२ राजाहरू 4:38-41
२ राजाहरू 4:38-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एलीशा फर्केर गिलगालमा गए, र त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूको दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो चाकरलाई भने, “आगोमा ठूलो भाँड़ा राखेर यी मानिसहरूका निम्ति केही जाउलो बना।” उनीहरूमध्ये एक जनाचाहिँ झारपात खोज्न खेतमा गए, र जङ्गली लहरा भेट्टाए। उनले त्यसका केही लौका पोल्टोभरि टिपेर ल्याए। ती के हुन् भनी कसैले नजानी उनले ती फलहरू काटेर त्यस जाउलोको भाँड़ोमा हाले। मानिसहरूले खाऊन् भनी त्यो खन्याइयो, तर जब उनीहरूले त्यो खान लागे, तब उनीहरूले कराएर भने, “हे परमेश्वरका जन, यस भाँड़ामा त मृत्यु पो रहेछ!” अनि उनीहरूले त्यो खान सकेनन्। एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनले त्यो भाँड़ामा हालेर भने, “अब यिनीहरूलाई त्यो खान देऊ।” यस पल्ट त्यस भाँड़ाको खानेकुरामा हानि गर्ने केही थिएन।
२ राजाहरू 4:38-41 पवित्र बाइबल (NERV)
एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सेरूवा बनाऊ।” एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द-मुल हो चिनेन्। त्यसपछि तिनीहरूले केही सेरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सेरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्। तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सेरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।” अनि सेरूवामा कुनै विष थिएन।
२ राजाहरू 4:38-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक चोटि सारा देशमा अनिकाल पर्दा एलीशा गिलगालमा फर्किगए। एक दल अगमवक्ताहरूलाई शिक्षा दिइरहेको बेला उनले आफ्नो चाकरलाई आगोमा एउटा ठूलो भाँडो राखेर तिनीहरूको निम्ति केही जाउलो बनाउने आज्ञा दिए। तीमध्ये एक जना सागपात खोज्न खेततिर गए। उनले एउटा जङ्गली लहरा भेट्टाए र आफूले बोक्न सके जति त्यसका फल लिएर आए। ती ल्याएर उनले पातलो टुक्रा गरी काटे र जाउलोमा हाले। त्यो के फल हो भनेर उनलाई थाहा थिएन। जाउलो मानिसहरूलाई खान दिइयो; तर त्यो चाखेर तिनीहरूले कराएर एलीशालाई भने, “यसमा विष परेको छ!” तिनीहरूले जाउलो खान सकेनन्। एलीशाले केही पिठो मागेर भाँडामा हाले र भने, “अरू जाउलो फेरि तिनीहरूलाई खान देऊ।” तब जाउलोमा केही विष थिएन।