२ पत्रुस 3:10-14
२ पत्रुस 3:10-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। यी सबै कुराहरू यसरी पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ? तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्लनेछन्। तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ। यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर।
२ पत्रुस 3:10-14 नेपाली समकालीन संस्करण (NCV)
तर प्रभुको दिन चोरझैं आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ; तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्। यसरी सबै कुराहरू नाश भएर जाने हुनाले, तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ। जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्। तर हामी उहाँको प्रतिज्ञाअनुसार एउटा नयाँ स्वर्ग र एउटा नयाँ पृथ्वी पर्खंदैछौं, जो धार्मिकताको घर हो। त्यसकारण प्रिय मित्रहरूहो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर।
२ पत्रुस 3:10-14 पवित्र बाइबल (NERV)
तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ। यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्। तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ। प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर।
२ पत्रुस 3:10-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर प्रभुले न्याय गर्नुहुने दिन चोरझैँ अचानक आउनेछ। त्यस दिन आकाश-मण्डल ठूलो आवाज गरेर हराउनेछ आकाशका तारा, ग्रह-नक्षत्रहरू जलेर भस्म हुनेछन्। पृथ्वी र पृथ्वीमा भएका सबै कुरा नाश हुनेछन्। सबै कुराहरू नाश गरिने हुँदा तिमीहरू कस्तो खालको मानिस हुनुपर्ने हो? तिमीहरूको जीवन पवित्र र परमेश्वरलाई चढाएको हुनुपर्छ। तिमीहरूले परमेश्वरको न्याय गर्ने दिनको बाटो हेर्दा यो चाँडै होस् भनेर गर्नुपर्ने काम गर। त्यसै बेला आकाश-मण्डल डढेर भस्म हुनेछ अनि ग्रह-नक्षत्र तातोले पग्लेर जानेछन्। तर हामी परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ पृथ्वी र नयाँ स्वर्गको बाटो हेर्दछौं। त्यहाँ धार्मिकता मात्रै रहनेछ। यसैकारण प्रियहरू, त्यो दिन पर्खिंदा परमेश्वरका अघि पवित्र र दागरहित हुन अनि परमेश्वरसँग मिलापमा रहन जति सक्दो बल गर।