्रोन खोल्‍सा पार गर्न लागे, र सबै मानिसहरू मरुभूमितिर बढ्‌न लागे। सादोक पनि सबै लेवीहरूका साथमा त्‍यहाँ थिए। तिनीहरूले परमेश्‍वरका करारको सन्‍दूक बोकेर लगिरहेका थिए। त्‍योचाहिँ तिनीहरूले अड़ाएर राखे र सबै मानिसहरू सहरबाट निस्‍केर नजाउञ्‍जेल अबियाथारले बलिदानहरू चढ़ाउन लागे। तब राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्‍दूक सहरमा फर्काएर लैजाऊ। यदि परमप्रभुको निगाह ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्‍याउनुहुनेछ, र म सन्‍दूकलाई र उहाँको वासस्‍थानलाई फेरि देख्‍न पाउनेछु। यदि उहाँले मसँग प्रसन्‍न हुनुहुन्‍न भनी भन्‍नुभयो भने म यहीँ छु। उहाँले मलाई जे गर्न चाहनुहुन्‍छ सो मसँग गरून्‌।” राजाले सादोक पूजाहारीलाई यसो पनि भने, “के तिमी भविष्‍य देख्‍न सक्‍छौ, होइन र? तिमी र अबियाथार, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथनलाई साथमा लिएर शान्‍तिसँग सहरमा फर्केर जाओ। म मरुभूमिका जँघारहरूमा तिमीहरूबाट खबर नआउञ्‍जेल पर्खिबस्‍नेछु।” तब सादोक र अबियाथारले परमेश्‍वरको सन्‍दूक यरूशलेममा फर्काइलगे, र तिनीहरू त्‍यहीँ नै बसे। जैतून डाँड़ाको उकालोमा जाँदा दाऊद रोए। तिनले शिर ढाकेका थिए, र नाङ्गो खुट्टाले हिँड़ेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँड़े। षड्‌यन्‍त्रकारीहरूमध्‍ये अहीतोपेल अब्‍शालोमसँग छन्‌ भनी दाऊदलाई सुनाइयो। तब दाऊदले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, अहीतोपेलको सल्‍लाहलाई व्‍यर्थ तुल्‍याइदिनुहोस्‌।” जब दाऊद डाँड़ाको टाकुरामा आइपुगे, जहाँ परमेश्‍वरलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गरिन्‍थ्‍यो, तब अरकी हूशै आफ्‍ना लुगा च्‍यातीकन आफ्‍नो शिरमा धूलो हालेर दाऊदलाई भेट गर्न आएका थिए। दाऊदले तिनलाई भने, “तिमी मसँग आयौ भने मलाई भार मात्र हुनेछ, तर यदि तिमी सहरमा फर्किगएर अब्‍शालोमलाई ‘म हजूरको दास हुनेछु, अहिलेसम्‍म त म हजूरका पिताको दास थिएँ, तर अब म हजूरको दास हुनेछु’ भनी भन्‍यौ भने, अहीतोपेलको सल्‍लाह खतम गर्नमा तिमीले मलाई सहायता गर्न सक्‍नेछौ। तिमीलाई थाहै छ कि सादोक र अबियाथार पूजाहारीहरू तिमीसँग हुनेछन्‌। राजाको महलमा जे-जे कुरा तिमी सुन्‍नेछौ ती सबै तिनीहरूलाई भनिदेऊ। तिनीहरूसँग सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्‌। तिमी जे सुन्‍छौ तिनीहरूद्वारा मलाई बताइपठाउने गर।” यसैले अब्‍शालोम यरूशलेममा पस्‍दापस्‍दै दाऊदका मित्र हूशै सहरमा आए।

शेयर गर्नुहोस्
२ शमूएल 15 पढ्नुहोस्

२ शमूएल 15:1-37 पवित्र बाइबल (NERV)

