YouVersion लोगो
खोज आइकन

२ शमूएल 11:1-27

२ शमूएल 11:1-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बसन्‍त ऋतुमा जब राजाहरू लड़ाइँ गर्नलाई निस्‍कन्‍छन्, दाऊदले योआब र आफ्‍ना अरू अधिकृतहरू र सबै इस्राएलका फौजलाई पठाए, र तिनीहरूले अम्‍मोनीहरूलाई ध्‍वंस पारे, र रब्‍बालाई घेरे। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्‍दरी थिइन्‌। तिनी को हुन्‌ भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्‍तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्‍नी बतशेबा होइनन्‌ र?” दाऊदले तिनलाई ल्‍याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्‍नो रजस्‍वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्‌।) त्‍यसपछि तिनी आफ्‍नो घरमा गइन्‌। तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्‌। दाऊदले “हित्ती उरियाहलाई मकहाँ पठाइदिनू” भनेर योआबलाई हुकुम गरे। तब योआबले त्‍यसलाई दाऊदकहाँ पठाइदिए। अनि जब उरियाह आइपुग्‍यो तब दाऊदले योआब र फौजको समाचार र लड़ाइँ कस्‍तो चलिरहेको छ भनी सोधे। त्‍यसपछि दाऊदले उरियाहलाई भने, “तिम्रो घर गएर आफ्‍ना खुट्टा धोऊ।” त्‍यो महलबाट निस्‍केपछि राजाले त्‍यसको पछिपछि उपहार पठाइदिए। तर उरियाह आफ्‍नो घरमा गएन, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्‍यो। “उरियाह त आफ्‍नो घरमा गएको छैन” भनी दाऊदले सुनेपछि त्‍यसलाई भने, “तिमी त लामो यात्राबाट आएका होइनौ र? तिमी किन आफ्‍नो घरमा गएनौ?” उरियाहले उत्तर दियो, “इस्राएल र यहूदा र सन्‍दूक पनि पालमा छन्, अनि मेरा स्‍वामी योआब र हजूरका अधिकृतहरू खुला मैदानमा पालमा छन्‌। म त कसरी खान र पिउन र मेरी पत्‍नीसित सुत्‍नलाई घरमा जाऊँ? हजूरको जीवनको शपथ खाएर भन्‍दछु, कि म त्‍यसो गर्न सक्‍दिनँ।” तब दाऊदले उरियाहलाई भने, “त्‍यसो भए अरू एक दिन यहीँ बस र भोलि म तिमीलाई जान दिनेछु।” यसैले उरियाह त्‍यस दिन र भोलिपल्‍ट यरूशलेममा नै बस्‍यो। दाऊदले त्‍यसलाई खानपान गर्नलाई निम्‍तो दिए, र त्‍यसलाई मत्त्याए। तर बेलुकी त्‍यो बाहिर गयो र राजाका दासहरूसितै आफ्‍नो ओछ्यानमा त्‍यसले रात बितायो, र घरमा गएन। भोलिपल्‍ट बिहान दाऊदले योआबलाई एउटा चिट्ठी लेखेर उरियाहको हातमा पठाए। तिनले चिट्ठीमा लेखे, “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्‍चिएको छ, त्‍यहाँ उरियाहलाई पठाएर तिमीहरूचाहिँ पछि हट, र त्‍यो मरोस्‌।” यसैकारण जब योआबले सहरलाई घेरा हालेका थिए, तब तिनले उरियाहलाई यस्‍तो ठाउँमा खटाइदिए, जुन ठाउँमा कड़ा मुकाबिला हुनेछ भनी तिनलाई थाहा थियो। सहरका मानिसहरूले एक्‍कासि निस्‍केर योआबसँग लड़ाइँ गर्न लागे, र दाऊदका केही सिपाहीहरू मारिए। हित्ती उरियाह पनि मारियो। तब योआबले दाऊदकहाँ लड़ाइँका सबै समाचारसाथ एक जना मानिसलाई पठाए। त्‍यो समाचार लाने मानिसलाई योआबले यस्‍तो आदेश दिए, “तैंले लड़ाइँको सबै हाल राजालाई बताइसकेपछि, राजाले रिसाएर यसो भन्‍नुभयो भने, ‘लड़ाइँ गर्दा तिमीहरू सहरको त्‍यति नजिक किन गयौ त? पर्खालबाट काँड़ हान्‍नेछ भनेर तिमीहरूले जान्‍नुपर्नेथियो। यरूबबेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? तिनलाई एउटी स्‍त्रीले जाँतोको पाटा पर्खालबाट खसाइदिएर मारेकी थिइन्‌ र? अनि तिनी तेबेसमा मरे, होइन र? तिमीहरू पर्खालको त्‍यति नजिक किन गयौ?’— उहाँले यसरी सोध्‍नुभयो भने उहाँलाई यसो भन्‍नू, ‘हजूरको दास हित्ती उरियाह पनि मर्‍यो’।” त्‍यो समाचार लाने मानिस हिड़्यो, र दाऊदकहाँ आयो, र योआबको आज्ञाअनुसार सबै समाचार दियो। त्‍यसले दाऊदलाई भन्‍यो, “शत्रुहरू हाम्रा विरुद्धमा खुला फाँटमा जम्‍मा भए, र हामीलाई मिच्‍न लागे। तर हामीले उनीहरूलाई सहरको मूल ढोकासम्‍मै ठेल्‍दै लग्‍यौं? त्‍यहाँ काँड़ चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड़ चलाए, र राजाका कति मानिसहरू मरे। साथै हजूरको दास हित्ती उरियाह पनि मारियो।” दाऊदले त्‍यस मानिसलाई भने, “योआबलाई यो समाचार लैजा, ‘तिमी नघबराऊ, तरवारले जसरी एक जनालाई मार्छ, अर्कालाई पनि मार्छ। सहरलाई आक्रमण जारी राख, र त्‍यस सहरलाई ध्‍वंस-विध्‍वंस गरिदेऊ’। योआबलाई साहस होस्‌ भनी यो कुरा भन्‌।” जब उरियाहकी पत्‍नीले आफ्‍ना पति मरेको समाचार सुनिन्, तब त्‍यसको निम्‍ति तिनले शोक गरिन्‌। अनि जब शोकको समय पूरा भयो तब दाऊदले मानिसहरू पठाएर तिनलाई आफ्‍नो घरमा ल्‍याए। तिनी दाऊदकी पत्‍नी भइन्, र एक जना छोरो जन्‍माइन्‌। तर जे दाऊदले गरेका थिए त्‍यसमा परमप्रभु अप्रसन्‍न हुनुहुन्‍थ्‍यो।

