२ राजाहरू 17:1-41
२ राजाहरू 17:1-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाका राजा आहाजको बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलका राजा भए, र तिनले नौ वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, तर तिनका अघिका इस्राएलका राजाहरूले गरेजस्तै त होइन। अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गर्न आए। होशियाले उनका अधीनमा भएर उनलाई कर तिरेका थिए। तर अश्शूरका राजाले होशियाले विश्वासघात गरेका देखे, किनकि तिनले मिश्रदेशका राजा सोकहाँ राजदूतहरू पठाएका थिए र बर्सेनि पठाउने कर रोकेका थिए। यसैकारण शलमनेशेरले तिनलाई कैद गरेर झ्यालखानमा हाले। अश्शूरका राजाले सारा देशलाई आक्रमण गरे, र सामरियाको विरुद्धमा हमला गरेर त्यसलाई तीन वर्षसम्म घेरा हाले। अश्शूरका राजाले होशियाको नवौँ वर्षमा सामरिया कब्जा गरे र इस्राएलीहरूलाई कैद गरेर अश्शूरमा लगे। उनले तिनीहरूलाई हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा बसाले। यी सबै भएको कारणचाहिँ यही थियो, कि मिश्रदेशका राजा फारोको शक्तिबाट मिश्रदेशदेखि निकालेर ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका थिए। तिनीहरूले अरू देवताहरूलाई पुजे, र परमप्रभुले तिनीहरूका सामुबाट निकाल्नुभएका अरू जातिहरूले र इस्राएलका राजाहरूले चलाएका चालमा पनि तिनीहरू हिँड़े। परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा जे ठीक थिएन त्यो गुप्त रूपमा इस्राएलीहरूले गरे। पहरादार बस्ने धरहरादेखि लिएर किल्ला भएको सहरसम्मै तिनीहरूले आफ्ना सबै नगरहरूमा अल्गा-अल्गा ठाउँहरू बनाए। हरेक अल्गो डाँड़ामा र हरेक झ्याम्म परेको रूखमुनि तिनीहरूले चोखा ढुङ्गा र अशेरा देवीका खम्बाहरू खड़ा गरे। तिनीहरूका सामुन्नेबाट निकालिएका जातिहरूले गरेझैँ हरेक अल्गा ठाउँमा तिनीहरूले धूप बाले। तिनीहरूले खराब काम गरे, जसले गर्दा परमप्रभुलाई रीस उठ्यो। परमप्रभुले तिनीहरूलाई “तिमीहरूले यस्तो गर्नुहुँदैन” भन्नुभए तापनि तिनीहरूले मूर्तिहरूको पूजा गरे। परमप्रभुले आफ्ना सबै अगमवक्ता र दर्शीहरूद्वारा इस्राएल र यहूदालाई गम्भीर चेताउनी दिनुभयो: “तिमीहरूले आफ्ना खराब चाल छोड़। मेरा आज्ञाहरू र उर्दीहरू सम्पूर्ण व्यवस्थाअनुसार पालन गर, जो मैले तिमीहरूका पुर्खाहरूलाई मान्नू भनी आज्ञा गरेको थिएँ, र मेरा दास अगमवक्ताहरूद्वारा तिमीहरूलाई दिएको थिएँ।” तर तिनीहरूले सुन्न मानेनन्, र परमप्रभु तिनीहरूका परमेश्वरमाथि भरोसा गर्नलाई इन्कार गरेका तिनीहरूका पिता-पुर्खाहरूझैँ तिनीहरू हठी भए। तिनीहरूले उहाँका उर्दीहरू र उहाँले तिनीहरूका पिता-पुर्खाहरूसँग बाँध्नुभएको करार र तिनीहरूलाई दिनुभएका चेताउनीहरू इन्कार गरे। तिनीहरू बेकामका मूर्तिहरूपछि लागे, र तिनीहरू आफै पनि बेकामका भए। तिनीहरूले आफ्ना वरिपरि भएका जातिहरूको नकल गरे, यद्यपि परमप्रभुले तिनीहरूलाई यसो भनेर हुकुम गर्नुभएको थियो, “उनीहरूले