त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अघि हिंडाउँथे। बिहानै उठेर अब्शालोम फाटकमा उभिन्थे। अब्शालोमले राजाकहाँ न्यायको निम्ति समस्या लिएर जाने कोही मानिसको निधो लिन्थे। तब अब्शालोमले उक्त व्यक्तिलाई सोध्थे, “कुन शहरको वासिन्दा हुनुहुन्छ तपाईं?” त्यस व्यक्तिले जवाफ दिन्थे, “म फलना-फलना इस्राएलको परिवार समूहबाट आएको हुँ।” तब अब्शालोमले भन्ने, “गर्थे तपाईं आफ्नो मामला जित्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।” अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएको भए म प्रत्येकलाई साँचो न्याय दिनसक्थें।” अनि यदि कोही पनि एकजना मानिस अब्शालोमको अघि आएर झुकेर अभिवादन गरे भने, अब्शालोमले अघि बढेर साथी जस्तो व्यवहार गरेर हात मिलाउने गर्थे। अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाईं खान्थे जो राजा कहाँ न्यायको निम्ति आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुर्ख बनाए। चार बर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्। मैले त्यो प्रतिज्ञा म गेशूरणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यरूशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।’” राजा दाऊदले भने, “शान्तिसित जाऊ।” अब्शालोम हेब्रोन गए तर अब्शोलोमले इस्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।’” अब्शालोमले 200 मानिसहरूलाई तिनको साथ लानलाई आमन्त्रित गरे। ती मानिसहरूले यरूशलेम छोडे अनि तिनीसितै हेब्रोन गए। तर तिनको योजना बारे उनीहरू अनभिज्ञ थिए। अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले। दाऊदलाई खबर दिन भनेर एकजना मानिस दाऊदकहाँ आए। ती मानिसहले भने, “इस्राएलका मानिसहरूले अब्शालोमको नेतृत्वलाई पछ्याउन थालेका छन्।” तब दाऊदले आफूसँग यरूशलेममा छाडीएका अधिकारीहरूलाई भने, “हामी चाँडै जाऊँ। यदि भागेनौं भने अब्शालोमले हामीलाई छोड्ने छैन। छिटो गरी यहाँबाट भागौं होइन भने अब्शालोम आइपुग्छ। हामीलाई खत्तम गर्नेछ। अनि त्यसले यरूशलेमका सबै मानिसहरूलाई मार्नेछ।” राजाका अधिकारीहरूले भने, “तपाईंले जे भन्नुहुन्छ हामी त्यसै गर्नेछौं।” राजा दाऊद उसको महलमा बस्ने जति सबैलाई लिएर महलबाट निक्लन्छन्। तर राजाले उसका दश जना उप-पत्नीहरूलाई महलका हेरचाह गर्न राखे राजा आफ्ना मानिसहरूका साथमा हिंडे। अन्तिम महलमा पुगेर तिनी रोकिए। त्यहाँ देखि सबै अधिकारीहरू राजाको अघि लागे। (अघाडी 600 गित्तीहरू राजासित आए।) गातमा उनी बसेको समय देखि त्यहाँ तिनीहरू उनिसँग थिए अनि करेतीहरू र पलेतीहरू राजाको अघाडी गए। राजाले गित्तीबाट आएका इत्तैलाई भने, “तिमीहरू किन हामीसँग हिंडदैछौ? फर्केर नयाँ राजा (अब्शालोम) सँग बस। तिमीहरू विदेशी हौ। यो तिमीहरूको मातृभूमि होइन। क्षणिक समय अघि तिमीहरू म सँग सामेल हुन आएका हौ। अब तिमीहरू मसँग एक ठाउँदेखि अर्को ठाउँ गर्दै घुमिरहनु पर्छ। आफ्ना दाज्यू-भाइहरू लिएर फर्क। दया र विश्वास तिमीहरूलाई देखाउन्।” तर इत्तैले राजालाई भने, “जबसम्म तपाईं परमप्रभु बाच्नुहुन्छ म तपाईंकै साथमा रहने छु। यदि म मर्नु