२ राजाहरू 8:16-24
२ राजाहरू 8:16-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा, जब यहोशापात यहूदाका राजा थिए, तब यहोशापातका छोरा यहोरामले यहूदाका राजा भएर राज्य सुरु गरे। जब तिनी राजा भए तब यहोराम बत्तीस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। आहाबका घरानाले गरेझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनकि तिनले आहाबकी एउटी छोरीलाई विवाह गरे। परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही तिनले गरे। तरै पनि आफ्ना दास दाऊदको खातिर परमप्रभुले यहूदालाई नाश गर्न इच्छा गर्नुभएन। उहाँले दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदाको निम्ति बलिरहने एउटा दियो कायम राख्ने प्रतिज्ञा गर्नुभएको थियो। यहोरामको समयमा यहूदाको विरुद्धमा बागी भएर एदोमले आफ्नै राजा खड़ा गर्यो। यसैले यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के। एदोम आजको दिनसम्मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्ना पनि त्यसै बेला बागी भयो। यहोरामको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तब यहोराम आफ्ना पित्रहरूसँग सुते, र तिनीहरूसित दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा अहज्याह राजा भए।
२ राजाहरू 8:16-24 पवित्र बाइबल (NERV)
यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ बर्ष शासन शुरू गरे। योराम 32 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ बर्ष शासन गरे। तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ। तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सधैँ नै राजा हुनेछ। योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे। तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे। यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो। योरामले गरेको सबै कामको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।
२ राजाहरू 8:16-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलका राजा आहाबको छोरो योरामको शासनकालको पाँचौं वर्षमा यहोशापातको छोरो यहोराम यहूदाका राजा भए। उनको उमेर बत्तीस वर्ष भएको थियो र उनले यरूशलेममा आठ वर्ष राज्य गरे। उनकी रानी आहाबकी छोरी थिइन् र आहाबका घरानाले जस्तै उनले इस्राएलका राजाका खराब चालहरू पछ्याए। उनले परमप्रभुको विरुद्धमा पाप गरे। तर परमप्रभुले यहूदालाई नाश पार्न चाहनुहुन्थ्यो किनभने उहाँले आफ्नो सेवक दाऊदलाई तेरा सन्तानले राज्य गरिरहनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो। यहोरामका शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र त्यो देश स्वतन्त्र भयो। यहोराम आफ्ना सबै रथ लिएर जाईरतर्फ लागे तर त्यहाँ एदोमीहरूले तिनीहरूलाई घेरे। राती उनी र उनका रथ-सेनाका सेनापतिहरू उम्के र भागे र उनका सिपाहीहरू छरपष्ट भएर आ-आफ्ना घरतिर लागे। त्यसपछि एदोम सदा यहूदाबाट स्वतन्त्र भई बसेको छ। यही समयमा लिब्ना सहरले पनि विद्रोह गर्यो। यहोरामले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ। यहोराम मरे र दाऊदको सहरका राजाहरू गाड्ने चिहानमा गाडिए र उनको छोरो अहज्याह राजा भए।