२ राजाहरू 17:9-15

२ राजाहरू 17:9-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे ठीक थिएन त्‍यो गुप्‍त रूपमा इस्राएलीहरूले गरे। पहरादार बस्‍ने धरहरादेखि लिएर किल्‍ला भएको सहरसम्‍मै तिनीहरूले आफ्‍ना सबै नगरहरूमा अल्‍गा-अल्‍गा ठाउँहरू बनाए। हरेक अल्‍गो डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि तिनीहरूले चोखा ढुङ्गा र अशेरा देवीका खम्‍बाहरू खड़ा गरे। तिनीहरूका सामुन्‍नेबाट निकालिएका जातिहरूले गरेझैँ हरेक अल्‍गा ठाउँमा तिनीहरूले धूप बाले। तिनीहरूले खराब काम गरे, जसले गर्दा परमप्रभुलाई रीस उठ्यो। परमप्रभुले तिनीहरूलाई “तिमीहरूले यस्‍तो गर्नुहुँदैन” भन्‍नुभए तापनि तिनीहरूले मूर्तिहरूको पूजा गरे। परमप्रभुले आफ्‍ना सबै अगमवक्ता र दर्शीहरूद्वारा इस्राएल र यहूदालाई गम्‍भीर चेताउनी दिनुभयो: “तिमीहरूले आफ्‍ना खराब चाल छोड़। मेरा आज्ञाहरू र उर्दीहरू सम्‍पूर्ण व्‍यवस्‍थाअनुसार पालन गर, जो मैले तिमीहरूका पुर्खाहरूलाई मान्‍नू भनी आज्ञा गरेको थिएँ, र मेरा दास अगमवक्ताहरूद्वारा तिमीहरूलाई दिएको थिएँ।” तर तिनीहरूले सुन्‍न मानेनन्, र परमप्रभु तिनीहरूका परमेश्‍वरमाथि भरोसा गर्नलाई इन्‍कार गरेका तिनीहरूका पिता-पुर्खाहरूझैँ तिनीहरू हठी भए। तिनीहरूले उहाँका उर्दीहरू र उहाँले तिनीहरूका पिता-पुर्खाहरूसँग बाँध्‍नुभएको करार र तिनीहरूलाई दिनुभएका चेताउनीहरू इन्‍कार गरे। तिनीहरू बेकामका मूर्तिहरूपछि लागे, र तिनीहरू आफै पनि बेकामका भए। तिनीहरूले आफ्‍ना वरिपरि भएका जातिहरूको नकल गरे, यद्यपि परमप्रभुले तिनीहरूलाई यसो भनेर हुकुम गर्नुभएको थियो, “उनीहरूले गरेझैँ तिमीहरू नगर।” र परमप्रभुले तिनीहरूलाई मनाही गर्नुभएका कुरा तिनीहरूले गरे।

शेयर गर्नुहोस्
२ राजाहरू 17 पढ्नुहोस्

२ राजाहरू 17:9-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

इस्राएलीहरूले याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा गुप्‍तमा बेठीक कामहरू गरे। तिनीहरूले पहरेदार बस्‍ने धरहराबाट पर्खाल लगाइएको सहरसम्म आफ्ना निम्ति आफ्ना सबै सहरहरूमा अल्गा देवस्थानहरू बनाए। तिनीहरूले प्रत्येक अग्लो डाँडा र प्रत्येक झ्याम्म परेका रूखमुनि चोखा ढुङ्गाहरू र अशेरा देवीका खम्बाहरू बनाए। तिनीहरूले प्रत्येक अल्गा देवस्थानमा याहवेहले तिनीहरूको सामु धपाइदिनुभएका जातिहरूले गरेझैँ धूप बाले। तिनीहरूले दुष्‍ट काम गरेर याहवेहलाई रिस उठाए। याहवेहले तिनीहरूलाई “मूर्तिपूजा नगर्नू” भन्‍नुभए तापनि तिनीहरूले त्यो गरे। याहवेहले इस्राएल र यहूदालाई आफ्ना सबै अगमवक्ताहरू र दर्शीहरूद्वारा यसो भनेर चेतावनी दिनुभयो: “तिमीहरू आफ्ना कुमार्गबाट फर्क। मैले तिमीहरूका पितापुर्खाहरूलाई सुम्पेका सम्पूर्ण व्यवस्थाअनुसार मेरा आज्ञाहरू र उर्दीहरू पालन गर्नू, जसलाई मैले आफ्ना सेवक र अगमवक्ताहरूद्वारा तिमीहरूकहाँ पुर्‍याएको छु।” तर तिनीहरूले यसलाई अवहेलना गरे, र याहवेह तिनीहरूका परमेश्‍वरमाथि भरोसा नराख्ने तिनीहरूका पितापुर्खाहरूझैँ हठी भए। उहाँले तिनीहरूलाई दिनुभएका उर्दी र करारलाई तिरस्कार गरे। तिनीहरू बेकामका मूर्तिहरूका पछि लागे, र आफैँ पनि बेकामका भए। याहवेहले तिनीहरूलाई आज्ञा दिनुभयो, “तिनीहरूले गरेझैँ नगर्नू”, तापनि तिनीहरूले आफ्ना चारैतिरका जातिहरूको अनुसरण गरे।