परेता पनि तपाईंसितै मर्नेछु।” दाऊदले इत्तैलाई भने, “आऊ, हामी किद्रोन बेंसी तरौं।” त्यसकारण सबै इत्तै र तिनका मानिसहरू अनि तिनीहरूका परिवारहरूले किद्रोन बेंसी तरे। सबै मानिसहरू चिच्चाई रहेका थिए। राजा दाऊद र तिनका मानिसहरू मरुभूमि अघि बढदै जब किद्रोन बेंसी तरे तिनीहरू रोए। सादोक र तिनीसँग भएका लेवीहरूले परमेश्वरको करारको सन्दूक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दूकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यरूशलेम नछाडुन्जेलसम्म प्रार्थना गरे। राजा दाऊदले सादोकलाई भने, “परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेममा नै छोड। यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने मलाई यरूशलेम र उहाँको मन्दिरलाई हेर्ने मौका दिनुहुन्छ। तर यदि परमप्रभु मसित खुशी हुनुहुन्न् भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।” राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना द्रष्टा (अगमवक्ताको अर्को नाम) पनि हौ। शान्तसित शहर फर्क। साथमा तिम्रो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ। तिमीबाट सुन्नलाई म त्यहाँ पर्खिरहनेछु जहाँ मरुभूमि पारि मानिसहरू नदी तर्छन्।” यसैले सादोक र एब्यातारले पवित्र सन्दूकलाई यरूशलेममा फिर्ता लगे र त्यहीं बसे। दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए। एकजना मानिसले दाऊदलाई भने, “अहीतोपेल त्यो एउटा व्यक्ति हो जसले अब्शालोमसँग षडयन्त्रमा भाग लियो।” तब दाऊदले प्रार्थनामा भने, “परमप्रभु, म भन्दैछु अहीतोपेलको सल्लाह अनुरूपको कार्य विफल होस्।” दाऊद पहाडको चुचुरोमा उक्ले। जहाँ दाऊदले कहिलेकाहीं परमेश्वरलाई आराधना गर्थे। त्यही समय एरेकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अघि आए। दाऊदले हूशैलाई भने, “यदि तिमी मसित गयौ भने अर्को हेरचाह गर्ने व्यक्ति हुनेछौ। तर यदि तिमी यरूशलेम फर्कियौ भने तिमीले अहीतोपेलको सल्लाहलाई विफल पार्न सक्छौ। अब्शालोमलाई भन्नु, ‘राजा म तपाईंको सेवक हुँ। मैले तपाईंको पितालाई सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु।’ पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिनीहरूलाई बताउने छौ। सादोकका छोरा अहीमास र एबीयातारका छोरा जोनाथन तिनीहरू सितै हुनेछन्। तिमी जे-जे सुन्छौ तिनीहरूद्वारा तिमीले मलाई बुझ्नदेऊ।” तब दाऊदका साथी हूशै शहर गए। अनि अब्शालोम यरूशलेम पुगे।

शेयर गर्नुहोस्
२ शमूएल 15 पढ्नुहोस्

