२ राजाहरू 24:10-17
२ राजाहरू 24:10-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरू यरूशलेमतिर बढ़ेर त्यस सहरलाई घेरा हाले, अनि आफ्ना अधिकृतहरूले त्यसलाई घेरा हालिरहेको बेलामा नबूकदनेसर स्वयम् सहरमा आइपुगे। यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका टहलुवाहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले आफू-आफूलाई उनको हातमा सुम्पिदिए। बेबिलोनका राजाले आफ्नो शासनको आठौँ वर्षमा यहोयाकीनलाई कैद गरे। परमप्रभुले घोषणा गर्नुभएझैँ परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूका सबै थोकहरू उनले हटाए, र परमप्रभुका मन्दिरको निम्ति इस्राएलका राजा सोलोमनले बनाएका सुनका सबै सामानहरू लगे। उनले जम्मै यरूशलेमलाई निर्वासनमा लगे— जम्मै अधिकृतहरू र योद्धाहरू र सबै कारीगरहरू र कलाकारहरूलाई— सबै जम्मा दश हजार जनालाई कैद गरेर लगे। केवल साह्रै कङ्गालीहरूलाई मात्र उनले छोड़े। नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। उनले यरूशलेमबाट राजमाता, तिनका पत्नीहरू, तिनका अधिकारीहरू र देशका अग्रगण्य मानिसहरूलाई यरूशलेमबाट बेबिलोनमा लगे। बेबिलोनका राजाले सात हजार बलिया र लड़ाइँको निम्ति सुयोग्य योद्धाहरू र एक हजार कारीगर र कलाकारहरूलाई पनि बेबिलोनमा निर्वासन गरेर लगे। उनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको सट्टामा राजा तुल्याए, र तिनको नाउँ सिदकियाह राखे।
२ राजाहरू 24:10-17 पवित्र बाइबल (NERV)
त्यस समयमा बाबेलका राजा नबूकदनेसरका अधिकारीहरू यरूशलेम आए अनि उनलाई घेरे। तब नबूकदनेसर, बाबेलका राजाले शहलाई घेरेको बेलामा आए। यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं बर्षमा भयो। नबूकदनेस्सरले राजाका सबै खजाना र परमप्रभुको मन्दिरको सबै खजाना लगे। नबूकदनेस्सरले सबै सुनका भाँडाहरू काटेर टुक्रा-टुक्रा पारे जुन सुलेमान, इस्राएलका राजाले परमप्रभुको मन्दिरमा राखेका थिए। यो परमप्रभुले भन्नुभए जस्तै नै भयो। नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्। नबूकदनेसरले यहोयाकीनलाई बन्दी बनाएर बाबेल लगे। नबूकदनेसरले देशका राजाकी आमा, उनकी पत्नीहरू, अधिकारीहरू अनि अगुवा मानिसहरूलाई पनि लगे। नबूकदनेसरले तिनीहरूलाई यरूशलेमबाट बाबेल बन्दीहरूको रूपमा लगे। त्यहाँ 7,000 सैनिकहरू थिए। नबूकदनेसरले सबै सैनिकहरू र 1,000 दक्ष कर्मीहरू लगे। यी सबै मानिसहरू तालिम पाएका र युद्धका लागि तयार थिए। बाबेलका राजाले तिनीहरूलाई बन्दीहरूको रूपमा बाबेल लगे। बाबेलका राजाले मतन्याहलाई नयाँ राजा बनाए। मतन्याह यहोयाकीनका काका थिए। उनले तिनको नाउँ बद्ली गरेर सिदकियाह बनाए।
२ राजाहरू 24:10-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनको शासनकालमा नबूकदनेसर र राजाका अधिकृतहरूको हुकुममा बेबिलोनी सेनाले यरूशलेममाथि आक्रमण गर्यो र त्यसलाई घेरामा हाल्यो! त्यसरी घेरामा परेको बेलामा नबूकदनेसर आफैं यरूशलेम आए। आमा, छोरा, अधिकृत र राजदरबारका सबै भारदारहरू साथमा लिएर राजा यहोयाकीनले बेबिलोनीहरूको हातमा आत्मसमर्पण गरे। नबूकदनेसरको शासनकालको आठौँ वर्षमा उनले यहोयाकीनलाई कैद गरेर मन्दिर र राजाहरूको सारा धन बेबिलोनमा लिएर गए। परमप्रभुले पहिले नै भन्नुभएअनुसार सोलोमन राजाले मन्दिरमा चलाउन बनाएका सुनका सबै भाँडाहरू नबूकदनेसरले फुटाइदिए। यरूशलेमका मानिसहरू, राजदरबारका सबै राजकुमार र अगुवाहरू जम्मा दश हजार मानिसहरूलाई नबूकदनेसरले कैद गरी लगे। उनले सबै सिपालु कारिगरहरू, फलामका काम गर्नेहरूसमेत लगेर गए। सबैभन्दा दरिद्रहरूलाई मात्र उनले यहूदामा छोडिराखे। नबूकदनेसरले यहोयाकीनलाई कैद गरे र उनका आमा, स्वास्नीहरू, अधिकृत र यहूदाका अगुवाहरूका साथ बेबिलोनमा लगे। नबूकदनेसरले सबै मुख्य मानिसहरू; जम्मा सात हजार पुरुषहरू र फलामका काम गर्नेहरू गरी जम्मा एक हजार सिपालु कारिन्दाहरूलाई बेबिलोनमा लगे। ती सबै हट्टाकट्टा र फौजी काम गर्ने लायकका थिए। नबूकदनेसरले यहोयाकीनका काका मतन्याहलाई यहूदाका राजा बनाए र उनको नाम सिदकियाह राखिदिए।