२ इतिहास 2:1-6
२ इतिहास 2:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सोलोमनले परमप्रभुका नाउँको सम्झनाको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्ने अठोट गरे। तिनले सत्तरी हजार भारी बोक्नेहरू, असी हजार ढुङ्गा काट्नेहरू र तिनीहरूमाथि हेर-विचार गर्ने छत्तीस सय नाइकेहरूलाई नियुक्त गरे। सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए: “तपाईंले दया गरी मेरा पिता दाऊदलाई तिनको राजकीय निवासस्थान निर्माण गर्न देवदारुका काठहरू पठाइदिनुभएको थियो। अब मैले पनि परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न र उहाँको सामुन्ने सुगन्धित धूप बाल्न, र अर्पण गरिएको रोटी नित्य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्यो मन्दिर उहाँको निम्ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्ति यो एउटा अनन्तको विधि हो। “मैले निर्माण गर्न लागेको मन्दिर एउटा अत्यन्तै ठूलो भवन हुनेछ, किनभने हाम्रा परमेश्वर सबै देवताहरूभन्दा महान् हुनुहुन्छ। तर स्वर्ग, अर्थात् सर्वोच्च स्वर्ग नै उहाँको निम्ति सानो छ भने कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढ़ाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र?
२ इतिहास 2:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सोलोमनले याहवेहको नामका निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल निर्माण गर्ने हुकुम दिए। सोलोमनले सत्तरी हजार भारी बोक्ने मानिसहरू, असी हजार पहाडमा ढुङ्गा काट्नेहरू र छत्तीस सय चाहिँ तिनीहरूमाथि नाइके खटाए। सोलोमनले टायरका राजा हीरामकहाँ यो सन्देश पठाए: “मेरा पिता दावीदका निम्ति बस्न एउटा महल बनाउन तपाईंले देवदारु पठाउनुहुँदा उहाँलाई गर्नुभएझैँ मलाई देवदारुका मुढाहरू पठाइदिनुहोस्। अब म याहवेह मेरा परमेश्वरको नामका निम्ति एउटा मन्दिर बनाउन र पवित्र रोटी नियमित रूपले राख्न, प्रत्येक बिहान र बेलुकी, शब्बाथहरूमा र औँसीहरूमा याहवेह हाम्रा परमेश्वरका तोकिएका चाडहरूमा होमबलि चढाउन र उहाँको सामु सुगन्धित धूप बाल्नका निम्ति त्यसलाई अर्पण गर्न लागेको छु। यो इस्राएलको निम्ति सदालाई एउटा धार्मिक विधि हो। “मैले बनाउन लागेको मन्दिर भव्य हुनेछ; किनकि हाम्रा परमेश्वर अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ। तर उहाँको निम्ति कसले मन्दिर बनाउन सक्छ? किनकि आकाश र सबैभन्दा सर्वोच्च स्वर्गमा समेत उहाँ अटाउन सक्नुहुन्न। उहाँको सामु बलिदानहरू चढाउने ठाउँबाहेक उहाँको निम्ति मन्दिर बनाउने म को हुँ र?
२ इतिहास 2:1-6 पवित्र बाइबल (NERV)
सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे। सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने। त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने, “तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई पनि सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्। परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औंसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा-सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो। “हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु। कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अँहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।
२ इतिहास 2:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सोलोमन राजाले परमप्रभुको आराधना गर्न एउटा मन्दिर र आफ्नै लागि एउटा महल बनाउने निर्णय गरे। उनले सत्तरी हजार माल बोकी ल्याउने र असी हजार ढुङ्गा काट्ने मानिसहरू खटाए। उनको काम हेर्न तीन हजार छ सय मुखियाहरू खटाइएका थिए। सोलोमनले टुरोसका राजा हीरामलाई यो खबर पठाए, “मेरा बुबा दाऊद राजालाई महल बनाउन देवदारुका मुढाहरू बेचेजस्तै मसित पनि व्यापार गर्नुहोस्। मेरा परमेश्वर परमप्रभुको सम्मान्मा म एउटा मन्दिर बनाउँदै छु। त्यो एउटा पवित्र-स्थल हुनेछ, जहाँ म र मेरा प्रजाले उहाँको आराधना गर्नेछौं, सुगन्धित मसलाका धूप बाल्नेछौं, सदैव पवित्र रोटीको भेटी चढाउनेछौं, हरेक बिहान, बेलुका र विश्रामको दिन, औँसी र अरू पवित्र दिनहरूमा परमप्रभु हाम्रा परमेश्वरको आदरमा होमबलिहरू चढाउनेछौं। उहाँले इस्राएललाई सदासर्वदा यसो गर्न आज्ञा गर्नुभएको छ। मैले एउटा ठूलो मन्दिर बनाउने इच्छा गरेको छु किनभने हाम्रा परमेश्वर अरू कुनै पनि देवताभन्दा महान् हुनुहुन्छ। वास्तवमा कसैले पनि परमेश्वरको निम्ति मन्दिर बनाउन सक्दैन किनभने सम्पूर्ण स्वर्ग नै उहाँको निम्ति सानो हुन्छ। परमेश्वरलाई धूप बाल्ने स्थानभन्दा ठूलो मन्दिर कसरी म बनाउन सक्छु र?