२ शमूएल 15:1-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि अब्‍शालोमले आफ्‍नो निम्‍ति एउटा रथ, घोडाहरू र पचास जना मानिसहरूको रक्षा-दल बनाए। तिनी आफैं चाँडै उठ्थे र सहरका ढोकामा गई उभिन्‍थे। कुनै मानिस आफ्‍नो मुद्दा लिएर न्‍याय खोज्‍न राजाकहाँ जाँदैगरेको भेटे अब्‍शालोमले त्‍यसलाई बोलाएर कहाँबाट आएको भनी सोध्‍थे। म फलानो कुलको हुँ भनी त्‍यस मानिसले बताएपछि अब्‍शालोमले यसो भन्‍थे, “हेर, तिमीले न्‍याय पाउनुपर्छ; तर तिम्रो मुद्दा सुन्‍ने राजाको कोही मानिस छैन।” तिनी अझ भन्‍थे, “म न्‍यायकर्ता हुन पाए हुन्‍थ्‍यो। तब आफ्‍नो मुद्दा वा दाबी हुने मानिस मकहाँ आउन सक्‍थ्‍यो र म न्‍याय गरिदिन्‍थें!” त्‍यो मानिस दण्‍डवत् गर्न अघि सर्दा अब्‍शालोमले हात बढाएर त्‍यसलाई अँगालो हाल्‍थे र म्‍वाइँ खान्‍थे। न्‍याय खोज्‍दै राजाकहाँ आउने प्रत्‍येक इस्राएलीसित अब्‍शालोमले त्‍यसो गर्थे र त्‍यसरी तिनीहरूका विश्‍वास पात्र बन्‍थे र भक्ति प्राप्‍त गर्थे। चार वर्षपछि अब्‍शालोमले दाऊद राजालाई भने, “हजुर, मलाई हेब्रोनमा गई परमप्रभुसित गरेको आफ्‍नो भाकल पूरा गर्ने अनुमति दिनुहोस्। अराम देशका गशूरमा छँदा मैले परमेश्‍वरसित भाकल गरेको थिएँ कि मलाई यरूशलेममा फर्काइलैजानुभयो भने म हेब्रोनमा आई तपाईंको आराधना गर्नेछु।” “शान्‍तिसित जा,” राजाले भने। यसरी अब्‍शालोम हेब्रोनमा गए। तर तिनले यस्‍तो खबर लिएर सारा इस्राएली कुलहरूमा आफ्‍ना दूतहरू पठाए, “जब तिमीहरू तुरही फुकेको आवाज सुन्‍छौ, तब उच्‍च स्‍वरले भन्‍नू ‘अब्‍शालोम हेब्रोनका राजा भए!” अब्‍शालोमका कुरामा लागेर दुई सय मानिसहरू यरूशलेमबाट तिनका साथमा गएका थिए, तिनीहरूलाई यो षडयन्‍त्रबारे केही ज्ञान थिएन र अन्जानमा तिनका साथ लागेका थिए। आफूले बलि चढाएको बेला अब्‍शालोमले गीलोहबाट अहीतोपेललाई बोलाउन पठाए। अहीतोपेल दाऊद राजाका सल्‍लाहकारमध्‍ये एक जना थिए। राजाको विरुद्धमा षडयन्‍त्र बलियो हुँदै गयो र अब्‍शालोमपट्टि लाग्‍नेहरूको सङ्‍ख्‍या बढ्दै गयो। एउटा दूतले राजालाई खबर दियो, “इस्राएलीहरूले आफ्‍नो राजभक्ति अब्‍शालोमलाई दिन लागेका छन्।” आफूसित यरूशलेममा रहेका भारदारहरूलाई दाऊदले भने, “हामी अब्‍शालोमदेखि भाग्‍नुपर्ने हो भने अब झट्टै हिँडिहाल्‍नुपर्नेछ र चाँडो गर! नत्र त्‍यो चाँडै यहाँ आइपुग्‍नेछ र सहरका कोही पनि बाँच्‍नेछैनन्!” “हो, राजन्!” तिनीहरूले उत्तर दिए, “हामी तपाईंको आज्ञापालन गर्न तयार छौं।” राजा त्‍यहाँबाट हिँडे। राजमहलको रेख-देखको लागि दश जना रखौटीहरूलाई छोडी उनका परिवारका सबै र भारदारहरू पनि उनका पछि लागे। राजा र उनका मानिसहरू सहर छोडी निस्‍केर जाँदा अन्‍तिम घरमा रोकिए। गातबाट राजाका साथ आएका छ सय गित्ती, करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्‍ने हिँडेर गए। अनि तिनीहरूका अगुवा इत्तैलाई राजाले भने, “तिमी किन हाम्रो पछि लाग्‍दै छौ? फर्किजाऊ र नयाँ राजासित बस। तिमी विदेशी र आफ्‍नो देशबाट निस्‍किआएका व्‍यक्ति हौ। यहाँ तिमी थोरै दिनदेखि मात्र छौ, मैले किन तिमीलाई मसित डुलाउन लैजानु? म कहाँ जाँदै छु, त्‍यो पनि मलाई थाहा छैन। आफ्‍ना देशवासीहरूलाई सँगै लिएर फर्किजाऊ। परमप्रभु तिमीहरूप्रति दयालु र विश्‍वासयोग्‍य रहून्।” तर इत्तैले राजालाई भने, “जीवित परमप्रभुलाई र तपाईं मेरा प्रभु र राजाको जीवनलाई समेत साक्षी राखी म वचन दिंदछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्‍छ, त्‍यहीँ यो तपाईंको दास पनि हुनेछ, चाहे म बाँचूँ वा मरूँ।” “ठीक छ!” दाऊदले उत्तर दिए, “हिंड्!” इत्तै आफ्‍ना सबै मानिस र उनको रेखदेखमा रहेकाहरूलाई सँगै लिई हिँडे। दाऊदका साथ लागेका मानिसहरू बिदा हुँदा सबै मानिसहरू जोडले चिच्‍च्‍याए। राजाले किद्रोन खोला पार गरे, उनका मानिसहरू पछि-पछि थिए र तिनीहरू मरु-स्‍थलतिर लागे। पूजाहारी सादोक त्‍यहाँ थिए। उनको साथमा लेवीहरू थिए। तिनीहरूले पवित्र करारको सन्‍दुक बोकेका थिए। तिनीहरूले सन्‍दुक भूइँमा राखे र सबै मानिसहरू सहरबाट निस्‍केर नगएसम्‍म सन्‍दुक फेरि उठाएनन्। पूजाहारी अबियाथार पनि त्‍यहाँ थिए। तब राजाले सादोकलाई भने, “करारको सन्‍दुक सहरमा फर्काई लैजाऊ। परमप्रभु मसित प्रसन्‍न हुनुहुन्‍छ भने कुनै दिन त्‍यो सन्‍दुक र त्‍यसलाई राखेका ठाउँको दर्शन गर्न उहाँले मलाई यहाँ फर्किआउन दिनुहुनेछ। तर उहाँ मसित प्रसन्‍न हुनुहुन्‍न भने उहाँले आफ्नो इच्‍छाअनुसार मसँग गरून्।” उनले सादोकलाई यसो पनि भने, “हेर, आफ्‍नो छोरो अहीमास र अबियाथारको छोरो जोनाथनलाई साथमा लिई शान्‍तिसित सहरमा फर्किजाऊ। मचाहिँ उजाड-भूमिको नदीबाट घाटनिर तिम्रो खबर नपाएसम्‍म पर्खनेछु।” यसरी सादोक र अबियाथारले करारको सन्‍दुक यरूशलेममा फर्काइलगे र त्‍यहीँ बास बसे। दाऊद रुँदै जैतुन डाँडामा गए। उनी खाली खुट्टा शिर ढाकेर आफ्‍नो दु:ख प्रकट गर्दै हिंडेर गए। उनको साथमा भएका मानिसहरू पनि शिर ढाकेर रुँदै हिंडेका थिए। अहीतोपेल पनि यस षडयन्‍त्रमा अब्‍शालोमपट्टि लागेका छन् भनी सुनेर दाऊदले यस्‍तो प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी अहीतोपेलको सल्‍लाह व्‍यर्थ तुल्‍याइदिनुहोस्!” दाऊद डाँडाको टुप्‍पोमा पुगे। त्‍यहाँ एउटा आराधना-स्‍थल थियो। त्‍यहाँ उनको विश्‍वासी मित्र अरकी हूशै च्‍यातिएको वस्‍त्र र शिरमा माटो लाएर उनलाई भेट्‍न आए। दाऊदले उनलाई भने, “तिमी मसित आयौ भने मलाई केही मद्दत हुनेछैन। मलाई मद्दत गर्छौ नै भने तिमी सहरमा फर्केर गई अब्‍शालोमलाई भेट। तिम्रा बुबालाई झैँ तिमीलाई पनि विश्‍वाससित सेवा गर्नेछु भनी अब्‍शालोमलाई भन्‍न सक्‍छौ र हरेक प्रकारले अहीतोपेलले दिएका सल्‍लाहको विरोध गर्ने गर। पूजाहारी सादोक र अबियाथार पनि त्‍यहाँ हुनेछन्। राजाको महलमा भएका सबै कुरा ती दुईलाई सुनाइदिनू। तिनीहरूका छोराहरू अहीमास र जोनाथन पनि तिनीहरूसँगै छन्। आफूले सुनेका हरेक कुराको खबर दिएर तिनीहरूलाई तिमीले म भएको ठाउँमा पठाउन सक्‍छौ।” यसरी दाऊदका मित्र हूशै सहरमा फर्किगए। त्‍यही बेला अब्‍शालोम सहरमा आइपुग्‍न लागेका थिए।

शेयर गर्नुहोस्
२ शमूएल 15 पढ्नुहोस्