YouVersion लोगो
खोज आइकन

२ राजाहरू 4:8-17

२ राजाहरू 4:8-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एक दिन एलीशा शूनेममा गए। त्‍यहाँ एउटी धनाढ्य स्‍त्री थिइन्, जसले तिनलाई खानपान गर्न जिद्दी गरिन्‌। यसैले जब एलीशा त्‍यहाँबाट भएर जान्‍थे, तब खानपान गर्नलाई केही समय बस्‍थे। ती स्‍त्रीले आफ्‍ना पतिलाई भनिन्, “मलाई थाहा छ, कि यहाँ हाम्रो बाटो भएर सधैँ जाने मानिस परमेश्‍वरका एक पवित्र जन हुनुहुन्‍छ। कौसीमा तिनको निम्‍ति हामी एउटा सानो कोठा बनाइदिऔं, र त्‍यहाँ तिनको निम्‍ति एउटा ओछ्यान, एउटा टेबिल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔं। तब तिनी यहाँ हामीकहाँ आउँदा त्‍यहीँ नै बस्‍न सक्‍छन्‌।” एक दिन एलीशा आएर कौसीको आफ्‍नो कोठामा गएर विश्राम गर्नलाई पल्‍टे। तिनले आफ्‍नो चाकर गेहजीलाई भने, “त्‍यस शूनम्‍मी स्‍त्रीलाई बोलाएर ले।” त्‍यसले तिनलाई बोलाएर ल्‍याए, र तिनी ती अगमवक्ताको सामुन्‍ने उभिइन्‌। एलीशाले आफ्‍नो चाकरलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्‍ति यी सबै दु:ख गरेका छौ। अब तिम्रो निम्‍ति के गर्न सकिन्‍छ। के हामी तिम्रो पक्षमा राजासित अथवा सेनापतिसित तिम्रो केही कुरा गरिदिन सक्‍छौं’?” तिनले जवाफ दिइन्, “मेरा आफ्‍नै मानिसहरूका बीचमा मेरो घर छँदैछ।” एलीशाले गेहजीलाई भने, “तिनको निम्‍ति म के गर्न सक्‍छु?” गेहजीले भन्‍यो, “तिनको कोही छोरा छैन, र तिनका पति वृद्ध छन्‌।” तब एलीशाले भने, “तिनलाई बोला।” तब गेहजीले तिनलाई बोलाएर ल्‍यायो, र तिनी ढोकानेर खड़ा भइन्‌। तब एलीशाले भने, “प्राय: यही समय अर्को वर्ष तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले भनिन्, “होइन, होइन, मेरा प्रभु, हे परमेश्‍वरका जन, आफ्‍नी दासीलाई नछकाउनुहोस्‌।” तर तिनी गर्भवती भइन्‌ र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्‍माइन्‌।

शेयर गर्नुहोस्
२ राजाहरू 4 पढ्नुहोस्

२ राजाहरू 4:8-17 पवित्र बाइबल (NERV)

एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे। आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्। एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।” एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे। एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।” सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो। एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?’” आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।” एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौं?” गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।” तब एलीशाले भने, “उनलाई बोलाऊ।” यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई। एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।” आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।” तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईले छोरा जन्माई।

शेयर गर्नुहोस्
२ राजाहरू 4 पढ्नुहोस्

२ राजाहरू 4:8-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक दिन एलीशा शूनेममा गए। त्‍यहाँ एउटी धनी स्‍त्री बास गर्थिन्। तिनले एलीशालाई भोजनमा आफ्‍नो घरमा निम्‍त्‍याइन्। त्‍यस बेलादेखि जतिपल्‍ट उनी शूनेम जान्‍थे, त्‍यही घरमा भोजन गर्थे। त्‍यस स्‍त्रीले आफ्‍ना लोग्‍नेलाई भनिन्, “यहाँ घरीघरी आउने मानिस परमेश्‍वरका पवित्र जन हुन् भन्‍ने मलाई निश्‍चय छ। घरको कौसीमा एउटा सानो कोठा बनाएर त्‍यहाँ एउटा पलङ, मेच, कुर्सी र बत्ती राखिदिऊँ। उनी हाम्रो घर आउँदा त्‍यहाँ बस्‍न सक्‍नेछन्।” एक दिन एलीशा शूनेममा फर्केर आए र विश्राम गर्न आफ्‍नो कोठामा गए। उनले आफ्‍नो चाकर गेहजीलाई गएर ती स्‍त्रीलाई बोलाएर ल्याउन आदेश दिए। त्‍यो स्‍त्री आएपछि एलीशाले गेहजीलाई भने, “उनलाई सोध, हामीलाई चाहिने सबै थोक जुटाउन कष्‍ट गरेको निम्‍ति म उनको निम्‍ति केही सेवा गर्न सक्‍छु कि! म गएर राजा वा सेनापतिलाई उनको लागि केही असल कुरा गरिदिएको पो चाहन्‍छिन् कि!” त्‍यस स्‍त्रीले उत्तर दिइन्, “म यहाँ आफ्‍नै मानिसहरूसित छु। मलाई सन्‍तोष छ।” एलीशाले गेहजीलाई सोधे, “त्‍यसो भए मैले उनको निम्‍ति गर्नुपर्ने केही छैन त?” गेहजीले उत्तर दियो, “तिनको छोरो भएको छैन र लोग्‍नेचाहिँ बुढा भइसकेका छन्।” “उनलाई यहाँ आउनू भन्,” एलीशाले आज्ञा गरे। तिनी आएर ढोकाछेउमा उभिइन्। एलीशाले तिनलाई भने, “आउँदो वर्ष यही समयमा तिम्रो काखमा तिमीले छोरो खेलाउनेछौ।” तिनले भनिन्, “हजुर, होइन, मसित झूट नबोल्‍नुहोला। तपाईं परमेश्‍वरको जन हुनुहुन्‍छ!” तर जस्‍तो एलीशाले भनेका थिए, त्‍यस्‍तै अर्को वर्ष तिनले एउटा छोरो जन्‍माइन्।

शेयर गर्नुहोस्
२ राजाहरू 4 पढ्नुहोस्