गरेझैँ तिमीहरू नगर।” र परमप्रभुले तिनीहरूलाई मनाही गर्नुभएका कुरा तिनीहरूले गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरका सबै आज्ञाहरू त्यागे, र आफ्ना निम्ति बाछाको आकारमा ढालेर बनाइएका दुई वटा मूर्तिहरू र एउटा अशेरा देवीको खम्बा बनाए। तिनीहरू आकाशका सबै तारामण्डलको सामुन्ने घोप्टो परे, र बालको पूजा गरे। तिनीहरूले आफ्ना छोराहरू र छोरीहरूलाई आगोमा होम गरे। तिनीहरूले जोखना हेरे, र टुनामुना गरे, र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यो गर्न तिनीहरूले आफैलाई बेचेर उहाँलाई रीस उठाए। यसैले परमप्रभु इस्राएलसित साह्रै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो। केवल यहूदाको कुल मात्र छोड़ियो, र यहूदाले पनि परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालन गरेनन्। इस्राएलले चलाएका चालमा तिनीहरू हिँड़े। यसकारण परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई त्याग्नुभयो। उहाँले तिनीहरूलाई कष्ट दिनुभयो, र लूटपीट गर्नेहरूका हातमा सुम्पिदिनुभयो, जबसम्म तिनीहरूलाई आफ्नो उपस्थितिदेखि फालिदिनुभएन। जब उहाँले इस्राएललाई दाऊदको घरानाबाट अलग गर्नुभयो, तब तिनीहरूले नबातका छोरा यारोबामलाई राजा तुल्याए। यारोबामले इस्राएललाई परमप्रभुको पछि लाग्नुबाट फकाएर एउटा ठूलो पाप गर्न लाए। इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, र ती त्यागेनन्, जबसम्म परमप्रभुले आफ्ना सबै दास अगमवक्ताहरूद्वारा चेताउनी दिनुभएझैँ तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकाल्नुभएन। यसैले इस्राएलका मानिसहरू आफ्नो मातृ-भूमिबाट अश्शूर देशमा निर्वासित गरिएर लगिए, र तिनीहरू अझै पनि त्यहीँ छन्। अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याएर उनीहरूलाई इस्राएलीहरूका सट्टामा सामरियाका नगरहरूमा बसाले। उनीहरूले सामरिया कब्जा गरे, र उनीहरू त्यसका नगरहरूमा बसे। जब उनीहरू पहिले त्यहाँ बसे, उनीहरूले परमप्रभुको उपासना गरेनन्। यसैले परमप्रभुले उनीहरूका बीचमा सिंहहरू पठाइदिनुभयो, र तिनीहरूले केही मानिसहरूलाई मारे। अश्शूरका राजालाई यस्तो प्रतिवेदन पठाइयो: “हजूरले निर्वासन गरेर पठाउनुभएका र सामरियाका नगरहरूमा बसोबास गरेका मानिसहरूले त त्यस देशका देवतालाई चाहिने काम जान्दैनन्। उनीहरूले यो नजानेका हुनाले ती देवताले उनीहरूका बीचमा सिंहहरू पठाएर तिनीहरूले उनीहरूलाई मार्दैछन्।” तब अश्शूरका राजाले यो हुकुम दिए: “सामरियाबाट कैद गरेर ल्याएका कुनै एउटा पूजाहारी त्यहाँ बस्नलाई पठाइऊन्, ताकि तिनले मानिसहरूलाई त्यस देशका देवताका रीति सिकाइदेऊन्।” यसैले सामरियाबाट निर्वासनमा लगिएका एक जना पूजाहारी आएर बेथेलमा बस्न लागे, र परमप्रभुलाई कसरी आराधना गर्नुपर्छ भनी तिनले उनीहरूलाई सिकाए। तैपनि प्रत्येक जातिको दलले आफू-आफू बसेका नगरहरूमा आ-आफ्नै देवताहरू बनाए, र सामरीहरूले बनाएका अल्गा-अल्गा ठाउँहरूमा