शेयर गर्नुहोस्
२ राजाहरू 17 पढ्नुहोस्

२ राजाहरू 17:9-15 पवित्र बाइबल (NERV)

इस्राएलीहरूले लुकेर आफ्ना परमेश्वरको विरोधमा कामहरू गर्न थाले। अनि ती कामहरू झूटा थिए। इस्राएलीहरूले सानो शहरदेखि ठूलो शहरसम्म सबै शहरहरूमा अग्ला ठाउँहरू बनाए। इस्राएलीहरूले प्रत्येक अग्लो पहाडमाथि अनि प्रत्येक हरियो रूखमुनि स्मारक ढुङ्गा अशेर खाँबो खडा गरे। इस्राएलीहरू ती सबै पूजा स्थलहरूमा धूपबलि बाल्ने गर्दथे। तिनीहरूले यी कामहरू ती राष्ट्रहरू जस्तै गरे जसलाई परमप्रभुले उनीहरूको सामुने देश त्याग्न वाध्य गराउनुभएको थियो। इस्राएलीहरूले दुष्ट कामहरू गरे जसले परमप्रभुलाई रीस उठायो। तिनीहरूले देवमूर्तिहरूको सेवा गरे। अनि परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “तिमीले यस्तो काम गर्नु हुँदैन।” परमप्रभुले प्रत्येक अगमवक्ता र दर्शीलाई प्रयोग गरेर इस्राएल र यहूदालाई चेताउनी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक अगमवक्ताहरूलाई काममा लगाएँ।” तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन् मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसँग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफैं पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो।

शेयर गर्नुहोस्
२ राजाहरू 17 पढ्नुहोस्

२ राजाहरू 17:9-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जुन कुरा परमप्रभु आफ्‍ना परमेश्‍वरले मनाही गर्नुभएको थियो, तिनै कुरा इस्राएलीहरूले गुप्‍तमा गर्थे। तिनीहरूले आफ्‍ना सबै सहरहरूमा, सानुभन्दा सानु गाउँ र ठूलाभन्दा ठूला सहरहुँदो मूर्तिपूजा गर्ने ठाउँहरू बनाए। डाँडाहरूमाथि र हरेक झ्‍याम्‍म परेका रूखमुनि तिनीहरूले ढुङ्गाका खामा र अशेरा देवीका मूर्तिहरू राखे। परमप्रभुले जुन मानिसहरूलाई देशबाट धपाएका थिए, तिनीहरूको प्रथाअनुसार इस्राएलीहरूले मूर्तिपूजा गर्ने वेदीहरूमा धूप बाले। आफ्‍ना दुष्‍कर्मले तिनीहरूले परमप्रभुको क्रोध जगाए, मूर्तिपूजा नगर्नू भन्‍ने परमप्रभुको आज्ञा पालन गरेनन्। परमप्रभुले अगमवक्ता र सन्‍देश-वाहकहरू पठाएर इस्राएल र यहूदालाई यो चेतावनी दिनुभएको थियो, “तिम्रा दुष्‍ट चालहरू छोड र मेरा आज्ञा मान, ती आज्ञा मैले तिम्रा पुर्खाहरूलाई दिएँ र मेरा सेवक अगमवक्ताहरूद्वारा तिमीहरूलाई पनि दिएँ।” तर तिनीहरूले आज्ञापालन गरेनन् र परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा नराख्‍ने तिनीहरूका पुर्खाहरूझैँ हठी भए। तिनीहरूले उहाँका आदेश मान्‍न इन्‍कार गरे, उहाँले तिनीहरूका पुर्खाहरूसित बाँधेका करार पालन गरेनन् र उहाँका चेतावनीहरूलाई अनादर गरे। तिनीहरूले व्‍यर्थका देवताहरू पुजे र आफैं पनि व्‍यर्थका भए र परमप्रभुका आज्ञाको विरुद्धमा छिमेकीका जातिहरूका रीतिथितिहरू नक्‍कल गरे।

शेयर गर्नुहोस्
२ राजाहरू 17 पढ्नुहोस्