२ कोरिन्थी 5:1-10
२ कोरिन्थी 5:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन। यहाँ वास्तवमा हामी व्याकुल बन्छौं, र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं, किनभने त्यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं। किनकि यस डेरामा हुँदा चिन्ताले हामी सुस्केरा हाल्छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस्। अब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौं, कि हामी जबसम्म शरीरमा रहन्छौं, तबसम्म प्रभुबाट अलग हुन्छौं। किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन। हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं। यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ। किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।
२ कोरिन्थी 5:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब हामी जान्दछौँ, कि हामी बस्ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्वरबाट बनाइएको हो। अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौँ भनेर सुस्केरा हाल्छौँ; किनकि त्यसलाई धारण गर्यौँ भने हामी नाङ्गो देखिनेछैनौँ। अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौँ; किनकि हामी नाङ्गा होऔँ भनेर होइन, तर अझ स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौँ, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्। अब परमेश्वरले नै हामीलाई यस विशेष उद्देश्यको लागि तयार पार्नुभएको छ; उहाँले हामीलाई बैना स्वरूप परमेश्वरको आत्मा दिनुभएको छ। यसकारण हामी ढुक्क छौँ। हामी जान्दछौँ, जबसम्म हामी शरीरमा रहन्छौँ, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौँ। हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्वास राखेर जिउँछौँ। हामी ढुक्क छौँ, र यस शरीरबाट टाढा रहेर बरु प्रभुसित नै रहन चाहन्छौँ। यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्न पार्ने लक्ष्य राखेका छौँ। किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।
२ कोरिन्थी 5:1-10 पवित्र बाइबल (NERV)
हामी जान्दछौं, यस धर्तीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ। हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ। त्यो हामीलाई पहिर्याई दिइनेछ र हामी नाङ्गो हुने छैनौं। जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ। परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ। यसैकारण हामी सधैँ भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं। हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन। त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं। हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं। न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।
२ कोरिन्थी 5:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीलाई थाहा छ, हाड-मासुको यो पाल याने कि हाम्रो शरीर नाश हुन्छ। तर परमेश्वरले स्वर्गमा हामीलाई दिनुहुने शरीर त हातले बनाएको कच्चा घरजस्तो छैन। तर यो सधैँभरि रहने पक्का घरजस्तै छ। साँच्चै हामी यस शरीरमा रहनुपर्दा दु:खी छौं। हामी त त्यस स्वर्गमा भएको शरीरलाई लुगाझैँ लगाउन पिरोलिएका छौं। यसरी हाम्रो शरीरलाई पहिराउँछौं भने हामी शरीरबिनाका हुँदैनौं। यस शरीरमा रहुन्जेल ठूलो भारीले गर्दा हामी सुस्केरा हाल्छौं। यो शरीर त्याग्ने इच्छाले हतारिएका होइनौं, तर कहिले स्वर्गको शरीर पहिरन पाऊँला भनेर नै हो। यो नाश हुने कुरो त्यस जीवनमा बदलेर जान्छ। यसरी हामीलाई हेरफेर गरिदिने त परमेश्वर नै हुनुहुन्छ। हामीलाई पछि दिनुहुने कुराहरू पक्का गर्न उहाँले हामीलाई पवित्र आत्माको बैना दिनुभएको छ। यसकारण हामी कहिले हरेस खाँदैनौं। हामीलाई थाहा छ, हामी यस शरीरको डेरामा रहुन्जेल त प्रभुको घरदेखि अलग हुन्छौं। त्यसैले हामी देखेकोले होइन, तर विश्वासले जिउँछौं। हामी हरेस खाँदैनौं, स्वर्गको शरीर पाएर प्रभुसँगै रहनलाई हाम्रो यो शरीरलाई पनि त्याग्न तयार छौं। हामी यस शरीरको डेरामा हौं वा आत्मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्छौं किनभने हामीहरू सबै एक दिन न्यायको लागि ख्रीष्टको सामुन्ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्तो काम गरेका छन्, त्यसैअनुसारको फल पाउनेछन्।