भएका पूजा गर्ने थानहरूमा ती बसाले। बेबिलोनबाट आएका मानिसहरूले सुक्कोत-बनोत, कूताका मानिसहरूले नेर्गल, र हमातका मानिसहरूले अशीमा, अव्वीहरूले नेभज र तर्ताकलाई बनाए, अनि सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई बलिदान स्वरूप आगोमा होम गर्थे। उनीहरूले परमप्रभुको उपासना त गर्थे, तापनि अल्गा-अल्गा ठाउँमा भएका देवताथानहरूका लागि पूजाहारी काम गर्नलाई आफ्नै जातिबाट पनि उनीहरूले मानिसहरू नियुक्त गरे। उनीहरूले परमप्रभुको उपासना गर्थे, तर जुन जातिहरूबाट उनीहरू ल्याइएका थिए, उनीहरूकै रीतिअनुसार चलेर उनीहरूले आफ्नै देवताहरूको सेवा पनि गर्थे। उनीहरूले अघि-अघिका रीतिहरू आजको दिनसम्मै चलाइराखेका छन्। उनीहरू न त परमप्रभुको उपासना गर्छन्, न उहाँका उर्दीहरू र विधिहरू, र उहाँका विधान र आज्ञाहरू पालन गर्छन्, जुन उहाँले याकूबका सन्तानहरूलाई दिनुभयो, जसको नाउँ उहाँले इस्राएल भनी राख्नुभएको थियो, सो पालन गर्छन्। जब परमप्रभुले इस्राएलीहरूसँग करार बाँध्नुभयो, तब उहाँले तिनीहरूलाई यो आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूको उपासना नगर्नू, अथवा तिनीहरूका सामु तिमीहरू ननिहुरनू, वा तिनीहरूको सेवा नगर्नू, वा तिनीहरूलाई बलिदान चढ़ाउनू। तर आफ्नो ठूलो शक्ति र पसारिएको पाखुराद्वारा तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने परमप्रभुको मात्र उपासना गर्नू। उहाँकै सामुन्ने तिमीहरू निहुरनू, उहाँलाई नै तिमीहरूले बलिदान चढ़ाउनू। तिमीहरूका निम्ति उहाँले लेख्नुभएका उर्दीहरू, विधिहरू, विधानहरू र आज्ञाहरू तिमीहरूले होशियारीसित निरन्तर पालन गर्नू। तिमीहरूले अरू देवताको उपासना नगर्नू। मैले तिमीहरूसित बाँधेको करारलाई नभुल्नू, र तिमीहरूले अरू देवताहरूको उपासना नगर्नू। बरु परमप्रभु तिमीहरूका परमेश्वरको मात्र उपासना गर्नू। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।” तापनि तिनीहरूले सुन्न मानेनन्, र आफ्ना अगाड़िका व्यवहारमा हिँड़िरहे। परमप्रभुको उपासना गर्दागर्दै पनि तिनीहरूले आफ्नै मूर्तिहरूको सेवा गरिरहे। आजको दिनसम्मै तिनीहरूका छोराछोरीहरू र नाति-नातिनाहरू आफ्ना पिता-पुर्खाहरूका चालमा हिँड्दैआएका छन्।
२ राजाहरू 17:1-41 पवित्र बाइबल (NERV)
एलाका छोरा होशेले सामरियामा इस्राएलमाथि शासन शुरू गरे। यो समय यहूदाका राजा आहाजको शासनकालको 12 औं बर्ष थियो। होशेले नौं बर्ष शासन गरे। होशेले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। तर होशे अघि शासन गर्ने इस्राएलका राजाहरू जस्तो खराब थिएनन्। अश्शूरका राजा शलमनेसेर होशेको विरोधमा युद्ध गर्न आए। शलमनेसेरले होशेलाई पराजित गरे अनि होशे उनको सेवक भए। यस प्रकार होशेले शलमनेसेरलाई कर तिर्न थाले। पछि होशेले मिश्रका राजालाई मद्दत माग्न दूत पठाए। त्यस राजाको नाउँ सो थियो। त्यस बर्ष होशेले अश्शूरका राजालाई प्रत्येक बर्ष दिए जस्तै कर दिएनन्। अश्शूरका राजाले थाहपाए, होशेले उनको विरोधमा षड्यन्त्र रचेका छन्। यस कारण अश्शूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने। अश्शूरका राजाले इस्राएलमा धेरै ठाउँहरूमा आक्रमण गरे। त्यसपछि तिनी सामरिया आए। उनले सामरियाको विरोधमा तीन बर्ष युद्ध गरे। अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं बर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए। यस्ता घटनाहरू भए किनभने इस्राएलीहरूले परमप्रभु तिनीहरूको परमेश्वरको विरूद्धमा पाप काम गरेका थिए। जसले तिनीहरूलाई मिश्र भूमिबाट बाहिर निकालेर ल्याउनु भएको थियो। परमप्रभुले तिनीहरूलाई मिश्रका राजा फिरऊनको कब्जाबाट बचाउनुभएको थियो। तर इस्राएलीहरूले अरू देवताहरूको पूजा गर्न थाले। तिनीहरू त्यही कुराहरू गर्न थाले जो अरू मानिसहरू गर्दथे। र परमप्रभुले ती मानिसहरूलाई भूमि छोड्न वाध्य गराए जब इस्राएलीहरू आए। इस्राएलीहरूका राजाहरूले पनि तिनीहरूलाई गलत काम गर्न लगायो। इस्राएलीहरूले लुकेर आफ्ना परमेश्वरको विरोधमा कामहरू गर्न थाले। अनि ती कामहरू झूटा थिए। इस्राएलीहरूले सानो शहरदेखि ठूलो शहरसम्म सबै शहरहरूमा अग्ला ठाउँहरू बनाए। इस्राएलीहरूले प्रत्येक अग्लो पहाडमाथि अनि प्रत्येक हरियो रूखमुनि स्मारक ढुङ्गा अशेर खाँबो खडा गरे। इस्राएलीहरू ती सबै पूजा स्थलहरूमा धूपबलि बाल्ने गर्दथे। तिनीहरूले यी कामहरू ती राष्ट्रहरू जस्तै गरे जसलाई परमप्रभुले उनीहरूको सामुने देश त्याग्न वाध्य गराउनुभएको थियो। इस्राएलीहरूले दुष्ट कामहरू गरे जसले परमप्रभुलाई रीस उठायो। तिनीहरूले देवमूर्तिहरूको सेवा गरे। अनि परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “तिमीले यस्तो काम गर्नु हुँदैन।” परमप्रभुले प्रत्येक अगमवक्ता र दर्शीलाई प्रयोग गरेर इस्राएल र यहूदालाई चेताउनी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक अगमवक्ताहरूलाई काममा लगाएँ।” तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन् मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसँग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफैं पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो। मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुशरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे। तिनीहरूले आफ्ना छोरा छोरीहरू आगोमा बलि दिए। तिनीहरूले भविष्यको जानकारी प्राप्तका लागि तंत्र-मंत्र जादू-प्रेत, विद्याको प्रयोग गरे। तिनीहरूले त्यस्तो काम गर्नका लागि आफूलाई बेचे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। तिनीले यस्तो काम परमप्रभुको रीस जगाउनका लागि गरे। यस कारण परमप्रभु इस्राएलमाथि साह्रै रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इस्राएली रहेको थिएन। तर यहूदाका मानिसहरूले आफ्ना परमप्रभुको आदेश पालन गरेनन्। यहूदाका मानिसहरूले इस्राएलका मानिसहरू जस्तै जीवन यापन गरे। परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै सङ्कटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो। परमप्रभुले इस्राएललाई दाऊदको परिवारबाट छुट्ट्याउनुभयो अनि इस्राएलीहरूले नाबातका छोरा योरोवामलाई आफ्नो राजा बनाए। यारोवामले इस्राएलीहरूलाई परमप्रभुको अनुशरण गर्न नदिएर टाढ राखे यारोवामले इस्राएलीहरूलाई ठुलो पाप गर्न लगाए। यस प्रकार इस्राएलीहरूले सबै पाप कामहरू अनुशरण गरे जो यारोबामले गरे। तिनीहरूले ती पाप कामहरू परमप्रभुले इस्राएललाई नजरबाट पर नगरून्जेल सम्म बन्द गरेनन्। अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्। अश्शूरका राजाले इस्राएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अश्शूरका राजाले बाबेल कूता, अब्बा, हमात र सपर्वेमबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले। जब ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे। केही मानिसहरूले अश्शूका राजालाई भने, “ती मानिसहरू जसलाई तिमीले लग्यौ अनि सामरियाका शहरहरूमा बस्न लगायौ। त्यस देशका देवताको नियमहरू जान्दैनन्। यसकारण देवताले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाए। सिंहहरूले ती मानिसहरूलाई मारे किन भने तिनीहरू त्यस देशका देवताको नियम जान्दैन थिए।” यसकारण अश्शूरका राजाले यस्तो आदेश दिएः “तिमीले सामरियाबाट केही पूजाहारी ल्याउ। ती पूजाहारीहरूमध्ये एक जनालाई पठाऊ जसलाई बन्दी बनाएर सामरिया लगेको थिए। त्यो पूजाहारी जाओस् अनि त्यहीं बसोस। तर त्यस पूजाहारीले मानिसहरूलाई त्यस देशको देवताको नियम पढाउन सक्नेछन्।” यसकारण पूजाहारीहरूमध्ये एक जना जसलाई अश्शूरीहरूले सामरियाबाट ल्याएका थिए, उनी बेतेलमा बस्न आए। यस पूजाहारीले मानिसहरूलाई कसरी तिनीहरूले परमप्रभुको सम्मान गर्नुपर्छ बताए। तर ती सबै मानिसहरूले आ-आफ्नो देवताहरू बनाए अनि अग्लो ठाउँहरूमा भएका मन्दिरहरूमा तिनीहरूलाई स्थापित गरे जो सामरीहरूले बनाएका थिए। ती मानिसहरूलाई यस्तै गरे जहाँ-जहाँ तिनीहरू बस्थे। बाबेलका मानिसहरूले झूटा देवता सुक्कोत-बनोत बनाए। कूतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए। अब्बाका मानिसहरूले झूटा देवता नेभज र तर्ताक बनाए अनि सपर्वेका मानिसहरूले आफ्ना झूटा देवताहरूको सम्मान गर्नका लागि आफ्ना नानीहरू आगोमा जलाए। झूटा देवताहरू अद्रमेलेक र अनमेलेक थिए। तर ती मानिसहरूले परमप्रभुको पनि आराधना गरे। तिनीहरूले मानिसहरूबाट अग्ला पूजा स्थलका लागि पूजाहारीहरू रोजे। ती पूजाहारीहरूले ती पूजा स्थलहरूमा मन्दिरभित्र मानिसहरूका लागि बलि दिए। तिनीहरूले परमप्रभुको आदर गरे तर तिनीहरूले आफ्ना देवताहरूको पनि सेवा गरे। ती मानिसहरू आफ्ना देवताहरूको सेवा त्यसरी नै गर्दथे जसरी तिनीहरू ती देशमा गर्दथे जहाँबाट तिनीहरूलाई ल्याइयो। आजसम्म ती मानिसहरू त्यसरी बस्छन् जसरी तिनीहरू अतीतमा बसेका थिए। तिनीहरूले परमप्रभुको डर मान्छन् नत भक्ति नै गर्छन्। तिनीहरूले नियमको, निर्देशन, व्यवस्था अथवा आदेशहरू जुन परमप्रभुले याकूबको सन्तानहरूलाई दिएको थियो पालन गर्देनन्। परमप्रभुले इस्राएलका मानिसहरूसँग एउटा करार गर्नुभयो। परमप्रभुले तिनीहरूलाई आदेश दिनुभयो, “तिमीहरूले अरू देवताहरूको आदर नगर। तिमीहरूले तिनीहरूको पूजा गर्नु हुँदैन, सेवा गर्नु हुँदैन अथवा बलि चढाउनु हुँदैन। तर तिमीहरूले परमप्रभुको अनुशरण गर्नु पर्छ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ जसले तिमीलाई मिश्रबाट बाहिर ल्याउनुभयो। परमप्रभुले तिमीलाई बचाउनका लागि आफ्नो महाशक्ति प्रयोग गर्नुभयो। तिमीले परमप्रभुको आराधना गर्नुपर्छ अनि उहाँका लागि बलि चढाउनु पर्छ। तिमीले विधिहरू, नियमहरू, उपदेशहरू तथा आदेश पालन गर्नु पर्छ जो उहाँले तिम्रो निम्ति लेख्नुभएको थियो। तिमीले यी कुराहरू सधैँ हर समय पालन गर्नु पर्छ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन। तिमीले त्यो करार बिर्सिनु हुँदैन जो मैले तिमीहरूसित गरेको थिएँ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन। तिमीले परमप्रभु तिनीहरूको परमेश्वरको मात्र डर मान्नु पर्छ अनि आदर गर्नुपर्छ। तब उहाँले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट बचाउनु हुनेछ।” तर इस्राएलीहरूले सुनेनन्। तिनीहरू त्यही कामहरू गरिनैरहे जस्तो पहिला गर्दथे। यस प्रकार अहिले अरू राष्ट्रहरू परमप्रभुको सम्मान गर्छन् तर तिनीहरू आफ्ना देवताका मूर्तिहरूको पनि सेवा गर्दछन्। तिनका छोरा-छोरी र नाता नातिनीहरू त्यही काम गर्छन जो उनका पुर्खाहरू गर्दथे। तिनीहरू अझै पनि ती कामहरू गर्छन्।
२ राजाहरू 17:1-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदाका राजा आहाजले बाह्र वर्ष राज्य गरेपछि एलाहको छोरो होशिया इस्राएलका राजा भए र उनले सामरियामा नौ वर्ष राज्य गरे। उनले परमप्रभुको विरुद्धमा पाप गरे तर उनीभन्दा अघिका इस्राएलका राजाहरूले गरेजति त गरेनन्। अश्शूरका राजा शलमनेशेरले तिनीसित लडाइँ गरे। होशियाले शलमनेशेरको सामुन्ने समर्पण गरे र वर्षेनी उनलाई कर तिर्ने गरे। तर एक वर्ष तिनले मानिसहरू पठाएर मिश्रका राजाबाट मद्दत मागे र अश्शूर देशका राजालाई कर तिरेनन्। त्यो थाहा पाएर शलमनेशेरले होशियालाई बन्दी बनाए र झ्यालखानमा हाले। त्यसपछि शलमनेशेरले इस्राएलमाथि हमला गरे र सामरियालाई घेरामा हाले। घेरा हालेको तेस्रो वर्ष, जुन होशियाको शासनकालको नवौँ वर्ष थियो, अश्शूरी राजाले सामरिया कब्जा गरे, इस्राएलीहरूलाई कैद गरी अश्शूरमा लगे र कतिलाई हलह सहरमा, कतिलाई गोजान जिल्लाको हाबोर नदीछेउ र कतिलाई मादीका सहरहरूमा बसाले। मिश्रमा राजाका हातबाट छुटकारा दिई त्यसबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका हुनाले सामरियाको हार भयो। तिनीहरूले अरू देवताहरूलाई पुजे। आफ्ना प्रजा अगाडि बढ्दैआउँदा परमप्रभुले त्यस देशबाट धपाउनुभएका मानिसहरूको रीतिथिति माने र इस्राएलका राजाहरूले चालू गरेका रीतिथितिहरू चलाए। जुन कुरा परमप्रभु आफ्ना परमेश्वरले मनाही गर्नुभएको थियो, तिनै कुरा इस्राएलीहरूले गुप्तमा गर्थे। तिनीहरूले आफ्ना सबै सहरहरूमा, सानुभन्दा सानु गाउँ र ठूलाभन्दा ठूला सहरहुँदो मूर्तिपूजा गर्ने ठाउँहरू बनाए। डाँडाहरूमाथि र हरेक झ्याम्म परेका रूखमुनि तिनीहरूले ढुङ्गाका खामा र अशेरा देवीका मूर्तिहरू राखे। परमप्रभुले जुन मानिसहरूलाई देशबाट धपाएका थिए, तिनीहरूको प्रथाअनुसार इस्राएलीहरूले मूर्तिपूजा गर्ने वेदीहरूमा धूप बाले। आफ्ना दुष्कर्मले तिनीहरूले परमप्रभुको क्रोध जगाए, मूर्तिपूजा नगर्नू भन्ने परमप्रभुको आज्ञा पालन गरेनन्। परमप्रभुले अगमवक्ता र सन्देश-वाहकहरू पठाएर इस्राएल र यहूदालाई यो चेतावनी दिनुभएको थियो, “तिम्रा दुष्ट चालहरू छोड र मेरा आज्ञा मान, ती आज्ञा मैले तिम्रा पुर्खाहरूलाई दिएँ र मेरा सेवक अगमवक्ताहरूद्वारा तिमीहरूलाई पनि दिएँ।” तर तिनीहरूले आज्ञापालन गरेनन् र परमप्रभु आफ्ना परमेश्वरमा भरोसा नराख्ने तिनीहरूका पुर्खाहरूझैँ हठी भए। तिनीहरूले उहाँका आदेश मान्न इन्कार गरे, उहाँले तिनीहरूका पुर्खाहरूसित बाँधेका करार पालन गरेनन् र उहाँका चेतावनीहरूलाई अनादर गरे। तिनीहरूले व्यर्थका देवताहरू पुजे र आफैं पनि व्यर्थका भए र परमप्रभुका आज्ञाको विरुद्धमा छिमेकीका जातिहरूका रीतिथितिहरू नक्कल गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरका सबै नियमहरू भङ्ग गरे र पुज्न धातुका दुई वटा साँढे बनाए। तिनीहरूले अशेरा देवीको एउटा मूर्ति बनाए, ताराहरू पुजे र बाल-देवताको सेवा गरे। तिनीहरूले आफ्ना छोरा-छोरीहरू देवतालाई होमबलि चढाए, ज्योतिषीहरू र मरेका आत्मा खेलाउनेसित जोखना हेराए र परमप्रभुको दृष्टिमा जे कुरा खराब थिए, ती गर्न लागिरहे। यसरी तिनीहरूले उहाँको क्रोध दन्काए। परमप्रभु इस्राएलीहरूसित रिसाउनुभयो र तिनीहरूलाई आफ्ना नजरबाट हटाउनुभयो। उहाँले यहूदा राज्य मात्र राखिछोड्नुभयो। तर यहूदाका मानिसहरूले पनि परमप्रभु आफ्ना परमेश्वरका नियमहरू पालन गरेनन्। इस्राएलीहरूले चलाएका रीतिथिति तिनीहरूले नकल गरे। सबै इस्राएलीहरूलाई दण्ड दिनुहुँदै र निष्ठुरी शत्रुहरूका हातमा छोडिदिनुभएर परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभयो र अन्तमा आफ्ना दृष्टिबाट हटाइदिनुभयो। परमप्रभुले इस्राएललाई यहूदाबाट अलग गर्नुभएपछि इस्राएलीहरूले नबातको छोरो यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले तिनीहरूलाई परमप्रभुबाट टाढा गराएर डरलाग्दा पाप गर्न लाए। तिनीहरू यारोबामका चालमा चले र तिनले गरेका सबै पाप गर्न लागे। अन्तमा परमप्रभुले जसरी उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो, त्यसरी नै तिनीहरूलाई आफ्ना नजरबाट टाढा गर्नुभयो। यसकारण इस्राएलका मानिसहरू कैदी भएर आफ्ना देशबाट अश्शूरमा लगिए। तिनीहरू आजसम्म त्यहीँ छन्। अश्शूरका राजाले कैदमा लगिएका इस्राएलीहरूका सट्टामा बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेम सहरबाट मानिसहरू लगेर सामरियाका सहरहरूमा बसाले। ती सहर तिनीहरूले अधीनमा लिए र त्यहाँ बसोबास गर्न लागे। तिनीहरू त्यहाँ पहिले बास गर्दा परमप्रभुलाई पुजेनन्, परमप्रभुले सिंहहरू पठाउनुभयो र कति जनालाई सिंहले मारे। राजाले सामरियाका सहरहरूमा बास गर्न पठाएका मानिसहरूले त्यस देशका देवताका नियम-कानुनहरू जान्दैनन्, त्यसैले ती देवताले सिंहहरू पठाउनुभएको थियो र सिंहले तिनीहरूलाई मार्दैछन् भनी अश्शूरका राजालाई खबर भयो। यसर्थ महाराजले आज्ञा गरे, “हामीले कैदी बनाएर ल्याएको एक जना पूजाहारीलाई फर्काइदेऊ, त्यसलाई त्यहीं बस्न लगाऊ र त्यसले त्यस देशमा देवताका नियम-कानुनहरू मानिसहरूलाई सिकाओस्।” यसरी सामरियाबाट कैदमा ल्याइएका एक जना इस्राएली पूजाहारी बेथेलमा गएर बस्न लागे र त्यहाँ तिनले कसरी परमप्रभुलाई पुज्ने, सो मानिसहरूलाई सिकाउन थाले। तर सामरियामा बसालिएका मानिसहरूले आ-आफ्ना देवताका मूर्तिहरू बनाइरहे र इस्राएलीहरूले बनाएका पूजा-स्थलहरूमा राखे। भिन्न-भिन्नै दलले आफू बसेका सहरमा आफ्नै देवताका मूर्तिहरू बनाए। बेबिलोनका मानिसहरूले सुक्कोत-बनोत देवताका मूर्तिहरू, कूताका मानिसहरूले नेर्गलका मूर्तिहरू, हमातका मानिसहरूले अशीमाका मूर्तिहरू, अव्वाका मानिसहरूले नेभज र तर्ताकका मूर्तिहरू र सपर्बेमका मानिसहरूले अद्रम्मलेक र अनम्मलेक देवताका मूर्तिहरू बनाए। सपर्बेमीहरूले आफ्ना छोरा-छोरीहरू आफ्ना देवतालाई होमबलि चढाउँथे। ती मानिसहरूले परमप्रभुलाई पनि पुज्थे र मूर्तिपूजा गर्नेहरूका पूजा-स्थलहरूमा पूजाहारी काम गर्न र बलि चढाउन पनि आफ्नै माझबाट सबै थरीका मानिसहरूलाई छान्दथे। यसरी तिनीहरूले परमप्रभुलाई पुज्दथे; तर आफू आएका देशका रीतिथितिहरूअनुसार आफ्नै देवताहरूलाई पनि पुज्दथे। तिनीहरूले आजसम्म आफ्ना पुराना रीतिथितिहरू चलाउँछन्। तिनीहरूले परमप्रभुलाई पुज्दैनन् न त उहाँले याकूब र उनका सन्तानलाई दिनुभएका नियम र आज्ञाहरू नै पालन गर्छन्, जसलाई उहाँले इस्राएल नाम दिनुभयो। परमप्रभुले तिनीहरूसित एउटा करार बाँध्नुभएर यस्तो आज्ञा दिनुभएको थियो, “तिमीहरूले अरू देवताहरू नपुज्नू, तिनीहरूलाई नढोग्नू, बलि नचढाउनू र तिनको सेवा नगर्नू। म परमप्रभुका आज्ञा तिमीहरूले पालन गर्नेछौ, मैले तिमीहरूलाई ठूलो बल र शक्तिले मिश्रबाट निकाली ल्याएको हुँ। तिमीहरूले मलाई ढोग्नेछौ र बलि चढाउनेछौ। सधैँ तिमीहरूले मैले लेखिदिएका नियम र आज्ञाहरू मान्नेछौ। अरू देवताहरूलाई तिमीहरूले पुज्नेछैनौ अनि मैले तिमीहरूसित बाँधेको करार बिर्सनेछैनौ। म परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञा मान्नेछौ र म तिम्रा शत्रुहरूबाट तिमीहरूलाई बचाउनेछु।” तर तिनीहरूले यी कुरा सुनेनन् र आफ्ना पुराना रीतिथितिहरू मानिरहे। यसरी ती मानिसहरूले परमप्रभुलाई पुज्दथे तर तिनीहरूले आफ्ना मूर्तिहरू पनि पुज्दथे र आजसम्म तिनका सन्तानले त्यसै गरिराखेका छन्।