शेयर गर्नुहोस्
२ शमूएल 11 पढ्नुहोस्

२ शमूएल 11:1-27 पवित्र बाइबल (NERV)

बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे। तर दाऊद यरूशलेममा नै बसे। साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्। त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हित्तीका उरियाहकी पत्नी बेतशेबा हुन्।” दाऊदले उसका दूतहरूलाई त्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दाऊदले तिनीसँग सहवास गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालीन्। र बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ” भनेर खबर पठाइन्। दाऊदले योआबकहाँ खबर पठाए, “हित्तीका उरिहालाई मकहाँ पठाउँनु।” यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए। उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे। तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।” उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए। तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर दैलोमा सुते। राजाका अन्य नोकर चाकर झैं तिनी सुते। नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।” त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?” उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्बूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाई पिई पत्नीसँग सुत्नु ठीक हैन।” दाऊदले उरियाहलाई भने, “आज यहीं बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।” उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे। त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तरै पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू झैं राजमहलको प्रवेशद्वार बाहिर सुते। अर्को बिहान दाऊदले योआबलाई पत्र लेखे। दाऊदले उरियाहलाई नै पत्र थमाए। पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।” जब योआबले शहरलाई कब्जा गरे, उसले जहाँ साहसी अम्मोनीहरू थिए ती भेट्टाए। उनले उरियाहलाई त्यही ठाउँमा जान छाने। रब्बाका मानिसहरू योआबको विरूद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए। तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए। योआबले दूतलाई युद्धमा के भएको थियो भन्नु भनेर पठाए। योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्। के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।’” दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए। दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्‌दै भगायौं। तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरियाह पनि यसरी मरे।” दाऊदले दूतहरूलाई योआब कहाँ खबर पठाएः “दुःख मान्ने केही कारण छैन। तरवारले एकजना मानिस पनि मार्न सक्छ अर्को पनि। रब्बाको बिरूद्धमा शक्तिशाली आक्रमण चलाएर विजय प्राप्त गर। यी शब्दहरूले योआबलाई उत्साह प्रदान गर।” बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोग्नेको निम्त रोइकराई गर्छिन्। तिनले शोकाकुल अवस्था पार गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बन्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कु-कर्म ठीक लागेको थिएन।

