२ कोरिन्थी 7:1-16
२ कोरिन्थी 7:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं। हामीलाई तिमीहरूका हृदयमा स्थान देओ। हामीले कसैको खराबी गरेका छैनौं। हामीले कसैलाई भ्रष्ट पारेका छैनौं। हामीले कुनै व्यक्तिबाट फाइदा उठाएका छैनौं। तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइनँ, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रा हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ, कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्न तयार छौं। तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म सान्त्वनाले परिपूर्ण छु। हाम्रा सबै कष्टहरूमा म अति आनन्दित छु। किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई सङ्कष्ट आइपरेको थियो, बाहिर सङ्घर्ष र भित्र डरैडर थियो। तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने। मेरो निम्ति तिमीहरूको शोकको विषयमा र मप्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढ़ी आनन्दित भएँ। मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिनँ, हुन त मलाई पछितो भएकै थियो। मलाई थाहा भयो, कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्यायो। तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्सानी सहनुपरेन। किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ— आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् भन्ने कस्तो इच्छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ। मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारणले लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामीप्रति तिमीहरूको उत्साह कस्तो छ, सो तिमीहरूलाई थाहा होस्। यसैकारण हामीलाई सान्त्वना मिलेको छ। हामीले पाएको आफ्नै सान्त्वनाबाहेक तीतसको आनन्दमा हामी बढ़ी रमायौं, किनकि तिमीहरूद्वारा तिनको मनलाई शान्ति मिलेको छ। किनभने तिनको सामु तिमीहरूका बारेमा मैले केही घमण्ड गरेको थिएँ भने मलाई त्यसमा केही शर्म भएन। तर जसरी हामीहरूले तिमीहरूलाई भनेका सबै कुरा सत्य थिए, त्यसरी नै तीतसको सामने हामीले गरेका घमण्ड पनि सत्य ठहरिएको छ। तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले डर र कम्पसाथ तिनलाई गरेको स्वागत सम्झदा तिनको भित्री स्नेह तिमीहरूप्रति झन् बढ़ेर आउँछ। म रमाउँदछु, किनकि तिमीहरूमाथि मेरो पूरा भरोसा छ।
२ कोरिन्थी 7:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ। तिमीहरूका हृदयमा हाम्रो लागि ठाउँ राख। हामीले कसैको खराबी गरेका छैनौँ, कसैलाई भ्रष्ट पारेका छैनौँ, र कसैलाई पनि शोषण गरेका छैनौँ। मैले तिमीहरूलाई दोष लगाउनलाई यो भनेको होइन; मैले पहिल्यै भनेको छु, हाम्रा हृदयमा तिमीहरूको यस्तो स्थान छ, हामी तिमीहरूसितै बाँच्न अथवा मर्न तयार पनि छौँ। तिमीहरूमाथि मेरो ठूलो विश्वास छ, मलाई तिमीहरूमाथि गर्व छ। म धेरै उत्साहित भएको छु, र हाम्रा सबै सङ्कष्टहरूमा मेरो आनन्दको सीमा छैन। किनकि जब हामी म्यासिडोनियामा आएका थियौँ, तब हाम्रो शरीरलाई विश्राम थिएन, तर बाहिर सङ्घर्ष र भित्र डरैडर भएको हुनाले चारैतिरबाट पीडित भएका थियौँ। तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो; अनि तिनी आएका हुनाले मात्र होइन, तर तिमीहरूले तिनलाई दिएका सान्त्वनाले पनि हामीलाई सान्त्वना मिल्यो। तिनले मप्रति तिमीहरूको चाहना र गहिरो चिन्ता र वास्ताबारे बताए, यसरी मेरो आनन्द अझै बढी भयो। मैले मेरो पत्रद्वारा तिमीहरूलाई दुःखित पारेको भए तापनि म पछुतो मान्दिनँ। मलाई पछुतो भए तापनि मेरो पत्रले तिमीहरूलाई केही क्षण मात्र चोट पुर्याएको देख्छु, तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापमा डोर्याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन। ईश्वरीय दुःखले पश्चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्न गराउँछ। हेर, यो ईश्वरीय दुःखले तिमीहरूमा के उत्पन्न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ। यसकारण मैले तिमीहरूलाई त्यो पत्र लेखेको भए तापनि तिमीहरूले खराबी वा अत्याचार गर्यौ भनेर लेखा लिने जस्तो गरी होइन, न त दोष लगाइएकोलाई झैँ, बरु हामीप्रति तिमीहरूको उत्साह कस्तो छ भनी परमेश्वरको सामु आफूले देख्न सक भनेर हो। त्यसैकारण यी सबैबाट हामी उत्साहित बनेका छौँ। हाम्रा आफ्नै उत्साहबाहेक, विशेष गरी तीतस कति आनन्दित थिए, त्यो हेर्न पाउँदा हामी खुशी भएका छौँ; किनकि तिनका आत्मा तिमीहरू सबैद्वारा ताजा भएको थियो। मैले तिनीसित तिमीहरूको विषयमा गर्व गरेको थिएँ, र तिमीहरूले मलाई लाजमा पारेनौ, तर हामीले तिमीहरूलाई भनेका सबै कुरा साँचो भएको हुँदा, हामीले तीतससित तिमीहरूबारे गर्व गरेको पनि साँचो साबित भएको छ। तिमीहरू सबै आज्ञाकारी थियौ र तिमीहरूले तिनलाई डर र कम्पसाथ ग्रहण गर्यौ भनी जब तिनले सम्झन्छन्, तब तिमीहरूप्रति तिनको स्नेह अझ बढेर जान्छ। म तिमीहरूमाथि पूर्ण रूपले भरोसा राख्न सक्छु भनेर खुशी छु।
२ कोरिन्थी 7:1-16 पवित्र बाइबल (NERV)
प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं। हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं। मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलेका छौं, म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति गर्वित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दु:खहरूमा पनि म बडो अनिन्दित छु। जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर। तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो। तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौ। तीतसले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौ। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यौ भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौ भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ। मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखीत छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो। अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं। परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ। तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो। त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिट्ठी तिमीहरूलाई लेखिएको हो। त्यसैकारण हामी सुखी थियौं। हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए। मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गर्यौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँच्चो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँच्चो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ। अनि उनको तिमी प्रति प्रेम अझ ठूलो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियौ। तिमीहरूले डर र आदरिसित उनलाई स्वागत गर्यौ। म खुबै आनन्दित छु किनभने तिमीहरूमाथि म पुरै विश्वास गर्न सक्छु।
२ कोरिन्थी 7:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण प्यारा साथी हो, हामीले यी प्रतिज्ञा पाएकोले शरीर र आत्मालाई बिटुल्याउने सबै किसिमका कुराहरूबाट हामीहरू टाढै बसौं अनि परमेश्वरको डर मानेर पूरासँग पवित्र हुँदै जाऔं। हामीसँग तिमीहरूको मन खोल। हामीले कसैलाई अन्याय गरेका छैनौं, कसैलाई बिगारेनौं। हामीले कसैबाट फाइदा उठाएनौं। तिमीहरूलाई दोष्याउन यसो भनेको होइन। हाम्रो हृदयमा तिमीहरू प्यारा छौ। हामी मरे पनि, बाँचे पनि सँगै रहनेछौं भनी मैले पहिले नै भनेको हुँ। तिमीहरूमा मेरो ठूलो भरोसा छ र तिमीहरूमै मलाई ठूलो घमण्ड पनि लाग्छ। तिमीहरूबाट मैले पूरा सान्त्वना पाएको छु र हाम्रा सबै दु:खमा म आनन्दै-आनन्द पाउँछु। साँच्चै हामी माकेडोनियामा आउँदा हामीले सुख पाएनौं। त्यहाँ जताततै आपत् थियो। बाहिरचाहिँ झैझगडा, मनभित्रचाहिँ डरै डर थियो। तर मनमा दु:ख हुनेहरूलाई परमेश्वरले नै सान्त्वना दिनुहुन्छ र परमेश्वरले तीतस आउँदा हामीलाई शान्ति दिनुभयो। उनी आएकोले मात्र होइन तर उनले तिमीहरूबाट पाएको सान्त्वनाद्वारा मैले सान्त्वना पाएँ। मलाई फेरि भेट्ने तिमीहरूको ठूलो चाहना छ रे भनी उनले हामीलाई बताए। अब तिमीहरू दु:खित पनि भयौ र मेरो पक्षमा लागेका छौ भनी मैले सुनें, यी सब सुनेर म साह्रै रमाएको छु। मेरो पत्रले तिमीहरूलाई कष्ट भयो नै होला, भए पनि मेरो मनमा पश्चात्ताप छैन। म जान्दछु, त्यो पत्रले केही बेरलाई भए पनि तिमीहरूको मनमा पीर पर्यो। यो जानेर मलाई पश्चात्ताप भए तापनि अब म खुसी छु। तिमीहरूलाई कष्ट पर्यो भनेर होइन तर यसले तिमीहरूलाई सुधार्यो भनेर खुसी लागेको हो। परमेश्वरलाई सम्झेर शोक गर्यौ। त्यसो हुँदा हामीबाट तिमीहरूलाई कुनै हानि भएन। परमेश्वरलाई सम्झेर शोक गर्यौं भने यसले हामीमा पश्चात्ताप ल्याउँछ र हामीलाई मुक्तितिर लैजान्छ। तर सांसारिक रूपले मात्र हाम्रो मन दुख्छ भने यसले हामीलाई मृत्युतिर लैजान्छ। तिमीहरूलाई परेको दु:खबाट परमेश्वरले के गर्नुभयो, याद गर, यो दु:खले तिमीहरूलाई साँचो बनायो, कसुर छैन भनी देखाउन हतार गरायो, तिमीहरूलाई कस्तो झोक चलायो, कत्रो चिन्ता, कस्तो विचार, कस्तो भक्ति पैदा गर्यो। तिमीहरूमा पाप गर्नेलाई दण्ड दिने मन पनि भयो। यी सबैबाट तिमीहरूमा दोष छैन भन्ने कुरा थाहा हुन्छ। यसकारण मैले त्यो पत्र अन्याय गर्नको लागि लेखेको होइन, नता अन्याय सहन नै लेखेको हो। तर तिमीहरूले परमेश्वरका अघि हामीलाई कति माया गर्यौ, त्यही देखाउन मैले लेखेको हुँ। त्यसैकारण हामीलाई हौसला मिलेको छ। हामीलाई हौसला मात्र होइन, तिमीहरू सबैबाट तीतसले आनन्द पाएको हुनाले हामीले पनि धेरै आनन्द पाएका छौं। मैले तीतससँग तिमीहरूको बारेमा घमण्ड गरें र तिमीहरूले मलाई निराश गराएनौ। हामीले तिमीहरूसँग सधैँ साँचो बोल्यौं। त्यसै गरी हामीले तीतससँग गरेको घमण्ड पनि सत्य नै ठहरियो। तिमीहरूले तीतसलाई डर मानेर स्वागत गर्यौ, उनको कुरा मान्न तिमीहरू सबै जना तयार भयौ। यी सबै कुरा याद गरेर तीतसले तिमीहरूलाई झन् साह्रो माया गर्छन्। मलाई कति खुसी लागेको छ र मैले तिमीहरूमा पूरा भरोसा राख्न सकेको छु।