२ इतिहास 7:11-16
२ इतिहास 7:11-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब सोलोमनले परमप्रभुको मन्दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्दिर र आफ्नो राजमहलको निम्ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए, तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्थान मेरो निम्ति बलिदानको ठाउँ चुनें। “जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन, अथवा देशलाई नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु, यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु। अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्। मेरो नाउँ सदासर्वदाको निम्ति त्यहाँ रहन मैले यस मन्दिरलाई चुनेको छु, र त्यसलाई पवित्र पारेको छु। मेरो दृष्टि र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।
२ इतिहास 7:11-16 पवित्र बाइबल (NERV)
सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो। तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु। जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु। अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु। अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्। मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जसद्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।
२ इतिहास 7:11-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सोलोमन राजाले मन्दिर र महल बनाइसके। त्यसपछि तिनले बनाएका योजना सफलतापूर्वक पूरा गरे। त्यसपछि एक रात परमप्रभुले तिनलाई दर्शन दिनुभयो र भन्नुभयो, “मैले तेरो प्रार्थना सुनें। यो मन्दिर मलाई बलि चढाउने स्थान हो भनी म स्वीकार गर्छु। जहिले-जहिले म वर्षा बन्द गर्छु वा अन्नका बाली नाश गर्न सलहहरू पठाउँछु वा मेरा प्रजामाथि महामारी पठाउँछु, त्यस बेला मेरा प्रजाले मलाई प्रार्थना गरे र पश्चात्ताप गरेर आफूले गरेका दुष्कर्महरू त्यागे भने म स्वर्गमा तिनीहरूको बिन्ती सुन्नेछु, पाप क्षमा गर्नेछु र फेरि तिनीहरूको देशको फलिफाप गराउनेछु। म यस मन्दिरको रखवाली गर्नेछु र यहाँ चढाइएका सबै प्रार्थनाहरू सुन्न तयार रहनेछु किनभने मैले यस मन्दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु।