२ कोरिन्थी 9:8-11
२ कोरिन्थी 9:8-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। यसरी लेखिएको छ, “उसले छर्छ, र गरीबहरूलाई दिन्छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्छ।” छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ। तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्वरमा चढ़ाउने धन्यवाद उत्पन्न गराउनेछ।
२ कोरिन्थी 9:8-11 नेपाली समकालीन संस्करण (NCV)
अनि परमेश्वरले तिमीहरूलाई प्रशस्त मात्रामा आशिष दिनुहुन्छ, ताकि सबै कुरामा, सबै समय, तिमीहरूलाई चाहिएका सबै थोक पाएर तिमीहरू प्रत्येक असल काममा प्रशस्त होओ। जसरी धर्मशास्त्रमा लेखिएको छ: “उनले गरिबहरूका बीचमा आफ्ना भेटीहरू छरेका छन्, उनको धार्मिकता सदा-सर्वदा रहिरहन्छ।” अब जसले बीउ छर्नेलाई बीउ र खानलाई रोटी दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बीउको भण्डार दिएर त्यसको वृद्धि गरिदिनुहुन्छ, अनि तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ। हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी हुनेछौ, अनि हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई धन्यवाद हुनेछ।
२ कोरिन्थी 9:8-11 पवित्र बाइबल (NERV)
अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ। धर्म शास्त्रमा यो लेखिएको छः “उसले उद्धारता पूर्वक गरीबहरूलाई दिंदछ, उसको दयाभाव सदा-सर्वदा रहिरहन्छ।” परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिऊ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ। परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैँ मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।
२ कोरिन्थी 9:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले तिमीहरूलाई प्रशस्त हुने गरी पूरै दिन सक्नुहुन्छ र चाहिएको भन्दा पनि बढी नै दिनुहुनेछ। तिमीहरूलाई कुनै कुराको पनि कहिले खाँचो पर्नेछैन र प्रशस्त भलाइकै काम गर्न सक्नेछौ। धर्मशास्त्रमा पनि त्यस्तै लेखिएको छ, “उसले छर्छ र मन खोलेर गरीबलाई दिएको छ, उसले गरेको भलाइ युगयुगसम्म रहनेछ।” छर्नेलाई बीउ र खानेलाई रोटी परमेश्वरले दिनुहुन्छ। उहाँले तिमीहरूलाई चाहिने सबै बीउ दिनुहुनेछ र उमार्नुहुनेछ र खुल्ला मनले दिनुभएको कारणले खुब राम्रो फसल दिनुहुनेछ। तिमीहरूले सधैँ खुल्ला मुट्ठीले दिन सक्ने गरी परमेश्वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ। तिमीहरूको दान हामीले अरू मण्डलीहरूमा बाँड्दा तिनीहरूले परमेश्वरलाई धन्यवाद चढाउनेछन्।