२ राजाहरू 8:1-15
२ राजाहरू 8:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब जुन स्त्रीको छोरालाई एलीशाले पुनर्जीवित पारेका थिए, त्यस स्त्रीलाई तिनले भनेका थिए, “तिम्रो परिवारसमेत यहाँबाट गइहाल, र केही समयको लागि जहाँ हुन्छ त्यहीँ प्रवास गर, किनभने परमप्रभुले सात वर्षसम्म अनिकालको उर्दी घोषणा गर्नुभएको छ।” परमेश्वरका जनले भनेझैँ ती स्त्रीले गरिन्। तिनी आफ्नो परिवारसमेत गइहालिन्, र पलिश्तीहरूको देशमा सात वर्ष बसिन्। सात वर्षको आखिरमा तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्, र आफ्नो घर र जग्गाजमिन फिर्ता पाउनलाई बिन्ती गर्न राजाकहाँ गइन्। त्यस बेला राजाचाहिँ परमेश्वरका जनको चाकर गेहजीसँग यसो भनेर कुरा गर्दैथिए, “एलीशाले गरेका सबै महान् कार्यहरूका विषयमा मलाई भन्।” जब गेहजीले एलीशाले मरेकालाई कसरी प्राण दिए भनी राजालाई वर्णन गरिरहेको थियो, त्यही स्त्री, जसको छोरालाई एलीशाले मरेकाहरूबाट जीवित पारेका थिए, आफ्नो घर र जग्गाजमिनको निम्ति राजालाई बिन्ती गर्नलाई आइन्। गेहजीले भन्यो, “हे मेरा प्रभु महाराजा, यिनै स्त्री हुन्, र एलीशाले पुनर्जीवित पारेको तिनको छोरो यही हो।” राजाले ती स्त्रीलाई त्यस विषयमा सोधे, र तिनले पनि बताइदिइन्। तब राजाले तिनको मुद्दा एउटा अधिकारीको जिम्मामा लगाइदिए, र तिनलाई भने, “तिनका सबै जग्गाजमिन र तिनले देश छोड़ेर गएको समयदेखि अहिलेसम्मका जग्गाजमिनबाट आएको आम्दानीसमेत तिनलाई फिर्ता गरिदिनू।” एलीशा दमस्कसमा गए, र त्यस बेला अरामका राजा बेन-हदद बिरामी परेका थिए। जब राजालाई “परमेश्वरका जन यहाँ आएका छन्” भनी सुनाइयो, तब उनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्वरका जनलाई भेट गर्न जाऊ। तिनीद्वारा परमप्रभुसित सल्लाह लेऊ, र सोध, “के यस रोगबाट म निको हुन्छु कि’?” हजाएल आफूसित दमस्कसमा सबै किसिमका असल-असल थोकहरू उपहार स्वरूप चालीस वटा ऊँटमाथि बोकाएर गए। उनी भित्र गए, र अगमवक्ताको सामुन्ने उभिए, र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई यो कुरा सोध्नलाई तपाईंकहाँ पठाउनुभएको छ।” “के म यस रोगबाट निको हुन्छु’?” एलीशाले जवाफ दिए, “गएर उनलाई भन, ‘तिमी निश्चय नै निको हुनेछौ।” तर परमप्रभुले मलाई यो कुरा प्रकट गर्नुभएको छ, कि वास्तवमा उनी मर्नेछन्।” तिनले एक टक लाएर एकोहोरो हजाएललाई हेरिरहे, र उनलाई शर्म लाग्यो। तब परमेश्वरका जन रुन लागे। हजाएलले सोधे, “हे मेरा प्रभु, तपाईं किन रुँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “किनभने तिमीले इस्राएलीहरूमाथि गर्ने बुराइ म जान्दछु। तिमीले तिनीहरूका किल्लाहरूमा आगो लाउनेछौ, र तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ, तिनीहरूका ससाना बालकहरूलाई भूँइमा पछारेर मार्नेछौ, र गर्भवती स्त्रीहरूका पेट चिर्नेछौ।” हजाएलले भने, “म त जाबो एउटा कुकुरले यस्तो ठूलो काम कसरी गर्न सकुँला र?” एलीशाले जवाफ दिए, “तिमी अरामका राजा हुनेछौ भनी परमप्रभुले मलाई देखाउनुभएको छ।” यसपछि हजाएल एलीशाबाट बिदा भए, र आफ्ना मालिककहाँ फर्केर आए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने” भनी सोधे, उनले उत्तर दिए, “‘तपाईं निश्चय नै निको हुनुहुनेछ” भनी तिनले मलाई भने।” तर भोलिपल्ट उनले एउटा बाक्लो कम्बल लिई पानीमा चोपेर राजाको मुख छोपिदिए, र यसरी उनी मरे। त्यसपछि हजाएल राजा भए।
२ राजाहरू 8:1-15 पवित्र बाइबल (NERV)
एलीशाले त्यस आइमाईसँग कुरा गरे जसको छोरालाई उनले पुर्नजीवित गरेका थिए। एलीशाले भने, “तिमी र तिम्रो परिवारले अर्को देश जानु पर्छ। किनभने परमप्रभुले निर्णय लिनुभएको छ, यहाँ अनिकाल हुनेछ। यो अनिकाल यस देशमा सात बर्ष सम्म रहने छ।” यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिश्तिको देशमा गएर सात बर्ष सम्म बसि। सात बर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्की आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी। राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।” गेहजीले राजालाई एलीशाको बारेमा बताउँदा मृत मानिसलाई जिउँदो गरेको सुनाउँदै थियो। त्यस समयमा त्यो आइमाई जसको छोरालाई एलीशाले फेरि जिउँदो बनाएका थिए, राजाकहाँ पुगी। ऊ राजलाई आफ्नो घर र जग्गा फिर्ता पाऊँ भनी बिन्ती गर्न चाहन्थी। गेहजीले भन्यो, “हे मेरा मालिक महाराज, यो त्यही आइमाई हो। अनि यो त्यही छोरा हो जसलाई एलीशाले फेरि जिउँदो बनाएका थिए।” राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले चाहेको कुरा भनी। तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको अन्न पनि दिनु।” एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।” तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?” यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?” तब एलीशाले हजाएललाई बताए, “जा अनि बेन-हददलाई भन, ‘तिमी बाँच्ने छौ।’ तर साँचो अर्थमा परमप्रभुले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।’” एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले। हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?” एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।” हजाएलले भन्यो, “म शक्तिशाली मानिस होइन। म ती महान काम गर्न सक्दिनँ।” एलीशाले भने, “परमप्रभुले मलाई देखाउनुभएको छ, तँ नै अरामको राजा हुनेछस्।” त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?” हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।” तर अर्को दिन नै, हजाएलले एउटा बाक्लो लुगा लियो अनि पानीमा डुबायो। त्यसपछि उसले बेन-हददको अनुहार छोप्यो अनि सास थुन्यो। बेन-हददको मृत्यु भयो अनि हजाएल नयाँ राजा भयो।
२ राजाहरू 8:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस देशमा परमप्रभुले सात वर्षसम्मको अनिकाल पठाउँदै हुनुहुन्छ र तिम्रो परिवार लिएर अर्को कुनै ठाउँमा गई बस्नू भनी एलीशाले शूनेममा बास गर्ने ती स्त्रीलाई भनेका थिए। ती स्त्रीको मरेको छोरोलाई एलीशाले बौराइउठाएका थिए। स्त्रीले उनको सल्लाह मानेकी थिइन् र परिवार लिएर पलिश्त देशमा गई त्यहाँ सात वर्ष बसेकी थिइन्। सात वर्ष बितेपछि तिनी इस्राएलमा फर्केर आइन् अनि आफ्नो घर र जमिन फिर्ता पाऊँ भनी बिन्ती गर्न राजाकहाँ गइन्। तिनले राजालाई एलीशाका चाकर गेहजीसित कुरा गरिरहेका भेटिन्। राजाले एलीशाका उदेकका कामबारे जान्न चाहेका थिए। गेहजीले राजालाई एलीशाले कसरी एक जना मरेको व्यक्तिलाई बौराइउठाएका थिए भनेर सुनाइरहेको बेला स्त्रीले राजालाई बिन्ती चढाइन्। गेहजीले राजालाई भन्यो, “राजन्, एलीशाले बौराइउठाएको केटो र तिनकी आमा यी नै हुन्।” राजाको प्रश्नको उत्तरमा तिनले गेहजीले भनेको कुरा साँचो हो भन्दै सबै कुरा बताइन्। राजाले एक जना भारदारलाई बोलाए र यस स्त्रीलाई उनका सबै कुरा फिर्ता दिनू र साथै उनी परदेशमा सात वर्ष रहेको बेलामा उनको जमिनबाट भएको सम्पूर्ण उब्जनीको दाम पनि भरिदिनू भनी आदेश दिए। अरामका राजा बेन-हदद बिरामी भएको बेलामा एलीशा दमस्कसमा पुगे। एलीशा यहाँ आएका छन् भनी राजालाई खबर भयो। राजाले आफ्नो भारदार हजाएललाई भने, “अगमवक्ताकहाँ एउटा कोसेली लिएर जाऊ र म निको हुने हो कि होइन, सो परमप्रभुसित बुझ्न लाऊ।” हजाएलले दमस्कसका सबैभन्दा असल-असल थोक लिएर चालीस वटा ऊँटमा लादे र एलीशाकहाँ गए। उनलाई भेटेर हजाएलले भने, “तपाईंको सेवक बेन-हदद राजाले उनी आफ्नो रोगबाट निको हुने हुन् कि होइनन् भनी सोध्न मलाई तपाईंकहाँ पठाएका हुन्।” एलीशाले जवाफ दिए, “राजा मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ; तर तिमी गएर उनलाई निको हुनेछौ भन।” त्यसपछि एलीशाले उनलाई एकोहोरो हेरिबसे र हजाएलले अप्ठ्यारो मान्न लागे। अचानक एलीशाले आँखाबाट आँसु झारे। “किन रुँदै हुनुहुन्छ, हजुर!” हजाएलले सोधे। “किनभने तिमीले कस्ता डरलाग्दा कुराहरू इस्राएलका मानिसहरूका विरुद्धमा गर्नेछौ ती म जान्दछु,” एलीशाले जवाफ दिए, “तिनीहरूका किल्लामा तिमीले आगो लाइदिनेछौ, युवकहरूलाई संहार गर्नेछौ, बालकहरूलाई पछारेर मारिदिनेछौ र गर्भवती स्त्रीहरूको पेट फोरिदिनेछौ।” “म कसरी त्यस्तो शक्तिशाली हुन सक्छु र?” हजाएलले सोधे, “म को हुँ र?” एलीशाले उत्तर दिए, “परमप्रभुले मलाई तिमी अरामका राजा हुनेछौ भनी देखाउनुभएको छ।” हजाएल बेन-हददकहाँ फर्केर गए। राजाले सोधे, “एलीशाले के भने त?” हजाएलले जवाफ दिए, “तपाईं अवश्य निको हुनुहुनेछ भनी उनले भने।” तर भोलिपल्ट हजाएलले एउटा कम्बल लिएर पानीमा भिजाए र त्यसले राजाको सास थुनेर मारिदिए। बेन-हददपछि हजाएल अरामका राजा भए।