शेयर गर्नुहोस्
२ शमूएल 11 पढ्नुहोस्

२ शमूएल 11:1-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसको पछि बसन्‍त ऋतुमा जब राजाहरू लडाइँ गर्नलाई जान्‍थे, दाऊदले योआबलाई आफ्‍नो अधिकृत र इस्राएली सेनाका साथ लडाइँ गर्न पठाए। योआब गई अम्‍मोनीहरूलाई जिते र रब्‍बा सहरलाई घेरा हाले। तर दाऊद आफैंचाहिँ यरूशलेममा नै बसे। एक दिन बेलुकीपख दाऊद सुतेर उठे र महलको कौसीमा गए। त्‍यहाँ डुल्‍दैगर्दा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे। तिनी अति सुन्‍दरी थिइन्। तिनी को हुन् भनी बुझ्‍न दाऊद राजाले एउटा मानिस पठाए र तिनी एलीआमकी छोरी र हित्ती उरियाहकी स्‍वास्‍नी बतशेबा हुन् भनी पत्ता लाए। दाऊदले बतशेबालाई ल्‍याउन मानिसहरू पठाए र तिनीहरूले तिनलाई महलमा ल्‍याए र राजा तिनीसित सुते। (भर्खरै मात्र तिनको महिनावारीको शुद्धि भएको थियो।) त्‍यसपछि तिनी घर गइन्। पछिबाट तिनले आफू गर्भवती भएकी थाहा पाइन् र त्यो खबर दाऊदकहाँ पठाइन्। तब दाऊदले योआबलाई यस्‍तो खबर पठाए, “हित्ती उरियाहलाई यहाँ पठाऊ।” तब योआबले उरियाहलाई दाऊदकहाँ पठाइदिए। जब उरियाह आइपुगे, तब दाऊदले योआब र फौजको हालखबर र लडाइँ कसरी चलिरहेको छ भनी सोधपुछ गरे। तब तिनले उरियाहलाई भने, “घर जाऊ र केही समय विश्राम गर।” उरियाह बिदा भए र दाऊदले उसको घरमा एउटा कोसेली पठाइदिए। तर उरियाह घर गएनन्, त्‍यसको सट्टा राजमहलको मूल-ढोकामा राजाका पालेहरूसित सुते। उरियाह आफ्‍नो घर नगएको सुनेपछि दाऊदले तिनलाई सोधे, “तिमी धेरै दिनपछि फर्किआएका छौ, किन घर गएनौ?” उरियाहले जवाफ दिए, “इस्राएल र यहूदाका मानिसहरू लडाइँमा छन्। करारको सन्‍दुक तिनीहरूसित पालमा छ। मेरा सेनापति योआब र हजुरका अधिकृतहरू खुला मैदानमा छन्। म कसरी घर गएर खानपान गर्नु र स्‍वास्‍नीसित सुत्‍नु? पवित्र परमेश्‍वरको नाउँमा म भन्‍दछु, म कहिल्यै पनि त्‍यस्तो गर्न सक्‍दिनँ!” यसकारण दाऊदले भने, “त्‍यसो भए आज पनि यतै विश्राम गर, भोलि म तिमीलाई फर्कन लाउँला।” त्‍यसरी त्‍यो दिन र त्‍यसको भोलिपल्‍ट पनि उरियाह यरूशलेममा नै रहे। दाऊदले उनलाई साँझको खानामा निम्‍त्‍याए र मताए। तर फेरि त्‍यो रात पनि उरियाह घर गएनन्, महलका पालेहरूको कोठामा कम्‍मल ओछ्याएर सुते र रात काटे। भोलिपल्‍ट बिहान दाऊदले योआबलाई एउटा चिठ्ठी लेखेर उरियाहको हातमा पठाए। तिनले चिठ्ठी यसरी लेखेका थिए, “घमासान लडाइँ भइरहेको ठाउँको पहिलो पङ्क्तिमा उरियाहलाई पठाऊ। तिमीहरू पछि हट र त्‍यो मारियोस्।” योआबले सहरमा घेरा हालेको समय उरियाहलाई त्‍यस ठाउँमा पठाए, जहाँ शत्रुको अखडा बलियो छ भनी तिनी जान्‍दथे। शत्रुका फौज सहरबाट निस्‍केर आई योआबको फौजसित लड्‍न लागे; दाऊदका कतिपय अधिकृतहरू मारिए र त्‍यसरी उरियाह पनि मारिए। तब योआबले लडाइँको सबै समाचार दिएर एउटा विवरण दाऊदकहाँ पठाए। अनि सो विवरण लाने मानिसलाई यस्‍तो आदेश दिए, “तैँले राजालाई लडाइँको सबै खबर सुनाएपछि उनी रिसाउलान् र तँलाई यसो भन्‍लान्, ‘तिमीहरू लडाइँ गर्न किन सहरको त्‍यति नजिक गयौ? पर्खालबाट तिनीहरूले तीर हान्‍नेछन् भनी तिमीहरूले जान्‍न सकेनौ र? गिदोनको छोरो अबीमेलेकको मृत्‍यु कसरी भएथ्‍यो, के तिमीहरूलाई थाहा थिएन? तिनलाई तेबेसमा एउटी आइमाईले पर्खालबाट एउटा जाँतोको पाटा खसालेर मारेकी थिई। किन तिमीहरू पर्खालको त्‍यति नजिक पुग्‍यौ?’ राजाले तँलाई त्‍यसरी प्रश्‍न गरे भने तैँले भन्‍नू, ‘हजुरको हित्ती अधिकृत उरियाह पनि मारिए।” त्‍यो मानिस दाऊदकहाँ गयो र योआबको आदेशअनुसार राजालाई समाचार दियो। त्‍यसले भन्‍यो, “हाम्रा शत्रु हामीभन्दा बलिया थिए र तिनीहरू सहरबाट निस्‍किएर हामीसित मैदानमा लडाइँ गर्न आइपुगे; तर हामीले तिनीहरूलाई धपाएर सहरको मूल-ढोकासम्‍मै पुर्‍यायौं। तब तिनीहरूले पर्खालबाट तीर हाने र हजुरका कतिपय अधिकृतहरू मारिए, हजुरको अधिकृत उरियाह पनि मारिए।” दाऊदले त्‍यसलाई भने, “योआबको साहस बढाइदिनू र नडरा भन्‍नू किनभने लडाइँमा को मर्छ, त्‍यो कसैले भन्‍न सक्‍दैन। सहरमाथि अझ शक्तिशालीरूपमा हमला गरेर त्‍यसलाई कब्‍जा गर्नू भनी उसलाई भन्‍दिनू।” आफ्‍ना पति मारिए भनी जब बतशेबाले सुनिन्, तिनले पतिको निम्‍ति शोक गरिन्। शोकको समय पूरा भएपछि दाऊदले तिनलाई महलमा ल्‍याए। बतशेबा दाऊदकी पत्‍नी भइन् र एउटा छोरो जन्‍माइन्। तर दाऊदले गरेका कामसित परमप्रभु खुसी हुनुभएन।

शेयर गर्नुहोस्
२ शमूएल 11 पढ्नुहोस्